सभ्यता नजोडिएको शिक्षा

शिक्षा  र सभ्यता  एक अर्काका पूरक हुन् तथापि यी एक अर्काका पूरक हुन नसकेको अनुभूति  भइरहन्छ । यसका विविध  कारकहरू छन् । श्रम र शिक्षा  पनि एक अर्काका पूरक हुन् तर हाम्रो शिक्षा प्रणालीद्वारा उत्पादित  शिक्षितहरू श्रमलाई सम्मान गर्न जान्दैनन् । यो राम्रो सङ्केत  होइन। शिक्षा  र विनय पनि एक अर्काका पूरक हुन्  तर शिक्षितहरूसँग जति अहङ्कार शायदै कसैसँग होला।   शिक्षा दिने संस्थाहरू ज्ञानका मन्दिर हुन्  तर यी संस्थाहरू सहरमा लस्करै थापिएका पसल  जस्तै छन् । यी ज्ञानका मन्दिर त बिल्कुलै  बन्न सकेका छैनन्  कदाचित  यिनीहरू शिक्षाका सामान्य औपचारिक  प्रतिष्ठान  समेत बन्न सकेका छैनन् । शैक्षिक  संस्थाहरूको चर्को व्यापारीकरण  र पसलीकरणको राप र चाप तीव्र  गतिमा बढ्दो छ तर सरोकारवालाहरू  गहिरो नीदमा मग्न छन् । मानौँ  जगतमा तमाम व्यवस्थाहरूको लय बिल्कुलै  सुमधुर   र सुरिलै तालमा  बजिरहेकै छन् । बजार र पसलहरू किनबेचका केन्द्र अवश्य  हुन्  किन्तु यी विकृति , बदमासी र बेथितिका केन्द्र पनि हुन्  । यिनलाई ठिक ठाउँमा ल्याउन समुदाय , सरकार  र सबै सरोकारवालाहरू चनाखो हुनु जरुरी हुन्छ ।

मैले चिनेका एक जना भाइ इन्जिनियरिङ पढ्दै छन् । पढ्नमा तेजिला छन् । पढाइ पूरा गरेपछी  उनी एक प्राविधिक जनशक्ति बन्छन् । यो खुसीकै कुरा हो परन्तु   सुन्दरता र कुरूपताका बारेमा उनको धारणा सुन्दा उनी धेरै तल्लो स्तरका एक असभ्य  प्राणी लाग्छन् । सडक छेउछाउ मकै पोलेर बेच्ने काला , मैला र धुस्राफुस्रा केटीहरू उनलाई मन पर्दैन । एक दिन मकै किनिरहेका बखत उनले ती विचरा मिहिनेत गरेर खाने कालाहरूलाई कति नराम्ररी गाली गरे भने मैले उनीसँगको मित्रतालाई लिएर पुनर्विचार  गर्न थालेको छु। प्राविधिकहरूले पनि नीति  र संस्कृतिका केही सामान्य  ज्ञान  हासिल गरे हुने भन्ने मलाई लागिरहन्छ।

कुनै एउटा प्राइभेट  संस्थामा अन्तर्वार्ताका निम्ति  क्याडरहरूको ठुलै जमघट  देखिन्छ। सबै पढेका , जान्ने र सुन्ने छन् । हुनु पनि पर्‍यो। ऊ भन्दा ऊ खत्रा , ऊ भन्दा ऊ तगडा लाग्दो हो सबैलाई । पालो कुरेर  बसेका छन् । बस्नै पर्‍यो । भाग्य वा दुर्भाग्य के ले भनौं  म पनि क्याडर बनेर आफ्नो पालो कुरिरहेको थिएँ । यस्तो कुराइ अचम्मको हुन्छ ! भित्र साहुहरूले अन्तर्वार्ता लिइरहेका हुन्छन् , बाहिर क्याडरहरूको भलाकुशारी चलिरहेको हुन्छ। बेरोजगारहरूको यो यस्तो सामान्य भेला हो , त्यो त्यहीँ उपस्थित सबैलाई था छ। सबैजना काम पाइन्छ कि भनेरै आएका हुन् । यो कुरा घाम जुन जत्तिकै छर्लङ्ग छ। यसमा लुकाउने छ्काउने कुरै त्यस्तो के छ र ? तर हामी शिक्षितहरू कति नाटक गर्न जान्दछौँ भने ओहो ! भनी साध्य छैन। कोही भन्छ : होइन म त के रछ भनेर बुझ्न मात्र आको । अर्को भन्छ : यसो टाइम पास पनि हुन्छ गइदिउँ न त भनेर आको ।  मलाई त यो भ्याकेन्सी भन्ने थाहै थिएन साथीले भनेर यसो आको । कस्तोलाई राख्ने रछ ? खै ?  अनि तपाई कहाँ के गर्नुहुन्छ ? ( तर आफ्नो बारेमा पटक्कै भन्दैन वा भन्न चाहदैन )  कोही भाग्यमानी यस्ता पनि हुन्छन्  , जो सगर्व सुनाउँदै हिड्छन्  : मेरो त यहाँ स्योर हो । स्योरै छ। मेरो मामाको हो । मेरो अङ्कलको हो नि । बोर लागेर यसो टाइम पास पनि हुने , अलिली गाँठ पनि हुने भनेर हो यार।  होइन म त सरकारीमै थिएँ , मेरो करार सकियो यार। करार सकिए पनि सुरु भए पनि  उहाँको शुभ उपस्थिती त काम खोज्नै भनेर होला।  यस्त एक होइन  अनेक प्रसङ्ग  र गनथन  लेख्न सकिन्छ। मेरो भनाइ यति मात्र हो : हामी किन यति धेरै एक्टिङ  गर्छौं  , किन यति अनावश्यक कूटनीति  देखाउँछौँ  जबकी  हालत र  हैसियतले त लगभग सबैको समान नै देखिन्छ।  बरु यो समानतालाई  शक्ति बनाउन खोजे हुन्न र ? यो समान हैसियतलाई  पुँजीकृत गर्न खोजे हुन्न ? एउटा  आन्दोलनको मन्च बनाउन खोजे हुन्न ? यस्ता ड्रामा त जीवनमा धेरै गरियो ; अझै कति गर्न बाँकि होला। खै के भयो त ? हामी सबैसँग  ठुल्ठुला डिग्रीहरू छन् । तर सज्जनता र सभ्यताको एउटा साधारण डिग्री समेत भएजस्तो लाग्दैन।

पढेकाहरूले वरको सिन्को पर सम्म सार्नु हुन्न। श्रम , मिहिनेत र  पसिनालाई गिल्ला गर्नु , पसिना चुहाउनेहरूको सुन्दरतालाई गिल्ला गर्नु , काम पाइएन यार भन्नू र कुराले आकाश  पाताल जोर्नु उनीहरूको मुख्य पहिचान हो। यसले हाम्रो सभ्यताको धरातल  राम्रैसँग प्रकट गरिरहेको छ। तर सायद मजा यसैमा भएर होला, यो नित्य चलिरहेकै छ।

एकथरी  मान्छेहरू छन् : जो अभिनयको सीमा नाघ्छन् । उनीहरूको जिब्रामै झुन्डिएको हुन्छ : अ्याक्चुली मेरो नेपाली राम्रो छैन सो डोन्ट माइन्ड है !  मलाई नेपाली आउदैन है सो …. , ठिक छ , सबैको नेपाली  राम्रै हुन्छ भन्ने भन्ने छैन। सबैको नेपाली राम्रै हुनुपर्छ भन्ने पनि होइन।  तर आग्रह कति मात्रै हो भने  : नेपाली राम्रो छैन त यसलाई नेपालीमै किन भनिरहनु पर्‍यो र ? नेपाली  नराम्रो भएको कुरा यति गर्व र शानका साथ किन भन्नू पर्‍यो र ? नेपाली ठिकसँग नजान्नुको मतलव  इङलिसमा योग्य भएको प्रमाण हो र ?  यो जिब्रो बटार्नुले अङ्ग्रेजी राम्रोसँग नजानेकाहरू र अङ्ग्रेजी कमजोर भएकाहरूलाई अपमानित गर्छ कि गर्दैन ? अङ्ग्रेजीका भीमकाय डिग्री  लिनेहरूले सभ्यताको यो साधारण  अध्यायसमेत नपढेको देख्दा मलाई त त्यो बकम्फुसे डिग्रीको दरिद्रतामा दया लाग्छ तर डिग्रीधारी मनुवालाई कस्तो लाग्छ  बुझ्न सक्ने मेरो हुति छैन।

अहिले त जताततै कोरोनाको प्रकोप छ। सावधानी र सचेतताको अभ्यास हामी कति र कसरी  गरिरहेका छौँ  ; ज्यादै गम्भीरतापूर्वक सोच्नु जरुरी छ। भिडभाड  नगर , भीड नगरी हुन्न।  मास्क लागाऊ , मास्क लगाएर कसरी हावा खाने होला ? लाइनमा उभिएर  पर्खौँ : लाइनमा उभिने नेपाली  संस्कृती नै होइन  कसरी उभिनु ? सामाजिक दुरी कायम गर : दुरी कसरी कायम हुनु ? सधैं  नजिक रहने नेपाली  पारा छ। हामी एक अर्कालाई टाढाको  देख्नै सक्दैनौं । जतासुकै  नथुक : कसरी नथुक्नु ? खैनी च्याप्या छ मुखमा !  चुरोट  नखाई  प्राण धानिन्न ।  साबुनपानीले  हात धोऊ : बाबू बाजेले नधोको म कसरी धोऊँ ?

यी र यस्ता अनेक  अप्रिय  र असभ्य  तौर तरिकाहरू छन् , जसमा हाम्रो शिक्षाको चेतना जोडिएको छैन। हाम्रो यो यान्त्रिक  र पत्थरिलो डिग्रीले हामीलाई के साँच्चै  सुखी , सभ्य र सज्जन  बनाउन नसकेकै हो त ?

Back to top button