क्लासिकमा साझा क्षितिज

सुनिल पौडेल
सुनिल पौडेल ११ पुष २०८०, बुधबार ०६:००
10 Min Read
Aa

कला समाजको ऐना हो । नेपालको समसामयिक कलाले त्यस बखतको अवस्थालाई बुझ्न मदत गर्दछ । अर्को अर्थमा भन्ने हो भने कलाकारको मानसपटलमा भएका दृष्यहरुलाई क्यानभास वा कुनै माध्यमद्वारा प्रस्तुत गरिने विषय कला पारखीहरुको लागि महत्वपूर्ण हुन सक्छ । यस्तै कला प्रदर्शनी ललितपुरको चाकुपाटमा अवस्थित क्लासिक ग्यालरीमा मंसीर २६ गते देखि भइरहेको छ । नेपाली तथा विदेशी कलाकारहरुको संयुक्त कला प्रस्तुतीले फरक फरक भूगोलमा बसोबास गर्ने कलाकारहरुको मनोवृत्ति वा उनिहरुको रचनात्मक अवस्थालाई अभिव्यक्त गर्दछ ।

प्रदर्शनीको शीर्षक नै ‘साझा क्षितिज’ अर्थात् सेयर्ड होराइजन भनेर अंग्रेजीमा नाम दिइएको छ । चार जना थाइल्याण्डका कलाकारहरु र नेपालको १२ जना समसामयिक कलाकारहरुको सहभागिता रहेको उक्त चित्रकला प्रदर्शनीले एक अर्का देश विचको कला तथा कलाकारहरुको अनुभवहरु आदान प्रदान गर्ने अवसर समेत जुटेको अयोजक तथा क्युरेटर  सरिता डंगोल बताउनुहुन्छ ।

यस कला प्रदर्शनीमा चित्रकला, मूर्तिकला र सेरामिक कला गरी ४२ वटा कलाको प्रदर्शनी भइरहेको छ । कार्यक्रमको उद्घाटन वरिष्ठ कलाकार बत्स गोपाल वैद्य, ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तमछाली र थाइल्यान्डका वरिष्ठ कलाकार भासन सिनिकेटले संयुक्त रुपमा गर्नुभएको थियो । यस्ता अन्तरदेशीय कला प्रदर्शनीले दुई देश विचमा सम्बन्धलाई गहिरो बनाउन मदत गर्नेमा कलाकार भासनले जोड दिनुभएको थियो ।

अनामिका गौतमले प्रस्तुत गर्नुभएको कलामा मानसिक रुपमा पिडा भइरहेको व्यक्तिको कथालाई प्रस्तुत गरिएको छ । उहाँ आफ्नो वक्तव्यमा लेख्नुहुन्छ– ‘कहिलेकाहीं, जानी जानी वा अनजानमा कसैलाई उनीहरुको स्वास्थ्यको बारेमा सोध्नु, मानसिक स्वास्थ्यको बारेमा कुरा गर्नु र कथाहरु भन्नुले अनेक अर्थ बोकेको हुन्छ । जीवनलाई अगाडि बढाउनु छ भने जीवनमा आउने उतारचढावलाई ‘ठिकै छ’ भनेर अगाडि बढ्दा आत्मविश्वास मिल्दछ ।’ उनको चित्रकलामा एउटा व्यक्तिको अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । विश्व चित्रकलाको इतिहासमा मनोवैज्ञानिक विषयलाई आधार बनाएर चित्रकला निर्माणको इतिहास लामो देखिन्छ । उहाँको चित्रमा कलाको माध्यमबाट एक व्यक्तिको मनोविज्ञानलाई प्रस्तुत गर्न खोजिएको छ ।

अर्की कलाकार कुन्ति मगरले लिभिङ आइकन शीर्षकमा प्रस्तुत गरेको एउटा घरको चित्र छ । जुन नेपाली समाजमा अवस्थित भौतिक संरचनाको मौलिक चित्रण हो भन्न सकिन्छ । ‘यो मेरो सिर्जना प्युठानको ओखरकोटको प्रतिनिधिमूलक चित्र’ भन्नुहुन्छ कलाकार मगर । उनले प्युठानको ओखरकोट भ्रमणका क्रममा भावनात्मक सम्बन्ध जोडिएको वास्तु संरचनासँगै समुदायको जीवनशैली यसको आधारमा आँकलन गर्न सकिने देखिन्छ ।

अर्का कलाकार क्रिपोल किटिसिरोटले एउटा एउटा सुन्दर फुलको चित्र प्रस्तुत गर्नु भएको छ । जुन चित्रलाई उनले ‘मन कोयूर रोज’ शीर्षक दिएका छन् । शीर्षकले भित्री मनको विषयलाई बोलेको छ भने उनको चित्रले मनलाई दिने आनन्दको बयान गरेको छ ।

त्यस्तै भासन सिटिकेटले प्यालेस्टाइन र इजरायलको युद्धको विषयलाई चित्रमा उतार्नु भएको छ । उहाँले दुई वालबालिकाको प्रतिनिधि चित्र कोर्नुभएको छ । उहाँले कोर्नुभएको चित्र माथि प्रकाश पार्दै भन्नुहुन्छ–‘यस्ता द्वन्दहरु विरुद्ध समग्र मानव समाज एकजुट हुनुपर्दछ ।’ उहाँले युद्धबाट प्रताडित बालबालिकाहरुको अनुहारमा देखिएको भावलाई आफ्नो चित्र मार्फत प्रस्तुत गर्नुभएको छ । जसको शीर्षक उहाँले ‘लभ नट वार’ दिनुभएको छ ।

कलाकार विनोद प्रधानको ‘सेक्रेड रिलम’ नामक चित्रमा उहाँले पवित्र प्रकृतिको चित्रण गर्नुभएको छ । चित्रका परिदृष्यहरुमा रङ्गलाई आकर्षक ढङ्गबाट मिश्रित गर्नुभएको छ । यसमा उहाँले अलौकिक र पौराणिक आयामहरुलाई प्रस्तुत गर्नुभएको छ । उहाँ भन्नुहुन्छ–‘मेरो चित्रमा रहेको स्तुप, ठूला ठूला ढुङ्गा, झरना र चम्किलो बादलले सजिएको आकाशले घेरिएको विषयवस्तु चित्रित छन् ।’ विनोदका चित्रमा विशेषतः हिमालय क्षेत्रको रहस्यमय सारलाई समेटेर आफ्नो अन्तस्करणको मनोभावनाहरुलाई क्यानभास मार्फत प्रस्तुत गर्नुभएको देखिन्छ ।

‘ध्यानको माध्यमबाट प्राप्त अनुभव र अन्तरदृष्टिकामा देखिएको विषयहरु यस चित्रमा उतारिएको छ’– कलाकार सञ्जित महर्जन बताउनुहुन्छ । चित्रमा शौम्य रुपमा ध्यानस्थ अनुहार र रिस तथा तनावमा देखिने देखिने अनुहारलाई एउकै चित्रमा सुन्दर तरिकाबाट प्रस्तुत गर्नुभएको छ । शिव र शक्तिको चित्र जसरी हामीहरुले देखिरहेका हुन्छौं । ठिक त्यस्तै गरी उहाँले रिस र ध्यानस्थ अवस्थाको एउटा मानव आकृतिलाई क्यानभासमा प्रस्तुत गर्नुभएको छ । ‘पावर अफ आवर ट्रु नेचर’ शीर्षक दिइएको चित्रमा शान्त रुपलाई देखाउन निलो रङ्गको प्रयोग देखिन्छ भने क्रोधित अनुहारको लागि सूर्यलाई पाश्र्व भावमा देखाइ सुन्तला रङ्गलाई प्रयोग गर्नुभएको छ ।

मुकेश श्रेष्ठ समसामयिक कला बनाउने छुट्टै क्षमता भएका कलाकार हुन् । उहाँ भन्नुहुन्छ–‘प्रेम पूर्ण हुनु आवश्यक छैन, यो केवल साँचो हुनु आवश्यक छ ।’ निश्वार्थ प्रेमले सम्बन्धलाई बलियो र भरिपूर्ण बनाउन ठूलो भूमिका खेल्ने कुरामा कलाकारको ठूलो विश्वास रहेको देखिन्छ । भावनाको विषयमा जीत र हारको कुनै अर्थ रहँदैन, मनभित्रको मनोभावनाले रिसमा पनि मायाँ देखाउँछ भन्ने भावना उहाँको चित्रले प्रतिविम्बित गर्दछ ।

सुचिन श्रेष्ठको स्व–चित्रण हेर्न लायकको कला रहेको कला पारखीहरु बताउँछन् । उहाँले आफ्नो चित्रमा मनोभावनाहरुलाई प्रस्तुत गर्नुभएको छ ।  आफ्नो मनोभावनाको सुक्ष्मतालाई चित्रमा प्रस्तुत गर्नु उनको कुशलता मान्न सकिन्छ । उहाँ भन्नुहुन्छ–‘मौखिक भावनाले व्यक्त गर्न नसकेका विषयहरु रङ्गको माध्यमबाट क्यानभासमा व्यक्त गर्न सकिन्छ ।’ उहाँको कलामा जटिल किसिमका आन्तरिक मनोभावनालाई चित्रमार्फत प्रस्तुत गर्ने प्रयास गर्नुहुन्छ । त्यो मनोभावनालाई सुन्दर तरिकाले क्यानभासमा दर्शकहरुलाई पस्कनु उनको खुवी हो ।

कलाकार निलेश शाक्यको बज्रघण्टी शीर्षकको कला नौलो प्रस्तुती हो । ढुङ्गा र घण्टीको प्रयोगद्वारा सिर्जना गरिएको कलाले दर्शकहरुलाई नौलो अनुभूति दिन सक्छ । घण्टी बुद्धिको प्रतिक र ढुङ्गाले करुणाको प्रतिनिधित्व गर्दछ । प्रकृति र पुरुषको सिद्धान्तमा उनको कला उभिएको छ । एक अर्काको मिलनले मात्र पूर्णता पाउँछ भन्ने भावना यस कलामा प्रस्तुत भएको पाइन्छ । कलाकार भन्नुहुन्छ–‘ढुङ्गाले कठोरतालाई प्रतिनिधित्व गर्दछ भने घण्टीले करुणा ।’ निलेशले यस प्रदर्शनीमा प्रस्तुत गर्नुभएको कला एक फरक प्रयोगको हिसावले हेर्न सकिन्छ ।

बर्दियाका महिलाहरुको जीवनमा आधारित भएर तयार गरिएको कलाकार सुदिक्षा डंगोलका कलाहरु हेर्न लायकका छन् । उहाँको यी कलाहरु बर्दियाका महिला र किशोरीहरुसँगको कुराकानीको प्रतिध्वनिबाट जन्मिएको दृष्य कथा हो । सानै उमेरमा विवाह हुने वा पैसाकोलागि सेनामा भर्ती हुने दबाबले शिक्षाको लागि संघर्ष गर्नुपर्ने कथा छ । ‘क्रिमसन चेन’ शीर्षक दिइएको उनको चित्रकलामा देखिने रातो रङ्गका प्रतिकहरु आफैंमा मौलिक छन् । उहाँले ती किशोरी तथा महिलाहरुको दुःख, पिडा र उनीहरुको दैनिक संघर्षको कथालाई कला मार्फत प्रस्तुत गर्नुभएको छ । कलाकार डंगोल थप्छिन्–‘मेरा चित्रहरुले उनीहरुलाई समातिरहेको सामाजिक मनोविज्ञानको साङ्गो तोड्नुपर्ने बताउँछ ।’

कलाकार सुनिता महर्जनका कलाहरु प्रकृतिप्रेमी हुन्छन् । उहाँको कलाले औद्योगिक विकासका सिर्जनाहरुले प्रकृतिलाई जित्न सक्दैन भन्ने सन्देश दिन्छन् । त्यसैले त उहाँका चित्रमा थन्किएर बसेका यातायातका साधन, मानिसहरुले त्यतिकै छोडेका घरहरुमा उम्रने हरिया प्राकृतिक बनस्पतिहरुलाई क्यानभासको माध्यमबाट देखाउने गर्नुहुन्छ । मानव हस्तक्षेपलाई प्रकृतिले दिने प्रतिक्रियाको ज्वलन्त उदाहरणको एक रुपलाई चित्रमार्फत प्रस्तुत गर्नुभएको छ ।

कला प्रदर्शनीमा सहभागि अर्का कलाकार नटसुरी तेचावीरियातवीसिनको कलामा एक नारीलाई देखाइएको छ । उहाँ भन्नुहुन्छ–‘नारीहरु फुलहरु जस्तै हुन् र उनिहरु विभिन्न प्रकारका सौन्दर्यमा समाहित हुन्छन् ।’ हरेक महिलाहरुको अद्वितीय पहिचान हुने कुरामा विश्वास गर्ने कलाकारले सोही विषयवस्तुलाइ पस्कनु भएको छ । रङ्गको समिश्रणलाई उहाँले आकर्ष ढंगबाट चित्रमा प्रस्तुत गर्नुभएको छ।

कलाकार सुसिला सिंहका चित्रहरुभने सेरामिक्समा छन् । यस सेरामिक्स कलामा उहाँले मन्दिर र चराहरुलाई प्रतिविम्बित गर्नुभएको छ । उहाँले सुन्तला रङको प्रयोग गर्नु भएको छ । मानिसहरु उत्साहका साथ चाडपर्वहरु मनाउँछन्, मन्दिरहरु घुम्दछन् र जात्राहरु हेर्छन् ।  कलाकार भन्नुहुन्छ–‘मलाई लाग्दछ कि देवता र मन्दिरहरुले समान उत्सवहरु मनाउनको लागि उनिहरु आफ्नो स्थानबाट बाहिर जानुपर्छ ।’ हाम्रा कला, संस्कृति र पर्वहरुमा यति धेरै मानिसहरुको भीड लाग्दछ कि जब मन्दिरबाट देवता बाहिर निकालिन्छन् । तिनीहरुलाई विशेष पुजा मार्फत टोल परिक्रमा गराइन्छ । ठिक त्यसरी नै मन्दिर नै बोकेर वा मन्दिर भित्र देवता राखेर बाहिर घुमाइन्छ । त्यही कथा तथा परिवेशलाई सेरामिक्स कलामा प्रस्तुत गर्ने प्रयास कलाकारले गर्नुभएको छ ।

कलाकारहरु जरुवान म्युनगख्वाको चित्रकलामा विरालोलाई प्रतिविम्बित गरिएको छ । कलाकारलाई विरालो जनावरहरु मध्ये भाग्यशाली जनावर लाग्दछ । त्यही विषयलाई उहाँले चित्र मार्फत प्रस्तुत गर्नुभएको छ ।

सुरज शिल्पकारले काष्ठकला प्रस्तुत गर्नुभएको छ । उहाँले अनियन्त्रित शहरीकरण र शहरको विस्तारले हाम्रो परम्परागत धरोहरहरुमा परेको जोखिमका विषयलाई देखाउन मकारा शीर्षकको काष्ठकला प्रस्तुत गर्नुभएकोछ । पानीको अभावमा रहेको शहरको कथालाई पुरानो मौलिक परम्पराको ज्ञात गराउन उनको कलाले मदतगार हुन सक्छ । उनले आफ्नो कलामा मिहिन काम गरेको देख्न सकिन्छ ।

सुजन डंगोलको काममा शहरको अवस्थालाई हेर्न सकिन्छ । उहाँको प्राय कामहरु राजधानीसँग केन्द्रित हुन्छन् । अहिले उहाँको स्वयम्भू शीर्षकको कला प्रदर्शनीमा छ । पहिचानको गठबन्धको रुपमा उहाँले आफ्नो कलालाई प्रस्तुत गर्नुभएकोछ । पुरानो काठमाडौंको झल्को दिने हिसावले कलाकारले आफ्नो कला प्रस्तुत गरेको बताउनुहुन्छ । काठमाडौंमा नेवारहरुको वस्तीलाई उहाँको कलाले प्रतिविम्बित गरेको पाउन सकिन्छ ।

कला प्रदर्शनीको दौरानमा डिसेम्बर १६ का दिन एक दिने कला कार्यशाला समेत आयोजना गरिएको थियो । कार्यशालामा वरिष्ठ कलाकार किरण मानन्धरले डेमोन्सट्रेसन दिनुभएको थियो भने थाइल्यान्डको कलाकार र नेपाली कलाकारहरुले आफ्नो कला मार्फत संस्कृतिको आदान प्रदान समेत गर्ने अवसर जुटेको थियो । कला प्रदर्शनी डिसेम्बर ३० सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array