नेपाल आर्ट काउन्सिलमा ‘इलिप्सेस’

खोज पत्र
खोज पत्र २७ भाद्र २०८०, बुधबार ०६:००
9 Min Read
Aa

ढोकाबाट भित्र छिर्नेवित्तकै दाहिने पट्टिको कोठामा झ्यालैझ्यालले कुनै शहर जस्तो भान हुने कला देख्न सकिन्छ । अर्को छेउमा हाम्रा पुरातात्विक सम्पदालाई विजुली तथा टेलिफोनका तारहरुले विगारिरहेको  विषयलाई हेर्न सकिन्छ । साथै, आफ्नो घरमा, आफु रहेको स्थानको वरिपरि देखिएका र सायद ती विषयहरु कलाकारले दिनहुँ जस्तो अनुभव गरेका विषयहरु छन् । ठूलो क्यानभासमा धर्का तानिएजस्तो लाग्ने चार वटा ठूला चित्रहरु छन् ।

यो झ्यालको काम इतुम्बहालबाट सुरु भएको कलाकार सुवोध भण्डारी बताउँछन् । कलेजको सुरुवाती दिनमा परियोजना कार्यहरु गर्न जाँदा र्यान्डम फोटोहरु खिचेको अनुभव उनीहरुसँग छ ।  काठमाडौंमा भइरहेको परिवर्तनहरुलाई देखाउने तथा यहाँ विविध सांस्कृतिक धरातलबाट आएका मानिसहरु बस्छन् भनेर देखाउने एउटा शसक्त टुलको रुपमा झ्याललाई प्रस्तुत गरिएको छ ।

‘इतुम्बहाललाई हेर्दा नेवारी बस्तीको रुपमा बुझिन्छ तर त्यहाँ बसाइसराइ वा अन्यत्रबाट आएर मानिसहरु बसेको छन् । कला, संस्कृति, व्यापार र शिक्षाको केन्द्र काठमाडौं भइसकको छ । सबै प्रकारको मानिसहरु यहाँ बस्छन्, जसरी झ्यालहरु पनि फरक फरक छन् ।’– समृद्धि रत्न बताउँछन् ।  सुवोध बताउँछन्–‘यहाँ राखिएका झ्यालहरु सबै फोटो खिचेर बनाइएको हो । तर यहाँ राखिएको झ्यालको आयु लामो होस् भन्नका लागि हामीले त्यसमा झ्याल जस्तो देखिन्छ त्यस्तै एक्रेलिक कलरले पेन्ट पनि गरेका छौं ।’ काठमाडौंको इतुम्बहालबाट सुरु गरेको झ्यालका फोटाहरु, पछि विस्तारै काठमाडौं, पाटन र भक्तपुरलाई समेत समेट्न पुगेको र दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको बताउँछन् कलाकार द्वय सुवोध र समृद्धि ।

पुतली, बादल, लसुन लगायतका जलरङ्गमा बनाएका चित्रहरु ग्यालरीको उत्तरपट्टि राखिएको छ । ‘मेरो नजिक, मैले देखिरहेको विषयवस्तुहरुलाई केही नयाँ ढंगबाट प्रस्तुत गर्ने प्रयास गरेको छु ।’– कलाकार सविता ज्ञवाली बताउँछिन् । उनका यस परियोजना कार्य अन्र्तगतको प्रदर्शनिमा ९ वटा चित्रकलाहरु छन् ।

‘आफुभित्रका भावनाहरु, आफ्नो हृदयमा देखिएको विषयहरुलाई लाइनको माध्यमबाट प्रस्तुत गरेको हुँ’– सन्देश श्रेष्ठ बताउँछन् । उनका चित्रहरु झ्वाट्ट हेर्दा कुनै म्यट्रिक्स जस्तो लाग्न सक्छन् तर यसलाई मनोसामाजिक हिसावले हेर्दा बढी आनन्द आउने एक दर्शकले बताउँछन् । आफु भित्रको तरङ्गहरुलाई यसरी प्रस्तुत गर्दा आउने दर्शकहरुले यसलाई हेर्दा आनन्दको महसुस भएको बताउँदा खुसी लाग्छ सन्देशलाई ।

ग्यालरीको भित्र छिर्दा देव्रेपट्टिको कोठामा केही थानहरु चित्रहरु झुण्डिरहेका छन् भने भित्तामा कलाकारका यादहरुलाई समेटेर बनाएको चित्रकला राखिएको छ । निलिमा महर्जनले बनाएको चित्रहरु आफ्नो घरभित्र रहेका वा देखेका पुराना यादहरुलाई ताजा गर्ने हिसावले कामहरु प्रस्तुत गरेकीछिन् । पूर्णिमा राईले सिर्जना गरेको चित्रहरु किन आँखालाई हेर्न कठिन हुने गरी तल सम्म झुण्ड्याएको भन्ने खोजपत्रको प्रश्नमा उनको जवाफ थियो– ‘मानिसहरुले आफ्नो उचाइ अनुसार हेर्न सहज होस् भनेरकुनै माथि र कुनै तल सम्म राखिएको हो ।’ यस कामको फ्रेम सिसाको छ । दुवैपट्टि चित्र राखिएकोछ । एक पट्टिको चित्रको छायाँ अर्कोपट्टि देखिन्छ । जसलाई कलाकार पूर्णिमाले जीवनको तहहरु(लाइफ लेयर) भनेर प्रस्तुत गरेकी छिन् । उनी भन्छिन् –‘आफ्नो दिमागमा धेरै कुरा खेलिरहेको हुन्छ । सबै कुरा पुरा गर्न सकिँदैन । अर्को मैले आफुलाई हेर्दा म प्रकृतिसँग पाउँछु । त्यसैले मेले धेरै जसो कामहरु प्रकृतिसँग सम्बन्धित नै गरेको छु ।’ पूर्णिमा राई पूर्वी नेपालकी हुन् । उनी ग्रामिण भूभागमा हुर्किएको र काठमाडौं आउँदा आफु हराएको महसुस गरेको बताउँछिन् । उनलाई अलिक खुल्ला ठाउँमा बस्न मन पर्छ । आफ्नो परिवेश सुहाउँदो स्थानमा घुलमिल हुन सहज लाग्छ । त्यसैले उनले आफ्नो जीवनको तहहरुको विषयलाई यस परियोजना कार्यमा देखाएको बताउँछिन् ।

यस प्रदर्शनीको अर्को आकर्षण भनेको आभास नेमकुलले बनाएका ‘ड्रिफ्ट एलङ्ग’ शीर्षकको काम हो । उनले एउटा पुरा कोठालाई नेपाली कागजको माध्यमबाट ट्युव बनाएर राखेका छन् । उनी भन्छन्, ‘हाम्रो विचारको तरलतो चेतन दिमागलाई कि त बनाउँछ, कि त तोड्छ । हाम्रा स्नायु प्रणालीहरुलाई चलायमान हुन्छन् । तर कुन, कसरी, कोसँग ठोकिएर के हुँदैछ भन्ने थाहै हुँदैन ।’ कलाकारले विचारहरुको संग्रहलाई प्रस्तुत गरेका गरेका छन् भने उनी यहाँ आउने हरेक दर्शहरु आपसमा कुराकानी गरुन् भन्ने पनि चाहन्छन् ।

हाम्रा खेल्ने, कुद्ने र अन्न उब्जाउ हुने जमिनहरु अब छैनन् । ती जमिनहरुमा धेरै भौतिक संरचना बनिसकेका छन् । त्यही विषयवस्तु पुजन के.शीको चित्रमा देख्न सकिन्छ भने अर्की कलाकार सरिना घले र चाहना शाक्यले आफ्नै प्रकारका गहनाहरु बनाएर प्रस्तुत गरेका छन् । उनीहरु दुई जनाको गहनाको प्रस्तुत दर्शकहरुलाई मन खाने हुनसक्छ । स्निग्धा शाक्यले फरक प्रकारको काम प्रस्तुत गरेकी छिन् । उनले आफ्नो प्याचहरु आफैं बनाउनुहोस् भनेर भित्ताभरी रंङ्गीचङ्गी कागजहरुलाई विभिन्न डिजाइनमा प्रस्तुत गरेकी छिन् । हर्षिता सिंहले सेरामिक्समा गरेका कामहरु राखेकी छन् । उनका कामहरुमा सामान्य हातका औंलाहरुभन्दा फरक छन् । उनको स्टाइल र प्रस्तुती विशेष देखिन्छ ।

कलेजका दिनहरुमा धेरैभन्दा धेरै फोटो खिच्थें, पछि चौथो वर्षमा आएरहेर्दा ती सबै तस्विरको एउटा उस्तै स्वभाव थियो । भवनहरु छन् तर त्यसको भित्र हेर्दा मान्छेहरु देखिँदैनथे । त्यो विषय पछि फोटो हेरेपछि मात्र याद भयो । त्यही विषयलाई क्यानभासमा प्रसतुत गरेको कलाकार ओनिसिमस राई थुलुङ्ग बताउँछन् । जति ठूलो भवन भए पनि त्यहाँ मानिसको उपस्थिति सून्य छ, त्यस्तो खाली स्थानमा मानिसहरुले कसरी आफुलाई उपस्थित भएको अनुभव गर्न सक्ला भन्ने कलाकारको प्रश्न पनि हो । उनले विभिन्न भवनको तस्विरलाई कोलाजको रुपमा चित्र मार्फत प्रस्तुत गरेको हो । ‘ब्लक्स अफ स्पेसेस’ भनेर कलाकारले यसलाई नाम दिएका छन् ।

सम्राट जोशीको काम आम जनमानसले देखिरहेको काम भन्दा फरक देखिन्छ । उनले बनाएको चित्रकलामा पौभा तथा थान्काको फ्लेबर भेटिन्छ । उनले प्रयोग गरेको मोटिफहरु पनि पुरानै शैलीको छ भने रङेगहरुले पनि दर्शकलाई आकर्षित गर्न सक्छ । तर, उनको काममा उनले प्रयोग गरेका चित्रहरुमा योगका आशनहरु, युद्धकला सिक्दा गरिने अभ्यासहरुलाई समेटिएको जस्तो देखिन्छ । स्थिर र अस्थिर मानसिकताको अवस्थालाई एउटा चित्रमा देखाएका छन् । उनले बनाएको अर्को एक चित्रकलमा भने हामीले कतै देखिरहेको पौभाको चित्रकथा जस्तो भान हुने चित्र बनाएका छन् । जसमा एक व्यक्तिको हातमा खड्ग छ । एउटाले अर्कोलाई हेरिरहेको छ । यो चित्रलाई उनले समसामयिक ढंगबाट प्रस्तुत गर्न सफल भएको देखिन्छ ।

कात्यायनी राईले बनाएको प्रिन्ट मेकिङको कामहरु आम रुपमा देखिरहेको भन्दा फरक देखिन्छन् उनलका प्राय चित्रहरुमा निलो रङ्गको प्रयोग बढी देखिन्छ । आफ्नो मनोभावनाहलाई कात्यायनीले यहाँ प्रस्तुत गरेकी छिन् । अर्का कलाकार सविन महर्जनले रातो मछिन्द्रनाथको बारेमा आफ्नो काम प्रतस्तु गरेका छन् । उनले फोटोग्राफिको प्रयोग गरेका छन् । उनका फोटाहरु विशेष छन् । उनले यस परियोजनाकार्यका लागि मछिन्द्रनाथसँग सम्बन्धित एउटा किताव नै निकालेका छन् । जसमा जनश्रुतिअनुसार चल्दै आएको कथनहरुलाई समेत समेटिएको छ । दर्शकरु आर्ट काउन्लिको भित्र छिरेपछि भर्याङ्ग उक्लिएर देव्रे मोडिने वित्तिकै उनको विशाल चित्र भित्तामा देख्न सक्नुहुन्छ । धेरैकुरा जान्न चाहने दर्शकले कलाकारलाई भेट्न पनि सक्नुहुन्छ ।

अर्को ग्राफिक्समा काम पनि प्रदर्शनीको आकर्ष हो । नेपाली यस्ता कितावहरु पढ्ने जमात बढ्दै छ । सायद यस्ता कितावहरुले बालबालिकामा सामाजिक, सांस्कृतिक र नैतिक चेतना बढाउन मदत गर्ला । यस प्रदर्शनीमा साकार हेरा सायमी, अर्शा श्रेष्ठ, अभिषेख मानन्धरका कामहरुपनि राखिएको छन् । अग्रणी झाको ‘इट्स ओके’ नामक काम पनि दर्शकहरुलाई मन पर्न सक्छ । सेलिना श्रेष्ठको म्युरल विशेष देखिन्छ भने आशा श्रेष्ठले काठबाट बनाएका विभिन्न कामहरु दर्शकहरुलाई मन पर्न सक्छ । रोहिल श्रेष्ठले बनाएको कार्टुन गेमको काम युवा जमातलाई झनै मन पर्छ  । यस प्रदर्शनीमा अर्को एक काम अलिक फरक छ । जुन काम अभिषेक मानन्धरले बनाएका हुन् । त्यसमा उनले मोवाइलको एप मार्फत कसरी भ्रमण गर्ने भन्ने विषयवस्तु समेटिएको आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । अर्की कलाकार समिक्षा जोशीको कामहरु प्रदर्शनी स्थलमा हेर्न सकिन्छ । उनको काममा पुराना घरहरुलाई प्रस्तुत गरेकी छिन् ।

२३ जना स्नातक तह चौथो वर्षका कलाको अध्ययन गरिरहेका विद्यार्थीहरुको चौथो वर्षमा आफ्नो परियोजना कार्यको प्रस्तुतीहरु कलामार्फत गरेका छन् । प्रदर्शनीको उद्घाटन काठमाडौं महानगरपालिकाका उपमेर सुनिता डंगोलले गरेकी थिइन् । यस प्रदर्शनीमा देखिएको केही चित्रहरु विगतका वर्षहरुमा पनि देखिएको जस्तो लागेको दर्शकहरुले बताए ।

नेपाल आर्ट काउन्सिलमा सेप्टेम्बर ८ देखि १३ सम्मका लागि इलिप्सेस शीर्षक दिइएको चित्रकला प्रदर्शनी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array