कलालाई पर्यटनसँग जोड्दै आमाछोदिङमो

सुनिल पौडेल
सुनिल पौडेल २१ चैत्र २०८०, बुधबार ०८:००
15 Min Read
Aa

धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाहरूले भरिपूर्ण आमाछोदिङमो गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवस्थित छ । उक्त स्थानमा वि.सं. २०८० साल चैत्र ९ गतेदेखि १३ गतेसम्म त्यहाँका विशेषताहरूलाई चित्रकला मार्फत् नेपाल तथा विश्वसामु पु-याई पर्यटन प्रवद्र्धनमा मद्दत गर्ने उदेश्यका साथ नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र आमाछोदिङमो गाउँपालिकाको संयुक्त आयोजनामा ‘आमाछोदिङमो कला शिविर’ सम्पन्न भयो । उक्त कला शिविरमा जुपिटर प्रधान, शशी कुमार डङ्गोल, दिनेश्वर महतो, प्रदिप अधिकारी (सुसान्त), राजन काफ्ले, सपना पौडेल महर्जन, किशोर नकर्मी, सुनिता राणा, मनरा प्रजापति, निलम भुर्तेल, अशुराम खैजु, डी.बी. गुरुङ, प्रमिला बज्राचार्य, झविन्द्र गुरुङ, भीम श्रेष्ठ, नर बहादुर वि.क., शंकर सन श्रेष्ठ, जुनु माया तामाङ, प्रदिप बज्राचार्य, डिल्लीराज शर्मा घिमिरे, सम्भव महर्जन, दिपेन्द्रमान बनेपाली, पुन्य मटाङ लगायतका नेपालका करिब २५ जना कलाकारहरूको सहाभागिता रहेको थियो । समावेशीमूलक रूपमा कलाकारहरूको चयन गरिएको उक्त कार्यक्रम गाउँपालिकाको वडा नं. ३ मा अवस्थित गत्लाङ गाउँको साँस्कृतिक केन्द्रमा भएको थियो । पालिका अध्यक्ष बुचुङ तामाङले कलाकारहरूलाई क्यानभास हस्तारण तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति नारदमणि हार्तमछालीले क्षमी बालेर संयुक्त रूपमा उद्घाटन गरेको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चण्डिका तामाङ तथा वडा नम्बर ३ का वडाअध्यक्ष सुरेन्द्र तामाङ लगायत स्थानीय पर्यटन व्यवसायी तथा पालिका अन्तर्गत कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

आमाछोदिङमो गाउँपालिकाको गत्लाङ गाउँबाट देखिएको लाङ्टाङ हिमालको दृष्य

कला शिविरमा सहभागी हुने कलाकारहरू काठमाडौंको माछापोखरीमा चैत्र ९ गते भेला भई टोखाबाट नुवाकोट हुँदै रसुवा जिल्लामा पुगेका थिए । उक्त दिन कलाकारहरूलाई स्थानीय आमा समूहले तासीदेले गीत गाएर स्वागत गरेका थिए । काठमाडौंबाट रसुवाको गत्लाङ गाउँ पुगेका कलाकारहरूलाई वासस्थान, खाना तथा सँस्कृति र परम्परागत विषयमा बुझ्न सहज होस् भन्ने हिसाबले तीन समूहमा विभाजन गरिएको थियो । यस स्थानमा विशेष गरी फापर, आलु, सिमी, दाल, सिस्नो लगायतका परिकारहरू उब्जनी हुन्छन् । यस गाउँमा महिलाहरू स्थानीयस्तरमा उत्पादन भएका ऊनबाट तानमा कपडा बुन्ने काम गर्दछन् । धेरै भन्दा धेरै मानिसहरू स्थानीयस्तरमा बनेका कपडाहरू लगाउँछन् । उनीहरूको कपडा बुन्ने कलालाई मौलिक रूपमा हेर्न सकिन्छ । भेँडाको ऊनबाट धागो बनाएर बख्खु, सेल्दो, टोपी बनाउने र त्यसलाई आफ्नो शरीर सुहाउँदो हिसाबले बनाएर लगाउने चलन परापूर्वकालदेखि यहाँ जीवित छ ।

पार्वती कुण्डको भ्रमणसँगै त्यहाँ रहेको पुरातात्विक महत्व बोकेको एउटा गुम्बाको समेत अवलोकन गर्ने अवसर प्राप्त भयो । उक्त स्थानबाट पूर्व–उत्तर दिशामा देखिने लाङ्टाङ हिमालको दृष्य कलाकारहरूको लागि रोमाञ्चक थियो । उक्त अवलोकन भ्रमण गरेर गत्लाङ गाउँ फर्केपछि कलाकारहरू गाउँको भ्रमण गर्दै चित्रहरू बनाउनमा व्यस्त रहे ।बेलुकी सबै कलाकारहरू भेला भई एकअर्काका अनुभवहरू साटासाट गर्ने, स्थानीय परिवेशमा देखिएका विषयहरू, कलाकारहरूले एकअर्कासँग सिकेका विषयहरू, कुनै कमी–कमजोरी भएका भए त्यसको विषयमा विस्तृत छलफल समेत भएको थियो । त्यहाँ सबै कलाकारहरूले एकअर्काका विचारहरूलाई सम्मान गरेका थिए ।

आमाछोदिङमो गाउँपालिका वडा नं. ३ मा अवस्थित पार्वती कुण्ड

यस कार्यक्रमको उदेश्यमाथि थप प्रकाश पार्नुहुँदै गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजेन्द्र प्रसाद आचार्य भन्नुहुन्छ– ‘आमाछोदिङ्मो गाउँपालिकाको स्थानीय पाठ्यक्रम अन्तर्गत बनेको हाम्रो आमाछोदिङ्मो भन्ने स्थानीय सन्दर्भसामग्रीको रूपमा बनेको पुस्तक तथा पाठ्यपुस्तकमा यहीँका विषयवस्तुहरूलाई, यहींका कला तथा सँस्कृतिहरूलाई राखेर विद्यार्थीहरूलाई पठनपाठन गर्ने प्रवन्ध मिलाएका छौं । त्यसका निमित्ति क्यामराबाट कैद गरिएको तस्विरहरूभन्दा क्यानभासमा उतारिएका चित्रकलाहरू मार्फत अध्ययन गराउन सकियो भने चित्रकलामा रुचि भएका विद्यार्थीहरूलाई त्यसले थप उर्जा प्रदान गर्नेछ । त्यसैले यहाँ बनेका चित्रहरूलाई हाम्रा पाठ्यक्रममा समेत समावेश गर्ने अर्को थप उदेश्य यस आर्ट क्याम्पको रहेको छ ।’

गाउँपालिका अध्यक्ष बुचुङ तामाङले गत्लाङ गाउँ विश्वसामु कालो गाउँको नामले परिचित छ । भूकम्पपश्चात् यसको स्वरुपमा परिवर्तन आएको भए पनि आगामी दिनमा यसलाई पहिलेकै अवस्थामा लैजाने बताउनुभयो । आर्ट क्याम्पले यहाँबाट शुरु हुने तामाङ् ट्रेल, यहाँका महत्वपूर्ण सम्पदा, छ्योर्तेन तथा मानेहरूको महत्व कला मार्फत् प्रस्तुत गरेर पर्यटन प्रवद्र्धनमा थप मदत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कलाकार तथा प्राज्ञसभा सदस्य जुपिटर प्रधान भन्नुहुन्छ– ‘बेग्लै परिवेश, बेग्लै स्थान, सबै प्रकारका कलाकारहरूको सहभागिता, पुस्ताका हिसावले समेत तीनवटा पुस्ताका कलाकारहरू समावेश भएको यस आर्ट क्याम्प सफल भएको छ । सानाले ठूलाबाट सिक्ने र ठूलाले पनि अहिलेको परिवेश बुझ्न सानासँग कुराकानी गर्ने अवसर जुरेको छ । आर्ट क्याम्प र आर्ट वर्कसपबीचको फरकपनलाई चिर्न हामी प्रयासरत छौं । त्यस विषयलाई कलाकारहरूले पनि विस्तारै बुझ्दै जानुहोला भन्ने लाग्छ । कुनै पनि स्थानमा पुगेर त्यहाँको भ्रमण गरेर आफुले कुनै कन्सेप्टमा काम गर्न सके झनै राम्रो हुन्छ । तर अझै पनि कलाकारहरू कुनै पनि स्थानमा पुग्ने वित्तिकै काम गरिहाल्ने अवस्था छ । त्यसलाई सुधार गर्दै जानुपर्छ भन्ने लाग्छ । स्थानीय पालिकाहरूले यसरी कलालाई महत्व दिएर यस्ता कार्यक्रमहरू गर्दै जाने हो भने पक्कै पनि हाम्रो कलाको विषय फराकिलो बन्दै गएर तल्लो तहसम्म पुग्न समय लाग्दैन ।’

***

पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्य भएको आमाछोदिङमो गाउँपालिकाभित्र भ्रमण गर्न सकिने थुप्रै स्थानहरू छन् । यस पालिकाभित्र कुण्डहरूको अध्ययन तथा भ्रमण गर्न चाहनेहरूको लागि पार्वती कुण्ड, जागेश्वर कुण्ड, नोजे कुण्ड, डिल्पु कुण्ड छन् । प्राकृतिक सौन्दर्यको आनन्द लिनका लागि साङ्जेन भ्याली, सोमदाङ भ्यालीजस्ता ठाउँहरू भ्रमण गर्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन छमजङ डाँडा भ्युप्वाइन्ट, बुङ्जो डाँडा भ्युप्वाइन्ट, माफुङ्जे डाँडा भ्युप्वाइन्ट जान सकिन्छ । धार्मिक हिसाबले अवलोकन गर्नका लागि पुराना तथा पुरातात्विक महत्वका गुम्बाहरू छन् । हरेक वडामा २ देखि ३ वटा गुम्बा रहेका छन् । त्यसभित्रका काष्ठकला, मूर्तिकला तथा अन्य विभिन्न कलाकृतिहरू, स्वर्ण अक्षरले लेखिएका हस्तलिखित ग्रन्थहरूको अध्ययन गर्न सकिन्छ । वडा नम्बर ४ को गोल्जुङ गाउँमा अवस्थित रिसान गुम्बा पुरातत्व विभागले संरक्षण गरेको गुम्बामा पर्दछ । अर्को महत्वपूर्ण पाल गुम्बा हो । वडा नं. ३ को गत्लाङमा अवस्थित गत्लाङ्ग गुम्बाका धेरै सामग्रीहरू चोरी भएको त्यहाँका लामाले बताउनुहुन्छ । अर्को महत्वपूर्ण वृन्दाङ् गुम्बा लगायत अन्य गुम्बाहरूले पुरातात्विक महत्व बोकेका छन् । प्राकृतिक दृष्टिले कृषि पर्यटन, पर्या पर्यटनका हिसाबले पनि यस पालिका महत्वपूर्ण मानिन्छ । भौगोलिक विविधताले भरिपूर्ण भएको कारण यस पालिका एक हजार मिटरदेखि पाँच हजार मिटरसम्म फैलिएको छ । यहाँ जैविक, प्राकृतिक तथा वातावरणीय विविधताको विषयमा अध्ययन भ्रमण गर्न सकिन्छ । त्यस्ता स्थानहरूलाई कलाकारहरूको कुची र क्यानभासले कलामा रुपान्तरण गर्न सकेमा यहाँको सौन्दर्य बुझाउन झन् सहज हुने पालिका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ । कलाकारहरूको लागि अर्को महत्वपूर्ण स्थान भनेको दरबारहरू हुन् । चुल्मो दरबार, जोगाङ् दरबार महत्वपूर्ण छन् । यस पालिकाभित्र रहेका गुम्बा तथा छ्र्योतेनमा कुँदिएका अक्षर तथा चित्रहरूले यहाँको मानव सभ्यताको विकासक्रमलाई हेर्न मदत गर्दछन् । त्यसमा रहेका कलाकृतिहरू अब्बल कलाकारहरूको त्यस समयको एउटा महत्वपूर्ण कृति हो भनेर भन्न सकिन्छ ।

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकालाई केन्द्रित गरेर कलाकारहरूले तन, मन र लगनसाथ चित्रकला तयार गरेका छन् । ऐतिहासिक, धार्मिक, साँस्कृतिक र भूबनोट, भेषभुषाका विषयहरूलाई विशेष ध्यान दिएर कलाकारहरूले काम गरेका छन् । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा मात्र नभई अन्य जिल्लाका पालिकाहरूले समेत कलाकारहरूलाई समावेश गरेर यस्ता कार्यक्रमहरू आयोजनागर्ने हो भने कलाको विकासको लागि थप टेवा पुग्थ्यो । काठमाडौं र पोखरामा मात्र ललितकलाका कामहरू सीमित हुनुहुँदैन । यसले हरेक स्थानीय पालिका हुँदै देशैभरि फैलिनुपर्छ । त्यसो भएमा विदेशसम्म समेत यसको विस्तार हुनसक्नेमा कलाकार शशीकुमार डङ्गोल बताउँछन् । आमाछोदिङमो गाउँपालिकामा कला शिविर गर्नको लागि समन्वयकारी भूमिका निर्वाह गर्ने काम कलाकार शशीकुमार डङ्गोलको थियो ।

यस गाउँपालिकाभित्र बनेका अधिकांश घरहरूले एउटा पहिचान बोकेका छन् – कलाको पहिचान । घरको द्ब्रेपट्टि अष्ठमङ्गल कुँदिएको झ्यालहरू छन् । दक्ष कलाकारले काठमा कोरेका बुट्टाहरू झ्यालहरूमा देख्दा कतिपय कलाकारहरूले अचम्म मान्दै स्थानीयहरूसँग यस विषयमा कुराकानी समेत गरे । तर, त्यसको इतिहास के हो भन्ने विषयमा भने कसैले बताउन सकेनन् ।

पर्यटन व्यवसायी तथा तामाङ होमका सञ्चालक विपिन तामाङ आफ्नो व्यवसायबाट आर्जित रकम सामाजिक सेवामा लगाउने बताउँछन् । यो कला शिविरले यहाँको मौलिक परम्परा, सँस्कृति, धार्मिक तथा साँस्कृतिक विषयवस्तुहरूका साथै प्राकृतिक मनोरमताको जानकारी धेरैभन्दा धेरै नेपालीले थाहा पाऊन् र विदेशसम्म यसको प्रचारप्रसार होस् भन्ने चाहना राख्छन् । स्थानीयस्तरमा उत्पादित परिकारहरू जस्तैः सिस्नो, फापर, सिमी लगायतका खाद्यान्नको रस्वास्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निम्ता दिन्छन् । उनी थप्छन्– ‘कला शिविरले यहाँको मौलिक परम्परागत शैलीका घरहरू, यहाँको बस्तीमा रहेका छ्योर्तेनहरू, गुम्बाहरू, भगनावसेस भई त्यसको उत्खननकाे पर्खाइमा रहेका दरबारहरूको जानकारी चित्रकला मार्फत् बाहिर पुगोस् भन्ने आशा छ ।’

यहाँको विशेषताको विषयमा अध्ययन गर्ने हो भने तल्लो पहाडी भूगोलमा बसोबास गरिरहेका तामाङहरूको भन्दा यहाँका तामाङहरूको रहनसहन, भाषा, भेषभुषा फरक खालको पाइन्छ । तामाङ् पदमार्ग अन्तर्गत रहेका तामाङ बस्तीहरूको अवलोकन गर्दैगर्दा यहाँको सांस्कृतिक तथा अन्य फरकपन महसुस गर्न सकिन्छ ।

कलाकार मनरा प्रजापतीका अनुसार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र गाउँपालिकाको संयुक्त आयोजनामा हुने यस्ता कला शिविरले राजधानी तथा अन्य स्थानमा बसोबास गर्ने कलाकारहरूलाई फरक ठाउँको अवलोकन गर्दै चित्रकला बनाउन पाउने नौलो अनुभव हुन्छ जसले कलाकारहरूको कलाकारितामा समेत निखार आउनुको साथै वृत्तिविकासमा मदत गर्दछ । स्थानीय बासिन्दा तथा कलाकारहरूको कुराकानीले स्थानीय तहमा कलाको महत्व बुझाउन समेत थप मदत गर्छ ।

गाउँपालिकाको ३ नम्बर वडाका अध्यक्ष सुरेन्द्र तामाङ भन्नुहुन्छ– ‘तामाङ् पदमार्गको प्रारम्भ स्थान यस गत्लाङ गाउँको समग्र वस्तुस्थितिलाई यो कला शिविरले प्रस्ट रूपमा  पर्यटन पर्वद्धनलाई समेत टेवा पुग्ने गरी मद्दत गर्ने अपेक्षा रोखेका छौं ।’

कला शिविरको तेस्रो दिन चैत्र ११ गते फागु पूर्णिमा परेको र रङहरूको पर्व भएको कारणले कलाकारहरू, स्थानीय बासिन्दा तथा विदेशी पर्यटकहरूसँग रङ खेल्दै बिहानको समय बित्यो । दिउँसोको समयमा कलाकाहरू चित्र बनाउन व्यस्त भए । त्यस दिन बेलुकी गत्लाङ्गको तामाङ होममा तीनवटा समूहमा विभाजन भएको कलाकारहरूको समूहले एकै ठाउँमा बसेर स्थानीय भाषाका गीतहरू सुन्दै खाना खाए ।

पालिकाको वडा नं. ४ मा अवस्थित गोल्जुङ गाउँमा चौथो दिन बिहान कलाकारहरू चियानास्ता गरेर आफूसँग भएको क्यानभास प्याक गरी होटलका सबैजनासँग विदा मागेर गाडी चढे । गाडी विस्तारै गत्लाङबाट गोल्जुङतर्फ अगाडि बढ्यो । बीचमा एउटा होटलमा खाना खान रोकियो । त्यसपछि गोल्जुङ गाउँको केही माथिपट्टि रहेको एउटा भ्युप्वाइन्टबाट कलाकारहरूले गोसाइकुण्ड क्षेत्र तथा लाङ्टाङ हिमालको अवलोकन गरे । करिब १ बजेतिर कलाकारहरूको समूह गोल्जुङ गाउँमा पुग्यो । गोल्जुङ्गमा भने कलाकारहरूलाई घोडा नाच देखाउन तयारी चलिरहेको रहेछ । गोल्जुङ भनेको के हो भन्ने प्रश्नमा स्थानीय बासिन्दाको भनाइ यस्तो थियो– ‘जुङ भनेको दरबार र ‘गो’ भनेको गोलो भएर मिलेर बस्ने भन्ने हो ।’

के हो त घोडा नाच ?

दवा दाङ्मो भन्ने महिना पहिलो महिना हो । यो विक्रम सम्वत्को फागुन महिना पर्दछ । दावा दाङ्मो भनेर फागुन महिनामा नाच शुरु भएको भन्ने मान्यता आज पनि स्थापित छ । यस महिनाबाट कामहरूको सुरुवात पनि हुन्छ । घोडा नाच भनेको यहाँ हुने माने नाच मध्येको एउटा कथा हो । माने नाच सात दिनसम्म चल्छ । शुरुमा छोगाउँ बनाएको हुन्छ । तोरमाहरू राखेको ठाउँलाई छोगाउँ भनिन्छ । तोरमा पनि पाँच पाथी चामलको बनाएको हुन्छ । लामाहरूले सिमेभुमे पुज्छन्, यहाँ कसैलाई कुनै पनि दुःखकष्ट नहोस् भनेर पुजा गरिन्छ । शुरुमा गेप्पो र गेम्मो, भेडा लेराउँदा रसुवागढी नाकामा तिरो तिर्नुपरेको विषय हुन्छ दोस्रो दिनमा । तेस्रो दिनमा चेरापु भन्ने हुन्छ जसमा शिकार गरेको विषय देखाइन्छ । चौथो दिनमा घोडा नाच हुन्छ । जसमा इतिहासको विषय समेटिन्छ । त्यसपछि पाँचौं दिनमा शेर्पानुर्पु, छैठौं दिनमा ज्यालनुरसङ र सातौँ दिनमा खेन्ड्रोमो हुन्छ जुन विषयलाई पर्वको रूपमा साँस्कृतिक रूपमा हरेक वर्ष देखाउने गरिन्छ ।

घोडा नाचमा पहिलेपहिले अछामबाट लिएरआएको रेसमको सेतो र रातो कपडाको घोडा बनाउने चलन थियो । सेतो घोडाले नेपाल पक्षको घले राजाको प्रतिनिधित्व गर्दछ भने रातो घोडाले तिब्बती लामाको । नेपाल–तिब्बतको युद्धको घटना देखाइन्छ । त्यसमा पहिले नेपालले तिब्बतलाई हराएको विषय छ भने पछि तिब्बतीहरू नुवाकोटको बेत्रावतीसम्म आइपुगेको विषय छ । दुई घोडाहरूलाई बिम्बको रूपमा प्रयोग गर्न सेतो कपडा र रातो कपडाको प्रयोग गरेर घोडा बनाइन्छ । दुवै घोडाको घाँटीमा घण्टी बाँधिन्छ । दुई पक्षबीच युद्ध हुन्छ । राजाहरूसँगै सिपाहीहरू पनि हुन्छन् । दुई समूहमध्ये जुन समूहले विपक्षी समूहको घोडाको घाँटीमा बाँधेको घण्टी बजाउँछ उसको जीत हुन्छ । दुवै पक्षमा राजा सहित ६ जना हुन्छन् । यो नाचमा असली तरबार, खुँडा र ढालको प्रयोग गरिएको हुन्छ । नृत्यमा दुवै पक्षले युद्ध गरेको देखाइन्छ । पहिलेपहिले यस नाचमा आफूआफूबीच ठूलो झगडा हुन्थ्यो । तर अहिले भने त्यस्तो हुँदैन । अहिले घण्टी बजाउन पनि छोडिएको छ । अन्तिममा भोट र नेपालबीच भएको बेत्रावती सन्धिको विषय पढिन्छ । गाउँका चेलीहरूले दुवै पक्षलाई खादा लगाएर शान्तिसन्धि भएको सूचना दिन्छन् ।

यस दृश्यले गाउँलेहरूमा सन्देश पनि दिन्छ – झगडा गर्नु हुँदैन, मिलेर बस्नुपर्छ । कसरी मिल्ने भन्ने जुक्ति पनि यस नाचमा देखाइन्छ । नाच देखाउने व्यक्तिहरूले अनुहारमा सिन्दुर र गालामा कालो लगाएका हुन्छन् । यो नाच हेरिसकेपछि स्थानीयले गीत गाएर नाच पनि देखाउनुभयो । कलाकारहरूले तयार गरेका र तयार हुँदै गरेका, आधा बनाइसकिएको चित्रकलाको समेत यहाँ प्रदर्शनी गरिएको थियो ।

कलाकार जुनु मगर भन्छिन्– ‘यस कला शिविरमा भएका गतिविधिहरूले मेरो कलेजका दिनहरूलाई सम्झाइदिए । मैले भारतमा शान्ति निकेतनमा अध्ययन गर्दा यस्तै गरी हामीलाई कला निर्माण गर्नका लागि विभिन्न स्थानहरूमा घुमाइन्थ्यो । यस कला शिविरमा स्थानीय व्यक्तिहरूसँग कुराकानी गर्दा मैले बेग्लै खालको अनुभूति गरें । त्यही अनुभूतिको आधारमा एक जना महिलाको चित्र समेत बनाउँदैछु ।’

***

यस प्रकार ‘आमाछोदिङ्मो आर्ट क्याम्प–२०८०’ रसुवाको गोल्जुङ गाउँमा भव्य रुपमा समापन भएको थियो । कलाकारहरुले ५ दिनको अध्ययन–अवलोकन सकाएर काठमाडौं फर्किएका थिए । कलाकारहरुले बनाएका चित्रकलाहरुलाई ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रदर्शनी गरिने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array