प्राचिन कलाको झल्को क्यानभासमा

सुनिल पौडेल
सुनिल पौडेल १८ भाद्र २०८०, सोमबार ०६:००
11 Min Read
Aa

काठमाडौंको ठमेलमा अवस्थित काठमाडौं आर्ट हाउसमा कलाकार विशाल महर्जनको चित्रकलाहरु प्रदर्शनी भइरहेको छ । उक्त प्रर्दशनी भाद्रको २० गते(सेप्टेम्बर ६) सम्म रहने छ । बरिष्ठ कलाकार किरण मानन्धरले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । मन्दिरमा देखिने टुँडाल, बाहिर निस्किएका दलिन, पुरानो काठमा परेका चिराहरु, त्यसमा लागेका लेउहरु जस्तै देखिने जीवन्त चित्रकला तपाइले अवलोकन गर्न पाउनुहुन्छ । जुन कलाकार विशाल महर्जनले बनाएका हुन् ।

काठमाडौं आर्ट हाउस भित्र छिर्ने वित्तिकै एउटा ठूलो क्यानभासमा बनाइएको तोरनको चित्र देख्न सकिन्छ । तपाइले तोरन प्राय मन्दिरको ढोकाको माथि पट्टि देख्ने गर्नुहुन्छ र त्यो काष्ठकलाले भरिपूर्ण हुन्छ । विशालले पस्किएको तोरनमा भने तलपट्टि बुद्धको आकृति समावेश भएको छ । कलाकार भन्छन् – ‘यो तोरन मेरो शैलीको हो । तोरनमा काम गरेको करिब ८ वर्ष भयो ।’

सन् २०१७ मा उनले भगवानहरुको मुद्रालाई कंकालको स्वरुपमा प्रस्तुत गरेकाथिए । उनि भन्छन्–‘बढीभन्दाबढी जीवको भित्र हड्डी नै हुन्छ, बाहिर मासुले छोपेको त हो नि, मैले पनि भगवानलाई त्यही रुपमा बनाएको हो । तर पछि त्यो सिरिजमा काम गर्न विभिन्न कारणहरुले गर्दा समस्या भयो र गरिन ।’ विशाललाई सबैभन्दा मन पर्ने सिरिज पनि तोरन नै हो । हामीले मठ, मन्दिरमा देख्ने तोरनमा जे देख्छौं त्यो भन्दा विशालले बनाएको तोरन भिन्न छ ।

काठमाडौं आर्ट हाउसमा प्रदर्शित विशाल महर्जनको चित्रकला

उनका चित्रकलाहरुमा पुरातात्विक तथा ऐतिहासिक स्थानहरुको प्रभाव भेटिन्छ । प्रदर्शनीमा रहेको एउटा चित्रमा चाँगु नारायणमा अवस्थित एक टुँडाल जसमा सिंह सार्दुलको बुट्टा कुदिँएको छ । त्यसलाई मन्दिरको सुरक्षार्थ खटिएको द्वारपाल भन्न सकिन्छ । जो मन्दिरको सुरक्षाका लागि माथिबाट देख्न सक्छन् भन्ने जनविश्वास रहि आएको छ । त्यस्तो अद्भुत क्षमता भएको द्वारपालले कैयौं पुस्ता तथा कैयौं पिँढीहरुलाई नियाली रहेको छ । विशाल थप्छन् – ‘हामी त मर्छौं, फेरी जन्म लिन्छौं होला तर त्यो काठमा बनेको आकृतिले कति पुस्तालाई हेरेको होला ! त्यसले बोल्न सक्ने भए कति कुरा बताउन सक्थ्यो होला ।’

यस्ता पुराना तथा खुइलिँदै गएका काष्ठकला, प्रस्तरकला तथा वास्तुकलाबाट विशाल निकै प्रभावित देखिन्छन् । खुईलिएको रङ्ग तथा पुरानो देखिने त्यसको भावले कलाकारलाई एकदम प्रभावित पार्ने गरेको छ । जीवनको चक्र चलिरहन्छ तर त्यस्ता कलाहरु कैयौं कालखण्डदेखि जहाँको तहीं छन् । त्यसले कति कुरा संग्रहित गरेको होला, त्यो सँग कति धेरै यादहरु होलान् ? कलाकार प्रश्न गर्छन् ।

चाँगुनारायण,भक्तपुर, गोरखा, नुवाकोट लगायतका ठाउँमा अवस्थित पुरातात्विक सम्पदा तथा दरबारहरुको भ्रमण गर्दा प्राय पुराना देखिएका कलाहरुले घण्टौंसम्म बोलाइरहेको भान हुने कलाकार बताउँछन् । उनी त्यसैमा लामो समय घोत्लिरहन्छन् । प्राय एक्लै घुम्न मन पराउने विशाल फरक ढंग र शैलीको काम गर्न रुचाउँछन् पराउँछन् ।

काठमाडौं आर्ट हाउसमा प्रदर्शित विशाल महर्जनको चित्रकला

बजारमा धेरै म्युजिएम तथा ग्यालरी खोल्ने लहड चलेको सुनिरहेको बेला विशाललाई लाग्यो आफुले त म्युजिम खोल्न सकिन्न । काठ, ढुङ्गाको मूर्ति राख्न पनि गाह्रो छ । त्यो भन्दा त आफु सँग भएको सीप त आर्ट हो नि, आर्ट त गर्न सक्छु नि भन्ने लागेर एक दुई हप्ताको लागि यस्तै कामहरु राखेर एउटा स्पेसलाई म्युजिएमको फ्लेवर दिन सक्छु भन्ने लागेर यो कामहरु यहाँ राखिएको महर्जन बताउँछन् ।

भक्तपुरको दत्तात्रयको छेउमा रहेको काष्ठकलाले भरिपूर्ण एउटा घर छ । त्यसले विशाललाई ज्यादै प्रभावित बनायो । त्यहाँ छिरेर काष्ठकला हेर्दा उनलाई बढो अनन्दको महसुस भयो । उनले पहिले देखिनै आफ्ना कामहरुलाई अगाडि बढाइरहेका थिए । त्यस भ्रमणले उनमा अझ बढी जोश र जाँगर थप्यो। त्यसपछि उनले आफ्ना कामहरुमा काठको फ्लेबर दिएर त्यस्तै पुरानो काष्ठकलाको झल्को दिने कामहरु गरे ।

उनलाई मन्दिर तथा टुँडालहरुमा, थाम तथा दलिनहरुमा बनाइएको काठको बुट्टाहरु खुवै मन पर्छ । त्यस्तै बुट्टामा खेल्न रुचाउने विशालले आफ्नो प्रदर्शनीमा पनि त्यस्तै काम समावेश गरेका छन् ।

काठमाडौं आर्ट हाउसमा प्रदर्शित विशाल महर्जनको चित्रकला

काठमाडौं आर्ट हाउसभित्र रहेको विशालको आफ्नो ग्यालरीको एक भित्तामा तीनवटा चित्रहरु छन् । जसमा कुमारी, भैरव र अर्को उनको आफ्नो सोच अनुसारका काम छ । चित्रहरु झ्वाट्ट हेर्दा कुमारीको चित्रमा आँखा अड्कियो र खोजपत्रले प्रश्न गर्यो– यो कुमारीको अनुहारमा देखाइएको मुकुण्डो(मास्क) त इजिप्सिएन फ्लेवरमा देखिन्छ नि ?

विशालको जवाफ थियो– जीवित देवीको रुपमा पुजिने कुमारीको बारेमा मलाई सानो उमेरदेखि नै थाहा थियो । तर अहिले ‘लिभिङ्ग गड’लाई काठको मास्कमा देखाएका हो । उनी भन्छन्– ‘मेरो आफ्नो तरिका अपनाएर धेरै गरगहनाहरु नराखी काठमा कोरिएको बुट्टाहरुको जस्तै सामान्य हिसावले काठको मास्क जस्तो देखिने हिसावले बनाएको हो ।’

यो कुमारीको परम्परा धेरै पुरानो छ । यसलाई पुरानो हो भनेर चिन्नका लागि मैले पुरानो जस्तै बनाएको हो । सुनचाँदी हिरामोती भन्दा पनि कहिलेदेखि जोगिएर बसेको यो संस्कृति । कुमारीको हकमा काठको मास्क त कसैले बनाएकै छैन । मलाई चाहिँ एउटा यस्तै खालको पुरानो, लेउ लागेको जस्तो, पुरानो सांस्कृतिक पहिचान दिने, त्यो ओझ बोक्ने हिसावले काम गर्न मन लागेको हुनाले यो काम आएको हो ।

तर उनको उक्त काममा क्युविजमको प्रभाव देखिन्छ । तर कलाकार भने यस कुमारीको काममा कार्वन फाइबरको प्रभाव हुनसक्छ भन्ने मान्यता राख्दछन् । उनी थप्छन्–‘यस संसारमा भएका धेरै भन्दा धेरै विषयहरु जोमेट्रिकल सेपमा छन् ।’ मास्कमा अविर वा फूल राखियो भने त्यसले भिन्दै अर्थ राख्ने कलाबार बताउँछन् । अलिकति अझ आफ्नो संस्कृतिको महत्व हुन्छ । प्रदर्शनी कक्षको एक भित्तामा भैरवको चित्र राखिएको छ । जुन भैरवको उनले मास्क बनाएका हुन् । मकवानपुरको चित्लाङ्ग घुम्दा जाँदा उनले त्यो भैरवको दृष्य तामामा कुँदिएको देखेको बताउँछन् ।

काठमाडौं आर्ट हाउसमा प्रदर्शित विशाल महर्जनको चित्रकला

एक प्रसंगमा कलाकार विशाल भन्छन्–‘निरन्तर चित्र बनाउने लहडले कहिलेकाहीं ढाड दुख्ने, खाना नरुच्ने हुन्छ । त्यस्तो हुन थालेपछि मैले व्यायाम गर्न थालें । त्यसले मलाई फाइदा पनि पुर्यायो । त्यही व्यायामले आफ्नो शरीर फुर्तिलो भएको महसुस भए पछि मैले यो चित्र बनाएको हुँ ।’ उनको उक्त चित्रको माथिल्लो भागमा उल्लु छ, दुई छेउमा बज्रहरु छन् भने तल्लो भागमा सूर्य नमस्कारको योग दृष्य देखिन्छ । निरन्तर व्यायाम गर्नाले शरीर फूर्तिलो हुन्छ, मानसिकता स्वस्थ्य रहन्छ । स्वस्थ्य रह्यो भने आफुले चाहेको काम गर्न सकियो र त्यसले आफ्नो लक्ष्य प्राप्ति हुने वा इच्छा पूरा हुन्छ भन्ने मान्यता रहेको विशाल बताउँछन् ।

प्रदर्शनीमा एउटा कमलको फूल छ, उनि एक पटक कतै घुम्न जाँदा हिलोमा फुलिरहेको कमलको फूलले आकर्षित गर्यो र उनको मनको भावले उक्त चित्र कोर्न लगायो । त्यो चित्र उनले ट्याटु कन्भेन्सन हुँदा ‘लोटस ट्याटु’ गरेको अनुभव सुनाउँछन् । मंगलबजार नजिकैको खपिन्छेंमा सानै देखि बसोबास गरेको कारण उनलाई मन्दिरमा प्रयोग हुने टुँडालहरुले आकर्षित गर्छ । त्यही मन्दिरका वरीपरि खेल्दै हुर्केका उनको दिमागमा जहिले पनि त्यो टुँडालका आकृतिहरु आइरहन्छन् । अन्य चित्रहरु कोर्दा पनि त्यो टुँडालमा हुने विभिन्न आकृतिहरु कतै न कतैबाट चित्रमा देखा परिरहेको हुन्छ ।

उनले बनाएको हिटी पनि त्यस्तै खालको छ । हामीले देख्ने बाहिरपट्टि सुनौलो रंगले भरिएको जस्तो हिटीको आकृति उनको चित्रमा छ । जुन हिटीको छेउछाउ राखिएका विषयहरु एउटै हिटीमा खोज्नु भयो भने भेटिँदैन । त्यहाँ राखिएका आकृतिहरु विभिन्न हिटीहरुबाट लिइएको र एउटामा मिलाएर कम्पोजिसन गरेको कलाकार बताउँछन् ।

काठमाडौं आर्ट हाउसमा प्रदर्शित विशाल महर्जनको चित्रकला

विशाललाई लाग्दछ, आफुले बनाएको कामहरु नयाँ प्रकृतिका छन्, मानिसहरुलाई यसको अभ्यास भइसकेको छैन । विस्तारै बानी पर्न थाल्दछ र यही मन पराउन थाल्छन् । अहिले मानिसहरुलाई कता के नमिलेको, कता के नपुगेको जस्तो लाग्नुको कारण आफ्नो वरिपरि ठ्याक्कै यस्तै कुनै मूर्ति वा काठ देखेको हुँदैनन्, फ्लेवर यस्तै हुन्छ तर फरक हुन्छ । त्यसैले यो चित्र उहाँहरुको लागि अनौठो लाग्नु वा केही नपुगेको जस्तो लाग्नु स्वभाविक हो ।

विशाल अझ प्रष्ट पार्न चाहन्छन् – हामीले बजारमा दुई चक्काको पांग्राभएको मोटरसाइकल देखिरहेका छौं तर तीन चक्के मोटरबाइक आयो भने हामीलाई अचम्म लाग्छ । अनौठो लाग्छ । हो, पेन्टिङ्गमा भएको पनि त्यही हो ।

तर कलाकार किरण मानन्धर भने विशालको काममा अझै निखारता जरुरी छ भन्नुहुन्छ । उहाँका अनुसार कलाकारको मृत्यु नभएसम्म उसले निरन्तर सिक्ने नै हो । विशालले पनि सिक्दै जाने हो, तर कतै कतै उसको काममा कमी भने देखिन्छ र हरेक कलाकारले आफ्नो कमी कमजोरीलाई आत्साथ गर्दै अगाडि बढेमा मात्र शिखरमा पुगिन्छ ।

काठमाडौं आर्ट हाउसमा प्रदर्शित विशाल महर्जनको चित्रकला

सलाइको काँटी कोरेको काम चाहिँ के हो नि ? भन्ने प्रश्नमा उनको जवाफ भने यस्तो थियो– त्यो एकदमै कन्सेप्चुअल काम हो । त्यो बन्नु अगाडि केही कुराले मन छोएको थियो । हामी मान्छेहरु सलाइको काँटी जस्तै हौं । हामीलाई आगोको आवश्यकता हुँदा पानीमा भिज्दा सलाइ पनि भिजिरहेको हुन्छ । हामीलाई ताप चाहिरहेको हुन्छ । तर एक चोटि काँटी कोर्न खोज्दा बल्दैन, दुईचोटी कोर्दा बल्दैन । बल्दै बल्दैन अनि मजा आउँदैन ।

एक पटकमा बल्ने सलाइ भयो भने खुब मजा आउँछ नि । हो त्यस्तै एकै पटकमा स्पार्क भएर बल्छ र मजा आउँछ । त्यसलाई हामीले ज्ञानमा प्रयोग गर्ने हो । गुरुहरुले भनेको कुरा ध्यान भएर सुन्ने वा आफुले गर्न लागेका काम फोकस भएर नगर्र्ने हो भने आगो नबलेको जस्तै भयो । जति सुनाए पनि नहुने,जति कारवाही गर्दा पनि नहुने । मानिस भइसकेपछी एक झट्कामा झररर बल्दा खेरी आगोको झिल्काजस्तै ज्ञान लिनु पर्छ । त्यही कन्सेप्टमा बनाएको हो ।

उनलाई टुँडाल एकदमै मनपर्छ । त्यसैले उनले आफ्नै शैलीको टुँडाल निर्माणको कल्पना गर्छन्, टुँडालमा भएको देवीको मुद्राको रुपमा कुनै सेलिब्रेटीको मुद्रा लिन्छन् र अनुहार पनि त्यस्तै गरी आफैं सिर्जना गर्न खोज्छन् । प्रदर्शनीमा राखिएको एक टुँडाल झ्वाट्ट हेर्दा लाग्न सक्छ, त्यो कुनै देशमा भगवानको रुपमा पुजिने देवता हुन् । तपाइले कतै देखिसकेको आभास हुन्छ । त्यसको लागि चाहिँ दर्शकहरु काठमाडौं आर्टहाउसमा भइरहेको विशाल महर्जनको चित्रकला प्रदर्शनी हेर्न जानुपर्ने हुन्छ ।

विशालले आफ्नो कामहरु आफ्ना लागि बनाएका हुन् । त्यो उनका लागि अत्यन्तै सुन्दर छन् । त्यसलाई अडियन्सले कनेक्ट गर्नैपर्छ भन्ने पनि उनलाई लाग्दैन । तर कामको विषयमा दर्शकहरुले हेरेर कमेन्ट भने गर्न सक्ने विशाल बताउँछन् ।

काठमाडौं आर्ट हाउसमा प्रदर्शित विशाल महर्जनको चित्रकला

प्रतिक्रिया दिनुहोस्

Array