निकासले बनाएको बार्दो वीन्डहर्समा

सुनिल पौडेल
सुनिल पौडेल २१ भाद्र २०८०, बिहीबार ०६:००
12 Min Read
Aa

सिन्धुपाल्चोक पुख्र्यौली थलो भएको एक उदयमान कलाकार निकास योञ्जन बौद्ध सम्प्रदायका हुन् । बौद्ध धर्मको नै ध्यानलाई अङ्गिकार गर्दै उनका पिताजी ४ वर्षको लागि गुफामा ध्यान गर्दै गर्नुभएको बताउने यी कलाकारले यहि चार वर्षको समयमा आप्mना पिताजीले गरेको ध्यान विधि तथा बौद्ध धर्म सम्बन्धी केही कुराहरु सिक्ने चाख उत्पन्न भएको बताउँछन् । सन् २०२० मा काठमाडौँ विश्वविद्यालयबाट कलामा  स्नातक सम्मको अध्ययन गरेका उनि पछिल्ला केही समय कलामा नै निरन्तर रुपमा लागिरहेका छन् । अनलाइनको माध्यमबाट नै धेरै कक्षाहरु लिएको बताउने यी कलाकारले अध्ययनको क्रममा नै बुबाले घरमा अध्ययन गर्नका लागि राखेका किताबहरु अनि चित्रहरुलाई नै उनले यस समय आफ्नो मूल विषय बनाइ ‘वार्दाे’ शिर्षक दिइ प्रदर्शनीमा राखेका छन् । कुराकानीको क्रममा उनि बताउँछन्, ‘चार वर्षको समय व्यतित भइसकेको छ, अबको केही महिनामा बुबा फर्कनु हुनेछ ।’

किन राखियो त यस प्रदर्शनीको शीर्षक बार्दो ? के हो बार्दो ? खोजपत्रले कलाकारसँग खोतल्ने प्रयास गर्यो । कलाकार भन्छन्– ‘एउटा संस्कृतिमा मानिसहरुबीच पारस्परिक सम्मान र संलग्नताको बलियो भावना हुन्छ भने अर्को संस्कृति उच्च अन्तरक्रियात्मक भए पनि संलग्नताको अभाव हुन्छ ।’ सायद उनलाई यस्तो लाग्नुको कारण उनी रेखाचित्र र थाङ्का बनाउने समृद्ध परम्परा भएको पुस्ताबाट आएका व्यक्ति हुन् । अहिले न त उनलाई आफ्नो पुरानो परम्पराको पूर्ण ज्ञान छ, न त नयाँ पुस्ताको पूर्णता । त्यसैले उनी भन्छन् –‘हामी एक विश्वव्यापी अनलाइन संस्कृतिको छेउमा छौं, जुन जीवनको अपरिहार्य बन्दै गइरहेको छ । यसको ‘साँचो’ हाम्रो संस्कार संस्कृतिमा छैन । तर पनि त्यो हाम्रो जीवनमा व्यापक रुपमा उपस्थित भएको कारण परिचित लाग्न थालिसकेको छ ।  हाम्रा विगत र आजको वर्तमान फरक हुँदै गरेको सायद कसैलाई पत्तो होला ।’

वीन्डहर्स ग्यालरीमा भइरहेको निकासको एकल चित्रकला प्रदर्शनी ‘बार्दो’

कलाकार निकासका सिर्जनामा उनको त्यो पुर्खाको विरासतलाई झल्काएका छन् भने आधुनिकताले गाँजेको विषयलाई पनि छोड्न सकेका छैनन् । उनको चित्रकलाले एक संक्रमणकालिन अवस्थाको चित्रण गरेको पाउन सकिन्छ । जुन संक्रमणले अगाडिको बाटो रोज्छ । जसरी बार्दो मृत्युको संघारमा वा मृत्युपछिको ४९ दिनभित्र पढिन्छ र त्यसले अर्को जीवनको बाटो रोज्दछ । ठिक त्यसरी नै निकासका चित्रकलाले पनि विस्तारै आधुनिक संसारको बाटो रोज्दै गरेको उनका चित्रकलाबाट देख्न सकिन्छ ।

पुर्खाका ज्ञान र सीप जबसम्म हस्तान्तरण हुँदैनन्, कतिपय त हस्तान्तरण नहुँदै विलाइसकेका छन् । जुन ज्ञान र सीप विना कुनै खास संस्कार तथा संस्कृति बोकेको समुदायको एक बच्चाले कालान्तरमा आफ्नो पहिचान र सम्बन्धको भावना गुमाउँछ । हाम्रो अस्तित्व पनि त्यस्तै भइसकेको छ । निकास भन्छन्–‘संस्कृतिको क्षतिले सम्पूर्ण पुस्तालाई जरैदेखि उखेल्छ । त्यसपछि नयाँ पहिचान बनाउन खोज्छ ।’

उनको कलामा आफ्नो सभ्यता र सम्पदाको जरा गाडिएको देखिन्छ । उनको पुर्खाको थाङ्का लेखनको सीपको विरासतबाट उनको कला प्रभावित देखिन्छ । उनले नयाँ विषयलाई आत्मसाथ गर्न खोज्दैछन् तर त्यही पुरानो सभ्यता र संस्कृतिको झल्को दिने पृष्ठभूमिमा एउटा आधुनिक मुकुण्डो लगाएर ।

उनले आफ्नो हजुरबुबाले चाम नाचमा प्रयोग गर्ने मुकुण्डोलाई उनले सम्हालेर राखेका छन् । जुन मुकुण्डोले कैयौं नाचहरु नाचेका छन् । यस प्रदर्शनीमा पनि उक्त मुकुण्डो राखिएको छ । कलाकारले त्यही चाम नाचसँग सम्बन्धित रहेर, अध्ययन गरेर, जानकारीहरु परिवारबाट पत्ता लगाएर एउटा ठूलो क्यानभासमा चित्र पनि कोरेका छन् ।

वीन्डहर्स ग्यालरीमा भइरहेको निकासको एकल चित्रकला प्रदर्शनी ‘बार्दो’

यस प्रदर्शनीको क्युरेटर सुजान श्रेष्ठ भन्छिन्–‘उनका कामले अन्तर पुस्ताका परम्पराहरु खोज्छ, कसरी परम्परागत अनुष्ठानहरु आधुनिक वातावरणसँग अन्तरक्रिया गर्दछ र एक पुस्ताले अर्को पुस्तालाई बाध्ने कडीहरु वा जडानहरु कमजोर बन्दै जान्छन् भन्ने देखाउँछ । साथै, कालान्तरदेखि आएको संस्कृतिका रीतिथितिहरु तथा भाषाहरु समयसँगै लोप हुनसक्छन् भनी देखाउन खोजेका छन् ।’

हिजो ताम्रपत्रमा लेखेर वा कोही बाहिर भ्रमणमा जाँदैछ भने उसको सुरक्षाको लागि थान्का लेखेर दिने चलन थियो । ताकि उसलाई बाटोमा कुनै समस्या नहोस् । तर आज अनलाइन छ । फोन छ, समस्या समाधान गर्ने अनेकौं उपायहरु छन्, जुन नयाँ छन्, आधुनिक छन् । यस विषयलाई कलाकारले आफ्नो प्रदर्शनीमा ज्वलन्त हिसावले देखाउने प्रयास गरेका छन् ।

कलाकारको कला सृजनाले आफ्नो पुर्खाको महत्वपूर्ण विषयहरुलाई हामीले नजरअन्दाज गरिरहेका छौं कि भन्ने झल्को दिन्छ । कारण, उनको बुबाले बनाएको बार्दो चित्र, जसमा विभिन्न चरणहरु देख्न सकिन्छ, त्यो च्यातिएर जान खोज्दा पनि त्यसलाई सम्हालेर एउटा सिसाको फ्रेममा सजाएर ढोकाकै छेउमा राखेका छन् । जुन पुरानो देखिन्छ, तर त्यसमा महत्वपूर्ण विषयहरु समेटिएको छ । तर त्यसको पूर्ण ज्ञान भने कलाकारलाई  छैन । त्यसको चरणहरु पनि उनलाई थाहा छैन । र, पनि उनले त्यसलाई आफ्नो प्रदर्शनीको आकर्षणका हिसावले प्रस्तुत गरेका छन् ।

वीन्डहर्स ग्यालरीमा भइरहेको निकासको एकल चित्रकला प्रदर्शनी ‘बार्दो’

उनले प्रदर्शनीमा राखेका प्राय कामहरु कोभिड–१९ महामारीको समयमा सिर्जना गरेका थिए । त्यतिबेला उनले अनलाइनमा बढीभन्दा बढी कुराकानी गर्थे भने धेरैजसो इमोजीहरुसँग उनको सम्बाद हुन्थ्यो । त्यही समय हो उनले आफ्नो जरा खोतल्न थालेको र हजुरबुबाले पनि चित्र बनाउनुहुन्थ्यो भन्ने थाहा पाएको ।

समय प्रसस्त थियो, अनलाइन क्लासबाट बचेको समय घरमा भएका चित्रहरु जुन हजुरबुबा र बुबाका थिए । त्यस चित्र के हो भन्ने खोतल्दै वित्यो कलाकार निकासको । उनि सम्झिन्छन्–‘जब मैले मेरो जरा खोतल्न थालें, चित्रहरुको खात देख्न थालें, हिमाली भेगमा पाइने च्याङ्ग्राको छालामा कोरिएका चित्रहरु देखें, चित्र कोर्न बाँकी रहेका छालाहरुको संग्रह देखें तब म त्यसको इतिहास र परम्परा खोज्न लागें । जुन विषय आजभन्दा पहिले मलाई थाहा नै थिएन । अहिले केही थाहा छ, तर अपुरो ।’

उनको हजुरबुबाले बनाएको बार्दो चित्रको चरणबद्ध चित्रहरु छन्, हरेक चित्रका आफ्नै कथा छन् । आफ्नै भावना छन् र आफ्नै दर्शन छन् । तर निकासलाई त्यस बारेमा थाहा छैन । बार्दोको यो चरणमा कैयौं चित्रहरु हुन्छन्, सकारात्मक वा नकारात्मक दुइटै प्रकारका हुन्छन् । जुन चित्रमा मानिसले आफ्नो जीवनकालमा गरेको कर्म अनुसार त्यसलाई झेल्दै जानुपर्छ भन्ने मान्यता छ । निकासले आफ्नो आमासँग जतिसकिन्छ सूचनाहरु संकलन गरे । ती चित्रहरु छालामा बनाइएको पाए । त्यो कसरी बनेको हो भनेर आफ्नी आमासँग पनि सोधे र आफुले बुझे अनुसार सोही तरिका अपनाएर आफ्नै शैलीको बार्दो लेखे ।

उनलाई लाग्छ, त्यो मानिसको मृत्युपछिको चरणहरु हुन् । त्यसैले एउटा सकिएपछि अर्को सिर्जना हुन्छ । ठिक त्यसैगरी उनले पनि ती चरणहरुलाई आधुनिक शैलीमा पस्किएका छन् । जुन चरण इन्टरनेट नहुँदा कहिले डाइनाशोर देखापर्छ, कहिले चिल देखापर्छ, कहिले के–कहिले के । त्यसलाई उनले बार्दोको शैलीमा प्रस्तुत गरेका छन् ।

वीन्डहर्स ग्यालरीमा भइरहेको निकासको एकल चित्रकला प्रदर्शनी ‘बार्दो’

उनले बनाएका केही चित्रहरुमा थाङ्कामा प्रयोग हुने दृष्यहरु पृष्ठभागमा देखाएका छन् भने केन्द्रमा आधुनिक जमानाको इमोजीहरु छन् । जसले दुःख, सुख, रोदन, आनन्द लगायतका विषयलाई इंगित गर्दछ । तर उनको सवल पक्ष भने त्यो पृष्ठभूमिले जे अर्थ बुझाउँछ ठिक त्यसलाई प्रतिम्बित गर्ने गरी इमोजीको प्रयोग गरेका छन् । जुन चित्रहरु उनका पुर्खाहरुले चकलीको रुपमा निर्माण गर्दथे ।

चकली चित्रहरु तिब्बती थाङ्कासँग मिल्दोजुल्दो हुन्छन् । यसले धेरै सरल र समान्यतया एउटा मिनिएचर चित्रमा एउटा देवता वा एक जोडी देखाउने गरिन्छ । यस्ता चित्रहरु बौद्ध वा बोन धर्म मान्ने सम्प्रदायको दिक्षा समारोहमा प्रयोग हुन्छ । जसमा चित्रले लाक्ष्णिक दृष्य र त्यससँग सम्बन्धी केही सूत्रहरु समेत समावेश हुन्छन् । चित्रले देखाउने भाव र सूत्रले दिने सारांश दैनिक अभ्यासको लागि समेत प्रयोग हुन्छन् । जुन कहिलेकाहीं कपडामा हुन्छन्, कहिले कागजमा त, कहिले हिमाली भेगमा पाइने च्याङ्ग्राको छालामा । यी चकलीहरु दिक्षाका हिसावले महत्वपूर्ण हुन्छन् । त्यसमा चरणहरुको स्पष्ट रुपमा व्याख्या गरिएको हुन्छ । र, त्यसलाई अनुष्ठानमा प्रयोग गरिन्छ न कि सजावटी बस्तुको रुपमा । सुन्दर हुन्छन् तर त्यो सजावटको बस्तु हुँदैनन् । त्यस्को आफ्नै मूल्य र मान्यता रहेको हुन्छ ।

वीन्डहर्स ग्यालरीमा भइरहेको निकासको एकल चित्रकला प्रदर्शनी ‘बार्दो’

त्यही चकलीको शैलीमा उनले मुख्य देवताको ठाउँमा इमोजी राखेका छन् । उनले त्यसको श्रृंखला नै तयार पारेका छन् । त्यसलाई कसरी, कुन तरिकाले बुझ्ने दर्शकहरुलाई छाडिदिएका छन् । उनको दिमागमा आएका विचारहरु ती पुर्खाका विषयहरुको पूर्ण ज्ञान नहुँदा आफ्नै हिसावले विकसित हुँदै आएका विषयवस्तुहरुलाई उनले चित्रमार्फत प्रस्तुत गरेका छन् ।

अहिले मोर्डनमा इमोजिहरु प्रयोग गरेर थान्काका मोटिफहरुलाई त्यो इमोजिलाई राखेको हो । जसमा ब्याग्राउन्ड पेन्टिङले पनि एउटा पक्षलाई बोल्दछ भने इमोजीले त्यही पक्षलाई छाटो रुपमा देखाउन मदत गरेको छ । त्यही चरणहरुलाई निरन्तर रुपमा राखिएको हो । उनि भन्छन् –‘मैले पुरानो पनि हेर्न पाइरहेकोछु, नयाँ पनि हेर्न पाइरहेको छु । तर म भन्दा पछाडको जेनेरेशनलाई कि नयाँ मात्र थाहा हुन्छ, कि पुरानो मात्र थाहा हुन्छ । चकली सानो हुन्छ, टाढा हिँड्दा सुरक्षाको लागि यो चित्र बनाएर आफ्नो ठाउँबाट बाहिर जानेहरुलाई दिने चलन थियो । सुरक्षाको लागि ।’

मेरो चित्रमा प्रयोग भएका सबै इमोजिको आ–आफ्नो मतलबहरु(मिनिङ) छन् । त्यसलाई ‘इमोजिको एक्सेप्रेसन’ सँग जोडेर राख्न खोजेको हो । त्यो ब्याक ग्राउन्ड इलिमेन्टहरु थान्काबाट प्रभावित छ । त्यो चित्रको पृष्ठभूमि इमोजिसँग म्याच गरेको छ । दुःख, खुसी, चिसो, आगो, रोदन, आश्चर्य, खुसी, करुणा, रिस हो । छाला अशुद्ध वस्तु हो । त्यसैले मैले बनाएको कामहरु पनि अशुद्ध नै छन् । त्यो पूर्ण छैनन् । त्यसमा न त पुरानो चिजको पूर्णता छ, न त नयाँ चिजको । त्यही विषय देखाउन उनले छाला प्रयोग गरेको बताउँछन् ।  उनको एक चित्र देखाउँदै उनि भन्छन्–‘कनफाइन स्पेसमा सरप्राइजिङ ह्यापिनेस छ । पूर्णता पाइसकेको छैन तर खुसी छ ।’

वीन्डहर्स ग्यालरीमा भइरहेको निकासको एकल चित्रकला प्रदर्शनी ‘बार्दो’

कलाकार निकासको प्रर्दशनीमा राखिएका चित्रहरु जुन बार्दो र चकलीका आधुनिक सिर्जनाहरु हुन् । त्यसले मूल जरोलाई मेटाउने प्रयास गर्दैन भन्ने प्रश्नमा उनको जवाफ थियो –‘यसले मूललाई विगार्दैन, यो त आधुनिक हिसावले परिमार्जित वा विकास भएको भनेर बुझ्नु पर्छ होला ।’ २१ औं शताब्दीको आधुनिक समयमा आएर पुरानो कामलाई बचाउँछु भनेर लाग्नु त्यति व्यहारिक नहुने मान्यता कलाकारको रहेको छ ।

चोयो एक ग्रन्थ हो । जसमा परम्परागत संस्कारको कुराहरु लेखिएको हुन्छ । उक्त चोयो पढ्न निकासलाई कठिन लाग्छ । उनले त्यसले बताउने खोजेको कुराहरु बुझ्दैनन् । तर, त्यही लिपिमा उनले केही प्रयोगहरु गरेका छन् । झ्वाट्ट हेर्दा त्यो लिपि अनौठो देखिन्छ तर नजिक गएर हेर्ने हो भने त्यो अंग्रेजीको अक्षरहरुलाई चोयोको लिपिमा राखिएको छ । ठिक त्यस्तै काम कलाकार आङ्छिरिङ शेर्पाले गरेका थिए नि भन्ने प्रश्नमा निकासको जवाफ थियो–‘हो, त्यो मैले आफ्नो हिसावले बनाइरहेको थिएँ । त्यति नै बेला उहाँको उक्त कार्य बाहिर निस्कियो । उहाँको र मेरो कन्सेप्ट मिलेको हो । त्यसपछि मैले शेर्पालाई म्यासेज पठाएर मेरो कुरा पनि भनेको थिएँ । सायद मानिसहरुको सोचहरु कतै न कतै, कोही न कोहीसँग मिल्छ होला ।’

चित्रकला प्रदर्शनी भाद्र १५ देखि २९ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array