हरिसिद्धिमा कला उत्सव

सुनिल पौडेल
सुनिल पौडेल १७ पुष २०८०, मंगलवार २२:१९
7 Min Read
Aa

नेपाली कला, संस्कृति र परम्परा विश्व मानचित्रमा पुरानो मानिन्छ । त्यसमा पनि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका नेवारी समुदायमा मनाइने विभिन्न परम्परागत चाडपर्वहरुको छुट्टै स्थान छ । त्यसमा पनि ललितपुर जिल्लाको हरिसिद्धिमा यमरी पूर्णिमा तथा फागु पूर्णिमाका दिन हुने जात्राहरु विशेष छन् । हरिसिद्धिका परम्परा, संस्कृति र त्यहाँको जनजीवनमा आधारित रहेर करिब २० जना भन्दा बढी कलाकारहरुको चित्रकला तथा स्थानीय परिकार, स्थानीय हस्तकलाका सामग्रीहरु सहित हरिसिद्धि कला मेला २०८० साल पुषको १७ गते मंगलबार भव्यताका साथ मनाइएको छ । उक्त कार्यक्रममा विद्यालयमा अध्ययन गरिरहेका भाइबहिनीहरुद्वारा कला कार्यशालाको समेत आयोजना भएको थियो ।

नेपाली कला तथा इतिहासको क्षेत्रमा शहरी वातावरणबाट विल्कुलै टाढा रहेको नेवारी समुदायमा खुला रुपमा गरिएको चित्रकला प्रदर्शनी आफैंमा एक नमूना हो भन्नुहुन्छ कला आयोजक तथा कलाकार आशा डंगोल ।

रोटरी क्लव अफ यलले हाम्रो माटोघर, ई–आर्टस् नेपाल र चिवा चैत्यसँग मिलेर कला मेला आयोजना गरेको र करिव ५० भन्दा बढी कलाकृति, स्थानीय विद्यालयको म्युजिक ब्याण्ड, तीन स्थानीय विद्यालयको लागि आर्ट वर्कसप, स्वादिलो नेवारी खानेकुरा समेत समावेश गरिएको मेलाको उद्घाटन हरिसिद्धिका जेष्ठनारी र पुरुषबाट भएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरको समेत उपस्थिति रहेको थियो । ‘यस्ता कार्यक्रमहरुले स्थानीय स्तरमा कलाको महत्व बुझाउन मदत गर्ने तथा युवाहरुमा आफ्नो संस्कृति र परम्पराको पुस्तान्तरण गर्न समेत मदत गर्ने छ ।’– वरिष्ठ कलाकार किरण मानन्धर बनाउनुहुन्छ ।

यस मेला आयोजना गर्न ललितपुर महानगरपालिकाको वडा नं. २८ र २९, स्थानीय कलाकारहरु र सामुदायिक अगुवाहरुको ठूलो सहयोग रहेको कलाकार एरिना ताम्राकार बताउनुहुन्छ । हाम्रो माटो घरका संस्थापक बसन्त श्रेष्ठले हाम्रो सम्बृद्ध सम्पदा र संस्कृतिको चेतना जगाउन र हाम्रो दिगो भविष्यका लागि युवा कलाकारहरुलाई सशक्तिकरण गर्न काठमाडौं उपत्यकाको छेउछाउका अन्य नेवारी बस्तीहरुमा पनि यस्ता कला मेला आयोजना गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा स्थानीय महिलाहरुले परालबाट तयार गरिने चप्पल बुनेर विक्रिमा समेत राख्नुभएको थियो । हाम्रो मौलिक परम्परा र सीपलाई बजारीकरण गर्न सकेमा स्थानीय गृहणीहरुबाट निर्माण गरिएका हस्तकलाका सामग्रीहरुले राम्रो बजार पाउने कुरामा आयोजकको जोड थियो ।

प्रदर्शनीमा राखिएका कलाहरु कुनै बन्द कोठामा थिएनन् । ती कलाकृतिहरु खुला आकास मुनि रहेको ‘निभा’ प्राङ्णमा थियो । जहाँ मुख्यद्वारबाट छिर्नेवित्तिकै देब्रे दिशामा कलाकार दिकेश महर्जनको छ्वालीबाट निर्माण गरिएको कला राखिएको थियो । उहाँले एक महिला र हरिसिद्धिको प्राङ्गण तथा मन्दिर बनाउनु भएको थियो । नेवारी महिला र थारु समुदायको महिलाले लगाउने गहनालाई मुख्य केन्द्रमा राखिएर तयार गरिएको कला आकर्षक देखिन्थ्यो भने उहाँले बनाउनुभएको अर्को कला हरिसिद्धि मन्दिर र त्यसको प्राङ्गणलाई समेटिएको थियो । जुन कलाको मुनिपट्टि लेखिएको थियो–‘हरिसिद्धि नाच इज द फस्ट मास्क डान्स अफ नेपाल’ ।

कलाकार आशा डंगोलको चित्रले वि.सं.२०७२ सालको भुकम्प पछिको हरिसिद्धलाई दर्शाउँथ्यो भने हाम्रो माटोघरको अवधारणालाई कसैले जोगाइरहेको प्रतिब्बित हुने कला प्रदर्शित थियो । भाइराजा महर्जनको कलामा भगवान प्रतिको आस्था प्रतिब्वित थियो । जहाँ वस्तिहरु भगवानसँग आस्थाबान थिए । तर त्यो बस्तिमा जुन दृष्यलाई देखाइएको छ । आजको हरिसिद्धि त्यस्तो छैन ।

कलाकार एरिना ताम्राकार तेस्रो नेत्र बनाउने कलाकारको नामले कला जगतमा परिचित हुनुहुन्छ । तर यस पटकको उहाँको काम भने छुट्टै छ । उहाँले मुकुण्डोलाई क्यानभासमा उतार्नुभएको छ । सुजन डंगोलका चित्रकलाहरुमा हाम्रो मौलिक परम्परागत बस्तीहरुको कोलाजलाई देख्न सकिन्थ्यो भने विधाता के.सीको कलामा घर बाहिर माटोले लिप्दा देखिने दृष्यहरुलाई मौलिक हिसावले प्रस्तुत गर्नुभएको पाइन्थ्यो । कलाकार विनोद प्रधानका चित्रहरुमा प्रकृतिलाई भरपुर रुपमा सुन्दर देखाएको पाउन सकिन्छ । यस पटकको उहाँको चित्रकलामा जरुहिटिलाई विम्वको रुपमा प्रयोग गर्दे आफ्नो कला प्रस्तुत गर्नुभएको छ ।

कलाकार सम्झना राजभण्डारी पछिल्लो समयमा पुराना हिलाक टिकटहरुलाई प्रिन्टमेकिङको माध्यमबाट प्रस्तुत गर्ने गर्नुहुन्छ । यस पटक पटि उहाँले हरिसिद्धि मन्दिर र गणेशको चित्रलाई प्रिन्टमेकिङको माध्यमबाट प्रस्तुत गर्नुभएको छ । ‘अहिलेसम्म हरिसिद्धि मन्दिरको चित्र हुलाक टिकटमा नभएकोले मैले हुलाक टिकटको स्वरुपमा उक्त मन्दिरलाई प्रस्तुत गरेको हुँ’– कलाकार बताउनुहुन्छ । अर्का कलाकार सागर मानन्धर अमूर्त चित्रकला सिर्जना गर्ने कलाकारका रुपमा चिनिनुहुन्छ ।  यस पटक उहाँको चित्रकला अमूत भने छैन । उहाँको चित्रकलामा धेरै दृष्यहरु नियल्न सकिन्छ । पुरातात्विक तथा सांस्कृतिक परम्परामा धनि हरिसिद्धिको मौलिकता खोतल्न कठिन हुने कथा उहाँको चित्रले बोकेको छ । तपाइले यस पटक त छुट्टै चित्र बनाउनु भएछ नि ? भन्ने खोजपत्रको प्रश्नमा उहाँको जवाफ थियो –‘अब हरिसिद्धिलाई हेर्न भित्र सम्म पुग्नु पर्छ । तर यो गन्जागोल भइसकको छ । त्यसैलाई यहाँ देखाउने प्रयास गरेको हो ।’

अर्का कलाकार शैली राना विष्टको भने छुट्टै चित्र हेर्न सकिन्थ्यो । उहाँले सिर्जना गर्नुभएको दुई चित्र मध्ये एउटामा हरिसिद्धका दुई महिला गफ गरिरहेको र अर्को चित्रमा महिलाले हातमा साग लिएर हिँड्दिै गरेको चित्र समावेश छन् । यसले त्यहाँको महिलाहरुको जनजीवनलाई देखाउने प्रयास गरेको छ । कलाकार विशाल महर्जनका चित्रकलाहरु विशेषतः पुराना टुँडालहरुमा देखाउने दृष्यहरु हुन्थ्यो । तर यस पटक भने उहाँले निर्माण गरेको दुई चित्र छुट्टै प्रकृतिका छन् । जहाँ पुराना पुस्ताले हरिसिद्धलाई च्यापिरहेको देखाएको छन् । विशाल थप्नुहुन्छ–‘यस हरिसिद्धि अलिक अग्लो स्थानमा छ । यहाँका घरहरुको छतमा ट्याङ्की देखिन्छ । पाश्र्व भागमा घर, मन्दिरहरुलाई देखाउने प्रयास गरेको छु । पाका मानिसहरुमा ठूलो जिम्मेवारी हुन्छ । त्यही जिम्मेवारी देखाउने प्रयास हो भने यो चित्रमा देखाउन खोजेको चाहिँ मैले सोचेको हरिसिद्धि हो ।’ अर्को चित्रमा भने उहाँले हरिसिद्धि नाचलाई देखाउन खोज्नु भएको छ । पाको उमेरको हजुर आमाले आफ्नी नातीनीलाई पिठ्युँमा बोक्नुभएको छ । उहाँसँग त्यो संस्कृतिको सारा ज्ञान छ । उहाँले उक्त नाचमा देखिने दृष्य नयाँ पुस्तालाई देखाउँदै हुनुहुन्छ ।

कला मेलामा माटोको भाँडा बनाउने कार्यशाला, फूलको विरुवाहरुको स्टल तथा स्थानीय स्तरमा उत्पादित अन्य हस्तकलाका सामग्रीहरु समेत समावेश गरिएको थियो । कला मेलामा युवा अश्रिन डंगोलले आफ्नो क्यामरामा कैद गर्नुभएको फोटो पनि प्रदर्शनीमा राखिएको थियो । त्यस्तै किशोर महर्जन, प्रभाव महर्जन, सुजना सिंह, सुनिभा श्रेष्ठ, नूजा रोए, सानी कृष्ण महर्जन, दिलासा महर्जन, स्मारिका महर्जन र निरोज महर्जनका कलाकृति समेत समावेश गरिएको थियो ।

यस कला मेलाको उदेश्य स्थानीय नेतृत्व, कलाकारहरु तथा युवाहरुद्वारा सहभागीहरुलाई हरिसिद्धिका सामाजिक, साँस्कृतिक र दिगो जीवन सम्बन्धित अभिमूखिकरण गर्नु समेत रहेको आयोजकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array