अनुभूतिका झंकारहरु

सुनिल पौडेल
सुनिल पौडेल १९ चैत्र २०८०, सोमबार १३:३६
12 Min Read
Aa

नेपाल कला परषिद्को पहिलो तल्लामा ‘इमर्जिङ इकोज्’ अर्थात् उदाउँदै गरेका प्रतिध्वनिहरु शीर्षकमा एउटा कला प्रदर्शनी भइरहेको छ । त्रिभुवन विश्वविद्यालयमा ललितकलामा स्नातकोत्तर गरिरहेका चौथो सेमेस्टरका विद्यार्थीहरुको कला प्रदर्शनी भइरहेको हो । प्रदर्शनीको उद्घाटान सिद्धार्थ आर्ट फाउन्डेशनकी संस्थापक तथा सिद्धार्थ आर्ट ग्यालरीकी संचालक संगीता थापाबाट भएको थियो । यस प्रदर्शनीमा प्रस्तुत भएका कलाहरुले आफ्नो भूगोल, समाज, संस्कृति तथा आफ्नो मनोभावनाहरु व्यक्त गर्दछ । स्नातकोत्तर गरिरहेका १६ जना विद्याथीहरुको काम यस प्रर्दशनीमा राखिएको छ ।

पहिलो तल्लामा पुग्ने वित्तिकै बाहिरैपट्टि भित्ताहरुमा विभिन्न कलाकारहरुको चित्र देख्न सकिन्छ । चित्रलाई पछ्याउँदै जाँदा बाहिरबाट देखिने भित्रको दृष्य आकर्षक लाग्न सक्छ । भुइँमा रातो माटोले लिपेको भुइँ छ । त्यसको माथिपट्टि मकैको खोस्टाबाट आधाभन्दा बढी बुनिएको चकटी छ । कुनै साना छन् भने कुनै ठूला । त्यसको ठिक माथिपट्टि पूर्ण रुपमा तयार गरिएको चकटी झुण्ड्याइएको छ । जसको एकापट्टि एक जना महिलाको चित्र कोरिएको छ । त्यो कला दिक्षा चाम्लिङ राईले प्रस्तुत गरेकी हुन् । उनी बताउँछिन्‘मेरो हजुरआमासँगको सम्बन्धलाई मैले यहाँ कलाको रुपमा प्रस्तुत गरेको हुँ । यो मेरो मानसपटलमा सानो बेलादेखि कैद भएको विषय हो ।’ उनले प्रकृतिसँग सम्बन्धित चित्रकला पनि प्रस्तुत गरेकी छिन् । आत्मा र प्रकृति विचको सद्भाव उनको कलामा प्रस्तुत गरेको कलाकार बताउँछिन् । ‘मेरो केही चित्रको पाश्र्व भागमा गुलावी रङ्ग छन् । जसले कोमलता प्रदान गर्ने गर्दछ ।’ अमूर्तता र यथार्थलाई चित्रमा उतार्न मन पराउने दिक्षाका कलाहरु प्रकृति र अन्तरसम्बन्धका विषयहरु प्रस्तुत भएका छन् ।

सुजन वीर बज्राचार्यको चित्रकला र प्रतिस्थापन कला राखिएको छ । उनले प्रस्तुत गरेको धेरै जसो चित्रकलाहरु काठमा गरिएको छन् । काठमानै किन बनाउनुभयो भन्ने खोजपत्रको प्रश्नको जवाफमा बज्राचार्यको जवाफ थियो–‘मैले विशेषतः मौलिक हिसावले काम गर्न खोजेको हुँ । त्यसमापनि हाम्रो संस्कारहरुमा प्रयोग हुने थाल, कचौरा, प्लेट लगायतका विषयहरु कसरी परिवर्तन भइरहेका छन् भन्ने देखाउन खोजेको छु । हामीले कुनै पनि कार्य गर्दा भुइँलाई शुद्ध बनाउन रातो माटोले पोत्ने गर्दछौं । त्यसैले मेरा चित्रहरुमा पनि कतै रातो बोर्डर पाइन्छ ।’ सुजनले गरेको चित्रसँगै उनले स्याउका दानाहरुलाई राखेका छन् । जुन स्याउको मूल्य ८० रुपैयाँ राखेका छन् । स्याउ सेतो छ । तपाइहरुले स्याउ हातमा लिनुभयो भने त्यसको वजन पनि वा हातमा लिँदा हुने अनुभव छुट्टै पाउनुहुन्छ ।

प्रदर्शनीको एक कक्षमा कमल श्रेष्ठको प्रतिस्थापन कला र चित्रकला समावेश छन् । उनका कलाहरु विशेषगरी अहिलेको सामाजिक परिवेशसँग सम्बन्धित छन् । एउटा कोठामा प्रस्तुत गरिएको प्रतिस्थापन कलाको चर्चा गर्दा भुइँभरी माटो राखिएको छ । ती माटोहरुको विच विचमा ऐना छ भने त्यो ऐनाको माथिपट्टि फोहोरहरु छन् । कतै चुरोटका बट्टा र ठुटा छन् भने कतै गुट्खाका खोल । उक्त सिर्जना कसरी आयो भन्ने प्रश्नमा उनी भन्छन्–‘हामी जता जान्छौं, जुन ठाउँ खुल्ला र बस्न लायक ठानेर गइरहेको हुन्छु । त्यस्तो ठाउँमा धेरै भन्दा धेरै फोहोरहरु जथाभावी फालिएको पाउँछु । प्रकृतीलाई दुषित गरेको अनुभव गर्छु । त्यसैले यो प्रतिस्थापन कला हेर्न आउने व्यक्तिहरुले जब ऐना हेर्छन् त्यहाँ फोहोर पनि देख्छन् र आफ्नो अनुहार पनि ।’ यस कलाले फोहोर गर्ने मानिसहरु नै हुन् । यसलाई सुधार गर्दै जानु आवश्यक पर्दछ भन्ने सन्देश पनि दिन खोजेको जस्तो यस प्रतिस्थापन कला हेर्दा दर्शकलाई भान हुनसक्छ ।

भित्तामा हिमालका दृष्यहरु छन् । त्यसमा फुलहरु पनि समावेश छन् । हिमालको छेउमा वा अन्त कतै पछाडि पट्टि कुनै यस्तो दृष्य देखिन्छ जुन सायद मानिसहरुले कतै देखेको होलान् वा त्यो यही हो भनेर कल्पना गरेको होलान् । प्रिन्ट मेकिङको माध्यमबाट कलाकार रुवी महर्जनले सिर्जना गरेको कला छुट्टै प्रकारको पाउन सकिन्छ। उनले हाम्रो यस पृथ्वीबाट देखिने साना विषयहरु कति ठूलाहुन सक्छन् भन्ने कल्पना गर्न सक्षम भएकी छिन् । मैले प्रयोग गरेका टेक्स्चरहरु माइक्रोस्कोपिक भ्युबाट लिएको हो । कुनै पनि सानो अवयवलाई ठूलो गरेर हेर्दा वा त्यसलाई ठूलो रुपमा प्रस्तुत गर्दा कस्तो देखिन्छ भन्ने पनि हो । कुनै पनि साना विषयहरु समयक्रमसँगै ठूलो हुन सक्छन् वा ती ठूला हुन् तर हामीले सानो देखेको हुनसक्छौं भन्ने विषयलाई उनले प्रिन्टमेकिङमा उतारेकि हुन् । अन्नपूर्ण हिमालमा फुलको लागि प्रख्यात हुन सक्ला भविष्यमा भन्ने मनोभावनालाई उनले प्रिन्टमेकिङमा प्रस्तुत गरेकि छिन् ।

भविष्यलाई वर्तमानबाट हेरेर उनले आफ्नो कला प्रस्तुत गरेकीछिन् । उनका हरेक चित्रमा ब्ल्याक होललाई आफ्नो ट्रेड मार्कको रुपमा प्रस्तुत गरेकी छिन् । कुनै समयमा हाम्रो सूर्य पनि ब्ल्याक होलमा परिणत होला भन्ने सम्मको कल्पनामा आधारित उनका चित्रहरु हेर्न सकिन्छ । उनले अर्को एक प्रतिस्थापना कला प्रस्तुत गरेकी छिन् । त्यसमा विभिन्न रङहरुको प्रयोग भएको छ । जसलाई सिसामा गरिएको छ र त्यस सिसाको विपरित दिशाबाट प्रकाश दिइएको छ । त्यसको प्रतिविम्बि भित्तामा देखिन्छ ।

श्रीया दुवालले प्रिन्ट मेकिङको माध्यमबाट हाम्रा सम्पदाहरुलाई प्रस्तुत गरेकी छिन् । विकासले हाम्रा सम्पदाहरुलाई विनासतिर धकेलिरहेको र विकासको संवाहक बनेर अगाडि बढिरहेकाहरुलाई हाम्रा सम्पदाका रङ तथा स्वरुपहरुलाई आधुनिक पन दिइरहेको कलाकारलाई मन पर्दैन । उनी भन्छिन्–‘स्मारकहरुको प्रमाणिक सौन्दर्यताको अनावरण गर्नु नै मेरो उदेश्य हो ।’ धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई ठूला ठूला विकासे भवनहरुले छोपिदिनु वा अन्य भद्दा किसिमका संरचनाले ओझेलमा पार्नुले हाम्रो ऐतिहासिक तथा मौलिक धरोहरहरु विस्तारै अस्ताउँदै, ओझेलमा पर्दै गएकोमा कलाकार चिन्ता व्यक्त गर्दछिन् । त्यसैले ती सम्पदाहरुको मौलिकता र प्रमाणिक तथ्यमा आधारित भएर काम गर्ने प्रयास गरेको उनका प्रिन्टहरुले बताउँछन् ।

अर्की कलाकार लाछेन न्यार्तेनले प्रस्तुत गरेको प्रतिस्थापन कला दर्शकहरुले ढोका बाहिरबाट भित्र हेर्ने वित्तिकै देख्छन् । उनले कपडालाई ढाकोका रुपमा प्रयोग गरेकी छिन् र त्यसकोठिक अगाडिपट्टि वास्तविक फुलमा बत्तिको प्रयोग गरेर बढो आकर्षक ढंगबाट आफ्नो कलालाई प्रस्तुत गरेको देख्न सकिन्छ । उनले प्रस्तुत गरेकी तलेजु भवानीको चित्र दर्शकहरुलाई आकर्षक लाग्न सक्छ । उनले आफ्नो अनुभूति र भोगाइहरुलाई प्रिन्टमेकिङको माध्यमबाट प्रस्तुत गरेकी छिन् । उनको अनुसार–‘तलेजु मल्ल वंश र नेवा समुदायको संरक्षक देवी हो । यहाँ बनाइएको एक चित्र तलेजु भवानी मन्दिरबाट प्रेरित छ र प्रिन्ट मेकिङमा चित्रण गरिएको ढोकापनि सोही मन्दिरको हो । सिंहले मन्दिरको द्वारपालको प्रतिनिधित्व गर्दछ ।’

सर्मिला देवी तामाङले फोटोग्राफी र चित्रलाई यस प्रदर्शनीमा समावेशी गरेकी छिन् । उनले शहरको कथालाई आफ्नो चित्रमा उतारेकी छिन् । उनले शहरका सडकहरुमा जेलिएका तारहरु तथा भत्किएका भित्ताहरुलाई विम्बको रुपमा प्रयोग गरेकी छिन् । मानिसका घर तथा ठूला ठूला भवनहरुले भरिभराउ शहरमा चराहरुको अस्तित्व तारका गुजुल्टाहरुमा छन् । उनीहरु त्यहींबस्छन्, त्यहीं बच्चा जन्माउँछन् र नयाँ बच्चाले त्यहीबाट आफ्नो सुरुवात गर्दछ भन्ने विषयलाई उनले चित्रकला मार्फत प्रस्तुत गरेकी छिन् । ती तारमा बनेका गुँडहरु अस्थाई हुन् तर त्यसको सौन्दर्यलाई कलाकारले प्रस्तुत गरेकी छिन् ।

सितु मास्केले तयार गरिएको प्रतिस्थापन कला र चित्रकलाहरु परम्परागत विषय तथा हाम्रौ मौलिक परम्पराको झल्को दिन्छ । धर्म, अध्यात्म र त्यसले जीवनलाई बनाएको सन्तुलनको अन्तरवस्तु चित्रमार्फत प्रस्तुत भएको छ । कमल आध्यात्मिक ज्ञानको प्रतिक हो, बज्र अविनाशी शक्ति, अनलोम आध्याम्कि गन्तव्य, दुई आँखा सर्वज्ञानको प्रतिक र सात चक्रले मानव शरीरमा आध्यात्मिक शक्ति प्रस्तुत गर्ने कुरा बताउँछिन् । उनका विषयहरु जीवनको अन्वेषण गर्नु हो । अध्यात्मको बाटोबाट अन्वेषण गर्नु हो ।

बाबुराम बस्ताकोटीका पेन्टिङ र प्र्रतिस्थापन कलाहरु आफैंमा मौलिक किसिमका छन् । उनले आफ्नो बाल्यकालसँगको विषयवस्तुलाई समावेश गरेर चित्रकला तथा प्रतिस्थापन कला प्रस्तुत गरेका छन् । सानोमा कृषि गर्नका लागि हलो जोती त्यसबाट अन्न उब्जनीका विषयहरुलाई चित्रमा उतारेका छन् । हलो जोत्दाका दुःख, कष्ट र सुख तथा राइला पलहरुलाई प्रस्तुत गरेका छन् । हाम्रा खेतीयोग्य जमिनहरु कंक्रिटका शहरमा परिणत भइसकेकोमा कलाकार दुःख व्यक्त गर्दछ । उनीसानो छँदा घरमा हजुरबुबाले हातले लेखेको भोजपत्रको पन्नमा भएको स्वास्थानीको कथाको किताव, नयाँ स्वस्थानी कथाको किताव, वेदका केही पन्नाहरु तथा ती कथाहरु पढ्नका लागि प्रयोग गरिने टुकी, लालटिन, मइनटोल लगायतका अन्य साधनहरुलाई कलाकारले बढो आकर्षक ढंगबाट प्रस्तुत गरेका छन् । अबको भविष्य के? भन्ने प्रश्न सहित उनले यो प्रतिस्थापन कलालाई यहाँ राखेका छन् ।

रुपक राईले प्रतिस्थापन कला र चित्रलाई प्रस्तुत गरेका छन् । आणविक बमहरुको आविस्कार हुनु पूर्व र त्यस पछिको युगलाई उनले आफ्ना चित्रमा उतारेका छन् । संसारले अनगिन्ती युद्धबाट विनाश भोगेको छ । मानवताले ठूलो पीडा पाएको छ । तर पनि समाज, राजनीति, ऐतिहासिक विषय, धार्मिक विषय चलिरहेको छन् । उनले आणविक विस्फोट देखिने दृष्यलाई प्रस्तुत गरेका छन् । त्यो दृष्य च्याउ जस्तै देखिन्छ । मानवा क्षणभरमा खरानी हुन वेर लाग्दैन भन्दै कलाकारले युद्धप्रतिको घृणालाई चित्रमार्फत प्रस्तुत गरेको बताउँछन् । नन्द कुमार श्रेष्ठले मूर्तिलाई प्रस्तुत गरेका छन् । जसमा उनले आमा र बच्चाको सम्बन्धलाई देखाउन खोजेका छन् । उनको अनुसार यो एक अर्ध अलंकारिक मूर्तिकला हो । यो मूर्तिमा ल्याउन खोजेको रङ्गले मानिसलाई छुट्टै अनुभूति दिनसक्छ भन्ने मान्यता कलाकारको रहेको छ ।

महेश तामाङका चित्रकलामा व्यक्त गरिएको विषयहरु व्यक्तिका रुपहरु हुन् । उनले प्रयोग गरेका रुपहरुले फरक फरक समय र फरक अनन्दको अनूभूति दिन्छ । उको प्रिन्ट मेकिङमा एउटा सानो बच्चालाई देखाइएको एउटा चित्र पनि छ । विभिन्न स्वरुपहरुले विभिन्न अवधारणा व्यक्त गर्दछ । ‘आन्तरिक शान्ति, सकारात्मकता र जीवनका विभिन्न पक्षहरुमा शुभ घटना वा परिणामहरुकोसम्भावनाको लागि विश्वव्यापी मानव इच्छालाई कलाले प्रतिबिम्बित गर्दछ ।’ कलाकार बताउँछन् ।

न्हूजा श्रेष्ठको कलामा पोट्रेटहरु देख्न सकिन्छ । तर उनले तयार गरेका ती चित्रहरु आम रुपमा देखिने पोट्रेट भन्दा फरक छन् । उनी लोकप्रियता र अस्पष्टाको विरोधाभाषपूर्ण मिश्रणलाई मूर्त रुप दिने व्यक्तिहरुको चित्रणमा रमाउँछन् । ‘जीवन्त पप रंगहरु मार्फत, प्रत्येक पोट्रेट भित्र गतिशील ऊर्जा र अस्पष्टता जगाउने प्रयास गर्छु ।’– कलाकार बताउँछन् ।

अर्का कलाकार विजयराज शाक्यले आफ्नो कलामा गतिशीलताको प्रयोग गरेका छन् । रंग र रेखाहरु गतिशील छन् । रेखा र रंगको संयोजनमा नृत्य देखिन्छ । उनले तयार पारेका चित्रमा नृत्यका शृङ्खलाहरु रहेकोकलाकार बताउँछन् । नृत्यमा नर्तकहरुको मुद्रा र इशाराहरु अद्वितीय हुन्छन् र अन्य परिस्थितिहरुमा विरलै देख्न सकिन्छ । त्यही अवस्था र परिस्थितिलाई आफ्नो मौलिक शैलीमा प्रस्तुत गर्ने प्रयास कलाकारले गरेका छन् । ‘मेरा चित्रहरुमा विरलै देखिने यी पोजहरु र इशाराहरुलाई चित्रमा उतार्ने प्रयास गरेको छु ।’

अर्का कलाकार यम्बाङ थापामगरको चित्रकलामा तराइ, पहाड र हिमालको समिश्रणमा चित्र प्रस्तुतगरेका छन् । उनका बाल्यकाल तथा सम्झनाहरुलाई रङहरुको प्रयोगद्वारा क्याभासमा उतारेका छन् । कथा सुन्दै खेलहरु खेलिएको घटना, साँझमा देखिएको र प्रकृतिबाट अनुभूति गरिएका विषयहरुलाई यहाँ समावेश गर्ने प्रयास गरिएको कलाकार बताउँछन् ।

अमन तुलाधर आफ्नो कलामार्फत हाम्रो मानसिकताको वास्तविकता र दिमागमा रहेको छलबाट कसरी बच्न सक्छौं भन्ने विषयलाई अधार बनाइ चित्रकला प्रस्तुत गरेका छन् । जीवन चुनौतीहरुले भरिएको छ तर प्राय हामी आफ्नो कल्पनामा समस्याहरु सिर्जना गर्छौं र तिनीहरुलाई वास्तविकता भन्दा ठूलो बनाउँछौं र त्यसले हामीलाई हानी पुर्याउँछ । त्यसैले कलाकारले यहाँ बन्दी मानसिकताको बारेमा कुरा गर्ने प्रयास गरेको बताउँछन् ।

कला प्रदर्शनी २०८० साल चैत्र १६ गते देखि चैत्र १९ गते सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array