मानिस मात्र होइन सिरानी पनि ब्यूँझन्छ

सुनिल पौडेल
सुनिल पौडेल २५ आश्विन २०८०, बिहीबार २०:५७
9 Min Read
Aa

नेपाली समाजको एउटा पात्र ठूलो कलाकार बन्ने सोचमा दर्शकहरूलाई आफ्नो कला पस्कने उत्कट चाहना बोकेर रङ्गमञ्चको दुनियाँमा होमिएको छ । उसलाई एक छाक टार्न र परिवारको चाहना पूरा गर्न आर्थिक कठिनाइ छ । कलाकारिताको भोकले उसलाई पोलिरहेको छ । तर त्यही भोक उसको मानसिक विचलनको कारण बन्न सक्छ भन्ने उसले पत्तै पाएन । मण्डला नाटकघरमा असोज १६ देखि २८ सम्म चल्ने ‘ब्यूँझिएको सिरानी’ नाटकले यही कथालाई दर्शकसामु प्रस्तुत गरेको छ ।

रङ्गमञ्चका कलाकारको गुजारा टार्ने समस्यालाई नाटकमा बडो मर्मस्पर्शी किसिमले प्रस्तुत गरिएको छ भने एउटा पात्रको जीवनमा साना घटनाहरूले कतिसम्मको मानसिक विचलन ल्याउन सक्छ भन्ने विषयलाई जीवन्त तरिकाले देखाउने प्रयास गरिएको छ ।

विद्यालयको कक्षाकोठाबाट सुरु हुने दृश्यले दर्शकहरूलाई आफ्नो बाल्यकालतर्फ धकेलिदिन्छ । कक्षाकोठामा हुने साथीभाइबिचको झगडा लगायतका विषयको प्रस्तुति कुशल ढङ्गले गरिएको छ ।

कथावस्तु छत्रमान, मिङ्मा, सोनाम र डिक्छेनमा घुमेको छ । नाटकका पात्र छत्रमानको भूमिकाले दर्शकलाई पेट मिच्न बाध्य बनाउँछ भने सोनाम र मिङ्माको जीवन्त अभिनयले रुवाउँछ । केही दर्शकहरू भन्दै थिए –‘यस नाटकका केही घटनाहरू मेरो जीवनसँग मेल खान्छन् । त्यसैले यो हरेक व्यक्ति र समाजको कथा हो भन्न सकिन्छ ।’

सोनाम र मिङ्मा विवाहित जोडी हुन् । उनिहरूकी एक छोरी छिन् जसको नाम डिक्छेन हो । उनी कक्षा ८ मा पढ्छिन् । उनको घरमा दिनहुँजस्तो कलह भइरहन्छ । त्यसैले होला उनलाई विद्यालयबाट छिटो घर आउन मन लाग्दैन । डिक्छेनका बुबा सोनाम सानोतिनो ‘सर्ट मूभि’मा काम गरेका हुन्छन् । एकदमै थोरै पैसा कमाउँछन् । तर त्यो निरन्तरको कमाइ भने होइन । उनको सौख भने रङ्गमञ्चमा जम्ने छ, जीवन्त अभिनय पस्कने छ । एकपछि अर्को असफलताले उनलाई कैयौं लात हानेको छ ।

सोनामको कमाइ नहुँदा उनकी श्रीमती मिङ्मालाई एक्लैले घर चलाउन कठिन छ । उनीहरू काठमाडौंँमा कसैको घरमा भाडामा बस्छन् । चार महिनासम्म भाडा तिर्न नसक्दा घरबेटीले दिने मानसिक तनाव एकातिर छ भने छोरीको विद्यालयको मासिक शुल्कको बोझ अर्कोतिर । आर्थिक अभावका कारण सोनाम र मिङ्माको दिनहुँ कलह हुन्छ । मिङ्मा काममा जाँदा सोनाम घरमा एक्लै रङ्गमञ्चमा निभाउनुपर्ने भूमिकाको अभ्यास गरिरहेका हुन्छन् । उनी घरमा अभ्यास गरिरहँदा आफ्नै श्रीमतीको आवाज सुन्दैनन्, उनलाई आफ्नै छोरी विद्यालयबाट किन समयमा घर आइन भन्ने सुर्ता हुँदैन ।

कथा अगाडि बढ्दै जान्छ । छत्रमानले नयाँ नाटकको तयारी गर्दै हुन्छन् । सोनामले छत्रमानको नाटकका एक पात्र छिरिङ्को भूमिका निभाउने जिम्मेवारी पाउँछन् । उनलाई दिइएको भूमिका दुरुस्त उतार्नको लागि उनी मानसिक अस्पताल पनि जान्छन् । त्यसपछिको अभ्यासका क्रममा साथीहरूबिच र छत्रमानसँग सोनमको एउटा घटना घट्छ । त्यस घटनाले सोनामलाई नाटकबाट निकालिन्छ । उनी घरमा श्रीमतीबाट अपहेलित हुन्छन् । समाजले उसलाई दुत्कार्दछ । त्यसपछि उनको अवस्था कस्तो हुन्छ भन्ने विषयलाई नाटकले एकदम मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।

नाटकलाई मर्मस्पर्शी र जीवन्त तुल्याउनमा अर्को महत्वपूर्ण भूमिका पाश्र्व गायनमा र बाद्यवादनमा साथ दिने कलाकारहरूको रहेको अनुभव गर्न सकिन्छ । नाटकमा प्रस्तुत हुने रमाइला तथा दुःखद घटनाहरूको प्रत्यक्ष रूपमा पाश्र्व गायन मार्फत् पस्किएका आवाजहरूले दर्शकको मनलाई तरङ्गित गर्दछन् ।

शहरमा सोनामको मानसिक अवस्था ठिक नभएपछि उनीहरू गाउँ जान्छन् । गाउँमा पनि अनेक घटनाहरू घट्छन् । खेतीको समयमा गाइने गीत तथा नाचमा प्रयोग गरिएका पोशाकहरू समावेशी देख्न सकिन्छ । त्यसले हाम्रा गाउँघरमा मानिसहरूले रमाउने अभ्यासलाई देखाएको छ ।

 

सोनामको मानसिक विचलन ठिक गर्नको लागि धामी बसाइको दृश्यमा धामीको अभियन गर्ने पात्रको अभिनय अनुभव गर्न दर्शकहरू नाटक घर नै धाउन सुझाव दिन्छु । धामी बसिरहँदा उसलाई सघाउने अन्य व्यक्तिहरूको अभिनय, त्यहाँ प्रस्तुत भएको नाच र पाश्र्वबाट बज्ने सङ्गीत दर्शकहरूको मन–मस्तिष्कमा तरङ्ग पैदा गर्ने खालको छ ।

धामीले देखाएको बाटो र सोनामको परिवारले अपनाएको उपचारको विधि यो समाजको लागि उदाहरणीय विषय हो भन्न सकिन्छ । गुरुङ् समाजको अवस्थालाई यहाँ प्रस्तुत गरिएको उनीहरूको बोल्ने शैली र पात्रको नामले थाहा पाउन सकिन्छ । धामीले अस्पताल लैजान जुन भाषाको छनौट गरेका छन् त्यो मननयोग्य छ ।

सोनामले मानसिक विचलन हुँदा कैयौँको कुटाइ खान्छन् । उनको ढाडमा कैयौंँका लात्ति बर्सन्छन् । तर उनले माफी माग्न छोड्दैनन् । उनको मानसिक विचलनको अवस्थालाई र अन्य मानसिक विचलनको अभिनय गर्नेे कलाकारहरूको प्रस्तुति तारिफयोग्य छ ।

कथाकी पात्र मिङ्माको अभियनलाई पनि कमजोर मान्न सकिँदैन । क्षणभरमा उनले निभाउने चरित्रमा पोख्त कलाकारको गुण झल्किन्छ । घरमा झगडा परिरहेको छ, ठिक त्यसै बेला घरबेटी पैसा माग्न आउँछ, त्यसै बेला कसैको फोन आउँछ । यी तीन जनासँगको संवादमा उनले निभाएको चरित्र हेर्न लायकको छ ।

घरायसी कलहले बच्चामा पर्ने मानसिक असरलाई समेत यस नाटकले कुशल ढङ्गबाट प्रस्तुत गरेको छ । आठ कक्षामा पढ्ने डिक्छेन नाटकभरि कुनै ठाउँमा पनि बोल्दिनन् । विद्यालयमा पनि उनको आवाज मौन रहन्छ । तर जब साथीहरूले गिज्याउँछन् र उनी सहन सक्दिनन् तब उनको चिच्याहटले बाल मनोविज्ञानको अवस्थालाई चित्रित गरेको मान्न सकिन्छ ।

नाटक विस्तारै नकारात्मकताबाट सकारात्मकतातर्फ बढ्दै जान्छ । मानसिक अस्पतालमा चरित्रबारे बुझ्न गएको सोनाम आफैँ त्यस अस्पतालमा बिरामी भएर भर्ना हुन्छन् । उनले कतै नपाएको प्रेम त्यहाँ पाउँछन् । बिस्तारै उनी ठिक हुन्छन् । उनी उफेरि फरक नाटकतर्फ फर्कन्छन् एउटा सफल कलाकार भएर ।

यस नाटकका लेखकले समाजको यथार्थ चित्र यस नाटकमा प्रस्तुत गरेका छन् भने उनको निर्देशन तारिफयोग्य र सबल देखिन्छ ।

जसरी एउटा खाली क्यानभासमा रङ पोत्दै एउटा आकृति वा मनभित्रको कुनामा रहेका लहरलाई एउटा चित्रकारले क्यानभासमा प्रस्तुत गर्दछ ठिक त्यसै गरी यस नाटकमा पनि सुरुदेखि अन्तिमसम्म पुग्दा नाटकलाई सुन्दर बनाइएको छ ।

यस नाटकको लेखन तथा निर्देशन जगदिश गुरुङले गरेका हुन् उनी जे.डी. तमुको नामले चर्चित छन् । उनी आफूलाई डान्सर, कोरियोग्राफर, सिनेमेट्रोग्राफरको नामले चिनाउने गर्दथे भने अब नाटक निर्देशक तथा लेखकको नामले पनि चिनाउने छन् । उनले आधा दर्जनभन्दा बढी नाटकमा अभिनय समेत गरेका छन् ।

जगदिश तमुको जीवनको कथा पनि रोचक छ । ३० वर्षीय तमु कृषकका छोरा हुन् । खेतीमा काम गरेको पारिश्रमिक ८ रुपैयाँ पाउँथे । समयको कालक्रमसँगै इलामबाट पढ्नका लागि झापा आएका उनी सानै उमेरदेखि ‘एक्सन मूभी’ हेरेर हुर्केको कारण मार्सल आर्ट सिक्न थाले । उनी घरबाट दिएको पैसाबाट जोगाएर राख्थे र त्यही पैसाले मार्सट आट्र्स सिक्न खर्च गर्थे । पछि उनलाई त्यसमा त्यति रुचि बढेन । उनी नृत्य कक्षामा भर्ना भए । उनले पार्ट टाइम काम गर्न थाले । त्यस कामबाट आएको पैसाबाट नृत्यलाई पनि निरन्तरता दिँदै गए । गुरु चन्द्र चाम्लिङबाट उनले नृत्यको कक्षा लिए । कोलकाताको डान्स कलेजबाट डिप्लोमा गरे, त्यहाँबाट उनले धेरै सिके ।

डिप्लोमा गरेपछि उनी नेपाल फर्किए । उनले उनलाई मन लागेका विषयहरू सिक्न थाले । उनले चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई भेटेपछि सिनेमेट्रोग्राफी सिक्न थाले । उनी सिनेमेट्रोग्राफी र निर्देशनमा लागिसकेपछि उनको नृत्यको कथा कतै थन्किरहेको थियो । केही समयपछि उनी मुम्बईमा फेरि डान्स इस्न्टिच्युटमा भर्ना भए । मानव शरीरको अवस्था, फिटनेश, योग, खाने आहारविहारले शरीरलाई कस्तो गर्छ भन्नेसम्म उक्त इन्स्टिच्युटमा सिकाउने हुनाले उनी त्यहाँ थिए । उनले ५० प्रतिशत छात्रवृत्ति पाएका थिए । तर, उनलाई छात्रवृत्तिको रकम पर्याप्त थिएन ।

उनले टेरेन्स लुई प्रोफेशनल ट्रेनिङ इन्स्टिच्युटबाट डिप्लोमा पूरा गरेलगत्तै डिज्नी अलादिन म्युजिकल २०१८ का लागि फ्रन्टलाइन डान्सरको रूपमा छनोट भए । त्यो उनको लागि ठूलो अवसर थियो । तर अभ्यासको दौरानमा उनी एक दिन अभ्यास सकेर फर्कँदै गर्दा उनलाई अचानक महसुस आफू मर्न लागेंजस्तो महसुस भयो । त्यसपछि लगत्तै उनी दुई दिन आइसीयूमा बसे । डाक्टरले भनेअनुसार उनलाई धेरै चिन्ता थियो । त्यसको चापले गर्दा उनी बेहोस भएका थिए् । उनी अस्तालबाट निस्किएपछि नेपाल फर्किए र काम गर्दै अगाडि बढ्दै आए ।

उनी भन्छन्–‘यो नाटक मेरो एउटा प्रयोग हो । पहिलो पटक नाटक लेखन र निर्देशन गरेको हुँ । तर मैले नाटक नसिकेको भने होइन । गुरुकुलका सुनिल पोखरेल मेरा गुरु हुन् । उनीबाट मैले सिक्ने अवसर पाएँ ।’ उनी अगाडि थप्छन्– ‘यो नाटक त मैले लेखेर यहाँ प्रस्तुत गरेको मात्र हुँ । सबैको सहयोग र प्रेमले हामी आजको दिनसम्म ‘हाउसफुल’ छौं र यो हाम्रो समाजको कथा हो ।’

‘तपाईंलाई अब अर्को नाटक लेखनमा चुनौती हुने देख्छु नि ?’ भन्ने खोजपत्रको प्रश्नमा उनी भन्छन्– ‘हामीले चुनौतीलाई स्वीकार्नुपर्छ । अहिलेको भन्दा राम्रो लेख्न सकिएन भने अर्को नगर्ने । तर, हामी विश्वास दिलाउँछौं आगामी दिनमा योभन्दा राम्रो र दर्शकले रुचाउने नाटक प्रस्तुत गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

Array