सर्जक र सिर्जना

हिजोआज एउटा गीत बजारमा र  सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । प्रकाश सपूत र शान्ति श्री परियारद्वारा स्वरबद्ध गीत गल्बन्दि । छोटो समयमा नै एक करोड भन्दा धेरैले हेरेको यो गीत पछिल्लो समयमा भने फरक  कारणले चर्चामा छ । शम्भु रार्ईले यो गीतको लय आफुले दुई दसकभन्दा अगाडि गाएको देउसी भैलो शीर्षकको गीत सङ्ग मिलेको दाबी गर्दै प्रकाशसँग त्यसको स्पष्टीकरण मागे । सामाजिक सञ्जालमा श्रोता र दर्शक बिभाजित भए । गायकहरुलाई र सामाजिक सञ्जालमा कमेन्ट गर्नेहरुले एक अर्कालाई तथानाम गाली गर्न थाले जुन पढ्न र सुन्न पनि असहज लाग्छ ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्नेहरुले पनि सीमा नाघेको देखिन्छ । प्रकाश सपुतले चोरेको छैन भन्नेले शम्भु रार्ईलाई सुन्न र पढ्न नसकिने शब्दहरुको बर्षा गरे । चोरेकै हो भन्नेले प्रकाशलाई उसको जाति सङ्ग जोडेर निकृष्ट गाली दिए जुन बारबेरिजम को पराकाष्ठा हो । हुँदा हुँदा प्रतिनिधि सभा बैठकमा समेत यसको कुरा उठेपछि केहि त लेख्नै पर्यो भन्ने लाग्यो । आफू सङ्गीतको विद्यार्थी भएको नाताले पनि हो । केहि नजानी आफ्नो धारणा मात्र राख्ने भए फेसबुकको भित्तामा लेख्थे होला ।

गल्बन्दी पछिल्लो समयमा बिवादास्पद एउटा मात्र गीत होइन त्यसैले इतिहासमा केहि अगाडि जाउँ । अल्मोडा राना उप्रेतीले सङ्गीत दिएको चलचित्र छक्का पन्जा २ को गीत ए दाजु नसमाउ नाडिमा सन् १९६६ मै कान्छा मगर नेपालीले (उनको नाति श्याम नेपालीका अनुसार) रेकर्ड गरेकै गीतको हुबहु नक्कल पाइयो । केहीले अलिअली कुरा निकाले पनि उप्रेतीलाई केहि फरक परेन । गीतको सर्जकलाई खासै कसैले महत्व दिएनन् । त्यो बुढाको गीत कसले सुन्थ्यो र ? सुन्ने भए यो लिङ्क मा जानुहोस् झन् उप्रेतिले कसैले नसुनेको गीतलाई  प्रख्यात बनाइदिए भन्ने तर्कले समाजिक सञ्जाललाई ततायो । चोरले घरमा भएको हिरा नचोरेको भए हिराको चर्चा हुन्थ्यो ? उसले चोरेर पो सबैले देख्न पाए, त्यसैले चोरेको ठिक छ भन्नू कत्तिको जायज हो <

नेपालीले पछिल्लो समय निकै रुचाएका गायक अनि सङ्गीतकार हुन कालीप्रसाद बास्कोटा। म पनि उनको प्रतिभाको राम्रै कदर गर्थे इन्ष्टाको फोटो भन्ने गीत नआउँदा सम्म। कार्ला ब्रुनीको फ्रेन्च गीत सुन्दा थाहा भयो, मेलोडि मात्रै होइन अगाडि को गितार प्लकिङ पनि ठ्याक्कै एउटै, टेम्पो अलि स्लो छ काली प्रसादको गीतमा । मलाइ फ्रेन्च आउने भए शब्द पनि दाँज्नु हुन्थ्यो। तपाइलाई आउने भए यो लिङ्कमा गएर सुन्नुहोस् पछि कालीले आफू त्यस गीतबाट प्रभाबित भएको बताए । अलि कति सङ्गीत बुझेको इमानदार मान्छेले सजिलै भन्न सक्छ कि यो प्रभाव हैन नक्कल हो, कसैको बौद्धिक सम्पतिको चोरी हो । नेपाल आइडलजस्तो  प्रतिष्ठित कार्यक्रमको निर्णायक भएर यसो गरेपछी नयाँ पुस्ताले के सिक्ने? कमाईलाई कलाभन्दा माथी राख्ने हो भने ब्यापार गर्दा सबैलाई  भलो होला, नत्र कलाको गला रेट्ने काम हुन्छ।

प्रथमतः सङ्गीत के हो यो बुझ्न जरुरी छ । शब्द भनेको भाषा हो जुन ठाँउ, परिवेश र समय सँगै परिवर्तन हुन्छ । यो कुनै गीतको साँस्कृतिक पक्ष हो बैज्ञानिक होइन । शब्द र स्वर मात्र हुने हो भने त्यसलाइ कविता भनिन्छ सङ्गीत होइन । तर सङ्गीत  चाहिँ साँस्कृतिक भन्दा पनि बैज्ञानिक आधार हो । एउटा राम्रो सङ्गीतकारले अरु देशको भाषा नबुझेपनी सङ्गीत सजिलै बुझ्न सक्छ किनकी बिज्ञान बिज्ञाननै हुन्छ, अमेरिकि, नेपाली वा चिनियाँ हँुदैन, साँस्कृतिक कारणले अलि भिन्न सुनिने मात्र हो ।स्वर र शब्द बिना नै पनि सङ्गीत  सिर्जना गर्न सकिन्छ । एउटा गीतको सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसको धुन(mभयिमथ) हो । प्रकाश सपूत र शम्भु राईको गीत सँगै सुन्दा त्यसको स्वर र शब्द त फरक हो तर धुन भने मिलेको देखिन्छ। अब अघि गरिएको कुरालाइ आधार मानेर तपाईं आफै निर्णय गर्नुहोस् । तर विवाद यतिमै टुङ्गिदैन ।

केहिको भनाइ के पनि छ भने लोकगीत कसैको पेवा हँुदैन । यो त लोक परम्परामा आधारित भएकोले जसले पनि गाउन पाउनु पर्छ ठिक कुरा हो तर लोकगीतको कुरा कुनै सर्जकले सिर्जना गरेको गीतमा लागू गर्न पाइन्छ र? शम्भु राईले गायको गीत कुनै लोकपरम्परामा आधरित होइन बल्की सर्जकको सिर्जना हो। होइन भने कहाँको र कुन लोकभाकामा आधारित हो यसो भन्नेले प्रमाण पेश गर्नु पर्यो। आधारहिन तर्क गरेर मात्र हुँदैन । फेरि प्रकाश सपूतलाई पहिला पनि उनको दोहोरी ब्याटल मा नारायण गोपालको बैनिको दया छ भने गीतको धुन चोरेको आरोप लागेकै हो। त्यसको लिङ्क पनि यहीँ छ आफै हेर्नुहोस् अझै दुःखको कुरा त अरु अग्रज र सर्जकले यो बिषयलाई धेरै नै हल्का बनाईदिए। एउटा सङ्गीतको बिद्यार्थीले थाहा पाउने कुरा पनि थाहा नपाएको त होइन होला । आज सत्यको साथ दिए भोलिदेखि कुरा चपाएर बोल्नै पर्दैनथ्यो । मैले प्रकाश सपूतले गरिखाएको डाहा गरेको होइन र शम्भु रार्ई मेरो आफन्त पनि होइनन्।

चर्चित नभएको भए मतलब हुदैनथ्यो, अहिले अरुको कमाईमा डाहा गरेको, कत्ति सानो चित्त शम्भु राईको भनेर धेरैले सामाजिक सञ्जालको भित्ता भरेको देखेँ । शम्भु राईलाई नजिकबाट चिन्नेले जान्लान् । तर मैले सानै देखि सुन्दै आएको स्रष्टा हुन् शम्भु रार्ई। जति राम्रा गायक हुन उति नै राम्रा ब्याक्तित्व पनि। प्रकाश सपूत चाहिँ नराम्रो मान्छे भन्न खोजेको होइन। शम्भु राईले गल्बन्दि को कमाइ मलाइ चाहिँदैन भनेकै छन्। मात्र प्रकाशले यस बिषयको भेटघाटमै सम्बोधन गरिदिनुपर्यो भनेको हो । सिर्जना सर्जकको सन्तान हो माया त भैहाल्छ नि।

साधारण जनतालाई गीत जसको भए पनि सुनेर रमाइलो भए पुग्छ। ठिकै हो तर यसले  कालन्तरमा कलाकारको सिर्जनामा कति असर पर्ला ? सङ्गीत सिर्जना गर्नुको सट्टा अरुकै धुनमा गाउने बानी हाम्रो नपरोस्, हेक्का रहोस् कि सङ्गीत नै सकिएर नयाँ आउन गाह्रो भएको चाहिँ होइन । जति पनि नयाँ सङ्गीत बनाउन सकिन्छ, मेहनत अलि बढी लाग्छ त्यो पक्का हो ।

अरुको गीत गाउन नपाउने भए रिमेक गर्नै नपाउने त ? अवश्य पाइन्छ तर सर्जकको अनुमति बिना होईन । यसका पनि आफ्नै नियम कानुन छन् । सर्जकले थाहै नपाइ उसको सिर्जना आफ्नो हितमा प्रयोग गर्नु अघि सोचाँै एकपटक । याद राखौ हिरा होस् कि गीत, चोरी चोरी नै हुन्छ ।

संसारको सबैभन्दा ठूलो सङ्गीतको बजार अमेरिका हो । त्यहाँ पनि सङ्गीतमा कपिराईट मा मुद्दा खेप्नेहरु थुप्रै छन् । त्यहाँ सन् १९७६ मा बनेको कपिराईट सम्बन्धी नियमले यसो भन्छ

कुनै पनि समयमा एक व्यक्तिले सिर्जना गरेको मौलिक सङ्गीतको आफसेआफ कपिराईट हुन्छ । अझ विकल्पको रुपमा अमेरिकी कपिराईटमा रजिष्टर गर्नु स्रष्टाको लागि निश्चित विषयमा फाइदाजनक हुन्छ, विशेषगरी विवादित भएको अवस्थामा । कपिराईट भएको सिर्जनाले मेलोडी, कर्ड प्रोगेसन, रिदम र शब्द जस्ता कुनै पनि चिज जसले मौलिक सिर्जनाको थोरै पनि झलक दिन्छ भने त्यसको सुरक्षा गर्दछ ।

नेपालमा भने यस्ता विषयसँग सम्बन्धीत स्पष्ट मापदण्ड भएको खासै पाइँदैन, त्यसैले यस्ता समस्याहरु समय समयमा आइरहन्छ । त्यसैले यस्ता समस्याहरुको समयमै समाधान खोजिनु र यस विषयमा बहस गरिनु जरुरी छ ।

आफू रार्ई भए राईलाई र दलित भए दलितलाई नै समर्थन गर्नुपर्ने जस्तो पनि देखियो यहाँ भलै यो सबैमा लागू नहोला । हाम्रो नेताहरुलाई जातीय तिक्ततालाई यति माथी पुर्याइदिएकोमा धन्यवाद। अरुलाई  सामाजिक सञ्जालमा तथानाम गाली नगरौं, आफुले जान्दै नजानेको बुझ्दै नबुझेको कुरामा अपशब्द प्रयोग गर्दा तपाईंहरुलाइ नै भोलि कानुनी जटिलता आउन सक्छ। मैले जानेको छैन र त्यसैले बुझ्नु पर्छ, जान्नुपर्छ भन्ने सोच राख्न सकियो भने सबैको प्रगति होला। मलाई सबै थाह छ र कसैले मलाई सिकाउनु पर्दैन भन्ने मानसिकताले ग्रसित छौं हामी । त्यसैले पछि छौं ।

 

Back to top button