को हुन् २ मिनेटमा १.१ अर्ब डलर गुमाउने व्यक्ति?

अटो कम्पनी टेस्लाका सिइओ इलन मस्कले गत विहीबार न्यूयोर्कमा सेयर बजार खुलेको २ मिनेट भित्र करिब १.१ अर्ब डलर गुमाए । उनको कम्पनी टेस्लाको शेयर पहिलेको भन्दा ११ प्रतिशत सम्म झरेको थियो । ब्लुमबर्गको रिपोर्ट अनुसार इलन मस्कको नेटवर्थ करिब १० अर्व डलर टेस्लामा र १३ अर्व डलर ‘रकेट विजनेस स्पेस एक्सप्लोरेशन टेक्नोलोजी कर्प ’ मा भएको अनुमान गरिएको छ ।

को हुन् इलन मस्क ?

इलन मस्कको जन्म सन् १९७१ जुन २८ तारिकाका दिन दक्षिण अफ्रिकाको राजधानी प्रेटोरियामा भएको थियो । दक्षिण अफ्रिकी पिता तथा क्यानेडियन आमाको जेठो पुत्रको रुपमा उनी जन्मेका थिए । ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं उनले १० वर्षको कलिलो उमेरमा नै एउटा कम्प्युटर किने र त्यहि कम्प्युटरको प्रयोगबाट ‘ब्लास्टर’ नामक एउटा कम्प्युटर गेम बनाए । यो गेम उनले ५०० अमेरिकी डलरमा बिक्रि गरे ।

उनी वयश्क भएपछि दक्षिण अफ्रिकामा अनिवार्य मिलिटरी सेवा गर्नु पर्ने वाध्यात्मक नियम थियो र उनी यस नियमबाट त्यत्ति खुशी थिएनन् । सपनाको उडान भर्दै उनी कम्प्युटर सम्बन्धि विभिन्न गेमहरु बनाउने चाहनामा थिए । यसै कारणले गर्दा उनी दक्षिण अफ्रिका छाड्न चाहन्थे । आफ्नो सपनालाई मुर्त रुप दिन १७ वर्षको उमेरमा प्रेटोनियाको ‘ब्याय हाइ स्कुल’ बाट आफ्नो बढाइ सकाइ सन् १९८९ मा क्यानडा पुगे ।

क्यानडा पुगेर आफन्तहरुको सहयोगमा काठ काट्ने बारीमा फुल टिप्ने लगायतका काम गर्न थाले । राम्रो कामको खोजिमा रहेका मस्कले केही समयको अन्तरल पछि एक स्थानिय बैंकमा क्लर्कको नोकरी पाए । आफ्नो लक्ष्यमा बाधा पुर्याउने यो नोकरी छाडेर उनले लक्ष्य प्राप्तिका लागि सन् १९९० मा क्यानडाको किंग्सल्यान्ड ओन्टेरियोको क्वीन्स विश्वविद्यालयमा विज्ञान विषयमा स्नातकोत्तर तहमा भर्ना भए । भर्ना भएको दुई वर्ष पछि अमेरिकाको युनिभर्सिटि अफ पेन्सलभेनियामा कलेज ट्रान्सफर गरे । र , केही वर्ष भित्रै उनले विज्ञान र व्यापारमा डिग्री हासिल गरे ।

आफ्नो स्नोतकत्तोरको पढाइका दौरान डग्लस एडम्सद्वारा लिखित ‘द अल्टिमेट हिचहाइकर गाइड टु द ग्यालेक्सी’ भन्ने पुस्तक पढ्ने मौका पाए । जुन पुस्तकमा कम्प्युटर, जीवन र ब्रह्माण्डका बारेमा धेरै कुराहरु उल्लेख थियो । उक्त पुस्तकबाट उनी ज्यादै प्रभावित पनि भए । पुस्तकमा लेखिएको ‘साँच्चै भन्ने नै हो भने हरेक मानिसको प्रमुख समस्या भनेको उसलाई प्रश्न के हो भन्ने थाहा नै हुँदैन ।’ भन्ने भनाइले उनलाई निकै छोयो । यस वाक्यको गहनता बुझेपछि उनको सोचमा ठूलो परिवर्तन आयो । उनी भन्छन्– ‘धेरै समय उत्तरहरु भन्दा प्रश्नहरु खोज्न कठिन हुन्छन् ।’

आफ्नो जीवनमा प्रश्नहरुको खोजि गरिरहेका मस्कले स्नातकोत्तरको पढाइ सकेर इन्टरनेट, आउटर स्पेस र क्लिन इनर्जीका बारेमा प्रश्नहरु खोज्न थाले ।

सन् १९९५ मा इनर्जी फिजिक्समा पिएचडीका लागि स्ट्याम्पफर्ड युनिभर्सिटिमा भर्ना भए । तर उनले आफ्ना भाइ किम्बल सँग मिलेर खोलेको कम्पनी ‘ग्लोबल लिंक इन्फरमेसन नेटवर्क’ का कारण उनले आफ्नो पढाइ पूरा गर्न सकेनन् । यस कम्पनीको उद्देश्य इन्टरनेट सफ्टवेयर मार्फत विजनेसमा लागेका कम्पनीहरुको नक्शा देखाउनु थियो । जसरी अहिले गुगल म्यापले देखाउँछ ठिक त्यसरी नै ।

सन् १९९६ मा मोहर डेभिडो नामक कम्पनीले ३ मिलियन युएस डलर यस कम्पनिमा लगानी गरे पश्चात यसको नाम जीप टु मा परिवर्तन भयो । र, यसले आफ्नो क्षेत्राधिकार बढाउँदै गयो । सन् १९९९ मा पुग्दा जीप टु ले सिकागो ट्रिबुन र न्यु योर्क टाइम्स जस्ता  पत्रपत्रिकाहरुलाई समेत आफ्नो ग्राहक बनाउन सफल भइसकेको थियो । जति बेला अमेरिकामा जीप टुको प्रयोगकर्ता २०० भन्दा बढी ठूला कम्पनीहरु थिए । सन् १९९९ मा कम्प्याक्ट कम्प्युटर नामक कम्पनीले ३०७ मिलियन डलर खर्च गरेर जीप टुलाई खरिद गर्यो। जसबाट मस्कले २२ मिलियन डलर र उनका भाइले १५ मिलियन डलर कमाए ।

जीप टु प्रोग्राम विक्रि गर्नुपूर्व नै मस्कले अनलाइन ब्यांकिङको अर्को परियोजनामा काम गर्न सुरु गरिसकेका थिए । २८ वर्षको उमेरमा अरबपति भइसकेका मस्कले जीप टु को विक्रिबाट आएको पैसा मध्ये दस मिलियन डलर अनलाइन बैंकिङको सफ्टवेर बनाउन खर्च गरी ‘एक्स डट कम’ नामक अनलाइन बैंक सुरु गरे । जसको काम मनिट्रान्सफरको जस्तो थियो । यो कम्पनी सन् २००१ मा एक्स डट कम अर्को कम्पनि कन्फिनिटी नामक कम्पनीसँग गाभिएर ‘पे पाल’ को रुपमा अमेरिकी बजारमा देखा पर्यो ।

इलन मस्कको एकल निर्णय गर्ने शैलीका कारणले गर्दा पे पाल कम्पनीमा ठूलो विवाद भयो । जब विवाद चरम चुलीमा पुग्यो तव एक दिन मस्क विदेशमा रहेका बेलामा पिटरफिल्ड र मार्स लेप्चीन नामक व्यक्तिले उनीमाथि ‘कु’ गरेर मस्कलाई सिइओ पदबाट बर्खास्त गरे । दुई कम्पनी मर्ज भएर बजार जमाएको ‘पे पाल’ लाई सन् २००२ मा १.५ बिलियन डलरमा ‘इ बे’ ले किन्यो । जसबाट मस्कको पोल्टामा १६५ मिलियन डलर पर्न गयो । तर त्यतिबेला मस्क सिइओ पदबाट बाहिरि सकेका थिए र आफ्नो अर्को सपना पुरा गर्न कम्मर कसि सकेका थिए ।

उनको अर्काे सपना भनेको अन्तरिक्ष यात्रा गर्नु थियो । सन् १९६९ को ‘मुन ल्यान्डिङ्ग’ पछि खासै ठूलो प्रगति नदेखेका मस्कले ‘स्पेस एक्स’ नामक अन्तरिक्ष खोज सम्बन्धि काम गर्ने कम्पनी खडा गरे । उनी सँधै भन्ने  गर्थे – ‘पृथ्वीको आफ्नो आयु छ र एक दिन नासिन्छ । तब यहाँ मानवको अस्तित्व नहुन सक्छ । त्यसैले आगामी पिढिका लागि जति छिटो यस ग्रहबाट अर्को ग्रहमा यात्रा गर्न सकिने सुलभ टेक्नोलोजी विकास गर्नुपर्छ । जसले भविष्यमा मानव जातीको कल्याण हुन्छ ।’

एउटा ग्रहबाट अर्को ग्रहमा जान सहज होस् भन्नका लागि खडा गरिएको कम्पनी स्पेस एक्सले विस्तारै आफ्नो काम सुरु गर्न थाल्यो । तर उनको महत्वकांक्षी योजना सुनेर अमेरिकन धनाढ्यहरुले उनको आलोचना गरे र उनलाई हाँसोको पात्र बनाए । आलोचकहरुको भनाइमा मस्कले गरेको पढाइ, काम र आजसम्मको अनुभवले रकेट बनाउन कत्ति पनि विज्ञता नभएको दावा गर्दछन् । तर मस्कले उनीहरुको भनाइ विपरित नासा, बोइङ्ग र टि डब्लु ए बाट उत्कृष्ट काम गरिरहेका इन्जिनियरहरुलाई आफ्नो कम्पनीमा भित्राउँछन् । नासाको इन्जिनियर भित्राएसँगै उनले नासासँग पनि ठूलो आशा राखेका हुन्छन् तर उनले नासाबाट राम्रो सहयोग पाउन सक्दैनन् ।

मस्क नासाले बनाउने गरेको अन्तरिक्ष यानहरुसँग खुसी थिएनन् र नासामा काम गरिरहेका इन्जिनियरहरुको सहहयोगमा नासाले बनाएको भन्दा सस्तो र सुरक्षित यान बनाउने उनको सपना हुन्छ । उक्त समयमा रसियाले नासाको भन्दा सस्तो र सुरक्षित यान बनाउन थालिसकेको थियो । मस्क रसिया गएर अन्तरिक्षा यान सम्बन्धी काम गर्ने कम्पनी किन्न खोज्छन् तर व्यापार सम्झौता हुन सक्दैन र पुन अमेरिकामानै फर्किन्छन् ।

अमेरिका फर्किसकेपछि उनले पुनः प्रयोग गर्न सकिने ‘फाल्कन वान’ नामक अन्तरिक्ष यान बनाउन शुरु गर्दछन् ।  फाल्कन वान २००५ को कुनै समयमा लञ्च हुने तयारीमा सफल हुन सक्दैनन् । तीन पटकको असफल प्रयासपछि २००८ सेप्टेम्बर २८ मा फाल्कन वानले पृथ्वी छोड्न सफल हुन्छ । विश्वको पहिलो निजी कम्पनीद्वारा निर्मित रकेट अन्तरिक्षमा पुग्दछ र एउटा इतिहास कायम गर्दछ ।

Falcon 09 Source: https://www.spacex.com/

सन् २००३ मा मस्कले केही इन्जिनियरहरुको समूहसँग मिलेर अर्काे अति नै महत्वकांक्षी इलेट्रिक कार कम्पनी टेस्ला मोटर्स स्थापना गरे । उनलाई सकिदै गएको तेल खानीहरु र तेलबाट चल्ने कारहरुले वातावरणमा पुर्याएको नकारात्मक असरको विकल्प खोज्नु थियो । त्यो विकल्पको रुपमा टेस्ला मोटर्स अमेरिकी बजारमा देखापर्यो ।

अमेरिकामा पेट्रोलियम पदार्थबाट चल्ने कार बनाउने ठूला कम्पनीहरु ‘फोर्ड’ र ‘जेनेरल मोटोर्स’ले उनी विरुद्ध थुप्रै अभिव्यक्तिहरु दिए । अमेरिकाको इकोनोमीको ठूलो हिस्सा ओगट्ने तेल कम्पनीहरुले हावादारी कुरा भनेर उनलाई उडाए ।

लगानीकर्ताहरु नभेटिएकाले र उनको महत्वकांक्षी योजनालाई कसैले साथ नदिएकाले मस्क आफैंले टेस्ला कम्पनीमा आफैंले ठूलो लगानी गरे । आफुले २००७ मा लिथेनाइड ब्याट्रीबाट चल्ने स्पोर्टस् कार सफल रुपमा बजारमा ल्याउने सपना सन् २००८ मा मात्र सम्भव भयो । जसको मूल्य अमेरिकी बजारमा एक लाख दश हजार अमेरिकी डलर थियो । यसलाई एक पटक चार्ज गर्दा २०० माइल गुड्थ्यो । ०.४ सेकेन्ड भन्दा कम समयमा यो कार ० बाट ६० माइल प्रतिघण्टाको गति समात्न सक्थ्यो । यो स्पोर्टस् कार अत्यन्तै महँगो भएको कारणले सामान्य नागरिकका लागि भने सम्भव थिएन । तर उनका आलोचकहरुका लागि गतिलो जवाफ भने बन्न पुगेको थियो । टेस्लाले हालसम्म  विभिन्न मोडलका कार, ट्रक लगायत सोलार प्यानल, ब्याट्री जस्ता विभिन्न सामग्री उत्पादन गर्दछ । टेस्लाको सवल पक्ष मानिसहरुले पेट्रोलियम पदार्थबाट चल्ने कार किन्दा बारम्बार तेल हाल्नुपर्ने खर्चिलो व्यवस्थाबाट मुक्ति पाउनु हो । किनकी टेस्लाले विभिन्न ठाउँमा स्थापना भएका सुपर चार्जरमा कुनै पैसा नतिरी कार चलुनजेलसम्म चार्ज गर्ने सक्ने व्यवस्था छ ।

मस्कको अर्काे कम्पनीको नाम हो ‘सोलार सिटि’ । जसले सस्तो मुल्यमा सोलार पावर वितरण गर्ने गर्छ । जुन कम्पनी अमेरिकाको पहिलो सोलार पावर सर्भिस वितरक कम्पनी हो ।

सन् २०१३ को अगस्टमा उनले नयाँ योजना अगाडि सारे, हाइपरलुप । हाइपरलुप यातायातको साधन हो । जसमा मानिस र सामानहरु ध्वनीको गतिमा यात्रा गर्न सक्छन् । यो बन्द ट्युब सिस्टम हो । जुन ‘पड’ घर्षण र वायुको अवरोध विना कुद्ने गर्दछ । १२०० कि.मि प्रति घण्टाको गति पकड्न सक्ने यो ‘पड’ को परिक्षण भइसकेको छ ।

Source: https://www.facebook.com/VirginHyperloopOne/

विश्वलाई बदल्छु र अन्तरिक्ष विज्ञानको क्षेत्रमा आमूल परिवर्तन लेराउँछु भन्ने उदेश्यका साथ उदाएका दक्षिण अफ्रिकामा जन्मेका एक नागरिक जसले कम्प्युटर गेम बनाउनेदेखि अन्तरिक्षमा पुग्ने यान सम्म बनाका छन् । ती यानहरुको उपयोगिता हाल नासा लगायत अन्य अन्तरिक्ष यान बनाउनेहरुको भन्दा धेरै सस्तो र पुनःप्रयोग गर्न सकिने खालको छन् ।

Back to top button