भिक्षु कोरिया जान्छन्

खोज पत्र
खोज पत्र ४ चैत्र २०७५, सोमबार ०६:००
12 Min Read
Aa

– सुनिल राज ढकाल

विहानीको निद्रा भर्खरै खुलेको थियो, सपनामा अचानक एक बौद्घ भिक्षु मित्रलाई देखेको थिएँ । तिनी सपनामा पनि एयरपोर्टमा थिए र हात हल्लाएर बिदा माग्दै थिए । तिनी भन्दै थिए–‘म बिदेश जान लागेको ।’
अध्यात्म र ध्यानमा ती भिक्षुको बहुतै गहिरो रुचि थियो त्यसैले ती कलेजका दिनमा गफिँदा उनी भन्ने गर्थे “ध्यानका माध्यामबाट आफुले गरेका गहनतम अनुभवहरु शब्दको माध्यमबाट व्यक्त गर्नुभन्दा अनुभूतिबाटै यसको रसस्वादन गर्नु उपयुक्त हुन्छ ।” म भन्दा एक एक व्याच सिनियर ब्राह्मण कुलमा जन्मिएका, हँसिलो मुहार, मरुन कलरको बस्त्र, होचो कद त्यसमा पनि उनले गर्ने कुराकानी र उनका मन्द मुस्कान मेरा लागि अनौठो थिए ।
तीन वर्षसम्मको त्यति बेलाको सम्बन्ध आज पनि यथावत रहँदा खुसी लाग्ने गर्दछ । ती दिन सम्झन्छु, सबै विद्यार्थीहरुको पिडा उस्तै खाले– एउटा घण्टि पढाइ भइसकेपछि दुइवटा घण्टीको ब्रेक । गफ चुटेर ‘टाइम पास’ गर्ने बाहेक ब्रेकको समयमा अन्य कुनै काम हुँदैनथ्यो । तर ती समय उनीसँग गरिएका अनुभूतिको विनिमयले हाम्रो सम्बन्धलाई माझ्न थप बल पुगेको थियो सायद ।
विहानीको नित्य कर्म सकेको मात्र के थिएँ, उनकै फोन मेरो मोवाइलमा घन्टि बजाउँदै थियो । उहि मेरो चिरपरिचित, कलेजका दिनमा गफिएर ध्यान र जीवनका भोगाइमा कुराकानी गर्ने भिक्षु मित्रको ।
समय क्रमसँगै ‘प्mल्यासब्याक’का ती यादहरु समेट्दै फोन उठाएँ । उनको फोन उठाउने वित्तिकै मेरो मानसपटलमा उनको सम्पूर्ण हुलिया भिडियोको रिल घुमेजसरी चल्न थालिसकेको थियो । उताबाट जवाफ आयो “…जी म कोरिया जान लागेको ५ वर्षका लागि ।” त्यति सुन्ने वित्तिकै मेरो मनको निश्चल समुद्रमा आँधि तुफान आएको थियो । मेरा लागि यो एउटा अकल्पनिय समाचार थियो । त्यो पनि समयको एक निमेष भित्रमा । .तिनको हाउभाउ, शालिनताले गर्दा ती व्यक्ति मिथ्या कुरा गर्ने मानिस होइनन् र अकस्मात यस्तो निर्णय लिएका पनि होइनन् भन्ने मेरो मष्तिष्कले बुझिसकेको थियो । एउटा भिक्षु कोरियामा कामदारको रुपमा जान लागेको समाचार उनीबाटै पाउँदा मनमा द्वन्द्व चल्नु स्वभाविक पनि हो । यो सब हुँदा हुँदै पनि सपनामा देखेको कुरा अहिले तिनले फोनमा बताउँदा पनि एक किसिमको अनौठोपन पनि लाग्यो । सपना प्mयाट्टै मिलेको यो पहिलो पटक थियो ।
कोरिया कामदारको रुपमा जानका लागि विभिन्न परीक्षाबाट गुज्रनु पर्ने प्रावधान पनि रहेको अवस्था थियो । तयारी धेरै अगाडि देखिको भइकन पनि उड्ने दिनमा एयरपोर्टबाट आएको खबर, यो पनि खुशीकै कुरा थियो मेरा लागि ।
कलेजका दिन सम्झिन्छु – ध्यानबाट मात्र प्राप्त हुने अध्यात्मको उच्चतम अनुभव । अनुभव प्राप्तिका लागि उनले अपनाएका बौद्ध मार्गीले लगाउने पोशाक, एउटा शिष्टाचार र आचरणमा लामो समय व्यतित गरेका व्यक्तिले आज अचानक किन कोरिया जाने निर्णय गरेछन् ? के ध्यान मार्गमा लाग्नका लागि उनले गरेका तपस्या र व्यतित गरेका आफ्ना जीवनका महत्वपूर्ण समयहरु के भौतिक सुखका लागि पैसा कमाउन नै हो त ? उनले आफ्ना उपलब्धीलाई थाती राखेर कोरिया जान गरेको निर्णय के सहि हो ?
ती भिक्षु मित्र कोरिया गइसकेपछि समुन्द्र तीरमा सामान्य पोशाकमा घुमिरहेका तस्विरहरु सामाजिक सञ्जालमा देख्दा मेरो मष्तिस्कमा यस्तै यस्तै प्रश्नहरुले लामो समयसम्म द्वन्द्व मच्चाइरह्यो ।
के उनले आफ्नो सपना भुले ? आप्mनो जीन्दगीको लक्ष्य भूले ? सबैकुरा भौतिकतामा आधारित भएको हो ? ‘छ गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भन्ने उक्ति जसरी गेडी कमाउनमै व्यस्त भएका हुन् ? यसरी अगाडि बढिरहेको उनलाई देख्दा मनमा कता कता अनौठो चिसोपना आउने गरेको थियो, मनमा खेल्ने द्वन्द्वको समाधान गर्ने कोसिस गर्न आँट पनि आएन त्यतिबेला ।
दस वर्ष पछिको पहिलो भेट– समयले नेटो काटिसकेको थियो, दश वर्ष धकेलिसकेको पत्तै रहेन मलाई । जब फेरी अनौठो मन्द मुस्कान सहित “हेलो…” को आवाज मेरो फोनको रिसिभर अन गर्नेवित्तिकै कानमा ठोकिएको थियो । स्वरमा कुनै परिवर्तन थिएन । पहिलाको जस्तै–दुरुस्त, मलाई चिन्न गाह्रो परेन । सामान्य कुराकानी पछि भेट्ने निम्तो पाइयो । मनमा खुसीको सीमा पनि थिएन । कोरियाबाट फर्किएपछिको पहिलो भेट मेरो कार्यालयको प्राङ्गणमा भयो ।
उक्त दिन उनी हँसिलो मुद्रामा मन्द मुस्कान सहित सामान्य पहिरनमा भेटिए । त्यस दिन अनुहार देखा–देखमा मात्र सिमित रह्यो त्यो भेटाघाट । यो दिन मेरा लागि पनि पर्याप्त समय खर्चिन सम्भव थिएन र उनीसँग सामान्य समय व्यतित गरेर अर्को दिन भेट्ने निधो गरी छुट्टियौं ।
अर्काे कुनै दिन – फोनमा तय भएको समय अनुसार एउटा खुला चौरको नजिकैको चिया पसलमा भेट भयो । त्यतिबेला साँझ पर्दै थियो र खुलेको आकाश मुनि क्षितिजमा सुन्तला रँगको सूर्य हेर्दै चियाको चुस्कीसँगै गफिन थाल्यौं । धेरै कुराहरु बोलिनु र सुनिनु पर्ने थियो । मेरो मनमा उठेका कौतुहलता मेटाउनको लागि पनि यो भेट मेरा लागि महत्वपूर्ण थियो ।
आकाशमा चराहरु दिनभरिको चारो टिप्ने क्रमलाई बिट मार्दै आ–आप्mनो बासस्थानतिरको गन्तव्य पहिल्याउँदै समुह–समुहमा उड्दै थिए । धेरै कुराहरु गर्नुपर्ने भए पनि हामी दुवैजना प्रकृति प्रेमी भएका कारण केहि समय आ–आप्mनै तरिकाले त्यो घमाइलो सन्ध्याको मजा लिनमा पनि तल्लिन थियौँ ।
गफको शुरुवात – “समय कति चाँडै वितेको है ….जी” अस्ती भर्खर बिदा–वारी लिएर गएको जस्तो लाग्छ, पुरै एक दसक बितिसकेछ । काठमाडौँ विस्तारै धुलोमाण्डुमा परिवर्तन भइसकेछ । त्यो पहिलाका चराहरु अब त कैयौं क्षितिजहरु पार गरिसके होलान्, जसलाई हामी कलेजको छतबाट नियाल्थ्यौँ, अव समय परिवर्तिन भइसकेछ सायद । “सुखानिचः दुखानिचः चक्रवत् परिवर्तते” भने जसरी सुख र दुख मात्र होइन, समयसँगै मान्छेको सोच र जीवन शैलीमा आमुल परिवर्तन आइसकेछ ।
मैले मेरा कुराकानीको प्रसँग कोट्याएँ – मेरा बारेमा त तपाईलाई सबै थोक थाहा छ, खुल्ला किताब त हुँ म । तर तपाईको बारेमा जति सोच्यो, कुनै निष्कर्षमा पुग्न नसक्दा उदेक लाग्छ, मलाई । तपाईका व्यक्तिगत जीवनका पानाहरु आज पल्टाउँदा कसो होला ? मेरो कौतुहलताले भरिपूर्ण स्वर प्रस्फुटित भइसकेको थियो ।
मधुर मुस्कान सहित भिक्षु मित्र भन्दै जान्छन् – जीवन अनुभूतिका क्रममा र ध्यानको गहनतम अनुभव लिँदै गर्दा म यो निष्कर्षमा पुगेँ कि, जति पनि निर्वाण पाएका व्यक्तिहरु छन्, उनीहरु सबै समृद्ध परिवारबाट आएका छन् । इतिहासमा त्यस्ता निर्वाण वा महापरिनिर्वाण पाएका व्यक्तिहरुको बारेमा उल्लेख गरिएको छैन जो निम्न वा मध्यम वर्गिय परिवारबाट आएका हुन् । त्यहि बेलामा त्यसै ऐनालाई आफुतिर ढल्काएर हेर्न थालेँ । यी सबै कुराहरु र आप्mनो पारिवारिक हैसियतलाई नियाल्ने क्रममा मैले आफुलाई एकदमै मध्यम वर्गमा पाएँ ।
भिक्षु मित्र आफ्ना फेहरिस्ता सुनाउँदै गए – मेरो परिवारमा एक जना दाइ र म मुनि एक जना भाई रहेका छन् । उनीहरु गाउँमा खेती–किसानी गर्ने र रात परेपछि मदिरामा मस्त भएर बस्ने गरेको पाएँ । बुबा–आमालाई पनि छोराहरुको अनेकन् चिन्ता थिए । यी सबै कुराहरुलाई केलाउँदा मलाई आप्mनो कर्तव्यवोध भयो ।
धेरै गर्न नसकेपनि परिवारका लागि केहि गर्न पाए, त्यो भन्दा ठूलो धर्म अरु केहि हुन्न भन्ने वोधले मलाई कोरिया जानका लागि प्रेरित ग¥यो र कोरिया जाने आवेदन दिएर पढ्न सुरु गरेँ । अर्जुन दृष्टिका साथ एउटै लक्ष्य साँधेपछि अवश्य सफल भइँदोरहेछ र हुन पनि त्यहि भयो, म परिक्षामा सफल भएँ र कोरिया जाने बाटो मेरा लागि खुल्ला भयो, कमाउनका लागि, अनि परिवार प्रतिको कर्तव्य पूरा गर्नका लागि ।
कोरिया बसाइका क्रममा मैले जीवनका सबै आयामहरुको अनुभव बटुलेँ । माँस देखि मदिरा सम्मको रसस्वादन मेरा लागि नौलो अनुभव रह्यो । कुनै कुनै बेला लाग्थ्यो–मानिसहरु रक्सि, यौन र मोजभन्दा माथि उठ्न नसकेको कुरामा म स्वयं पनि त्यहि कार्य द्रस्टा भावका साथ अनुभूति गर्न पाउँदा आनन्दले बसिभूत भएको थिएँ ।
कोरियामा मेरो काम गर्ने तरिका अरुको भन्दा फरक नै हुने गर्दथ्यो । मलाई सुम्पिएका कामहरु म इमान्दारी र निष्ठापूर्वक गर्दथेँ । मैले गर्ने गरेका ध्यानका विधिहरुले मलाई काममा अझ जीवन्तता थप्न मद्दत गरेको थियो । औसत ध्यान नगर्ने मानिसहरु भन्दा म बढी खट्न र मिहिनेत गर्न सक्दथेँ । त्यसैले मेरो कामप्रतिको लगनले गर्दा मैले विभिन्न पुरस्कारहरु पनि पाउन थालिसकेको थिएँ, त्यसैले गर्दा पनि म अरुले भन्दा बढी कमाउन सक्दथेँ ।
त्यहाँबाट मैले मेरा र मेरा परिवारका लागि चाहिँदो कमाएँ । काठमाडौँमा एउटा जग्गा किने, घर बनाएँ र बाबु आमालाई गाउँबाट त्यो घरमा स्थानान्तरण गरेँ । बुबाआमा पनि नयाँ घर तथा बैंकमा जम्मा भएको पैसाले गर्दा मख्ख हुनुहुन्छ भन्ने भान मलाई परिरहेको छ र अब म परिवारको जिम्मेवारी वोधबाट उम्कन सफल भएको अनुभूति गर्न थालिसकेको छु ।
अहिले पनि मालदिभ्समा गौतम बुद्धको ध्यान पद्दती जस्ताको तस्तै सिकाइरहेको एउटा ‘विहार’को बारेमा कोरियामा बस्दा जानकारी पाएँ र मेरो मनले मलाई त्यहाँको अनुभव लिन अह्रायो र म कोरियाबाट नेपाल फर्किनु अघि केही समय मालदिभ्समा विताउने निधो गरेर त्यतै लागेँ । केही समयको अनुभव बटुलेर त्यहाँबाट सिधै काठमाडौं अवतरित भएको हुँ ।
अबको केही महिना पछि फेरी पनि म पुनः मालदिभ्स फर्किँदै छु, सबै जिम्मेवारीबोधलाई परित्याग गर्दै । अबको मेरो मालदिभ्स बसाइ केही लिएर मात्र फर्कनेमा दृढ छ । जीवनको लामो समय यहि ध्यानको यात्रामा व्यतित गरिसकेको छु र अब मेरो लक्ष्यमा पुग्नका लागि धेरै आधारहरु तयार भइसकेको अनुभूति मेलै गरेको छु । अब मेरो लक्ष्य प्राप्तिमा कुनै बाधा रहँदैन र यथेष्ट मात्रामा लक्ष्य प्राप्तिका सम्भावना पनि मैले देखिसकेको छु ।
सांसारिक जीवनको भवसागरमा घुमिरहने मेरो लक्ष्य होइन र छैन पनि । त्यसैले मेरो लक्ष्य फरक भएका कारण म त्यता जान चाहन्न । आफ्नो लक्ष्य प्राप्तिका लागि मैले गरेका संघर्षलाई एउटा दिशा दिनु उपयुक्त हुन्छ र त्यो मेरो परिवारले पनि बुझिदिउन् भन्ने अपेक्षा पनि छ । यो कुरा मेरा बुबाआमालाई बुझाउन एकदम कठिन भइरहेको छ । उहाँहरु छोराले विवाह गरोस् र अरु छोराहरु जसरि नै केहि व्यापार व्यवसाय वा कृषि गरेर यहिँ हाम्रा अगाडि बसोस् भन्ने उहाँको आकांक्षा भएको आभाष पाउँछु । त्यहि कुरा बुझाउनका लागि मैले मेरा बाबुआमालाई मैले ध्यान गर्न जाने ठाउँ अर्थात् मालदिभ्समा एकचोटि लैजानका लागि मनाउने कोसिसमा छु । यदि म उहाँहरुलाई मनाउन सफल भएँ भने उहाँहरुलाई विदेशको त्यो ठाउँ घुमाउन लैजाने पक्षमा छु । उहाँहरु त्यहाँ जानुभयो भने छोराको लक्ष्य र अरु भिक्षुहरुको जीवनशैली देखेर उहाँहरुको सोच परिवर्तन हुने थियो कि र मलाई केहि पनि कुरामा प्रेसर दिनुहुन्न कि भन्ने लागेको छ ।
आजको वार्तामा मेरा मनका कौतुहलता र उनीप्रति मेरा मनमा जागेका प्रश्नहरुमा पूर्ण विराम लागेको थियो । झमक्क साँझ पनि परिसकेको थियो । हामी हाम्रा गन्तव्यमा लाग्नका लागि तयार भइसकेका थियौं । आजको वार्ता यतिमै सकियो ।
उनलाई साधुवाद र उनको आगामि दिनको लागि सफलताको कामना !

प्रतिक्रिया दिनुहोस्