बर्खामा कालिञ्चोक

बर्खाको समय एकाएक कालिन्चोक जाने निधो गरियो, शुक्रबारको दिन विहान बसपार्क पुग्यौं । चरिकोट जाने बाटोमो पहिरोको कारणले बाटो अबरुद्ध भएको कुरा त्यहाँ पुगेपछि थाहा भयो । भाइसँगको सल्लाह अनुसार जहाँसम्म पुग्छ त्यहाँसम्म मोटरमा जाने निर्णय भयो । बनेपा, सिन्धुली, खुर्कोट, रामेछापको मन्थली हुँदै चरिकोट जाने मोटर चडियो ।

पहिरो गएको ठाउँबाट कसरी अगाडि बढ्ने भन्ने चिन्ता पनि मनमा थियो भने अर्कोतिर त्यहाँ पुगेपछि मिल्ने आनन्द पनि । उमंगले भयलाई जित्दै थियो । सिन्धुली र मन्थली हेर्न पाइने अभिलाषाले मन पुलकित पारिरहेको थियो अनि यात्रामा लागिसकेपछि कस्को मन प्रफुल्ल नहोला र ?

हामी चढेको गाडी काठमाडौंलाइ पछि पार्दै कुदिरहेको थियो, हामी काभ्रे आइपुगेपछि भाइले सोध्यो, “दाइ हजुर काभ्रे काटेर जानु भएको छ कि नाई ?

म सिन्धुपलाञ्चोकको तातोपानी र मितेरी पुल जाँदाफेरी पुगिसकेका उसलाई बताएँ ।

झ्यालको सीटमा बसेको हुनाले हरिया डाडाँ, धुलीखेल र बनेपाका सहरहरु नियाल्दै मख्ख परिरहेको थिएँ । मनमा छुट्टै किसिमको उन्माद आउँदै थियो ।

बसको यात्रा पट्यारलाग्दो नहोस् भनि भाइ बिचबिचमा बोलिरहेको थियो । उसले भन्यो, “रमाइलो रहेछ हैन दाइ यो ठाउँ?” उसको प्रश्न प्रश्नवाचक भईकन पनि प्रश्नवाचक भन्दा बढी ‘एक्प्रेसिभ’ थियो ।

“मलाइ पनि रमाइलो लाग्यो यार्”, मैले उत्तर दिएँ ।

बनेपा धुलीखेललाई पछि पार्दै हामी सिन्धुली आइपुगेका थियौ । तल बगेको रोशी खोला,  रातो माटोको डाडाँ हाम्रा लागि हेर्दैै उजाढ लाग्दो थिए । साना घाँस सिवाया केही थिएन ती पहाडहरुमा । त्यस्ता पहाडमा पनि कता कता एक दूइवटा घर देखिन्थे, साह्रै टिठलाग्दा !

ती पहरा हेर्दा यस्तो लाग्थ्यो कि त्यहाँ खासै खेतीपाती हुदैनथ्यो । कहिँ खोलाका र सडकका छेउमा खेती गरेको पनि देखिन्थ्यो । यस्तो लाग्थ्यो कि, पानीले टम्म भरिएका ती खेतका धानहरु हामीहरु जस्तै खुशी भई लहलहाइरहेका थिए । अनि नहोस् पनि कसरी घामको प्रकाश र पानीको संगमले धानहरु जो टल्कीरहेका देखिन्थे । हामी दुवैका लागि त्यो सिन्धुलीको यात्रा पहिलो पटकको थियो ।

जापान सरकारले बनाइदिएको राजमार्ग साह्रै लोभलाग्दो देखिन्थ्यो । पुर्वको मानिसहरुलाइ यो बाटो सारै नै महत्वपुर्ण रहेछ किनकी यो बाटो खासै बिग्रिएको थिएन र पहिरो खस्ने ठाउँमा ठुला ठुला दिवालहरु ठड्याइएकाले निकै मिहिनेत गरेर बनाइएको जस्तो लाग्थ्यो ।

रोशीखोला सकिएपछि सुनकोशी सुरु हुँदो रहेछ । सुनकोशीको गर्जनसँगै गाडीको क्यारक्यार आवाज ‘ककटेल’ भइरहेको थियो । बेनीघाट आएपछि सुनकोशी र तामाकोशी मिसिएर विशाल दुधकोशी बन्दो बन्दो रहेछ ।

गाडीले खाना खान खुर्कोट बजारमा रोक्यो, खुर्कोटमा खाना खाएर हामी दुधकोशी पुल हँुदै मन्थली तिर लाग्यौँ । मन्थलीको बाटो सारै डरलाग्दो । रातामाटोको डाडाँको बिचमा बनेको बाटो, दुइवटा गाडी काट्न धौ–धौ पर्ने । कुनै कुनै ठाउँमा त पहिरोले बाटो पनि बिगारेको रहेछ ।

भाइले मनको त्रासलाई बाहिर पोख्दै, “डरलाग्दो बाटो रहेछ है दाई बाटो त ?” भन्दै मन भुलाउन कुरा गर्न थाल्यो ।

मैले पनि भनिदिएँ, “हो त, डरलाग्दै छ बाटो त ।”

हुन पनि ती पहाडहरुबाट जतिबेला पनि पहिरो खस्लान् कि जस्ता देखिन्थे, ती पहाडमा रातामाटा र केही कमजोर ढुङ्गा सिवाय केही देखिँदैनथ्यो । कुनौरी, भैशेश्वर र तामाकोशीको तिरैतिर हामी मन्थली आइपुग्यौँ ।

मन्थली गर्मी ठाउँ रहेछ, खोलाको छेउमा ठूल–ठूला फाँटहरु थिए, जहाँ पुरै धान रोपिएको थियो । मिलाएर बनाइएका खेत सारै राम्रा देखिन्थे र सँगै तामाकाशी पनि ठूलै गर्जनका साथ जोडतोडले बगी रहेका थियो ।

भाइले सोध्यो, “आज बेलैमा कुरी पुगीएला त, दाई ?”

मैले भनेँ, “खै, मेरो पनि पहिलो पटक हो, तर बाटोको स्थिति हेर्दा पुग्न सकिने कुरामा मलाई पनि दुविधा छ ।

कहिं जङ्गल, कही खोलाको तिरको बाटोबाट यात्रा गर्नुपरेकोले कतै पट्यार लाग्दो र कतै मजा पनि आइरहेको थियो । जाँदा जाँदै बिचमा एउटा दोबाटो आउँदो रहेछ जहाँबाट दायाँतिर गए जिरि र बायाँ गए चरिकोट पुगिने रहेछ । हामी बेलुकिको ५.१५ मा चरिकोट बजार पुग्यौँ । बिहान ८ः३० मा हिडेका हामीले आजको यात्रा यहिँ टुङ्ग्याएर विश्राम गर्ने निधो ग¥यौं । अफ सिजन परेकाले हामीलाई होटल खोज्न खासै समस्या परेन र होटलमा सामान राखेर, ‘फ्रेस’ हुँदै चरिकोट बजार घुम्न निस्कियौँ ।

चरिकोट १५५४ मिटर उचाइमा अवस्थित सुन्दर बजार रहेछ । साधारण रहनसहनमा मान्छे बस्दा रहेछन् र यस ठाउँमा विभिन्न आकारका अनुहारहरु कोही थेप्चे कोही चुच्चे । तामाङ, बाहुन, क्षेत्री, जिरेलको बसोबास रहेछ । कहीँ गुम्बा, कहिँ मन्दिर भएकाले धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरण थियो यो ठाउँ । घुम्दा घुम्दै यस ठाउँले स्याङ्जाको याद दिलाई हामी दुवैलाई ‘नोस्टाल्जिक’ बनायो ।

चरिकोटबाट रोलवालिङ हिमालको सुन्दर दृश्यहरु देखिन्थे । तर हामीले यात्रा गरेको मौसमले साथ नदिनाले तिनिहरु बादलको घुम्टो ओढी लजाइरहेको भान हुन्थ्यो ।

केही दिन अघि मैले सिसन बानियाँँको ब्लग पढेको थिएँ, जहाँ सिक्किमको ग्याङ्गटोकको तस्वीर कैद गरिएको थियो । मलाई चरिकोट बजार ग्याङ्गटोकको बजार भन्दा कम रमाइलो लागिरहेको थिएन । यहाँ पनि पहाडको भित्तामा टाँसीएर बसेका घरहरु निकै सुन्दर देखिन्थे । यो बजार पुर्ण रुपमा काठमाडौंमा नै निर्भर रहेछ । चरिकोटलाइ राम्रोसँग बुझन पुरै दिन यहि बिताउनु पर्दोरहेछ । त्यस दिन वेलुकी जति घुम्न सकिन्छ घुमेर सकेजति दृश्यहरु मानसपटलमा कैद गर्दै होटलमा फर्कियौं ।

भोलिपल्ट बिहान ६ बजे हामी बजारमा निस्किएर एकजना दिदिसँग कालिञ्चोक जानेको बाटो सोध्यौँ । ती दिदिले त्यहाँ पुग्न निकै टाढा पर्ने कुरा बताइन् । त्यसपछि हामीले गाडिमा जाने निधो ग¥यौं । तर निधोले मात्रै के हँुदो रहेछ र ? गाडी रिजर्भमा मात्र जाँदो रहेछ र रिजर्भ गर्नका लागि साह्रै महँगो पर्ने रहेछ ।

आखिरमा हिड्ने निर्णय गरियो । आखिर धेरै पनि त हैन नी १८ कि.मि त हो भन्दै झोला भिरेर हामी दुइ भाई बाटो लाग्यौं ।

बजारलाइ पछि पार्दै हामीहरु रोडै रोड अगाडि बढ्यौँ । हिँड्दै गर्दा सुनसान जँगल शुरु भयो जहाँ सल्लाको रुख भएको ठूलो जङ्गलले मन लोभ्याइरहेको थियो । केहिबेरको हिँडाइपछि हामीले त्यहाँ दुइवटा आकर्षक घर देख्यौँ । त्यो घर भएको ठाउँमा पुग्याँै जहाँ घरसँगै घाँसे मैदान र एउटा चुटुक्क मिलेको शान्त सानो पोखरी देख्यौं ।

भाइलाई पनि त्यो ठाउँले निक्कै आकर्षित गरेको रहेछ र भन्यो, “दाइ, जिन्दगी यही बिताउन पाए कस्तो हुनथ्यो होला है ?”

मैले भनँे, “भाइ, यो केही दिनको रहरमात्र हो । यहिँ सधैँ बसियो भने यो ठाउँ ‘मोनोटोनस’ लाग्न थाल्छ । हामी मानव निर्मित झुर संरचना, समाजको आदतमा फसिसक्यौँ, जहाँ पैसा, पद, शक्तिको खेल हुन्छ । हामीलाइ महँगो लगाउनुमा ठुलो भएको भान हुन्छ, साँचो बोल्नुभन्दा ठुला गफ गर्नुमा मज्जा आउँछ, प्रेममा भन्दा यौनमा आनन्द आउँछ, प्रकृतीक चिजसँग भन्दा मानव निर्मित चिजमा सुख मिल्छ, आमा–बाबुको कुरा र माया बक्वास लाग्छ, हाम्रो परम्परा रुढी लाग्छ, हामी आफ्नो लागीभन्दा पनि अरुलाइ देखाउनमा बढी जीन्दगी बाच्छाँै ।”

मेरो कुरालाई मनन गर्दै अब भने भाइ मौन रहयो र म पनि ।

प्रकृतीको र मेरो यति गहिरो सानिध्यता धेरै पछि भएको थियो । शान्तीसँग दुवोको चौरमा बसेका थियाँै हामी । घाम लागेको खुल्ला निलो आकाश विशाल देखिन्थ्यो । आकाशको अन्त्य कहाँनिर होला भन्दै मौनतामा केहिबेर टोलाइरहेँ म ।

यसै बिचमा हाम्रो शान्तिलाई भङ्ग गर्र्दै एउटा जिप बत्तिएर हामीतिर आइपुग्यो । अनि हाम्रो लामो मौनता भङ्ग भयो र म गाडी भेट्न दगुरेँ । गाडि रोकिएपछि ड्राइभर दाईलाई भनेँ, “दाइ सिट छ भने हामीलाई पनि लाग्दिनु पर्यो ।”

धन्न पछाडी सामान राख्ने ठाउँ रहेछ र हामी त्यही अट्यौँ । नर्वे, डेनमार्कका ‘भोलेन्टियर’हरुलाई गन्तव्यतिर लैजादै रहेछ त्यो गाडि । ती विदेशीका गाइडले अंग्रेजीमा, “दे आर अल्सो ट्राभलिङ्ग टु कालिञ्चोक” भनेर गोराहरुलाई ब्रिफिङ्ग गर्न थाल्यो ।

हामीहरुलाइ “नमस्टे” भने उनीहरुले । हामीले पनि दुवै हात जोडेर नमस्ते फर्कायौँ । सामान राख्ने ठाउँमा बस्दा त्यति असहज भने भएन, यही गाडिको अगाडि पट्टि ४ जना विदेशी महिलाहरु पनि थिए ।

आफुलाई विदेशीसँग कुरागर्न त्यति सहज लाग्दैन तर कुराकानी गर्न पाए हुन्थ्यो भन्ने चाहिँ लाग्छ । तर कुरा कहाँ बाट शुरु गर्ने ? प्रायः हामी मौनतामा नै अनेक सपना बुन्छौं र मौनतामा नै त्यसको अन्त्य पनि हुन्छ ।

डेढ घन्टापछि गाडी कुरी बजारमा रोकियो । निला टिनले छाएका त्यहाँका घरहरु निकै सुन्दर देखिन्थे ।  कुनै–कुनै घरका छतमा राता टिन पनि थिए । बजार सुनसान थियो र त्यहाँका घरहरु टिन र काठले सजिएकाले निकै आकर्षक देखिन्थे । वरिपरि पुरै हरिया डाडाँहरु थिए र अलिअलि हुस्सु लागेकाले हिमालहरु यहाँबाट पनि हामीसँग लजाइरहेको जस्तो भान हुन्थ्यो । ती पहाडबाट ठुला ठुला झर्नाहरु तल झरिरहेका देखिन्थे । कुरी बजारको पारी निकै लोभलाग्दा र विशाल देवदारका रुखहरु थिए । आनन्दले मन उडिरहेको अनुभुती भइरहेको थियो हामीलाई ।

कालिञ्चोक हामी केबुलकारबाट जाने निधो ग¥यौँ । ९५० मि. लामो यो प्रविधियुक्त हावामा उड्ने मानव निर्मित चरोबाट दृश्यावलोकन गर्नुको मज्जा नै बेग्लै रहेछ । केबुलकारबाट ओर्लिएर हामी कालिञ्चोक उक्लियौ, कालिञ्चोक भगवती हिन्दुहरुको लागी विशेष मन्दिर हो । कालिञ्चोक भगवती ३८४२ मि उचाइमा अवस्थित छ । स्थानिय मानिसहरुको गहिरो आस्था र विश्वास यस मन्दिरमा रहेछ । यो मन्दिरमा त्रिशुल र घण्टी चढाउने चलन रहेछ । भाकल भएकाहरुले ‘बली’ दिने चलनपनि रहेछ, दाजुभाइले नै त्यहाँ त्रिशुल चढायाँै । चट्टानमा अवस्थित यो मन्दिर भौगोलिक हिसाबले निकै अप्ठेरो ठाउँमा रहेछ । एकजना दाइले भन्नुभो, “मन्दिरहरु प्राय सफा ठाउँमा हुन्छन । जहाँ मानववस्ती घना हुदैन ।”

त्यहाँको भ्रमणलाई बिट मार्दै कालिञ्चोक भगवतीको जल बोतलमा भरेर हामी तल तिर ओर्लियाँै । हुस्सु लागेकाले हामीले कालिञ्चोक भगवतीको मन्दिरबाट देखिने हिमालको दृश्यबाट भने वञ्चित भयौँ । त्यहिँ पाइने छुर्पी खाँदै हामी केबुलकार चढेर कुरी फर्कीयौ ।

कुरीमा आएपछि हामीले खाना खायाँै । मासको दाल, मोटो चामलको भात, आलुको तरकारी र अचार । घरमा यो खाना दिएको भए पक्कै झोक्किएर नखाइ हिँड्थ्यौँ होला हामी । तर यहाँ भने खाना थपेर खायौं । तब एउटा कुरा याद आयो ‘भोजन भन्दा भोक मिठो’ ।

त्यहाँ बाट पैदल नै हामी सरासर चरिकोटतिर लाग्यौं । बाटोमा ठुला ठुला देवदारका रुखहरु थिए । लालीगुराँसका बोटहरु पनि थिए । त्यहाँ विशेषगरि सल्लाको बोटहरु धेरै थिए । बाटोको दुवैतिर विभिन्न रङ्का फुलहरु फुुलेका थिए । राता, पहेला, सेता, निला फुलले गर्दा प्रकृतीनै रङीन देखिन्थिन् । फुलहरु कति सुन्दर, कोमल र सोझा हुन्छन् । त्यसैले त मानिसहरु डाहा गरि टिप्छन् र टाउकोमा सिउरिन्छन्, देउतालाइ चढाइदिन्छन् । सानो, सुन्दर, सादा यी फुलहरु विशाल रुखहरु भन्दा प्यारा हुन्छन् जस्तै भर्खर जन्मेको बच्चा जस्तो । प्रकृतीले लगादिएका यी रङ्गहरु यी फुलमा कति राम्रा देखिन्छन् ।

 

केहि बेरको हिंडाइपछि हामी घाँसे मैदानमा पुग्यौँ जहाँ चौरीगाइ, याकहरु चरिरहेका थिए । करिब डेढ घण्टाको यात्रा पछि पानी पर्न शुरु भयो र हामी एउटा घरमा ओत लाग्यौँ । त्यहाँ बसेको केही बेरमा गाडी आइपुग्यो,  रोक्यौँ र कालिञ्चोक भगवतीले हाम्रो अवस्थालाइ बुझे जस्तो लाग्यो र फेरी दोस्रोपटक सामान राख्ने ठाउँमा पछाडिपट्टि गुम्सिएर चरिकोट बजारतिर आयौं ।

Back to top button