बागमतीको तिरैतिर

बागमतीको तिरैतिर

विश्वमा कोराना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको बेला म भने मकवानपुरतिर हिँडेँ । मकवानपुरका गाउँ, समाज र त्यहाँको बसोबासको विषयमा बुझ्ने मेरो लागि एउटा अवसर प्राप्त भएको थियो । बकैया गाउँपालिकाको च्याउँच्याउँ भन्ने गाउँ पुगियो । समथर फाँट, उब्जाउ जमिन, तामाङहरूको बसोबास भएको एकदमै मनोरम र सुन्दर गाउँले मलाई केही दिन यहीँ रोक्यो । यहाँ तोरी, आलु, हरिया तरकारी लगायत नगदे बालीको उत्पादन हुने रहेछ । कुनै समयमा यस गाउँमा पानीको अभावका कारण केही पनि उब्जाउ नहुने रहेछ । तर केही मानिसहरूको अगुवाइमा पानीको स्रोत व्यवस्थापन गरी गाउँसम्म पानीको व्यवस्था भएपछि यस ठाउँको मुहार फेरिएको एक स्थानीय अगुवा महिलाले सुनाइन् । यस ठाउँमा बहुमूल्य खनिज पदार्थ हुनसक्ने अनुमान मैले गरें किनभने यस ठाउँमा धेरै चट्याङ पर्ने रहेछ । जसको कारणले धेरै जनधनको क्षति पनि भएको रहेछ । त्यसैले अहिले त्यस्तो चट्याङले जनधनको क्षति नगरोस् भनेर अर्थिङको लागि ठूलो ठूलो खम्बा राखिएको देखियो ।

च्याउँच्याउँबाट हाम्रो यात्रा भालुखोलाको लागि प्रस्थान ग¥यो । प्रसस्त कोदो र मकै मात्र उत्पादन हुने यस ठाउँमा सिँचाइको अभावका कारण समथर फाँटहरू सुख्खा थिए । यहाँ हरियो तरकारीको उत्पादन शून्य रहेछ । यस ठाउँमा एउटा बालक भेटिए, जुन बालक राम्रोसँग हिँड्न नसक्ने, सुस्त मनस्थितिको, खाना खान बस्दा पनि राम्ररी बस्न नसक्ने, जहाँ बस्यो त्यहीँ लड्ने गर्दथे । उनको बारेमा सोधखोज गरियो । उनकी हजुरआमाले बताए अनुसार जन्मेदेखि नै यस्तै रहेको र धेरै औषधोपचार गरे पनि उनको रोग ठिक हुन नसकेको रहेछ । त्यस दृश्यले मेरो मनमा भने हलचल नै मच्चायो । त्यस्तो दृश्य मैले कहिले देखेको थिइनँ । उसको मुखभरि घाउ थिए ।

त्यहाँ केही समय बिताएपछि हामी हिले खोलामा एक जना दिदीकोमा बास बस्ने निधो गरी त्यतै लाग्यौं । जङ्गलको बाटो हुँदै करिब डेढ घण्टाको हिँडाइपछि हामी ँ दिदीकोमा साँझमा पुग्यौं । तर आज उहाँ घरमा हुनुहुँदो रहेनछ । हेटौंडा नजिकैको मनहरीमा आज वैज्ञानिक तवरले व्यवस्थापन गरिएको बनको निरीक्षण भ्रमणमा जानुभएको रहेछ । अब भने हामीलाई फसाद प¥यो । केही समय उहाँको घरमा पुगेर सबै कुरा बुझेपछि थाहा भयो, उहाँले फोन गरेर हाम्रा लागि आजको खाना, बस्ने व्यवस्था सबै मिलाइ दिनुभएको रहेछ । हाम्रो मन कालोमैलो आकाशबाट झरि परेपछिको स्निग्ध सफा दिनजस्तै उज्यालियो ।

यस ठाउँमा पनि हरियो सागसब्जी र अन्य बालीहरू हुँदैनन्, खानको लागि पानीको पनि अभाव छ । निकै कठिन जीवनयापन छ यहाँको बासिन्दाको । खानेपानीको जोहो गर्न नै कठिन । यहाँको बस्तीमा बनेका घरहरू निकै टाढा टाढा छन् । एउटा घरबाट अर्को घरको दूरी १० देखि १५ मिनेटको छ । यहाँको बसाइले मलाई यति धेरै अभावको बीचमा रहेर पनि मानिसहरू सानासाना कुरामा कसरी खुसी हुन सक्छन् भन्ने अनुभूति दिलाउन मदत ग¥यो । ठूलो खुशी, ठूलो सफलता र ठूलो नामको भोकले भौँतारिनेहरूले जीवनमा खुशी हुने मन्त्र सिक्न यस्तै दुःखी गाउँहरूतिर पुग्नुपर्ने रहेछ । यस विषयको लागि या गाउँ पनि एउटा विश्वविद्यालय हो ।

यहाँका बालबालिकाहरूको दिनचर्या खुला ठाउँमा दौडियो, माटोमा खेल्यो, विद्यालय गयो, घर आयो गर्ने रहेछ । माथिल्लो कक्षा पढ्नको लागि करिब ३० देखि ४५ मिनेटको बाटो हिँड्नुपर्ने भए पनि उनिहरूको अनुहारमा जुन खुसी थियो, त्यो खुसी काठमाडौंमा बसेर मैले देखेको थिइनँ ।

एक रातको बसाइपछि हामी त्यहाँबाट जङ्गलको बाटो, उकालो चढेर करिब ३ घण्टाको हिँडाइपछि अर्को गाउँ पुग्यौँ । त्यहाँ पानी खाएर हामी लाग्यौँ अर्को गाउँतर्फ जानको लागि ।

काठमाडौंमा कोरोनाको प्रभाव बढ्दै गएको समाचारहरू सुनिन थालिसकेको थियो । हामी भने आफ्नै रफ्तारमा हिँडिरहेका थियौं । त्यस रात अम्बास गढी नजिकै बास बस्ने निधो भयो । हामी गाडीको चाँजोपाँचो मिलाएर बेलुका ४ बजे गाडि चढ्यौं । शिखपुरबाट चढेको गाडीले हामीलाई बकैया खोला तारेर किर्ने हुँदै बस्तिपुरमा रहेको गाउँहरूको बिचमा बनेको बाटोबाट लगिरहेको थियो । यहाँको गाउँमा बनेका घरहरू जोडिएका जस्तै थिए । समथर फाँट, उब्जाउ जमिन हेर्दा मनमोहक लाग्ने यो दृश्य मैले मोटरबाट मात्र अवालोकन गर्ने मौका पाएँ । यय गाउँको दुई किनारामा ठूला फाँटहरू थिए । बाटोमा धेरै गोठहरू देखिए । त्यसबाट मैले यहाँ कुखुरा पालन, भैंसी पालन गरिने रहेछ भनेर सहजै अनुमान लगाएँ ।

समथर फाँट सकिएपछि हाम्रो मोटरलाई लिएर बाटो अब जङ्गलको बिचबाट उकालो लाग्न सुरु ग¥यो । उकालो चढ्दै जाँदा एउटा डाँडामा पुग्यौँ जसलाई अम्बास भनिँदोरहेछ । यस ठाउँको नाम कसरी रह्यो त्यो त थाहा भएन तर अंग्रेजहरूले नेपाल आक्रमण गर्न आउँदा गोरखाली फौजले बनाएको अम्बास गढी यहीँ रहेछ । यस डाँडाबाट सूर्यास्तको दृष्य बढो मनमोहक देखिने रहेछ । मैले गाडीबाट उक्त मनमोहक दृश्य हेर्ने अवसर पाएँ । तर मोटरमा यात्रा गरिरहेको हुनाले दृश्यलाई क्यामरामा सार्न भने सकिएन । आगोको भभर्भराउँदो फिलिङ्गो जस्तो रातो, गोलो सूर्य तराइको फाँटबाट तल गइरहेको दृश्यले जो कोहीलाई पनि आनन्दित बनाउँछ, मलाई पनि त्यस्तै आनन्दको महसुस भयो ।

अम्बासबाट कालेश्वर महादेवको मन्दिर उत्तर दिशातिर पर्ने रहेछ जुन ललितपुर जिल्लामा पर्दछ । यस कालेश्वर मन्दिरमा चैत्र पूर्णिमाको दिन ठूलो मेला लाग्ने यहाँको एक स्थानीयले बताए । उनका अनुसार मानिसहरू कार्तिक पूर्णिमाको अघिल्लो दिन हिँडेर त्यस ठाउँमा जाने रहेछन् । डाँडाको टाकुरामा कालेश्वर महादेवको मन्दिर छ । मन्दिरको अगाडि एउटा समथर प्राङ्गण छ जहाँ, जति मानिस गए पनि सबै अटाउँछन् । त्यहाँबाट चारैतिर हेर्ने हो भने र छेउबाट कोही खस्यो भने कसैको पनि हड्डी समेत भेटिँदैन भन्ने उनको भनाइ थियो । त्यस दिन टाढा टाढाबाट भक्तजनहरू दर्शनको लागि आउने र त्यहाँ दूध चढाउने गर्दछन् रे ।

यस अम्बास गढी अहिले पनि गढीकै स्वरुपमा छ । तर गाउँपालिकाले राम्ररी ध्यान दिन नसकेको र संरक्षण हुन नसकेको देखिन्छ । कतिपय गढीका ढुङ्गाहरू भत्किसकेका छन् । यहाँबाट साना साना पहाड हुँदै तराई छर्लङ्ग देख्न सकिन्छ । एकदमै मनमोहक छ अम्बास गढी । यसको संरक्षण गर्ने हो र यहाँ जाने बाटो राम्ररी बन्ने हो भने राम्रो पर्यटकीय क्षेत्र बन्न सक्छ ।

यस अम्बास गढीबाट पश्चिमतिर हेर्दा त्यतिबेला सायद ललितपुरको डाँडामा देखिने कालेश्वरको प्रतिरुप यो गढी निर्माण गर्नेले यहाँ पनि स्थापना गरेका रहेछन् । चैत्र पूर्णिमामा यहाँ पनि ठूलो मेला लाग्ने तथा उक्त मेलामा झैझगडा नहोस् भनेर प्रहरीको ठूलो जमात नै परिचालन हुने जानकारी समेत स्थानीय वासिन्दाबाट पायौँ ।

अम्बास पुग्दासम्म हामीलाई काठमाडौंको सूचना विरलै थाहा थियो । शहरमा जस्तो कोरोनाको मानसिक त्रास गाउँमा थिएन । काठमाडौंबाट मानिसहरू धमाधम  बाहिरिइरहेको बेलामा हामी भने निर्धक्क गाउँ डुल्दै थियौं । त्यसैदिन हामी अम्बास गढीबाट फेदीमा झ¥यौं । यो अम्बास भन्ने ठाउँ पहिलाको मन्थली गा.वि.स. रहेछ । यस अम्बासको सेरोफेरोमा रहेको तामाङ बस्तीले आफ्नो संस्कार तथा संस्कृतिलाई जगेर्ना गरेर राख्ने हो र यहाँको अर्गानिक खानेकुरा खुवाउने हो भने पर्यटकको लागि ठूलो गन्तव्य बन्न सक्छ ।

बागमती नदीले ललितपुर र मकवानपुर जिल्लालाई छुट्याएको रहेछ । यस बागमती नदीको छेउको ठूलो भीमकाय पहाड मैले कहिल्यै कल्पना गरेको थिइनँ, जुन ललितपुरतिर थियो । कालिकोटको पहाडभन्दा डरलाग्दो पहाड,  हेर्दैमा उराठलाग्दो पहाड, बन्जर पहाड, भीमकाय पहाड थियो त्यो । त्यही पहाडको श्रृङ्खलामा नै पर्ने हो कालेश्वर महादेव । भगवानहरू पनि कस्तो विकट र कठिन ठाउँमा गएर बस्छन््, शायदँ असत्य कहिल्यै पुग्न नसकोस् भनेर होला त्यस्तो भएको ।

अम्बासको फेदी हुँदै बागमतीको तिरैतिर हामी गाडिको यात्रा गर्दै मन्थली भन्ने ठाउँमा पुग्यौं । यहाँबाट १० मिनेटको हिँडाइमा एउटा झुलुङ्गे पुल तरेपछि ललितपुर जिल्ला छुन सकिन्छ ।

अम्बासको फेदीबाट देखिने बागमती नदी र काठमाडौंमा देखिने बागमतीमा ठूलो अन्तर भेटियो । यस नदीमा पानीको मात्रा शून्यजस्तै छ। यस नदीले ओगटेको ठाउँ भनौं वा नदीले बगर बनाएको ठाउँ एकदमै ठूलो छ । यसको ठूलो रुप हेर्नको लागि भने वर्षा याममा यहाँ आउनुपर्ने रहेछ ।

काठमाडौंमा बागमतीबाट ¥याफ्टिङ गरेर तराई जान सकिने ठूला ठूला कुराहरू सुनिरहेको म यहाँ पुग्दा झस्किएँ । कसरी सम्भव होला त यस नदीमा -याफ्टिङ गरेर तराई पुग्न ?

काठमाडौंबाट आउने फोनहरूले चैत्र १० गतेबाट देशभरि लामो दूरीको यातायात चल्न नदिने सूचनाहरू पाइरहँदा गाउँमा त्यसको कुनै पत्यारलाग्दो प्रमाण फेला परिरहेको थिएन । गाउँ नितान्त स्वतन्त्र र स्वच्छ थियो, न त मानिसका मनमा भाइरस थियो, न त त्यहाँको माटोमा । तर पनि हामीले हतारहतार गरेर चैत्र ९ गते काठमाडौं हिँड्ने निधो ग¥यौं । यहाँ कोरोना भाइरसले पूरै डेढेलो सल्काइसकेको रहेछ त्यो कुरा बल्ल हामीले कान्तिलोक पथको भट्टेडाँडा आइ पुग्दा थाहा पायौं ।

Back to top button