नागपूजाको शास्त्रीय र लौकिक पक्ष

संसारका हरेक मुलुक जहाँ हिन्दुहरूको बसोवास छ, त्यहाँ नागपञ्चमीका दिन उनीहरूले घरघरमा नागपूजा गर्दछन । त्यसैले चन्द्रमास पात्रोमा श्रावण शुक्ल पञ्चमीको नाम नै नागपञ्चमी दिइएको छ । नेपाली र भारतीय हिन्दुहरूले यसलाई विशेष भव्यताका साथ नागको पूजा गरेर मनाउने गर्दछन ।

हिन्दु शास्त्र विष्णुपुराण, स्कन्दपुराण, गरुड, अग्नि पुराण र अन्य धेरै शास्त्रले स्वर्ग, मत्र्य र पाताल गरी तीन लोक र त्यसलाई १४ भूवनको परिकल्पना गरेको छ । त्यसैगरी  सत्यलोक, तपलोक, जनलोक, महर्लोक, ध्रुवलोक, सिद्धलोक, पृथ्वीलोक, अतल, वितल, सुतल, तलातल, रसातल, महातल र पाताल गरी १४ भूवनहरु छन । हरेक भूवनमा फरक प्राणीको निवासका लागि छुट्याइएको छ । मानववादी सम्पूर्ण जीवजन्तुको बसोवास मत्र्यलोक वा पृथ्वीतलमा हुन्छ । पृथ्वीभन्दा माथिका लोकहरुमा इन्द्र, सूर्य, चन्द्र, अग्नि, बरुण आदि विभिन्न देवीदेवताहरू र पितृहरूको निवासका लागि हुन । त्यसैगरी पृथ्वीभन्दा तलका ७ लोकमा दैत्य, दानव, यक्ष र नागहरूको निवास हुन्छ । पाताल अन्तिम भूवन हो र यहाँका राजा बासुकी नाग मानिन्छन । पाताल नागहरूको राज्य हो । जसरी गृहस्थाश्रमले अन्य तीन आश्रम जस्तै ब्रह्मचर्य,  वानप्रस्थ र सन्यास लाई परिपालन गरेको छ, त्यसैगरी मत्र्यलोकले नै अन्य दुइ लोक वा १३ भूवनका निवासीलाई परिपालन गरेको विश्वास गरिन्छ । गृहस्थीहरूले वालकको स्याहार, लालन पालन, पोषण, शिक्षादिक्षा, विद्यालय, बन्दव्यापार र बृद्धहरुको हेरचाह, साधुसन्तको मर्यादा र सहयोग, राज्यलाई कर तिर्ने राज्य प्रमुख देखि सीपाही सम्मलाई पाल्नेकाम गर्दछन र राज्य चलेको हुन्छ । त्यसैगरी मत्र्यमण्डलका मानिसहरु सवै लोकमा बस्ने देव दानव नाग यक्ष किन्नर पितृ तथा सम्पूर्णको रक्षाका लागि काम गर्दछन । देवाताका लागि ब्रत तथा पूजा, पर्व, पितृका लागि श्राद्ध तथा तर्पण, यक्ष राक्षसका लागि भोजन तथा पूजा गरेर तिनको पालन गर्ने गरिन्छ । मानिसको भावना र विचारले नै देव र दानव सरीसृपको अस्तित्व रहेको छ । मानिसले पूजा नगरे देवताले के खान्छन ? मुक्तिका लागि तपोभूमि मत्र्यमण्डललाई सबैभन्दा उत्तम भूमिका रुपमा मानिएको छ । स्वर्गमा बसेर तप हुदैन, आर्जन गरेको धर्म छउन्जेल जोकोही पनि स्वर्गमा बस्न पाउँछ र धर्म सक्किएपछि पुन तल झर्दछन ।

सृष्टिकर्ता ब्रह्माका पुत्र कश्यपका ४ रानीहरु थिए । पहिलो रानीवाट देवताहरुको जन्म भयो, दोस्री रानीवाबाट गरुडको जन्मभयो, तेस्री रानी कद्रुवाट नागहरुको जन्म भयो र चौथी रानीवाट दैत्यहरुको जन्म भएको कुरा अग्नि पुराण, स्कन्द पुराण र नारद पुराणमा उल्लेख गरिएको छ ।

नगपूजाको महिमाका वारेमा खोजिगर्दा महाभारतमा ब्याख्या गरिएको छ । जस अनुसार कुरुबंशका राजा परिक्षितको तक्षकले डसेर मृत्यु भैसकेपछि उनका छोरा जन्मेजयले सर्पसत्र यज्ञ गरे, जसका प्रभावले सवै नागहरू यज्ञकुण्डमा आएर पर्नथाले । सर्पहरूको कोलाहल मच्चियो । तक्षक भने इन्द्रलोकमा गएर लुक्यो । ऋषिहरूले तक्षकलाई बाँधेर ल्याउने कडा मन्त्रहरू उच्चारण गर्नलागे । तक्षकसँगै अव इन्द्र पनि यज्ञ कुण्डमा तानिने भए । यसदेखि देवताहरू डराइ मनसादेविको आराधना गरे । मनसादेविले आफ्ना मानसपुत्र अष्टिकलाई जन्मेजयलाई आफ्नो ज्ञानले प्रभाव पार्ने र सर्पयज्ञ रोकाउने आदेश दिइन । अष्टिकले सम्पूर्ण शास्त्रको ज्ञान राजा जन्मेजयलाई दिए त्यसको गुरु दक्षिणा स्वरुप सर्पयज्ञ रोक्न लगाए । फलस्वरुप तक्षक र इन्द्रको ज्यान जोगियो । त्यो दिन श्रावण शुक्ल पञ्चमी परेको थियो । त्यसैको सम्झना र नागलाई सम्मान दिन नागपूजाको परम्परा बसाइएको मान्यता पनि रहिआएको छ । गरुड पुराणले यस दिन ब्राह्मण भोजन सवै भन्दा उत्तम मानिएको छ । किन कि अष्टिक ब्राह्मणको भेषमा आएर जन्मेजयलाई सम्पूर्ण शास्त्रको ज्ञान दिएका र संहारकारी यज्ञ समाप्त भएको थियो । त्यसैले त्यस्ता विद्वान व्राह्मण भोजन गराएमा सवैको कल्याण हुने कुरा वताएको छ । नागपञ्चमीका दिन ढोकामा टाँसिएको नागको पूजा गरी ब्राह्मणभोजन पारिवारीक कल्याणका लागि उत्तम मानिन्छ ।

जनश्रुतीका आधारमा भन्ने हो भने “एक किशानका दुइभाइ छोरा थिए । एक भाइ हलोजोत्न लाग्दा हलोमा परेर ३ नागका बच्चाहरू मरे । यसवाट नागिनी ज्यादै चिन्तित भइन र रिसाइन । त्यही रात नागिनले डसेर किशानका दुइभाइ छोरा र किशानको मृत्यु भयो  । भोलीपल्ट त किसानको एक छोरी मात्र बाँचिन । किशानकी छोरीले ठूलो विलौना गरेर कराइन, रोइन । त्यो दृष्य पर बसेर नागिनले हेरिरहेकी थिइन । वालिकाले कचौरामा भरी दूध ल्याएर नागिनलाई दिइन । नागिनले त्यो दूध पियेर खुसीभइ आफ्नो विष पुन चुसी फिर्ता लिइन । विषको प्रभाव हटेपछि सवै मृत किशानका परिवार निन्द्रबाट ब्यूझिएझैं उठे । त्यसै दिनदेखि नागपूजा सुरु भएको लोकोक्ति छ ।  नागपञ्चमीमा नागको पूजा गरी दूध मुख्य नैबेद्यका रुपमा चढाउने चलन रहिआएको छ ।

 

शिव, विष्णु, देवी, गणेश, कुमार आदि सवै देवी देवताको सुन्दरता नागको फणाले संरक्षण गरेको अवस्थामा देखिन्छ । सम्पूर्ण देवदेविभन्दा नाग धेरै शक्तिशाली छन त्यसैले शिवको गलामा नागले नै संरक्षण गरेका छन । विष्णु नागकै शैयामा सुतेका छन् । गणेशले नागपास नै हतमा लिएका छन । त्यसैले देवताहरु पनि नागहरूले नै सोभायमान भएका छन् । नागलाई जहाँसुकै पनि विचरण गर्न छुट छ । देवादिदेव महादेवको गलामा बेरिन कसको सामथ्र्य छ र नाग वाहेक ।

 

ज्योतिषशास्त्रमा कालसर्पयोगको दशा भन्ने हुन्छ । यो राहु र केतुको दशा हो । राहुलाई सर्पको टाउको र केतु सर्पको पुच्छर मानिन्छ । त्यसैले कालसर्प दशाशान्तिका लागि धातु वा माटोको शर्प बनाइ शिवालयमा चढाउने र त्यसलाई दुध चढाउने पनि गरिन्छ ।

ठाउँ विशेषले नागको पूजा फरक ढंगले गरिन्छ । आआफ्ना कूल परम्परा र रितअनुसार नागपञ्चमीमा नागपूजा गर्ने चलन छ । काठमाडौं मध्य नेपालमा नागको तस्वीरलाई ढोकामाथि टाँसेर त्यसमा पञ्चोपचारले पूजा आराधना गरी गरिन्छ भने धापाखेलको नागदह, टौदह, नक्साल नागपोखरीमा विहानै देखि नागको दर्शन गर्न भक्तजनको भिड लाग्दछ । सार्वजनिक रुपमा उपत्यकामा नक्सालको नागपोखरी, शहिदगेटको नाग मन्दिर, धापाखेलको नागदह र टौदहको नाग पोखरी वाहेक अन्य पानीका मुहान जलासयमा पनि नागपूजा गरिन्छ । प्रत्येक हिन्दु नेपालीले आफ्नो घरको ढोकामा यसदिन नागको तस्विर टाँसेर सुख सम्बृद्धि र शान्तिका लागि पूजा आराधना गर्ने गर्दछन ।

दक्षिण भारतमा हरेक दिन घरको मुख्य प्रवेशद्धारअगागि भूँइमा अष्टनागको रेखी हालेर शुभागमनको प्रतिक्षा गर्ने चलन ज्यादै प्राचीन हो । श्रावण शुक्ल प्रतिपदा देखि नै पाँचदिन ब्रत वस्ने र पञ्चमीका दिन विशेष पूजाआधाना गर्ने गरिन्छ । सपेराहरुले हरेक गाउँमा सर्पलाई टोकरीमा राखेर घुमाउँछन । भक्तजनले दूध चढाएर नागको पूजा गर्ने चलन छ । भारतको केरालाका नायर जातिहरू नागलाई आफ्नो मुख्य देवताका रुपमा मान्दछन । नागपञ्चमीको अघिल्लो दिनदेखि नै उनीहरू उपवास वसी भोलिपल्ट दूध चढाएर नागको पूजा गर्दछन । ‘थेरावद सर्प काभू’ को पाठ गर्दछन । दूधमा चाम्वारथीको फूल डुवाएर आफ्ना दाजुभाइको शरीरमा छर्कन्छन । दाजुभाइलाई नागराजाले रक्षा गरुन भन्दै हातमा डोरो वाँधिदिन्छन । मिष्ठान्न भोजन गरी ब्रत समाप्त हुन्छ ।

अर्काे जनविश्वास अनुसार यदि कुनै परिवारको सन्तान भएनन भने नागपञ्चमीको दिन पिपलको बोटमुनी प्रस्तरको नाग बनाएर प्रतिष्थापन गरी हरेक दिन नागको पूजा वाँझी महिलाले गर्नाले उत्पादन क्षमता बढ्छ र सन्तान शुख प्राप्त हन्छ भन्ने विश्वासले नागपन्चमीका दिन यस्तो गरेको पनि पाइन्छ ।

बर्षादको समयमा नाग र गरुडको घनघोर युद्ध हुन्छ जसको कारणले बर्षा प्रशस्त हुन्छ । सम्पूर्ण प्राणीलाई बर्षभरी पुग्ने खानाको ब्यवस्था हुन्छ । नागपञ्चमीको दिनदेखि यो नाग र गरुडको युद्ध समाप्त हुन्छ । यस समय चाँगुनारायण मन्दिरमा रहेको प्रश्तर गरुडमा खलखल पसिना आउँछ भन्ने जनश्रुती रहिआएको छ । यो पसिनालाई कपडाले पुछिन्छ । गरुडको पसिना पुछेको कपडा कुष्टरोगको लागि ठूलो औषधीका रुपमा प्रयोग गरिन्छ । त्यसैले नागपञ्चमीका दिन चाँगुनारायणमा ठूलो मेला लाग्दछ । नाग नागिनीको पूजा आराधना गर्नाले सुख सम्वृद्धि सन्तान प्राप्त भइ अन्त्यमा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वासले पनि नागको पूजा घरघरमा गर्ने गरिन्छ । साथै नागको पूजा गर्नाले घरमा चट्याङ पर्दैन भन्ने पनि अर्को विश्वास रहेको छ ।

 

नेपाली प्राचीन ढुंगेधाराहरुको पानी आउने ठाउँमा नागको प्रश्तर मूर्ती राखिएको हुन्छ । हरेकदिन ढुँगेधारामा पानीथाप्न जाने उपत्यकाका महिलाहरुले पहिले त्यस नागलाई पानी चढाएर मात्र गाग्रीमा पानी थाप्ने गर्दछन् । नागलाई नदी, ताल, इनार, कुवाको संरक्षक देवता मानिन्छ । नागको वास होउन्जेल इनारमा पानी सुक्दैन, धारामा पानी झरिरहन्छ, नदी हराभरा हुन्छ, कुवामा पानी रहिरहन्छ । त्यसैले नागपञ्चमीका दिन इनार कुवा, तलाउ, पोखरी सरसफाइ गरी त्यसको एक कुनामा नागको पूजागरी साँझ भोज खाने चलन उपत्यकामा अझै छ । खासगरी नेवार वस्तीमा हरेक नागपञ्चमीको दिन यो सँस्कार गरेको देख्न पाइन्छ ।

लोक कल्याणकालागि समुन्द्र मन्थन गर्दा नागहरु नेती बने । भगवान शिवले नागहरुलाई सवैभन्दा ठूलो भूमिकामा राखेका छन । ज्योतिष शास्त्रमा मानिसलाई नागदोष भयो भने समयमा विवाह नहुने, छालाका विभिन्न रोगहरु आउने(चिलाउने, टट्टाउने, दागहरु देखिने), महिलामा बाँझोपन हुने, शुस्त मनस्थितीको वालवालिका जन्मने, छारेरोग हुने हुन्छ । यी सवै रोगको शान्ति र वातावरण संरक्षणका लागि नागपूजा अपरिहार्य भएको ज्योतिष शास्त्री वताउँदछन ।

Back to top button