अग्निशाला, नाग साधना र बरुण वृक्ष

अग्निशाला, नाग साधना र बरुण वृक्ष

तपाईंले पाठशाला सुन्नुभएको होला, यज्ञशाला पनि सुन्नुभएको होला । तर अग्निशाला सुन्नु भएको छ ? पाठशालामा शिक्षा पाइन्छ, यज्ञशालामा यज्ञ गरिन्छ भने अग्निशालामा अग्नि । त्यो पनि घरको बिहानको चुल्हो जलाउन ।

मन्दिरैमन्दिरको शहर, देवी देवताको घर, विभिन्न कलाकृतिको धनी देश नेपालको राजधानी नजिकको ललितपुर जिल्लाको शहर पाटनको पूर्णचण्डीमा अवस्थित एउटा यस्तो स्थान जसको बारेमा काठमाडौं बासी लगायत धेरैलाई थाहा नहुन सक्छ । कतिपयले भन्छन् परापूर्व कालमा पाटनका घरहरूमा बिहानीको आगो बाल्न यही स्थानबाट आगो लगिन्थ्यो रे । तर यस स्थानको स्थापना कसरी र किन भयो भन्ने विषयमा एकमत भने पाइँदैन । अग्निकुण्ड कलिगता सम्बत् अनुसार ७३६ मा स्थापित भएको हो भन्ने उल्लेख छ ।

यो अग्निशाला एउटा यस्तो पुरातात्विक महत्व बोकेको स्थान हो जहाँ चौबीसै घण्टा अहोरात्र अग्नि बलिरहेको हुन्छ । एउटा कुण्डमा मात्र होइन त्यहाँ पाँचवटा कुण्ड छन् र हरेक कुण्डमा अग्निको बास छ ।

यस स्थानमा स्थापित मन्दिरहरूमा मूर्ति छैनन् । मूर्तिको चलन आउनुपूर्व नै यसको स्थापना भएको हुनसक्ने बताउनुहुन्छ अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष नृगेन्द्र राजभण्डारी ।

ललितपुरका देव ब्राह्मणहरूले यस स्थानमा मूल अग्निहोत्री भई यस मूर्ति बिनाको मन्दिर, जहाँ अग्निको पुजा हुन्छ, यसको संरक्षण गर्दै आइरहेका छन् । यस स्थानमा पुजारी भन्ने हुँदैन तर अग्निहोत्री हुन्छन् जसले अग्निलाई निभ्न नदिइ पवित्र रुपमा अनुष्ठान कार्य गर्दछन् ।
यस स्थानमा मन्दिरको स्थापना कहिले र कुन समयमा भयो भन्ने यकिन तथ्य पाइँदैन । तर यस स्थानमा अखण्ड अग्नि प्रज्वलन भइरहने हुनाले यसलाई स्थानीय नेवारी भाषामा अगिंमय (यज्ञ शाला) पनि भनिन्छ ।

यस अग्निशालालाई तीन भागमा बाँडिएको छ । बाहिरी भाग, भित्री भाग र गर्भगृह । बाहिरी भागमा गणेश मन्दिर, सांस्कृतिक इनार, शिवलिङ्ग, जःधुं (पानीट्याङ्की), पाटी, शेषनारायण मन्दिर छन् ।

भित्री भागमा पूर्व फर्केको मूलद्वार रहेको यस स्थानको बीचमा चोक छ । चोकमा पस्ने बित्तिकै उत्तर फर्केको झ्यालबाट अखण्ड अग्निको दर्शन गर्न सकिन्छ । त्यसको अगाडि नागदेवताको रूपमा लामो ढुङ्गा छ भने ढोकाकै नजिक एउटा जमिनबाट माथि उठेको एउटा ढुङ्गा देखिन्छ । त्यसलाई नागदहबाट आएको नागको रूपमा पुजिन्छ । मन्दिरमा भित्र बाहिर गर्ने तोरण सहितको ढोका छ । चोकको पश्चिमपट्टि मूल अग्निहोत्रीको आवास गृह छ । अग्निहोत्री बस्ने घरको अगाडि सिद्धलक्ष्मी (पूर्णचण्डी) को मन्दिर छ । उत्तरतिर पर्खालमा विश्वकर्मा देवको स्थान छ । सँगै वरुण वृक्षले अग्निशालालाई ओगटेको छ जसको रुप विशाल छ ।

के हो बरुण वृक्ष ?

वरुणो वरणः सेतुस्तिक्तशाकः कुमारकः । वरुणः पित्तलो भेदश्लेष्मकृच्छश्ममारुतान् ।।६५।।
निहन्ति गुल्मवातास्त्रकृर्मीच्श्रोष्णोऽग्निदीपनः । कषायो मधुरस्तिक्तः कटुकोरूक्षको लघुः।।६६।।

एक कथन अनुसार नेपालको अग्निमठभित्र रहेका विशाल बरुणवृक्षको रुखहरु विद्याधर र यसोधर नामक ब्रह्मणहरु करिब पाँच हजार वर्ष पहिले कुमारीपाटी नजिकै यसै स्थानमा आएर बास बस्दा उनिहरुले टेक्दै आएका एउटा लौरो गाडेर सुतेको र भोलिपल्ट उठ्दा उक्त लौरोमा हाँगा पलाएको हुनाले उनिहरुले यस स्थानमा उक्त लौरो छोडि गएको मान्यता छ । यसै लौरो अहिलेको विशाल वरुण वृक्ष अग्निमठभित्र अवस्थित छ । उनिहरुले यस स्थानमा रातको समयमा तापेको आगो पनि ननिभेको कारणले यस स्थानमा पक्कै केही शक्ति हुनसक्छ भन्ने ठानी उनिहरुले अखण्ड अग्नि स्थापना गरेका हुन् ।

वरुण वृक्षलाई भगवान शिवको अवतारको रुप मानिन्छ । अध्ययन अनुसार बरुण वृक्ष जापान, अष्ट्रेलिया र दक्षिण पूर्वी एशियाका चीन, ताइवान, म्यानमार, थाइल्याण्ड, भियतनाम, क्याम्बोडिया, इन्डोनेसिया र फिलिपिन्स तथा दक्षिण एशियाका भारत, श्रीलंका र केही दक्षिण प्रशान्त टापुहरुमा पाइन्छ । समुद्री सतहबाट सय मिटरको उचाइभन्दा कममा यो वृक्ष पाइन्छ ।
यो वृक्ष भगवान शिवको पुजा गर्नको लागि पवित्र मानिन्छ । यसको पात र फुल महाशिवरात्रीमा विशेष चढाइने गरिन्छ । राहु ग्रहको लागि पनि यो विरुवा पवित्र मानिन्छ । यस वृक्षको फल शक्तिवर्धक हुनेहुनाले पौराणिक समयमा योगीहरु लामो समयको साधना गर्नु पूर्व सेवन गर्दथे ।

यस वृक्ष भएको ठाउँमा यथेष्ठ पानी हुने जन विश्वास रहेको छ । धार्मिक हिसावले वरुण पानीका देवता हुन् । अग्निमठ नजिकका स्थानियहरुका अनुसार मन्दिरसँगैको इनार कहिल्यै सुक्दैन भन्ने विश्वास रहेको छ । अग्निमठ भित्र रहेको वरुण वृक्ष १६ औं शताब्दीको मानिन्छ र यस्तै अर्को वृक्ष पाटनमै अवस्थित यशोधर महाविहारमा पनि रहेको छ ।

यस वृक्षको बोक्राद्वारा पत्थरी, शरीरको विकार निकाल्ने, पिसाव पोल्ने समस्या समाधान गर्ने, कलेजोलाई चुस्त दुरुस्त राख्न, युरिक एसिडको समाधान गर्न लगायत धेरै रोगको लागि यसको बोक्रा फलदायी मानिन्छ ।

वरिपरि अग्निशालासँग सम्बन्धित शिलापत्रहरू छन्, तर ती शिलापत्रहरू बुझ्न नसकिने अवस्थामा पुगिसकेका छन् ।
गर्भगृह भनेको मन्दिरको भित्री भाग हो । यहाँ विष्णुकुण्ड, रुद्रकुण्ड, सूर्यकुण्ड, ब्रह्मकुण्ड र सभ्यकुण्ड गरी पाँच कुण्ड छन् । त्यही कुण्डमा तान्त्रिक विधिद्वारा पाँच प्रकारका अग्नि प्रज्वलित गरेर बालिएको आगो आज पनि यथावत छ । सूर्याग्नि (सूर्यको तेजबाट निस्केको आगो, पाषाणाग्नि (ढुङ्गामा रगडेर निकालिएको आगो), काष्ठाग्नि (काठको घर्षणबाट निस्केको आगो), जलाग्नि(पानीबाट निस्केको आगो) र जठराग्नि (स्त्रीको नाइटोबाट निस्केको आगो) । यी पाँच प्रकारका अग्निहरू मूल अग्निहोत्रीको छनौट प्रक्रियामा शंखमूलको बागमती किनारमा तान्त्रिक विधिबाट नाग साधना गरेर माटोको घैँटोमा नागको प्रवेश गराएपछि मूल अग्निहोत्री जोडीलाई अग्निशाला प्रवेश गराएर तान्त्रिक विधिद्वारा युगल जोडीलाई सहभागी गराएर पाँच प्रकारका कुण्डमा पाँच प्रकारका अग्निको प्रज्वलन गरिने परम्परा छ । यस्तो प्रकृया कहिलेदेखि सुरु भयो भन्ने विषयमा यकिन तथ्य भने पाइँदैन ।

अग्निहोत्रीको षड्कुल छ । ६ कूलमध्ये एउटा ब्रह्मा जुन कुलले अग्निहोत्रीको देहान्त भएको बेलामा यस मन्दिरको कर्म चलाउँछन् । बाँकी ५ मध्ये सबैभन्दा जेष्ठ दम्पत्तिलाई नियमित प्रक्रिया अनुसार शंखमुलबाट नाग साधना गराएर भित्र्याएपछि नयाँ अग्निहोत्री छान्ने प्रकृया पूर्ण हुन्छ ।

मानौँ, वैशाखमा अग्निहोत्री बाजे बित्नुभयो भने बैशाखदेखि कार्तिकसम्म अग्निहोत्रीको पद खाली हुन्छ । त्यस्तो बेलामा अष्ठाय अग्नि भनेर ब्रह्माले चलाउनुहुन्छ । मंसीरमा अग्निहोत्री बितेको अवस्थामा कार्तिक शुक्ल पूर्णिमा नै कुर्नु पर्छ ।
‘अग्निहोत्री बाजेको मृत्यु भएपछि नयाँ अग्निहोत्री नछानिएसम्म सबै यज्ञकुण्डदेखि त्यहाँभित्र रहेका संरचना सबै भत्काएर अस्थाई अग्निबाट काम हुन्छ ।

यस मन्दिरमा कुनै पनि पूजापाठ हुँदा शंखमूलमा नाग साधना गरेर ल्याएको सोही नाग कलशको प्रयोग गरिन्छ ।

नाग साधना के हो ?

‘कलशमा पानी होइन नाग ल्याउने, तान्त्रिक विधिबाट नाग बोलाएर कलशमा प्रवेश गराएर ल्याउने, त्यसलाई भित्र हेर्ने काम गर्नु हुँदैन, त्यस कलशलाई बन्द गरेर ल्याउने हो, त्यो कलश बोकेर ल्याउने मानिसलाइ धेरै कठिन हुन्छ । कलश सानो भए तापनि धेरै गह्रुंगो हुन्छ । त्यसले गर्दा त्यो पानीको वजन र कलशको वजनभन्दा बढी हुन्छ । त्यस कलशलाई विशेष बाटोबाट कतै पनि नबिसाई बोकेर ल्याएर मन्दिरभित्र राखिने चलन छ । अहिले पनि सोही विधिबाट ल्याएर राखिएको नाग कलश नै यहाँको प्रमुख महत्व र शोभा मानिन्छ ।
जब अग्निहोत्रीको मृत्यु हुन्छ तब नागको पनि मृत्यु हुन्छ भन्ने मान्यता छ । अग्निहोत्रीको मृत्युपछि त्यो मृत शरीर लाने विशेष बाटो छ । त्यही विशेष बाटोबाट चोभारमा लगेर दाहसंस्कार गर्ने गरिन्छ । ‘त्यो बेलामा अग्निहोत्रीको मृत्यु हुँदा लगेको देखेको थिएँ, तर त्यो बाटैबाटो लान नहुने, खेतैखेत लानुपर्ने थियो । यो २०२६ सालको कुरा हो ।’ प्रत्यक्ष दर्शी – चित्रकार जीवन राजोपाध्याय बताउँछन् ।
‘२०२६ साल सालतिर यहाँको प्रमुख अग्निहोत्रीको मृत्यु भएपछि त्यसरी कलश साधना गर्ने क्रममा शंखमूलको बागमती किनारमा बालुवामा माटोको कलश गाडेर तन्त्र साधना गर्नु शुरु गर्नुपूर्व टन्टलापुर घाम लागेको थियो । तर नाग साधना गर्न शुरु गरेपछि बादल लागेर धुम्म भएको थियो भने साधना गरिसकेपछि पानी परेको थियो । करिब १५, २० मिनेटको तन्त्रसाधनापछि नाग कलशमा प्रवेश भयो भन्ने जानकारी तान्त्रिकले गराए । त्यसपछि विशेष बाटो भएर कलश अग्निशाला ल्याइयो । सोही कलश अग्निहोत्री बाजेको मृत्यु भएपछि अग्निहोत्री बाजेको दाहसंस्कार गर्दा सँगै लगेर जलाइन्छ–’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्र राजभण्डारी बताउँछन् ।
अग्निहोत्रीको मृत्युपछि के हुन्छ ?

समय तथा मान्छेको रुचिमा परिवर्तन भएकोले नाग साधना गर्ने र अग्नि प्रज्वलन गर्ने र विधि गर्ने, तन्त्र जान्ने मानिस छन्, पढ्नका लागि सबैले जानेका छन् तर मानिसमा त्यसको सिद्धि छैन र विश्वास पनि छैन । ब्रह्मचर्य पालन गर्नुपर्ने लगायतका विभिन्न विधि अनुसार मन्त्रसिद्धि गर्नुपर्ने नियम छ । त्यो नियममा कोही बसेका छैनन् । त्यसको अभ्यास पुगेको नै छैन । अब अग्निहोत्रीको मृत्युपछि यहाँको परम्परा र यसको महत्वलाई जोगाइराख्न कठिन छ भन्नुहुन्छ अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्र राजभण्डारी ।
अग्निहोत्रीको मृत्यु पछि कसरी दाहसंस्कार गरिन्छ ?

अग्निहोत्री बाजे जुन कुनै स्थानमा मृत्यु भए पनि यस अग्निशालाको मूल प्रवेशद्वारबाट भित्र प्रवेश गराइन्छ । त्यसपछि अग्नि बालिएको ठाउँबाट दक्षिणपट्टि रहेको ‘चालन’ द्वार भनिने ढोका छ, मृत्यु भएको अग्निहोत्रीलाई सोही द्वारबाट बाहिर निकालिन्छ र दाहसंस्कारको लागि लगिन्छ । यो द्वार अन्य समयमा कहिल्यै खुल्दैन ।

अग्निशालाको महत्व

ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस मन्दिरमा मकर संक्रान्ति (माघ १ गते) मा विशेष मेला लाग्छ, कार्तिक महिनामा कार्तिक महात्म्य हुन्छ । पञ्चाग्निका हवनकुण्डमा नित्य प्रातः सायं हवन् यजन तथा पूजन क्रिया पुरातनकालदेखि अविरल चलिरहेको छ ।
वैदिक तथा तान्त्रिक महत्व रहेको उक्त अग्निमण्डपको अन्तःकक्षमा अग्निहोत्रीका अन्तर्गत पर्ने ब्रह्मा, विष्णु, रुद्र, सूर्य तथा सभ्य नामक कुण्डहरूमा पाटनका प्राचीन निवासी ब्राह्मणहरूले सदादेखी हवनाधिकार कायम राखेका छन् ।
मध्यकालमा मल्ल राजाहरूले पनि यस अग्निमठमा चाख राख्ने गर्दथे भनेर अग्निमण्डपको ऐतिहासिक सामग्री नामक कृति (पुस्तक) मा भनिएकोले यो क्षेत्र अझ पुरानो हो भन्न सकिन्छ ।

वैशाख पूर्णिमाको यवान्नविधि, श्रावण पूर्णिमाको पवित्रारोहण विधि, आश्विन महिनाको नवान्न विधि, कार्तिक पूर्णिमाको वर्ष वन्धन विधि, कृष्ण र शुक्लपक्षका अग्निष्टोम विधि तथा इन्द्रानिष्टोम विधिहरू विशेष उल्लेखनीय छन् ।
अग्निशालामा हरेक दिन बिहान पितृयज्ञको श्राद्ध हुन्छ । यहाँ श्राद्ध गर्दा कुनै पनि व्यक्तिको गोत्र र नाम अनुसार हुँदैन । समग्रमा नाम र गोत्र बिना श्राद्ध गरेर पितृ दान गर्ने चलन छ । त्यो हरेक दिन हुन्छ । कसैले आएर भन्ने होइन, एकमुष्ठ गरिने चलन छ ।

रोचक कुरा के छ भने यहाँका अग्निकुण्डहरूको उचाइ मानिसको भन्दा आधा मात्र छन् । जिज्ञासा हुन्छ – किन मन्दिरका अग्निकुण्डहरू मानिसको उचाइभन्दा आधा छन् ?
मन्दिरमा आगो बाल्ने क्रममा मूल अग्निहोत्रीको पत्नीको नाभीबाट जठराग्नि निकाल्नुपर्ने र उक्त विधि गर्दा उभिनुपर्ने भएकोले मानिसको नाभीसम्मको उचाइको अग्निुण्ड रहेको र अन्य चार कुण्ड पनि सोही उचाइको भएको यस मन्दिरका विषयमा जानकारहरू बताउँछन् ।

Back to top button