युवाहरुको विदेश पलायनले के समृद्ध नेपालको सपना पूरा होला ? 

युवाहरुको विदेश पलायनले के समृद्ध नेपालको सपना पूरा होला ?

पि.एस. यो नितान्त व्यक्तिगत विचारहरु हुन् । यसमा सहमत हुनु वा बहस गर्नु तपाईमा निर्भर रहन्छ ।

बैदेशिक रोजगारमा जाने नेपालीहरुको दिनहुँ ओइरो लागेको तपाइ हामी सबैलाइ थाहा छ । नेपालमा भनेजस्तो रोजगारी र मनग्य कमाउन नसकिने सोच भएकाहरु बढी मात्रामा विदेशिने गरेको पाइन्छ । विदेशि भूमिमा श्रम गरिरहेका नेपालीलाई आफ्नै भूमिमा फर्काउने र आफ्नै भूमिमा काम गर्ने वातावरण निर्माण गर्नु राज्यको ठूलो चुनौती पनि हो ।

विदेशमा केही समय व्यतित गरेर नेपाल फर्केकाहरुले राम्रो परिश्रमबाट मनग्य फाइदा कमाउन सकिन्छ भन्ने उदारहण पनि पेश गरिसकेका छन् । हाम्रो जस्तो श्रोत र साधनले भरिपूर्ण मुलुकमा उपयुक्त नीति नहुनु र भएको नीति पनि सहि रुपमा कार्यान्वयन गर्न नसक्नु राज्यको कमजोरी हो ।

हरेक दिन विदेशिने युवा÷युवतीहरुको कमी छैन । उनिहरु बाध्यतामा विदेशिनु परेको गुनासो समेत गर्दछन् । नेपालबाट दैनिक पन्ध्रसय युवाहरु रोजगारीको लागि विदेशिने गरेका छन् । युवापुस्ता आफुखुसी विदेशिने वा बाध्यात्मक परिस्थितिमा विदेशिने वातावरण राज्यले निर्माण गर्दछ । राज्यले विकासको गतिमा ठूलो फड्को मारेको विगुल फुक्छ । यदि हामीले यसलाई उपलब्धी ठान्यौं भने आगामी पुस्ताले यसको ठूलो मुल्य चुकाउन पर्ने हुनसक्छ । सामान्य बटुवादेखि नीति निर्माण र कार्यान्वयन गर्ने पक्षले शिक्षित–अशिक्षित, दक्ष–अदक्ष जनशक्ति पलाएन भए भने दिगो विकास सम्भव नहुने बुझेको पनि छन् ।

नेपाल सरकारले पहिले स्वरोजगार कार्यक्रम ल्यायो । त्यसको प्रभावकारिता कता पुग्यो ? कतिले त्यसको लाभ लिन सके ? भन्ने विषय अन्योल ग्रस्त छ । दुई तिहाइको सरकार छ । विदेशिएका नेपालीहरुलाई स्वदेश फर्क, नेपालमा रहेकालाई विदेश नजाउ, आफ्नैदेशमा काम गर भन्ने सन्देश दिँदै विदेशबाट फर्किएका दक्ष र शिक्षितहरुलाई सहुलियत ऋण दिने कार्यक्रम घोषणा भयो । निवेदनको दिनेहरुको ओइरो नै लाग्यो । तर के तिनिहरु सबैले ऋण पाउन सके ? कति मानिसहरुले उद्यमशिलता शुरु गरे त भन्ने प्रश्न पनि टड्कारो छ ।

राज्यले ठूलो निर्णय गरेको थियो । तर त्यसको बर्खिलाप जापान र मलेसियासँग श्रम सम्झौता गरेर नेपाली कामदार विदेश पठाउने अर्को कदम सरकारले चाल्यो । उसले अपनाउन खोजेका स्वदेशमै रोजगारको नीतिलाई आफैंले खण्डन गरिदियो । राज्यले द्वैध चरित्र देखियो भनेर चियापसलमा गफिरहेका मैले नै सुनेको छु । अब यो श्रम सम्झौताबाट नेपाली जनताले के बुझ्ने ?

एक तप्काको तर्क छ, विदेशिने जनशक्तिलाइ कसरि कम गर्न सकिन्छ भन्नेमा भन्दा पनि धेरै भन्दा धेरै नेपालीलाई कसरी विदेश पठाउन सकिन्छ भनेर राज्यलागि परेको आरोप लगाउने जमातको पनि कमी भने छैन । नेपालीलाइ नेपालमै रोजगार दिन सकिएन भने कसरि नयाँ रोजगार श्रृजना गर्न सकिन्छ ? रोजगारको लागी विदेश जानेको संख्यामा कम गर्न सकिएन भनेर दुःख मान्नु भन्दा पनि ठूलो कुटनैतिक मेहनतले यो उपलब्धी भएकोमा सरकार उत्सव मनाउँछ । त्यतिले नपुगेर नेपाली कामदार ओमान पनि निःशुल्क जान पाउने भनि आएका सञ्चारमाध्यमका समाचारले समेत मुलुकले कुन बाटो रोज्न खोजिरहेको छ नेपाली जनताले बुझन् सकेका छैनन् ।

विदेशिन बल दिएका, बाध्य बनाइएका तथा उत्साहित बनाइएका आधारहरु

  • नेपालमा भन्दा धेरै आम्दानी
  • नेपाल सरकारले विदेश जानेको लागी सहज बनाउनु, धेरै देश सँग श्रम सम्झौता गर्नु, लगानीमा कमी गराउनु, निशुल्क जान पाइने गराउनु
  • गाउँले वा आफन्तले नेपालमा केहि गर्छु भन्दा ऋण नदिनु तर विदेश जान्छु भन्नेलाइ जति पनि ऋण दिनु
  • विदेशबाट फर्किएकाले पैसा कमाएर र्फकिएपछि समाजमा आर्थिक सहयोग समेत गर्छन, परिवारलाइ राम्रो, मिठो लाउन खान पुरा गर्छन जसले गर्दा उनिहरुको सम्मान, वाह वाही हुन्छ तर जो गाँउ घरमा बसेर गाँउकै सेवा गरेको हुन्छ चाहे त्यो बिरामी पर्दा, मर्दा बिकासे काममा जति योगदान गरे पनि विदेशिको आर्थिक सहयोगको अगाडी शुन्य बनाइ दिन्छन् जसले गर्दा गाँउमै बसेकोलाइ हिनताबोध हुन्छ ।
  • नेपालमा केहि गर्न उपर्युक्त वातावरण नहुनु र बजार ब्यबस्थापन नहुनु, बिचौलियाको बिगबिगिलाइ सरकारले अनुगमन र नियन्त्रण गर्न नसक्नु

सबैले सौच्नु, बुझ्नु र महसुस गनुपर्ने सवालहरु

  • रेमिटान्सले देश धानेको छ भनिन्छ तर नेपालबाट कति बाहिरिएको छ ? के त्यसको ब्यबस्थित अभिलेख छ ?
  • वैदेशिक रोजगारीले देशमा पैसा त भित्रिएको छ । योगदान पनि छ तर पैसा कमाउन गएका कति बाकसमा बन्द भएर आउछँन्,  कतिको घरबार बिग्रिएको छ ? कतिपयको त श्रीमानले पसिना बगाएर कमाएर पैसा पठाउँछन्, घरमा आउँदा श्रीमतीले पैसा लिएर हिँडेको तथ्यले देश कता जाँदैछ ?
  • महिला कामदारहरु विदेशिने संख्यामा बृदि हँुदै गएको छ, सरकारले कानुनी रुपमा केहि देशमा प्रतिबन्ध तथा केहि देशमा श्रम खुला गरेको छ । तर आफ्नै आफन्त, परिवारबाट असुरक्षित भएका महिला विदेशमा कती सुरक्षित होलान ? राज्यले चाहने हो भने यो समस्या समाधान गर्न नसक्ला र ?
  • देशमा प्रतिब्यक्ति आयमा बद्धि भएको छ तर धनि र गरिब वीचको खाडल घट्दै छ कि बढ्दै छ ?
  • २ लाखमा आउने जग्गाको मुल्य १० लाख पर्न थाल्यो किन ? विदेशबाट आएको पैसा के मा लगानी भइरहेको छ ? यसको बारेमा छानविन हुन पर्दैन र?
  • दिगो विकासको एजेण्डा बोक्ने, तर भएका खेतबारी बाँंजो राख्ने, भएको युवा जनशक्ति पलायन अनि दिगो विकास कसरि ? कि यसलाइ नै दिगो विकास भन्ने ?

यदि देशको दिगो विकास र समृद्ध नेपाल बनाउने हो भने उपलब्ध स्रोत साधनको उपयुक्त प्रयोग नगरि कल्पना गर्नु मुखर्ता हो । त्यसको लागी जनशक्तिको आवश्यक पर्छ, त्यो जनशक्ति विदेश छ, त्यो जनशक्तिलाई भित्र्याउन र विदेश पलायनमा न्युनिकरण गर्न सरकारले उत्साहितकारी र बाध्यकारि दुबै कदम चाल्नुपर्छ । बिभिन्न तहबाट उपयुक्त पारिश्रमिक, वातावरण, तालिम, सुरक्षाको सुनिश्चिता गर्नको लागि सरकारलाइ सबैले मिलेर बाध्यात्मक परिस्थितिको निर्माण गर्नुपर्छ ।

Back to top button