पत्रिकाको पेन्सिल

खोज पत्र
खोज पत्र २२ श्रावण २०७६, बुधबार ०६:००
11 Min Read
Aa

ठमेलबाट अलिकति अगाडि लागेपछि सोह्रखुट्टेको ओरालो सकिने वित्तिकै दाहिनेपट्टि जाने एउटा बाटो छ । त्यहाँबाट थोरै अगाडि लागेपछि दाहिनेपट्टि एउटा बन्दै गरेको घर छ । त्यस घरको दोस्रो तल्लामा एउटा ठूलो खुल्ला कोठा छ । त्यसलाई बाँसको मान्द्रोको प्रयोग गरेर तीन भागमा विभाजन गरिएको छ । एक भागमा दुईवटा खाट छन्, छेउमा ग्याँस चुल्हो र भुँइमा बस्नका लागि राम्रो म्याट ओछ्याइएको छ । अर्को भागमा एउटा सानो सानो सेता रङ्गको हिटर जस्तो भाँडो छ, त्यसको छेउमा सुकेको बाँस तेर्साएको छ र सिन्का जस्ता केही वस्तुहरु चाङ लगाएर राखिएको छ । तेस्रो भागमा भने दुई खालका मेसिन छन्, एउटा उखुको जुस पेल्ने जस्तो देखिन्छ तर त्यो उखुको जुस पेल्ने मेसिन नभइ हातबाट बनाएका पेन्सिलको साइज कटिङ गर्ने मेसिन हो । अर्को बनाइएको पेन्सिललाई दरो र कडा बनाउने हिटर हो ।

हामी त्यहाँ पुग्दा एक जना युवक कागजमा गम लगाएर केही टाँसिरहेका देखिन्थे, उनिहरुले मिहिनेत गरेर साना साना भाइ बहिनीले लेख्नको लागि प्रयोग हुने पेन्सिल बनाइरहेका रहेछन् । तीन जना साथीहरु मिलेर सानो व्यवसाय सुरु गरेका रहेछन् । उनिहरु हुन्, कृष्ण बहादुर भुजेल, लोकेन्द्र खड्का र रोशन पौडेल ।

काठमाडौंमा बसेर आफ्नै व्यवसाय सुरु गरौं भन्ने योजना अनुसार ‘ह्यान्ड मेड पेन्सिल’ बनाउने व्यवसायमा हात हालेका कृष्ण बहादुरले मेसिन भित्राए पछि थुप्रै दुःख पनि भोगे । सुरुका दिनमा यस्ता पेन्सिल कसरी बन्छन् ? त्यसको मेसिन कहाँ पाइन्छ ? कति खर्च लाग्छ ? भन्नेमा ठूलो मिहेनत गर्नुपरेको सुनाए । ‘हामीलाई यस्तो व्यवसाय सुरु गर्नका लागि सुझाव सल्लाह दिने कोही पनि थिएनन् र सिकाउन पनि कोही तयार भएनन् । हामी आफैंले विभिन्न अनलाइनहरुको प्रयोग गरेर यस विषयमा दक्षता हासिल गर्न थाल्यौं ।’

करिब ६ महिनाको अथक प्रयासपछि २०७५ सालको मंसीर महिनामा करिब १५ लाख बराबरको मेसीन काठमाडौंमा भित्राउन सफल भए । मेसिन भित्रिसकेपछि उनलाई त्यस मेसिनले कसरी पेन्सिल उत्पादन गर्छ भन्ने ज्ञान नै रहेनछ ।

‘सिमित पैसा थियो, चीन गएर मेसिन ल्याउने ल्याकत थिएन । अनलाइनको माध्यम प्रयोग गरेर नेपालमा मेसिन भित्र्याइयो । काठमाडौंमा भनेको जस्तो फ्ल्याटको खोजि गरियो र सफल रुपमा मेसिनहरु सेटअप गर्न सफल भइयो । मेसिन भित्रिनु नै ठूलो उपलब्धी भने पक्कै थिएन चुनौतीहरु एक पछि अर्को गर्दै नयाँ नाँया रुपमा थपिँदै थियो गयो ।’

उनले यस व्यवसायमा आउनु पूर्व उनी एकाउन्टेन्टको काम गर्थें । त्यहाँ उनले हरेक प्रकारको काम गर्नुपथ्र्यो, एकाउन्टेन्ट चाहिँ नाम मात्रको थियो । कार्यालय सहयोगी देखि सामान ओसार पसार गर्ने सम्मको काम गर्नुपरेपछि उनले जागिर खाएको १५ दिनमै छाडिदिए ।

‘कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने ‘मनि टक्स’ भन्ने कार्यक्रमले पनि मलाई प्रभावित बनाएको थियो । जर्मनीमा तीन पुस्तादेखि ठूलो मात्रामा काठको पेन्सिल उत्पादन गरिहेको एउटा भिडियो पनि मैले हेरेको छु’– उनले थपे ।

काम गर्ने निर्णय गरिसकिएको कारण जागिर खाएर हेपिनु भन्दा आफ्नै काम गर्नुको मज्जानै बेग्लैभन्दै उनिहरु अगाडि बढे ।

सानैदेखिको जिज्ञासु स्वभाव, ठूलो उद्योग खोल्ने र सफल व्यवसायी बन्ने सपना । तर, काम सुरु नगरी ठूलो र सफल व्यापारी कसरी भइन्छ र ?

पढाइमा थोरै नम्बर ल्याउने विद्यार्थीले राम्रो जागिर पाउनै मुस्किल छ काठमाडौंमा । क्षमताको मापन गर्ने पहिलो मापदण्ड पढाइमा ल्याएको अंक नै मानिन्छ । यहाँ मानिसको क्षमता भन्दा पनि नम्बरमा बढी विश्वास गर्छन् ।

‘मैले जागिरमा भौतारिँदा दुःख पनि पाएको छु, तर त्यो दुःखका कारणले नै मलाई व्यवसाय गर्न उत्प्रेरणा थपिदियो । आफैं केही गरौं भन्ने मानसिकताको विकास भयो ।’

मेसिन काठमाडौंमा झरेपछि उनिहरु बजार डुल्न थाले तर, पेन्सिलको बारेमा जानकारी भने कतै पाएनन् । नेपालको बजारमा कसैले पेन्सिल उत्पादनको व्यवसाय गरेको छ कि ? त्यहाँबाट केही सिकेर सुरु गर्दा राम्रो होला कि भनेर उद्योगहरुको पनि खोजि नगरिएको भने होइन ।

सात दोवाटोमा अवस्थित पेन्सिल उत्पादन गर्ने एक उद्योगले पनि उनिहरुलाई कुनै पनि सहयोग नगर्ने बताएपछि अब उनिहरुमा अर्को वितृष्णा पैदा भयो । तर, उनिहरु हार भने मानेनन् र कसैले सिकाउन चाहँदैन भने आफैं सिक्न त सक्छौं नि, त्यही सोचका साथ अगाडि बढे ।

‘हामीमा सिमित जानकारी मात्र थियो, करिब दुई महिना कागजमा लिड लगाउँदै बेर्दै पेन्सिल उत्पादको अभ्यास गर्न थाल्यौं ।’

युट्युवले दिएको सिमित जानकारीको आधारमा उनिहरुले आफैं पेन्सिल बनाउने प्रक्रिया सिक्न थाले । मेसिन चलेको, पेपर हालेको मात्र युट्युवमा देख्न पाइन्छ । तर पुरै प्रोसेस भने त्यहाँ पनि उपलब्ध छैन । युवा जोस र जाँगरले दिन दिनै  चुनौतीको सामना गरिरह्यो । जति पेन्सिल बनाउन सिके पनि राम्रो र स्तरीय पेन्सिल उत्पादन हुनै सकेन ।

‘करिब करिब ३५ देखि ४० हजार बराबरको सामग्री विगा¥यौं तर त्यसले हामीलाई पाठ सिकायो, पेन्सिल उत्पादनमा दक्षता हासिल गर्न मदत ग¥यो । हामी त्यो ‘वेस्टेज’ भएको रकमलाई सकारात्मक ढंगबाट लिएका छौं । हामीले पेन्सिल उत्पादनको तालिम प्राप्त गर्न त्यति पैसा खर्च ग¥यौं भनेर लिएका छौं । करिब तीन महिना हाम्रो लागि तालिमको अवधि सावित भयो’– आफ्नो फेहरिस्ता सुनाउँदै थिए ।

प्रमुख उदेश्य गुणस्तरीय पेन्सिल उत्पादननै भएको र इकोफ्रेन्डली उत्पादन, कागजको प्रयोग, काठको पेन्सिलसँग प्रतिपस्र्धा गर्नुपर्ने । यावत् कुराहरुलाई विचार गर्दा काठबाट बनेका पेन्सिलसँग प्रतिस्पर्धा गर्न सक्छौं भन्ने मानसिकताको विकास भइसकेको महसुस उनिहरुले गरे । ‘लेख्दा नभाँचियोस्, लिड बाहिर ननिस्कोस्, पेन्सिल समाउँदा लुलो नहोस् भन्नेमा सचेत भएर लाग्यौं र आजको दिनसम्म आइपुग्दा सफलता पनि हात लागिरहेको छ ।’

व्यापारको सुरुवात भने उनिहरुले धनकुटाबाट गरे । चिनेजानेको साथीले पेन्सिल बेचिदिन्छु भनेकोले । काठमाडौंमा एउटा अनलाइनले पनि बेचिरहेको छ, जसबाट लगानीकर्ता, उद्यमी, कर्मी खुसी देखिन्छन् । सामाजिक सञ्जालको प्रयोगले पनि उनिहरुलाई मदत गरेको छ । सामाजिक सञ्जालकै माध्यमबाट अहिलेको व्यापार विस्तारै फस्टाउँदै छ ।

‘जति फ्रस्टेशन पेन्सिल उत्पादन गर्ने क्रममा भोगियो, त्यो भन्दा बढी खुसी अहिलेको सफलतामा लागिरहेको छ । वितृष्णाले हामीलाई गाँजेको थियो । तर पनि हामी निरन्तर लागिरह्यौं, राम्रो उत्पादन निकाल्नमा ।’

एउटा भनाइ छ ‘मेहिनेत गर तर फलको आशा नगर’ ठिक त्यस्तै भयो । मिहिनेत धेरै गरेपछि सफलता पक्कै मिल्छ ।

आगामी दिनको योजना के छन् त भन्ने प्रश्नमा उनको जवाफ थियो – ‘सुरुका दिनमा हामीले करिब दशवटा विद्यालयलाई सेवा दिन सक्यौं भने र केही स्ेटशनरीले हामीलाई सपोर्ट गरेको खण्डमा पक्कै पनि हामी अगाडि बढ्न सक्छौं भन्ने लाग्छ । उनिहरुले हाम्रो पेन्सिल किन किन्न सक्छन् भन्ने बलियो अधार भनेको हामी बजारको भन्दा कम मूल्यमा विक्रि गर्न सक्छौं ।’

मेसिनको क्षमता दैकि ८००० उत्पादन गर्ने छ तर अहिले उनिहरुले जम्मा १५०० उत्पादन गरिरहेका छन् । विस्तारै मेन प्यावर पनि बढाउने र बजारको माग अनुसार उत्पादन पनि बढाउँदैजाने उनिहरुको लक्ष्य छ ।

आफ्नो पहिलो व्यापारको कहानी सुनाउँदै उनि थप्दै थिए – ‘हाम्रो व्यापारको सुरुवात भने दुई दर्जन पेन्सिलको विक्रिबाट सुरु भएको हो, त्यो पनि काठमाडौं बाहिर धनकुटामा । जन्मथलो पनि धनकुटा भएकोले त्यहाँ अलिक सजिलो पनि भयो । त्यसपछि ८३ दर्जन पेन्सिल दोस्रो पटक बेचियो त्यो पनि नगद रकम लिएर, त्यो नै हाम्रो राम्रो कमाइको हो ।’

ह्यान्डमेड पेन्सिलको मूल्य १० रुपैयाँभन्दा बढी पर्दैन र पेन्सिल व्यापारीले हामीले दिएको मार्जिनमा रहेर बेच्न सक्छ । व्यापारीहरुसँग मौखिक सहमति, लिखित सहमति, विश्वासको आधारमा कारोबार भइरहेको उनले बताए । तर आगामी दिनमा व्यस्थित ढङ्गबाट अगाडि बढ्ने उनिहरुको योजना छ ।

‘विस्तारै खारिँदै गएपछि क्वालीटिमा पनि निखारता आउँछ । यस मिसिनभन्दा अझ राम्रो मेसिन पनि पाइन्छ, त्यसमा पनि जान सक्ने आधारहरु बन्दै जानेछन् ।’

बजारमा पाइने पेन्सिल र तपाइको पेन्सिलमा फरक के हो ? बजारमा आर्ट पेन्सिल भन्ने पनि हुन्छन् त्यसलाई कसरी हेरिरहनु भएको छ भन्ने प्रश्नमा उहाँको जवाफ थियो– ‘पेन्सिल भन्दा पनि लिड महत्वपूर्ण हो । त्यस्तो आर्ट गर्न मिल्ने लिडहरु हामीसँग पनि छन्, विस्तारै हामी त्यसमा पनि जान्छौं ।’

‘पेन्सिलको नाम, ब्रान्डिङ, फेन्सी देखाउने भन्ने एउटा पाटा हो तर त्यसको मुख्य विषय भनेको त्यसको लिड नै हो’ उनी दावा गर्छन् ।

आगामी दिनमा धनकुटादेखि धरानसम्म, धरानदेखि संखुवासभासम्म व्यवासायलाई विस्तारित गर्दै लाने योजना रहेका उनिहरु उत्पादन थोरै हुँदा मूल्य पनि बढी लाग्छ तर पनि एउटा पेन्सिल उत्पादनमा ६ रुपैयाँ लाग्छ र आगामी दिनमा वेस्टेज घटाउने र उत्पादन बढाउने पक्षमा उनिहरु रहेका छन् । त्यसले राम्रै मुनाफा दिन्छ भन्नेमा उनीहरु ढुक्क छन् ।

पेन्सिलको लागि प्रयोग हुने कागज स्थानिय रुपमा किन्ने । कहिले कवाडीबाट, कहिले चिनेजानेका मानिसहरुबाट, कहिले बैंकबाट त कहिले चिया पसलबाट एक केजीको करिब १० देखि १२ रुपैयाँ प्रति किलोमा । ‘मानिसहरुले हामीलाई सम्पर्क गरी दैनिक पत्रिका बेच्न चाहन्छन् भने पनि हामी किन्न तयार छौं किनकी हामीले कवाडीबाट किन्नुपर्दा मूल्य बढी पर्न आउँछ ।

सोभिनियर पसल पनि हाम्रो टार्गेट एरिया हो । हामी यसलाई निरन्तर रुपमा बढाउँदैजान्छौं । हाम्रो लगानी तीन जनाको छ तर काम भने २ जनाले मात्र गर्छौं । अहिलेसम्म हामीले ‘क्यास’ व्यापार गरिरहेका छौं, अहिले सम्म क्रेडिटमा दिएका छैनौं । आगामी दिनमा क्रेडिटमा जानुपर्दा केही कठिन होला त्यसमा अहिले नै केही सोचिसकेका छैनौं ।

कसरी उत्पादन हुन्छन् त ‘ह्याण्ड मेड पेन्सिल’ ?

सुरुमा लिडको खरिद गर्ने, यसपछि पत्रिका ल्याउने, पत्रिकालाई प्रेसमा लगेर साइज अनुसार कटिङ गर्ने । पत्रिकामा लिड लगाउँदा गमको प्रयोग गर्ने र सुक्न दिने, त्यसपछि रोल गर्ने क्रममा पाउडर ग्लुको प्रयोग गर्ने । मेसिनमा रोल गरेर केही टाइट गर्ने र घाममा सुकाउने । त्यसपछि हिटिङ गर्ने । हिटिङले पेन्सिललाई कडा बनाउँछ । त्यसपछि साइजमा कटिङ गर्ने र कभर लगाउने । कभर लगाइसकेपछि फेरि हिट गर्ने ताकि कभर राम्ररी टाँसियोस् । कभर लगाइसकेपछि प्याकेजिङ गर्ने र बजारमा पठाउने । पेन्सिलको साइज भने १७ से.मी.को हुन्छ । अन्तर्राष्ट्रिय मार्केटको स्ट्यान्डर्ड पनि १७ से.मी. नै हो ।

पेन्सिल तयारीको प्रोसेसिङ गर्ने मिसिनको साउन्ड एक दमै सानो हुन्छ । एउटा कोठाभित्रै पनि त्यसको आवाजले डिस्टर्व गर्दैन । ‘साउन्डको समस्या भएको भए यहाँ यसरी बस्न कठिन हुन्थ्यो’– कृष्णको भनाइ थियो ।

विजुलीको हिसावले हेर्दा यो मेसिन सानो पावरले चल्छ, यसको लागि ठूलो पावरको आवश्यकता पर्दैन । घरमा सामान्य राखिएको सिंगल फेज लाइनबाट यी मिसिनहरु सजिलै चल्छन् ।

प्रतिक्रिया दिनुहोस्