आधुनिक सुक्ष्मताका जराहरुलाई पुनः नियाल्दा

सुनिल राज ढकाल
सुनिल राज ढकाल २३ बैशाख २०७९, शुक्रबार ०६:००
8 Min Read
Aa

विकल्प कला केन्द्रले यहि २७ अप्रिलबाट एक कला प्रदर्शनी आयोजना गरिरहेकोे छ । जुन एक महिना चल्नेछ । नेपाली समसामयिक कलाकारहरु तथा सिनियर तथा जुनियर करिब ४५ कलाकारहरुलाई एकै ठाउँमा ल्याई कला प्रदर्शनी गरिरहेको छ । नयाँ तथा पूराना कलाकारहरुको कार्यलाई एकै ठाउँमा राख्नको लागि कार्यहरुले लिने ठाउँले गर्दा सम्भव थिएन, त्यसैले पनि यो कला प्रदर्शनीलाई चार ठाउँमा विभाजन गरी राख्नु परेको कला क्युरेटर तथा विकल्प कला केन्द्रका सञ्चालक सरोज महतो बताउँछन् । कुनै निजि संस्थाबाट कलालाई प्रर्वद्धन गर्न तथा प्रदर्शनीमा राख्न गरिएको यो प्रयासमा विभिन्न ठाउँबाट साथ र सहयोगको आवश्यकता पर्दछ र यो काम पनि त्यसरी नै विभिन्न ठाउँको साथ र सहयोगबाट सम्भव भएको उनी बताउँछन् । कला प्रदर्शनीको लागि विकल्प कला केन्द्र, पुल्चोकमा रहेको आर.एन.जोशी म्युजियम, ठमेलमा रहेको ग्यालरी अफ क्रिएटिभ र आर्ट ल्याब विद्रोहरहेको छ ।

विकल्प कला केन्द्रमा लैन सिंह बाङ्देल, मनोज बाबु मिश्र, जस्ता कलाकारहरुको कामलाई राखिएको छ । नेपाली समसामयिक चित्रकलामा आधुनिकता भित्र्याउने तथा अमूर्त चित्रकलाहरुको माध्यमबाट परिचित लैन सिंह बाङ्देलका कामहरुलाई नयाँ पुस्ताका कलाकारहरुले अवलोकन गर्दै अझ नयाँ नयाँ आयामहरुलाई सिक्ने मद्दत पुग्ने कला क्युरेटर महतो बताउँछन् । त्यसैगरी कलाकार हरि ओम महतोले पूरानो समयमा प्रयोग हुने हलो, हसिया, कोदालो जस्ता समसायिक ग्रामिण जीवनमा प्रयोग हुने चिजहरुलाई प्रतिस्थापन कला मार्फत प्रस्तुत गरेका छन् । जसलाई हँसुवा र खुर्पीको नाम दिएका छन् । त्यसैगरी कलाकार सरोज महतोले खरानी नाइन क्युव अफ एसेस शीर्षक दिएको एक प्रयोग गरी प्रतिस्थापन कला प्रदर्शनीमा राखेका छन् । उनका अनुसार हामी सबैले जति सुकै कार्यहरु गरेतापनि अन्ततोगत्वा खरानीमा परिणत हुनुपर्ने नियति रहेको हुन्छ भन्ने कुरालाई दर्शाउन खोजेको कुरा बताउँछन् । त्यसैगरी अर्का एक कलाकार महिमा सिंहले सूर्यदर्शनको विषयलाई प्रतिस्थापन कलाका माध्यमबाट देखाउन खोजेकी छन् । बालिकाहरुलाई रजस्वला भइसकेपछि १२ दिनसम्म कुनै अँध्यारो कोठामा राखिन्छ र १३ दिनमा सूर्यको दर्शन गराइन्छ भन्ने सांस्कृतिक मान्यतालाई कलाको माध्यमबाट देखाउन खोजेकि छन् ।

ग्यालरी अफ क्रिएटिभ्स, ठमेलमा विभिन्न समसामयिक कलाकारहरुको कलाकृतिहरुलाई अवलोकन गर्ने थलो बनाइएको छ । जहाँ समसामयिक कलाकारहरु संगी श्रेष्ठ, नम्रता सिंह, जुपिटर प्रधान, सुस्मा शाक्य, सोफिया महर्जन लगायतका कामहरुलाई राखिएका छन् । तराइको समसामयिक जीवन क्रम अनि त्यहाँको महिलाहरुको दिनचर्या, रहनसहन जस्ता विषयहरुलाई क्यानभासमा उतारेकी छिन् नम्रता सिंहले ।

पाश्र्वदृष्यमा देखिने रङहरु तथा अगाडिको भागमा रहेका आकृतिहरु आफैंमा विशेष लाग्छन् र ती महिलाहरुको कथाहरुलाई क्यानभासमा उतार्ने मेरो जहिले पनि जमर्को रहन्छन् सिंह बताउँछिन् ।

त्यसैगरी अर्को चित्र संगी श्रेष्ठको रहेको छ । उनले आफ्नो कलामा सानो सानो बक्सहरुलाई समिश्रण गरेर रङहरुमा खेल्दै एउटा क्यानभासलाई कलामत्मक तरिकाले सजाएकी छिन् । जुन अलिक टाढाबाट हेर्दा कुनै मन्दिरको झल्को दिए जस्तो लाग्छ । तर, कलाकार संगी श्रेष्ठ भने सानो सानो विषयहरुले हामीलाई कसरी जोडिरहेको हुन्छ । हरेक मानिसहरु सानो सानो बक्समा भए पनि एक अर्कासँग अन्र्तसम्बन्धीत हुन्छन् भन्ने हिसावले चित्र बनाएको बताउँछिन् । उनका अर्को सानो साना तीनवटा चित्रहरु पनि सँगै राखिएका छन् । जुन दैनिक जीवनसँग आफुले देखिरहेको विषयहरुलाई त्यसमा प्रस्तुत गर्ने प्रयास गरेको संगी बताउँछिन् ।

अर्का कलाकार जुपिटर प्रधान सेरामिक्सका आफ्ना प्रतिस्थापन कलामा आफ्ना बालापनका यादहरुलाई समेट्ने कोसिसमा छन् । कलाकार गोपाल कलाप्रेमीले खोज गरेको विषय जुन नेपालमा लोप भइसकेको थियो त्यसलाई जीवन्त राख्न उनले गोपाल कलाप्रेमीको सहयोगमा जाँड प्रयोग गरी बनाइएको सेरामिक्सका आकृतिहरु बालापनका खेल्ने गरेका सुँगुरमाथि बसेको, चंगा उडाइरहेको, माछा मार्ने तथा विभिन्न खेलहरु खेलेको जस्ता आकृतिहरुका ९ वटा कला त्यहाँ देख्न सकिन्छ । बालापनका ती सुन्दर यादहरु अब कहिल्यै नआउने तथा अवका पुस्ताहरुले त्यसरी नै निश्छन्द रुपमा खेल्ने वातावरण बन्ला या नबन्ला भन्ने प्रश्नहरुलाई घोत्लाउन मदत गर्ने काम उनको रहेकोछ ।

त्यसैगरी अर्को कलाकार सुस्मा शाक्य प्रिन्ट मेकिङ मार्फत झ्यालहरु तथा यसका अवयवहरुलाई देखाउने प्रयत्नमा छिन् । ती पुराना शैलीका झ्यालहरु अब राणाकालिन दरबारहरु तथा नगन्य रुपमा पुराना घरहरुमा मात्र सिमित छन् । कारण हामी आधुनिकता तिर गइसकेका छौं । त्यस्ता झ्याल र त्यसमा कुँदिएका बुट्टाहरु आफैंमा आकर्षक लाग्दछन् अनि त्यही बुट्टाहरुलाई केलाउँदै प्रिन्ट मेकिङमार्फतउनले आफ्नो कला देखाइएकी छिन् ।

त्यसैगरी अर्को चित्रमा सोफिया महर्जनले धागोको माध्यमबाट आफ्ना यादहरु लाई समेट्न एक अर्कामा उनिएको कुरा देखाउन खोजेको बताउँछिन् । उनका काममा जीवनहरु डोरीले जसरी नै बाँधिएर रहेका हुन्छन् र फुकाउँदै जाँदा धेरै कुराहरु त्यस सँगसँगै गाँसिँदै आउने उनिको भनाइ रहेको छ ।

आर्ट ल्याव विद्रोहमा भने यस पटक भिन्न किसिमका कामहरु राखिएका छन् । नेपाली कलामा विस्तारै प्रयोग हुँदै तथा मौलिँदै गएको मुरल, भित्ते चित्रहरु, ग्राफिटि जस्ता विषयहरुमा वकालत गर्दै आइरहेका यसका संचालक रोमेल भट्टराई आफ्नो विद्रोह आर्ट ल्याव नामक ग्यालरीमा त्यही किसिमका कथाहरु भनिरहेका छन् । जो आजका युवापुस्ताहरु भन्न अनि सुन्न चाहन्छन् । जहाँ अवलोकितेश्वरहरु मोवाइल चलाइरहेका हुन्छन् अनि  बुद्धहरु ‘डिलेमा’का सिकार भइरहेका हुन्छन् । यस्ता किसिमका कामहरुलाई पप आर्टको नामले चिनिन्छ । यी चित्रहरु कुनै एक प्रख्यात धार्मिक आस्थासँग जोडिएको हुन्छन् र, त्यही कुरालाई नयाँ पुस्ताले कसरी हेर्दछन् भन्ने कुरालाई दर्शाउन खोजेको कलाकार दिपेश गुरुङको बताउँछन् ।

आफ्ना नामहरुलाई छद्म रुपमा राख्न रुचाउने यी कलाकारहरु आधुनिक समाजका ऐना हुन् । उनीहरु आफ्नो काम मार्फत आधुनिक युगमा नयाँ पुस्ताले भोगिरहेको बेचैनी, रिस, आवेगहरुलाई चित्रको मार्फतबाट दर्शाउँछन् ।

त्यहाँ अर्का एक कलाकारले क्यालिग्राफिको माध्यमबाट देवनागरी लिपिमा क देखि ज्ञ सम्म लेखेका छन् । झ्ट्ट हेर्दा यो कला अमूर्त कला जस्तो देखिए पनि केही क्षण घोरिँदा कलाकारले के गर्न खोजेको भन्ने कुरा प्रष्ट देखिन्छ । त्यहाँ अर्का कलाकार फोटोग्राफि र क्यालिग्राफिलाई फ्युजन गर्दै आफुले देखेका जात्रा अनि त्यहाँका भोगाइहरुलाई मिक्स मिडियाको माध्यमबाट दर्शाउन खोजेका छन् ।

ललितपुरको पुल्चोकमा रहेको पार्क ग्यालरी पनि विकल्प कला केन्द्रको यस प्रदर्शनीको एक स्थान हो  । जहाँ कलाकार रामानन्द जोशीको निजी निवासमा रहेको ग्यालरीमा नयाँ पुस्ताका कलाकारहरुको कामलाई समावेश गरिएको छ । भित्र छिर्दा छिर्दै यस ग्यालरीमा रामानन्द जोशी को थिए भन्ने सम्बन्धी विषयहरुलाई देखाइएको छ । पहिलो तल्लामा कलाकार ससिविक्रम शाहका घोडाहरु हिनहिनाइरहेका छन् । घोडाहरु सांस्कृतिक पक्षले मात्र सवल छैनन् यीनिहरु कलाकार शशिविक्रम शाहको लागि जीवन दर्शन नै बनिसकेका छन् ।

अर्को ठाउँमा आर.एन जोशिका कामहरुलाई प्रदर्शन गरिएको छ । जहाँ उनले आफ्नो जीवनकालमा बनाएका सामसामयिक, आध्यात्मिक लगायत भौगोलिक परिदृश्यलाई समेटिएको कलाहरुलाई समावेश गरिएको छ । जीवनको पछिल्लो चरणमा केही आध्यात्मिक ढल्काइहरु उनको काममा देखिन्छन् । यन्त्र, शरीरका सात चक्र, त्रिकोण लगायत आफैंलाई खोज्दै गरेका आध्यात्मिक प्रश्नहरुलाई पनि यहाँ देख्न सकिन्छ ।

बहु आयामिक तरिकाले क्रस र कुची समात्ने जोशी अमूर्त चित्रकलामा पनि उत्तिकै सिद्धहस्त छन् भने उनी एक्रेलिक तथा वाटर कलर दुवैमा गरिएका कामहरुलाई यहाँ समावेश गरिएको छ । अर्को कलाकार राम महर्जन आफ्नो अमूर्त चित्रकला मार्फत क्यानभासमा उत्सव मनाइरहेका छन् । मानिसहरुको मुहार जस्तो देखिने आकृतिमा विभिन्न किसिमका रेखाहरु कोरी ती रेखाहरुबाट नै उत्सवको सिर्जना हुन्छ भन्ने कुरामा विश्वास राख्ने महर्जनका चित्रहरु अवलोकन गर्न सकिन्छ।

अर्का कलाकार मनिष लाल श्रेष्ठको भिडिया इन्स्टलेसनको काम देख्न सकिन्छ । उनले एक कपलाई विम्बको रुपमा प्रयोग गर्दै त्यसमा विभिन्न विचारहरुले कस्तो प्रभाव पार्दछ भन्ने कुराहरुलाई रङ तथा विभिन्न चिजविजहरु त्यस कपमा खासाल्दा देखिने भगीमा र हाम्रो दिमागमा चल्ने विचारहरु पनि त्यस्तै रहन्छन् भन्ने कुराहरुलाई विम्वको रुपमा देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array