मोनामा जिससका कला

सुनिल राज ढकाल
सुनिल राज ढकाल ६ कार्तिक २०७९, आईतवार ०६:००
5 Min Read
Aa

नेपाली कलामा भगवान विष्णुका १० अवतारलाई वा भगवानका विषयवस्तुलाई आधार बनाएर चित्रकला प्रस्तुत गर्ने युवा जमात निकै कम हुँदै गएका छन् । कलाकारहरु विस्तारै विक्रि सम्भव कामहरुमा रमाई रहेको परिप्रेक्ष्यमा एक पृथक किसिमको प्रदर्शनी नेपाल आर्ट हाउस, ठमेलमा (काठमाडौँ गेष्ट हाउस) को प्राङ्गणमा कार्तिक ५ गतेदेखि ७ गतेसम्म (२२ अक्टोबर देखि २४) सम्मका लागि भइरहेको छ । उक्त चित्रकला प्रदर्शनीको उद्घाटन कलाका साधक तथा लेखक रोवर्ट वेयरले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कलाकार जिसस श्रेष्ठ नेपालको लागि नौलो नाम भएता पनि फिनल्याण्डको कला जगतको लागि भने परिचित नाम भइसकेको छ । विद्यालयको शिक्षा दिपेन्द्र प्रहरी स्कुलबाट शुरु गरेका उनी सानो बेला देखि नै विद्यालयको पढाइ भन्दा चित्रकला तिर नै रुचि राख्दथे ।

विद्यालयमा निकै कडा अनुशासानमा बस्नु पर्दा उनलाई लाग्ने गर्दथ्यो कि अब घरमा नै बस्न पाए कति रमाइलो हुन्थ्यो होला । उनले घरमा यो विषयमा कुरा पनि गरे । घरमा बुबा आमा दुवै पेशाकर्मी भएकाले पनि हुन्छ भनी दिनुभयो । तर घरमा दिनभरी एक्लै बस्दा झन् पट्यारलाग्दो भए पछि उनी फेरी विद्यालय गएका थिए ।

कक्षा ६ मा पढ्दाको समयमा शिक्षकले पढाउँदै गर्दा उनी शिक्षकको नै मुहार चित्र कपिमा उतार्दै थिए । शिक्षकले पछाडिबाट आएर उनले बनाएको चित्र हेरिसकेपछि रिसाएको जस्तो गर्नुभयो र उनलाई अफिस कोठामा बोलाउनु भयो । त्यहाँ ती शिक्षकले जिससले बनाएको चित्रको तारिफ गर्दै उनलाई चित्र बनाउनमा यस्तो रुचि भएको कुरा थाहा पाई उनको काम मुना पत्रिकामा प्रकाशित गरिदिन्छु भनी आश्वासन समेत दिनुभयो । के खोज्छस् कानो, आँखो भनेजस्तै चित्र बनाउन रुचाउने जिससको लागि मुनामा यसरी आफ्नो चित्र छापिनुले झन् प्रोत्साहन गरेको थियो ।

सन् २००६ मा एस.एल.सि परीक्षा सकिए पछि उच्च शिक्षाको लागि उनले कलेजमा भर्ना भए । आफ्नो इक्षा कलातिर भएकाले उनले घरमा कुरा गरि त्यहाँको पढाइको साथसाथै ललितकला क्याम्पसमा पनि कला विषयको अध्ययनको लागि भर्ना भए । ललितकला पढ्नको लागि उनको घरमा शर्त भने ललितकला पढ्दाको खर्च उनी आँफैंले जुटाउनु पर्ने थियो । त्यसका लागि उनले आफ्नै आमाले अध्यापन गराउने विद्यालयमा पार्ट टाइम शिक्षण गरेका थिए । दुवै तिरको पढाइलाई निरन्तरता दिँदै आइ.एफ.ए. सकिए पछि उनी कला विषय नै अध्ययन गर्नको लागि फिनल्याण्डतिर लागे ।

फिनल्याण्डमा रहँदा उनले कलाको विभिन्न पाटोको अध्ययन गर्ने मौका पाए । मन परेको विषय भएकाले मूर्तिकला, प्रतिस्थापन कला, चित्रकलाको साथसाथै कलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको समेत ज्ञान उनले त्यतिबेला नै लिन थाले । नेपालबाट गएको हुनाले नेपालमा रहँदा परिवारबाट पाएको धार्मिक शिक्षा तथा ग्रन्थहरुको ज्ञान उनीमा सधैँ रहि रहेको थियो । धार्मिक विषयवस्तुलाई प्रस्तुत गर्दा त्यहाँको शिक्षकहरुलाई त्यति पच्दैनथ्यो । त्यसैले उनले यी कथाहरुलाई कथाकै रुपमा नै लिँदै धार्मिक पक्षलाई गौण बनाउँदै अघि बढे ।

आफ्नो धर्म भन्दा विल्कुलै फरक धर्म मान्ने सम्प्रदायको बाहुल्यता रहेको ठाउँमा बसेर काम गरेका जिससका कला आफैंमा अद्भूत देखिन्छ । आफ्नो छालाको रङ्गका कारण खाएका हण्डरहरुलाई सहँदै उनी निरन्तर चित्रकलामा लागिरहेका बताउँछन् । यहाँ प्रदर्शीत चित्रहरु उनले आजभन्दा ११ वर्ष अगाडि बनाएका हुन् ।

नेपाल आएको बेलामा उनको भेट काठमाडौँ गेष्ट हाउस तथा मोनाका संचालक राजन शाक्यसँग भयो । कलाको वेजोडता र गहन ज्ञानबाट प्रभावित बनेका शाक्यले जिससका कामहरुलाई अझ धेरै नेपालीहरुका सामु ल्याउने उद्देश्यका साथ आफ्नै ठाउँमा प्रदर्शनीको प्रस्ताव गरे । फलस्वरुप यो प्रदर्शनी भएको हो ।

जिससको एक चित्रमा रावणका १० शिरहरुलाई छुट्टाछुट्टै अनुहारको साथ प्रस्तुत गरिएको छ भने राम तथा उडिरहेको हनुमानलाई पनि क्यानभासमा देखाइएको छ । रङ्ग तथा विषयवस्तुहरुको चयनमा सुन्दरताले गर्दा यो चित्र आकर्षक देखिएको छ ।

त्यसै गरी अर्काे चित्रमा भने कृष्ण लिलामा गोपिनीहरुलाई कृष्णले लिला गर्दै गरेको दृश्यलाई देखाइएको छ । कल्पनामा देखिएका वा धार्मिक ग्रन्थमा व्याख्या गरिएका ती चित्रहरुलाइ दुरुस्तै उतार्नु कलाकारको खुबी मान्नु पर्दछ ।

अर्काे काममा भने हिरण्यकशिपुलाई विष्णु अवतार नरसिंहले काखमा राखि वध गर्र्दाको क्षणलाई एक्रेलिक रंगको प्रयोगले क्यानभासमा उतारेका छन् । कथन अनुसार हिरण्यकशिपुले पाएको वरदान अनुसार न दिनमा, न रातमा, न घर बाहिर न भित्र, न आकाशमा न जमिनमा न मानिसले वा कुनै जीवबाट मेरो मृत्यु होस् भनी मागेको वरदानको फलस्वरुप यसरी वध गरिएको कथन धार्मिक ग्रन्थमा पाउन सकिन्छ ।

कलाकार आफ्नो कामको बारेमा थप बताउँछन्, ‘मेरा अझ धेरै कामहरु त फिनल्याण्डमा नै रहेको छ । त्यसैले यहाँ प्रदर्शनी गर्न लागिएको चित्रहरु मेरा पूराना कामहरु हुन् । आउने वर्षहरुमा नेपाल आउँदा भने अझ पछिल्लो समयमा गरिएका कामहरुलाई ल्याउने छु । यो योजनाबद्ध हिसाबले गरिएको प्रदर्शनी नभएकोले पनि ती कामहरु नल्याइएको हो ।’

रंगहरुको समायोजनमा विविधता भएकाले पनि कलाकार जिससका कामहरु फिनल्याण्डमा बढी रुचाइएको आँकलन गर्न सकिन्छ भने उनलाई मन पर्ने कालकार पिकासोको केही तरिकाहरुको झलक समेत उनको काममा देख्न सकिन्छ । यस प्रदर्शनीमा उनका ८ वटा चित्रकला राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array