‘आफ्ना सिर्जना भनेका आफ्ना सन्तान सरह हुन्’

सुनिल राज ढकाल
सुनिल राज ढकाल २ माघ २०७९, सोमबार ०६:००
23 Min Read
Aa
राधेश्याम मुल्मी/फोटोः खोजपत्र

नेपाली कला जगतमा विभिन्न किसिमका कलाकारहरु विद्यमान रहेका छन् । कोही चित्रकारहरु आफ्नो कलालाई जीविकोपार्जनको माध्यमको रुपमा हेर्दछन् भने कोही यस्ता कलाकारहरु पनि छन् जो आफ्नो चित्रकलालाई आफ्नो सन्तानको रुपमा हेरी यी चित्रहरु आर्थिक उपार्जनको पाटोभन्दा धेरै माथिका चिज हुन् भनी मान्दछन् । कलाको पहिलो उद्देश्य कलाको सर्जकलाई नै प्रशन्नोचित पार्ने हुन्छ । त्यस पछि भने हेर्ने दर्शकलार्ई चित्ताकर्षण गर्ने रहेको हुन्छ । नेपाली कला जगतमा यस्तै किसिमको एक फरक धारणा राख्ने एक कलाकार हुन् राधेश्याम मुल्मि ।

वि.सं २००६ सालमा पोखरामा जन्मेका मुल्मिको परिवारमा ज्यान जोगाउनको लागि पहिले देखि नै समस्या थियो । उनी भन्दा माथिका एक दाजु तथा एक दिदि जन्मेको केही समय पछि नै देहावसान भएको थियो । त्यस पछि जब कलाकार राधेश्याम मुल्मिको जन्म भयो, परिवारलाई यो पनि बाँच्दैन भन्ने थियो । विधिको विधान, राधेश्याम भने अहिले सम्म राम्रो स्वास्थ्यका साथ आफ्नो कर्मपथमा अगाडि बढी नै रहेका छन् । सानो बेला देखि नै सरल स्वभावका राधेश्यामलाई बचाउनका लागि उनको ११ वर्षमा गरिएको व्रतवन्ध भन्दा अगाडिको समयसम्म हातमा अनि खुट्टामा फलामको कल्ली लगाएर राखिएको थियो । सानै बेलादेखि नै उनलाई चित्रकला बनाउने सौख थियो । उनका एक काकाले भने चुरोटको बट्टामा मुल्मीले त्यस बेलामा बनाउने गरेको चित्रहरु देखि निकै प्रोत्साहन गर्ने गर्दथे भने उनी पढ्ने विद्यालयका प्रधानाध्यापक तथा गुरुहरुले समेत जहिले पनि प्रोत्साहन गर्ने गरेको सम्झन्छन् । एक ताका राजा महेन्द्र पोखरा आएको बखतमा उनले राजाको मुहार चित्र बनाएका थिए । जब मुहार चित्र तयार भयो, प्रधानाध्यापक तथा अरु गुरुहरुले त्यो मुहारचित्रलाई उनले नै राजाको अगाडि भेट चढाउनु पर्छ भनी सुध्याएका थिए । उनले पनि लाइनमा बसेर त्यो चित्र राजा महेन्द्रलाई चढाएका थिए । राजाले त्यतिबेला त्यो मुहार चित्र लिएर गएका थिए ।

त्यसको करिब पाँच महिना पछि पोखराको अञ्चलाधीश नन्दबहादुरले ‘राधेश्याम भनेको को हो,’ भनी उनलाई खोज्न आएका थिए । जब उनी उनका अगाडि पुगे, उनलाई ती जिल्लाधिकारीले रु.५० दिइ, यो राजाले तिमीलाई पठाएको बक्सिस हो भनी दिएका थिए । यसले उनलाई चित्रकलामा लाग्न अझ हौस्याएको थियो ।

राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र
                                                                                   राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र

बिफरको ब्याधि

उनको स्वास्थ्य जहिले पनि प्रतिकुल रहने भएकाले पनि उनको जीवनमा उतारचढावहरु निकै नै भएका थिए । जब उनी २० वर्षका भए, उनलाई विफर रोगले गाँजेको थियो । तत्कालिन समयमा ज्योतिषलाई पनि देखाएका थिए उनले पोखरामा नै । ज्योतिषले भने २० वर्षको उमेरको खड्को काटियो भने उनको आयु निकै लामो रहेको बताएका थिए ।

एस.एल.सि पछिको शिक्षा

जब उनले एस.एल.सी परिक्षा सक्काए, काठमाडौं आए  तर यहाँ कलाको पढाइ सुरु भइसकेको थिएन । फेरी पोखरा फर्के र पृथ्वी नारायण क्याम्पसमा भर्ना भएर पढ्न थाले । करिव एक वर्षको दौरानमा काठमाडौंमा क्याम्पस खुलेको जानकारी पाएपछि उनी काठमाडौँमा ललितकला क्याम्पसमा विद्यार्थीहरुलाई कला सिकाउनका निमित्त भर्ना लिइरहेको पनि कुरा सुने । त्यसपछि उनी वि.सं २०२६ सालतिर कला विषयको अध्ययनको लागि काठमाडौँ आइपुगे ।

कालिदास सरको बसन्तपुरको झोंछेमा घर थियो । उहाँले त्यहीं काम गर्नुहुन्थ्यो । मैले पनि २०२६ सालमा ललितकला खुलेपछि पढ्दै र कालिदास सरको क्युरियो पसलमा काम सिक्न थाले । काठमाडौँमा उनले चिनेजानेको मानिसहरु निकै कम थिए त्यति बेला । केही मानिसहरुलाई उनले पोखराकै भएका कारणले पनि भनसुन गर्न थाले । त्यतिबेला उनका एक जना मामा कृष्ण गोपाल रञ्जित तत्कालिन समयको आर.एन.ए.सीमा चित्रकार तथा राम्रो अक्षर लेख्ने शीप भएका कारण जागिर खाइरहेका थिए । टाइ सुटमा ठाँटिएका कृष्ण गोपालको लवाइखुवाइ अनि रुप निकै आकर्षक थियो । मामाको पहिलो प्रश्न नै, ‘मामाले टाइसुट लगाएको अनि निकै राम्रो देखिएकोले तिमी पनि कला पढ्न आएका हौ ?’ कलामा नै भविष्य देख्ने राधेश्यामले यसको केही पनि जवाफ दिएनन् ।

राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र
                                                                                 राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र

ललितकला क्याम्पसमा प्रवेश

तत्कालिन समयमा उक्त क्याम्पसका प्रधानाध्यापक कालिदाश श्रेष्ठ थिए । प्रधानाध्यपकले कलाकार मुल्मिलाई पढाइ संगसंगै आफ्नै स्टुडियोमा काम समेत दिने गरेका थिए । विहान बेलुकाको समयमा उनी गुरुको स्टुडियोमा काम गर्ने अनि दिउँसोको समयमा भने कलेजमा गई विद्या आर्जन गर्ने गर्दथे । उनी त्यतिबेला बत्तिसपुतलीमा उनका अर्का एकजना मित्रसंग बस्ने गर्दथे अनि त्यहाँबाट पैदल नै पढ्नका निमित्त क्याम्पस जाने गर्दथे । विहानको समयमा उनको खाना बनाउने पालो हुन्थ्यो भने बेलुकी उनको साथीले खाना बनाउने गर्दथे । उनलाई अझै पनि एक दिनको घटना झल्झली याद छ । विहानको समयमा खाना बसालीसकेपछि उनको केही बेरको समयमा सुत्ने बानी लागेको थियो । एकदिन खाना बसाली केही बेर सुत्दा उनी भुसुक्कै निदाएछन् अनि भात पकाउने कसौँडिको भात सर्लक्कै डढेको थियो । घरबेटी बा ले कोठाबाट पुतुतु धुवाँ आउन थालेपछि कोठामा ठूलो दुर्घटना भयो कि भनी ढोका ढक्ढकाउन आएका थिए । जब उनी ब्युँझे, कोठाबाट धुवाँ निकै आइ सकेको थियो । त्यस दिन उनले आफ्नो मित्रलाई माथि माथिको नडढेको भात दिइ आफुले पनि अलिकति डढेको भात खाएको उनलाई सम्झना छ ।

जब उनले ललितकलाबाट प्रविणताप्रमाणपत्र तहको परिक्षा दिए, उनलाई आफुले पढेको विषयलाई विश्वविद्यालयबाट मान्यता दिलाउन निकै अप्ठेरो भएको थियो । उनको तर्क थियो कि उनले सम्पूर्ण विषयहरुको अध्ययन गरिसकेपछि पाएको सर्टिफिकेटको मान्यता विश्वविद्यालयबाट हुुनुपर्दछ । तर प्रधानाध्यापक कालीदासले समेत अर्काे परिक्षा दिइ आफुले हासिल गरेको डिग्रीलाई मान्यता दिलाउनु पर्छ भने पछि उनले पुनः परीक्षा दिइ त्यसमा उर्तीण गरी विश्वविद्यालयबाट मान्यता लिएका थिए ।

जब उनले प्रविणता प्रमाणपत्र तह उर्तीण गरे, उनले छात्रवृत्तिमा बाहिर पढ्न जानको लागि एप्लाइ गर्न शिक्षा मन्त्रालयमा धाउन थाले । सन् १९७१ तिर भारत, पाकिस्तान युद्ध भर्खरै सकिएको थियो । उनी बारम्बार मन्त्रालयमा गई आफ्नो छात्रवृत्तिमा नाम कहिले निस्केला भनी हेर्ने गरेका थिए भने त्यसै बेलामा उनले पुतलीसडकमा निर्वाचन आयोगमा जागिर खान थालेका थिए । त्यस समयमा निर्वाचन आयोगको कार्यालय भने शंकरदेव क्याम्पसको भित्रपट्टिको गल्लीमा थियो । एक दिन शिक्षा मन्त्रालय अन्तर्गतको स्कलरसिपमा एप्लाइ गरेका विद्यार्थीहरु खोज्दै त्यहाँ आए  अनि ‘तिमीलाई मन्त्रालयबाट खबर आएको छ । तिम्रो नाम छात्रवृत्तिमा निस्किसकेको छ । तिमी भने यहाँ काम गरेर बसिरहेको छौ, तुरुन्त मन्त्रालय गइहाल,’ भने । उनी त्यहाँबाट दगुर्दै मन्त्रालय गए । त्यहाँ पुगेपछि पाकिस्तानमा मूर्तिकलाका लागि छात्रवृत्ति छ, जान्छौ भनी सोधे । कलाकार नै बन्छु भन्ने हुटहुटी पालेका मुल्मीले चित्रकलासंग सम्बन्धित जुनसुकै विषयको पढाइको लागि जहाँ जान पनि तयार छु भन्ने जवाफ दिए ।

त्यस पछि त्यसको केही समयपछि उनी भारत हुँदै पाकिस्तान जाने भए । त्यस समयमा भारततको रक्सौलसम्म जानको लागि उनीसँगै निर्वाचन अयोगमा काम गर्नै एक कर्मचारी पनि साथै गएका थिए । भारत पाकिस्तानको सन् १९७० को युद्ध भर्खरै सकिएको थियो । दुवै देशमा तनावको स्थीति थियो । भारतको रक्सौलबाटबाट पटना, पटनाबाट दिल्ली गए । भारतको रक्सौलबाट ट्रेनमा जानको लागि बसिरहेको बेलामा एक जना नेपाली बोल्ने एक मानिसले उनलाई लुट्नको लागि योजना बुन्दै थिए । सामान्य कपडाको झोला बोकेर हिँडेका उनी निकै सामान्य देखिन्थे त्यतिबेला । उक्त मानिसले अरु कुनै मानिसको पैसा चोरेको र केही समयका लागि उनलाई राखिदिनको लागि अनुरोध गरेका थिए । उनले भने अरुको मेहेनतको कमाइलाई लिन अस्वीकार गरेका थिए । ट्रेनमा अनेकन घटनाहरु घटे । उनि लखनाउबाट दिल्ली पुगे । दिल्लीबाट पाकिस्तान जाने बोर्डर बन्द थियो । त्यसपछि अर्को झमेला आइलाग्यो । दिल्लीमा भेटेका राम बहाुदर भन्ने एक जना हितकारीले मुजफ्फरपुर जानुहोस् भन्ने सल्ला दिए । त्यसपछि उनले दिल्लीबाट मुजफ्फरपुर चल्ने ट्रेनको टिकट काटे र लागे मुजफ्फरपुरतिर । त्यहाँ पुगेपछि पत्ता लाग्यो, बोर्डर त यहाँ पनि खुलेको रहेनछ । रिक्सामा सवारी गरिरहेका मुल्मीको अब कता जाने केही टुंगो थिएन तर उनलाई भगवानले जे गर्छन् राम्रै गर्छन् भन्ने मनमा लागिरह्यो । त्यस दिन बुधबारको दिन थियो, रिक्सा वालाले अर्को मानिसलाई सोध्यो– पाकिस्तान बोर्डर कहाँ खुल्छ ? अर्को मानिसको जवाफ थियो– भोली विहीबार अमृत सहरमा खुल्छ । तब मुल्मी दंग परे अब भने उनले मुजफ्फरपुरबाट अमृत शहर जाने बस समाते र लागे अमृतसहर तर्फ । पुरै रात अमृतसहरको बस स्टपममा विताए । अटारी भन्ने ठाउँमा बास बसेका उनी, विहान उठ्दा सबै कपडाहरु आफु पनि पानीको डुवान परिसकेका थिए । धन्न उनको पासपोर्ट भने जोगिएको थियो ।

                                                                                       राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र

विहान उठेर एउटा ट्रक समाते र पाकिस्तानको बोर्डरसम्म गए । उनले आफु नेपालबाट छात्रवृत्तिमा पाकिस्तान जान लागेको कुरा बताए । अटारी भन्ने ठाउँमा बास बसेका उनी, त्यहाँका अधिकारीहरुले भने उनको हिन्दु नाम भएकाले निकै बेर सोधपुछ गर्न थाले । राधेश्यामले पनि आफु नेपालबाट आएको र नेपालमा बुद्ध धर्मावलम्बिहरुको नाम पनि राधेश्याम हुने गरेको र आफु धार्मिक सहिष्णुता भएको मुलुकबाट आएको कुरा बताए अन्तिमममा उनले पञ्जाव युनिभर्सिटिको जो जससँग सम्बन्धित छ भन्ने पत्र देखाएपछि बल्ल बल्ल उनलाई पाकिस्तान जानको लागि अनुमति दिएको कुरा सम्झन्छन् ।

त्यहाँबाट ट्रेनमा उनी लाहोर गएका थिए । जब उनी लाहोरमा उत्रिए, उनले एक ट्याक्सीलाई आफु लाहोर कलेजमा पढ्नको लागि जान लागेको र त्यहाँ पु-याइदिन अनुरोध गरे । उक्त ट्याक्सीवालाले डिपार्टमेन्ट अफ फाइन आर्ट पन्जाव युनिभर्सिटिको न्यु क्याम्पस कि वल्र्ड क्याम्पस जान चाहेको भनी सोद्धा उनी निरुत्तर भएका थिए । उनलाई यस विषयमा केही पनि थाहा थिएन । उनले रिक्सावालालाई १० रुपिया दिन्छु मलाई क्याम्पसमा लगिदेउ भनेर अह्राएका थिए जब कि भाडा चाहिँ जम्मा ४ रुपिया थियो । जब उनले बाटोमा कला अध्ययन गराउने क्याम्पस पन्जाव युनिर्भिसटि हो भन्ने कुरा थाहा पाए, उनी बल्ल बल्ल साँझको समयमा क्याम्पसमा पुगे । त्यहाँ पुगेपछि त्यस क्याम्पसको पालेले त्यस समयमा क्याम्पसका शिक्षकहरु कोही पनि नभएको अनि अहिले कसैलाई पनि क्याम्पसमा बस्ने अनुमति दिन नसकिने कुरा बताए पछि उनलाई कुनै होटलमा सुती भोलीपल्ट आउनको लागि अनुरोध गरे । उनी त्यहाँ बस्ने केही शीप चलाउन नसकेपछि त्यहाँबाट निस्केर होटलको खोजीमा बाहिर हिँडे । सबै होटल अनि पसलको नाम उर्दु भाषामा लेखिएका थिए । उर्दुको ‘ऊ’ पनि थाहा नभएको मुल्मिलाई अब त्यहाँ होटल खोज्न पनि निकै समस्या भयो । उनी प्रत्येक चिया पसलमा गई चिया खाँदै होटलको विषयमा सोधखोज गर्दथे तर कुनैले पनि वरिपरी होटल रहेको जानकारी भने दिएनन् । बजारमा बेलुका टुथपेस्ट र ब्रस किन्न पसलमा भने उनले सामान  किनिसकेपछि पैसा तिर्न लाग्दा भारतिय पैसा निकालेर दिएका थिए । त्यहाँको पसलेले भने उनले ठूलै अपराध गरेको जस्तो गरी ‘ए देखो देखो’ भनी उनको पैसालाई पसलमा बसेका सबैलाई देखाएर उनलाई निकै लाजमर्दाे अवस्था सृजना गरिदिएका थिए ।

लाहोरको सडकमा घुम्दै गर्दा कुनाको एक बोर्डमा भने अंग्रेजीमा होटल लेखिएको देखे तर उर्दूमा भने ठूलो अक्षरमा लेखिएको थियो । जति पैसा परे पनि आज यहाँ बस्ने उनको इच्छा भित्री मनबाट पलाइसकेको थियो । भित्र छिर्ने वित्तिकै हात, मुख धोएर रिपेप्सनमा आउन भन्यो, उनले पनि त्यसै गरे । जब उनी रिसेप्सनमा पुगे । तब उसले सोध्यो– ‘आप कहाँ से हो?’ मुल्मीले जवाफ दिए– ‘नेपाल से ।’

उसले भन्यो– ‘हमारे पासपोर्ट सिस्टम नहीं हे ना, यहाँ अपको रखनेका अनुमति नही हे । आपको दुसरे जगेपर जानापडेगा ।’

धन्न उसले मुल्मीसँग एउटा गाइड पठाइ दियो । उक्त गाइडले रोयल होटलमा लग्यो र म त्यहाँ बस्ने पक्का भयो । होटल वालाले सोधेको थियो– ‘आप गोर्खाली हे ?’

मुल्मीको जबाफ – ‘हाँ, गोर्खाली ।’

त्यसपछि जुनसुकै समस्या परेको खण्डमा पनि मलाई भन्नुहोस् भनेर मुल्मीलाई अलिक हौसला प्रदान गर्यो । मुल्मीलाई लाग्यो –‘नेपाली भनेर नचिन्ने, गोर्खाली भनेर चिन्ने !’

त्यहाँ पुग्दा उनी थकाइ र भोकले लखतरान भइसकेका थिए । बल्ल बल्ल कोठा त भेट्टाए अनि खानाको लागि अर्डर समेत गरे । उनले अर्डर गरेका थिएः विर्यानी, छोले अनि गोस्त । कहिल्यै नाम पनि नसुनेको यस्तो खानेकुरा जब उनको टेवुलमा आइपुग्यो, उनले छोले भनेको त ठूलो खाले चना रहेको कुरा चाल पाए अनि विर्यानीमा पनि मासु रहेको र गोस्त भनेको पनि मासु नै रहेको चाल पाए । पाकिस्तानमा गाइको मासु पनि खाने गर्दछन् भन्ने सुनेका उनले के को मासु हो भनी चाल पाउन सकेनन् । दिग्मिग मान्दै उनले मासुलाई पन्छाइ छोले र विर्यानीको भात मात्र खाएर सुतेको उनी सम्झन्छन् ।

दोश्रो दिन विश्वविद्यालयमा गएपछि उनलाइ अलि सहज हुन थाल्यो । बस्नको लागि होस्टलको पनि व्यवस्था भइसकेको थियो अनि उनले छात्रवृत्तिमा पाउने पैसा समेत पेश्कीको रुपमा पाए । त्यही पैसाले त्यहाँ रहँदा बस्दा निकै सहयोग गरेको थियो । मृदुभाषी राधेश्याम त्यहाँ रहँदा बस्दा सबैका प्रिय भएका थिए । उनी त्यहाँ बस्दा बस्दै मूर्ति पढ्नको लागि गएका उनलाई त्यहाँको प्रशासकले भेटिसकेपछि प्रशासकले तिम्रो परिवारमा कति जना छन् ? तिमीले परिवारलाई पनि हेर्नुपर्छ भनी सोधेका थिए । तर मुल्मी भने त्यस विषयमा नाजवाफ भए । प्रशासकले सोचेर भोली आउ भनी पठाए । त्यसको एक दिनपछि जब उनी त्यहाँ पुगे उनलाई डिजाइन पढ्ने कि चित्रकला पढ्ने भनी त्यहाँका प्रशासकले सोधेका थिए र उनै प्रशासकले उनको निर्णयको प्रतिक्षा नगरी उनलाई डिजाइन पढ्नको लागि नाम लेखाइदिएका थिए । फुर्सदको समयमा भने उनी त्यहाँ रहँदा विभिन्न सामुद्रिक किनाराहरु घुम्नको लागि जाने गर्दथे ।

एकताका होस्टेलमा पुलिसहरुको गस्ति आएको थियो । उनलाइ त्यहाँ निकै बेर पुलिसले कोठामा छानविन गरेको र जब उनीहरुले नेपालबाट छात्रवृत्तिमा आएको भनेपछि उनलाई छोडेका थिए । वर्षमा एकपटक उनी नेपाल आउने गर्दथे अनि जब उनको कस्टममा पालो आउँथ्यो, पाकिस्तानी अधिकारीहरु ‘राधेश्यामका नाम आया’ भन्दै उनलाई हाँसोको पात्रको रुपमा उँडाउने गर्दथे ।

समयक्रमसंगै उनले त्यहाँबाट स्नातक गरे । त्यसपछि उनलाई उनकै प्रोफेसरहरुले मास्टर्स डिग्री पनि त्यहीँ पढ्न अनुरोध गरे । उनले पनि त्यहाँबाट मास्टर्स डिग्री सके अनि त्यसपछि पि.एच.डि गर्नका लागि पनि छात्रवृत्ति मिलाइदिने भएका थिए । तर उनले पि.एच.डि भने गरेनन् र नेपाल फिर्ता आए ।

राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र
                                                                                              राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र

नेपाल आगमन

नेपाल आएपछि उनले शिक्षा मन्त्रालयमा गई आफुले पाकिस्तानबाट पढेर आएको सबै इतिवृतान्त बताए । त्यस बेलाका अधिकारीहरुले उनलाई स्नातक गर्न गएको मानिसले किन स्नातकोत्तर पनि पढेर आएको भनी रिसाए । उनले पनि पढ्नको लागि पाएको मौकामा पढेर आएको कुरा बताए र अझ उनीहरुले पि.एच.डि गर्नको लागि पनि छात्रवृत्ति मिलाइदिने कुरा गरेको तर आफुले नमानेको कुरा समेत बताइदिए । त्यतिबेला सम्म नेपालमा कलामा स्नातकोत्तर डिग्री भएको कोही पनि थिएनन् । त्यस शिक्षालाई मान्यता दिनको लागि विश्वविद्यालयबाट इक्वीभ्यालेन्ट गर्नको लागि पनि उनलाई समस्या भएको थियो । निकै लामो संघर्षबाट गुज्रनुपरेको थियो उनलाई आफुले पढेको कुरालाई मान्यता दिलाउन ।

शिक्षा मन्त्रालयले उनलाई अब सेवाको मौका दिनु पर्ने थियो । त्यस बेलामा ललितकला क्याम्पसमा खटाउनु पर्नेमा उनलाई सानोठिमीमा रहेको प्राविधिक शिक्षा केन्द्रमा खटाइदिए । करिव ४ वर्ष जति त्यहाँ जागिर खाएपछि बल्ल उनलाई काजमा ललितकला क्याम्पसमा भयो । कलाको राम्रो ज्ञान पहिले देखि नै भएका मुल्मिलाई उक्त क्याम्पसमा आइसकेपछि पनि निकै कठिनाइहरुको सामना गर्नुपर्यो । त्यसमा सानोठिमीमा काम गर्दा उनलाई मनपराउने केही साथीहरुले सहयोग गरेको अनुभव उनी सुनाउँछन् । त्यस समयमा त्यहाँ पढाउने शिक्षकहरु मुल्मिको नयाँ नयाँ सिकाउने तरिकाले गर्दा विद्यार्थीहरुमाझ प्रिय भएको त्यति मन पराउँदैनथिए । मुल्मि भने आफ्नै तालमा कहिले कलेजको भित्ताहरुमा चित्रहरु बनाइदिन्थे त कहिले विद्यार्थीहरुलाई भ्रमणमा लैजाँदा नयाँ नयाँ चित्र बनाउने कलाहरु सिकाइदिन्थे । भित्तामा बनाइएको चित्रहरुलाई हेर्दै त्यहीँ पढाउने उनका समकक्षी गुरुहरुले भने ढल्न लागिसकेको भित्तामा चित्र बनाएर के सबैभन्दा उत्कृष्ट कलाकार भनेर सावित गर्न खोजेको भन्दै उनीसंग बेलाबेलामा निहुँ खोज्दथे ।

मृदुभाषी अनि अरुलाई बोलीले आहात गर्न नरुचाउने मुल्मि यस्तो किसिमको आरोपहरुमा सकेसम्म आप्mनो मुख खोल्न रुचाउँदैनथे अनि आफ्नो कर्ममा निरन्तर रुपमा लागि नै रहन्थे । उनले बनाएका चित्रहरुमा रंग, सुमधुरता तथा बेग्लै किसिमका मौलिकता हुने गर्दछन् । बाहिरबाट हेर्दा यस्तो पनि हुन्छ र भन्ने जस्तो लाग्ने तर त्यहाँ प्रयोग गरिएका रंग तथा आकृतिहरुले गर्दा उनका कलाहरु अद्वितिय देखिने गर्दछन् ।

चित्रकलाको यात्रा

सामान्यतयाः उनी स्केच तथा डिजाइनको कामहरु गर्ने गर्दथे । उनले बनाउने गरेको चित्रकलाबाट उनका विद्यार्थीहरु प्रभावित हुने गर्दथे । विद्यार्थीहरु उनका चित्रकला तथा स्केचहरुलाई हेरि त्यसको अद्वितिय पक्षको बारेमा कुरा गर्दथे अनि उनलाई एकल चित्रकला प्रदर्शनी गर्नको लागि घच्घचाइरहन्थे । डिजाइनमा सिद्धहस्त मुल्मि आफुले गर्ने गरेको डिजाइनहरुबाट राम्रै कमाइ हुने गरेको भएकाले पनि चित्रकलामा राम्रोसंग भिजिसकेका थिएनन् । त्यसै समयमा उनका एक विद्यार्थीले भने सरले एकल प्रदर्शनी गर्नु नै पर्दछ भनी निकै जोड गरिसकेपछि उनले पहिले ४० ओटा चित्र बनाउने योजना बनाए । जब ४० वटा सकियो, त्यसपछि उनले फेरी चित्रकला छान्नको लागि पनि ६० वटा बनाउनु पर्ने भयो । गर्दा गर्दै करिव एक वर्षको अन्तरालमा उनले करिव ८० वटा जति चित्र प्रदर्शनीकै लागि बनाए ।

राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र
                                                                        राधेश्याम मुल्मीका चित्रहरु/फोटोः खोजपत्र

चित्रकला बनाउने उनको स्टाइल

यस विषयमा कुराकानी गर्दै मुल्मि बताउँछन् कि उनी कुनै पनि विषयमा चित्र कोर्नु अघि निकै बेर घोत्लिन्छन् । जस्तै आमाको विषयमा चित्र बनाउनु प-यो भने उनी आमाको बहुआयामिक पक्षको विषयमा सोच्दछन् । सोच्दै आमा को हो, आमाले के गर्नुहुन्छ, आमाको रुप कस्तो हुनुपर्छ, के प्रकृती पनि आमा हुन्, आमाले माया कसरी गर्नुहुन्छ, जस्ता विभिन्न कुराहरुलाई सोच्दछन् । त्यसपछि उनी चित्र बनाउनका लागि सोच्दछन् अनि चित्रले मागे अनुसार त्यसलाई ब्ल्याक एण्ड ह्वाइट बनाउने हो वा त्यसमा रंग लगाउने भन्ने विषयमा घोत्लिन्छन् । अनि मात्र उनी चित्र बनाउन थाल्दछन् ।

उनका चित्रहरुमा प्रयोग भएका रङ्गहरुले मानिसको आँखालाइ एक ठाउँमा मात्र केन्द्रित गर्दैन । तर चित्रले आकर्षित भने गर्दछ । त्यसको कारण उनले प्रयोग गर्ने रङ्गहरु जसरी संगीतमा प्रयोग हुने धुनहरुले नाद निकाल्दछन् त्यसैगरी उनका रङ्गहरु पनि तरङ्गित भएर बगेका हुन्छन् । उनले बनाउने चित्रहरुमा कुनै एक विषय लिने र त्यसलाई विभिन्न प्रयोगको माध्यमबाट ठूलो आकृति दिने गर्दछन् । उनको अनुभवमा स्याउ, मुसा, गणेश, बाजा, चरा लगायतका विषयलाई समिश्रित गर्दै नयाँ ढाँचा र शैलीको ठूलो चित्र तयारगर्दछन् । त्यसमा प्रयोग गर्ने रङ्गहरुमा पनि उनि धेरै समय घोत्लिन्छन् र त्यसको मुख्य विषय कुन रङ्गले प्रस्तुत गर्दछ त्यसै अनुरुप प्रयोगहरु गर्ने गर्दछन् ।

ललितकला क्याम्पसबाट उनका प्रेरणाले कति नयाँ कलाकारहरु जन्मे, उनलाई यकिन छैन । बेलामौकामा आफुले बनाएको जस्तै चित्र हुबहु अरु कसैले बनाइ प्रदर्शनीमा राखेको समेत याद छ उनलाई । तर यस विषयमा भने आफुले गरेको कला कसैलाई त मन परेछ, त्यसैले त नक्कल गरे भन्ने जस्तो लागि उनी यस विषयमा सकेसम्म बोल्दैनन् ।

बनाएका सबै चित्रहरुलाई उत्तिकै प्यारो मान्ने उनी सकेसम्म त्यही चित्रकलालाई विक्रि गर्न हुँदैन भन्ने मान्यता राख्दछन् । सामान्यतयाः उनीसंग आफुले बनाएका सबै चित्रहरु हुने गर्दछन् र यसलाई उनी रहुन्जेलसम्म विक्रि गर्न नपरोस् भन्ने सोच छ भने उनी रहँदा नै कुनै म्युजियम वा संग्रह गर्ने व्यक्तिले त्यसलाई विक्रि नगरी कला अध्ययनको लागि राख्ने शर्तमा उनका सबै अहिलेसम्म रहेको चित्र दिने उनको विचार रहेको छ । चित्रकला बाहेक उनको अर्काे सौख फोटोग्राफि पनि रहेको छ । कुनै मानिससंगको पहिलो भेटमा नै फोटो खिच्ने तथा खिचेको भोलिपल्ट नै त्यसलाई धुलाई फोटोहरुलाई संग्रह गर्ने उनको बानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array