गाउँमा गौंथलीहरु कुर्दैछन्

गाउँमा गौंथलीहरु कुर्दैछन्

गाउँहरु विस्तारै रित्तिरहेका छन्, लामो समयको माओवादी जनयुद्धबाट विस्थापितहरु आजसम्म पनि स्थापित हुन सकिरहेका छैनन् । कतिपय गाउँका घरहरु खण्डहरमा परिवर्तित भइसकेका छन् भने त्यहाँ खेती किसानी गर्ने पाखाबारीहरु बाँझोमा परिणत भइसकेका छन् । प्राय मानिसहरु शहरको रमझममा रमाउन थालिसकेका छन् । आज पनि मानिसहरु गाउँ छाडि शहरतिर जाने क्रम बढ्दो छ । गाउँका माझघरे माइलाको घरको रखवारी आज ठूलो ‘ताला’ले गर्दैछ । अवसरहरुको खोजिमा मानिसहरु आफ्नो थातथलो छोडी सूदुरका कुनै अपरिचित सहरलाई आफ्नो कार्यथलो बनाइरहेका छन् ।

गाउँका ती घरहरु अनि ती घरका मझेरीहरु, धनसारका खोपीहरुमा मानिसहरुकै सुख दुःखमा चिरिविरि चिरिविरि गर्ने गौंथली, भँगेरा अनि परेवाहरु ताल्चा ठोकिएका घरहरुमा मानिसहरुको प्रतिक्षामा प्रतिक्षारत देखिन्छन् र पहिले कै जस्तो सुमधुर मिलन होला भनि आशा साँचीरहेका छन् ।

नेपाल आर्ट काउन्सिल, बबरमहलमा मानिस र गौंथलीको त्यही सम्बन्धलाई खोतल्न चित्रकार भीम प्रसाद शर्मा ‘सम्बन्धन’ नाम दिएर आफ्ना एकल चित्रकला प्रदर्शनी गरिरहेका छन् ।

गाउँ–घरमा भगवानका प्रतिकका रुपमा पुजा गरिने पीपल–वर र सल्ला लगायतका अनेकन काठहरुमा गौंथली, परेवा, भंगेराहरुको आकृती बनाएर गाउँको एउटा कथा प्रस्तुत गर्न खोजेको छन् चित्रकारले ।

शान्तिको पाठ सिकाउने बुद्धका अनेकौँ चित्रहरु पनि प्रदर्शनीमा राखिएका छन् । ‘मानिस र गौंथलीको अन्र्तसम्बन्धका केही पाटाहरुलाई केलाउन खोजिएको छ’– भनि शर्मा बताउँछन् ।

मंसीर २२ गते देखि सुरु भएको कला प्रदर्शनीको उद्घाटन नेपाल कमर्सियल आर्टिस्ट सङ्घका अध्यक्ष  आइ.बी. मल्लले गर्नुभएको थियो । त्यसै कार्यक्रममा उहाँले चितवनको गैँडाकोटमा रहि चित्रकार शर्माले कलाको क्षेत्रमा पु¥याइरहनु भएको योगदानको पनि चर्चा गर्नुभएको थियो ।

काठमा आकृति बनाउने कार्य प्राचिनतम कला हो । इतिहास केलाउने हो भने लिच्छवि कालिन समयमा पनि काठमा चित्रहरु कोरिएको पाइन्छन् । वेद, उपनिषद, स्वस्थानी, बुद्ध धर्मका पुराना ग्रन्थहरुको बाहिरी खोल काठका हुन्थे र त्यस काठमा पनि कलात्मक चित्रकलाहरु कुँदिएका तथा कोरिएका हुन्थे । नेवार समुदायमा पनि विभिन्न धर्मग्रन्थहरुको संग्रहमा काठको फोल्डिङ्ग गर्न मिल्ने खोलहरु बनाउने चलन अभैm पनि देख्न सकिन्छ । त्यस्ता खोलहरुलाई ‘ख्या सफुः’ भन्ने गरिन्छ ।

समयको यस कालखण्डमा भने काठका फलेकमा चित्र बनाउने चलन हराइसकेको अवस्थामा चित्रकार शर्माले फेरी सबै सामु जीवन्त तुल्याउने मर्मस्पर्शी चित्रहरु ल्याएर मद्दत गरेका छन् । ‘सानै बेलादेखि जिज्ञासु स्वभावको भएकाले मेरा हजुरबुबाले काठका स–साना टुक्राहरुमा ज्योतिषीय रेखाचित्रहरु बनाएको देखेको थिएँ । मलाई पनि त्यसरी नै चित्र कोर्दा कस्तो हुन्छ होला भन्ने लागेको थियो । त्यतिबेलाको बालमतिष्कले सोचेका विषयलाई अहिले मैले आफ्नो कलामार्फत काठमा उतारेको हुँ’– चित्रकारको कथन छ ।

युवाहरु विदेशीने र शहरतिर सर्ने क्रम बढ्दै गएकोमा ताल्चाले प्रतिकात्मक रुपमा घर बन्द भइसकेका कुरा जानाउँछ । तर त्यही बन्द धनसार, घरका फलेकहरुमा मानिसका पुराना साथीहरु गौंथली, परेवा, भँगेराहरु कुरिरहेको चित्रहरुलाई आकर्षक ढङ्गबाट देखाउन खोजिएको छ ।

एउटा चित्रमा मानिस र गौंथलीको अन्र्तसम्बन्धलाई शिशु पेटमा हुँदा देखिको अवस्थालाई देखाउन खोजिएको छ । एउटा बालक आमाको पेटमा हुँदा पनि गौंथलीप्रतिको प्रेम देखाउन  गौंथलीका बच्चाहरुले चिरिविरि गर्दै मुख बाएर खाना खोजिरहेको देखाउन खोजिएको छ भने बालक, जसको आँखा पनि खुलेका छैनन् ऊ पनि मन्त्र मुग्ध भएर त्यहीं गौंथलीलाई भावनात्मक रुपले आत्मसाथ गरिरहेको छ । यस चित्र कोर्नुलाई चित्रकारले आफु गर्भमा रहँदा देखिनै गौंथलीसँगको सम्बन्ध भएको दर्शाउन खोजेको बताउँछन् ।

त्यसैगरी अर्को एक चित्रमा महिलाको स्तनबाट गौंथलीका बच्चाहरुको मुखमा दूधका धारा झरीरहेको देखाइएको छ । आमाको ममता सदैव आफ्ना बच्चाहरुमा हुने गरेको कुरा यस चित्रले दर्शाउन खोजेको छ । गौंथलीसँगको सम्बन्ध चित्रकारको आमामा पनि कति थियो भन्ने कुरा देखाउन यस चित्र बनाइएको चित्रकार बताउँछन् ।

पीपलको काठमा बनाइएको चित्रहरुमा बुद्धका आकृतिहरु छन् । पीपलको काठमा नै उक्त चित्र कोर्नुको पछाडिको रहस्य भने पीपल र बुद्धको अन्तर्सम्बन्ध देखाउनका लागि भएको चित्रकारको भनाइ रहेको छ । चित्रमा गौतम बुद्धको आकृतिसंगै ताल्चा पनि राखिएको छ ।  ताल्चाले प्रतिकात्मक रुपमा बन्देजको अर्थ दिन्छ । आधुनिक युगमा ज्ञान विस्तारै सम्प्रदायमा मात्र निहित हुने अवस्था रहिआएको छ त्यसैले बुद्धका ज्ञानहरु पनि सिमित मानिसमा मात्र प्रसारित भइरहेको देखाउन खोजिएको चित्रकार बताउँछन् ।

करिब ३५ वटा चित्रकला समावेश गरिएको यस प्रदर्शनी मंसीर २२ गते देखि २७ गते सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा रहने छ ।

Back to top button