चित्रकारहरुको घुलमिल

चित्रकारहरुको घुलमिल

नेपाल, भारत, बङ्गलादेश, जर्मनी र अमेरिकाका कलाकारहरु सम्मिल्लित चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल, बबरमहलमा देख्न सकिन्छ । “अमाल्गम अफ आर्टिस्ट” नाम दिइएको उक्त प्रदर्शनीको आयोजना अर्पितम कला मन्दिर, भारतको पश्चिम बँङ्गालले गरेको हो । उक्त कार्यक्रमको उद्घाटन ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले पानसमा बत्ती बाली गरेका थिए भने मन्तव्यका क्रममा कलाले नै सम्पूर्ण विश्वमा एकताको सन्देश सम्प्रेषित गर्ने कुरा पनि उनले बताए ।

उक्त कार्यक्रममा आयोजक गौतम दासले भावुक हुँदै आफ्नो छोरा क्यान्सर रोगका कारण यस संसारबाट विदा भएको र छोराको नामलाई अमरता प्रदान गर्न अर्पितम कला मन्दिर नामक संस्था स्थापना गरेको बताए ।

नेपाली कलाकार डि.बि. राइले यस पटकको प्रदर्शनीमा बागमतीको सुन्दर चित्रकला प्रदर्शनीमा राखेका छन् । बागमती प्रदुषित हुँदै गएको परिप्रेक्ष्यमा यदि साँच्चै नै सफा हुँदो हो त कस्तो देखिन्थ्यो होला भन्ने देखाउनका लागि चित्रकार राइले यो चित्र प्रदर्शनीमा राखेको बताए ।

त्यस्तै अर्का नेपाली चित्रकार दिपेन्द्र मान बनेपालीले नेपालको भौगोलिक सुन्दरतालाई क्यानभासमा उतारेका छन् ।

त्यस्तै अर्का नेपाली चित्रकार विनोद कुमार गुप्ताले ‘बुद्धका शक्तिहरु’ नाम दिइएको चित्र प्रदर्शनीमा राखेका छन् । जहाँ एउटा कचौराबाट सिक्काहरु झरिरहेका छन् भने त्यसै चित्रका मुनिपट्टि भएका कछुवा, चराहरु विस्तारै अँध्यारोबाट उज्यालोतर्पm लम्किरहेका छन् । उनका अनुसार हरेक चिजहरु कालान्तरमा उज्यालोतर्पm उठ्ने चेष्टा गरिरहेका हुन्छन् र समयक्रमसंगै उठ्ने शक्ति पनि प्राप्त गर्न सक्दछन् भन्ने मूल सन्देश रहेको बताउँछन् ।

यस प्रदर्शनीका आयोजक पनि रहेका भारतीय चित्रकार गौतम दासले आधुनिक युगका प्रेमिल जोडि “राधा–कृष्णहरु” कसरी आयातित जंक फुडहरु खाई आफु र प्रकृतीलाई हानी गरिरहेका छन् भन्ने देखाउन खोजेका छन् । थम्ब्स् अप, विस्लेरी जस्ता पेयहरुको खोलको आभूषण पहिरी, प्रेमिल कल्पनामा डुबिरहेका ती जोडीले चेतनाको स्तर विकास गरी बरु त्यो बोतललाई कुनै विरुवा रोप्नमा लगाउनका लागि पनि सन्देश दिइरहेका छन् ।

अर्का भारतीय कलाकार गोपिन्द्र कुमार आनन्दले एक्रेलिक मिडियममा बुद्धको शान्तिको सन्देश दिन खोजेका छन् । आसनमा कमलको फुल, शरिर भएको ठाउँमा पिपलको पात, जो हावामा उँडिरहेको जस्तो देखिन्छ र त्यहि उडान र मन्थनबाट नै सच्चा ज्ञान प्रस्फुटन हुन्छ भन्ने उनको तर्क रहेको छ ।

भारतीय कलाकार विजय रक्षितले राधा र दुर्गाका चित्रहरु बनाएका छन् । झट्ट हेर्दा सपना जस्ता लाग्ने उनका चित्रहरुमा हरियो रंगको प्रयोग भएको देखिन्छ । हरियालीले प्रतिकात्मक रुपमा प्रकृतीलाई बुझाउँछ र अन्ततोगत्वा प्रकृती नै नारी रुप भएकाले पनि नारीलाई नै विषय वस्तु बनाई चित्र कोरिएको उनी बताउँछन् ।

अर्का भारतीय कलाकार अर्पिता मुखर्जी चित्रकलामा प्रकृती पछ्याउँछिन् । उनका वाटरकलरका चित्रहरुमा प्रकृतीसँग एक्लै टहल्दा देखिने मनमोहकतालाई मानव–निर्मित गरिब वस्तीहरुमा मानव विना देखिने सौन्दर्यतालाई देखाएकी छन् ।

भारतीय कलाकार इश्वानी दासले भने बुद्धका शान्तिका सन्देशहरु कुनै रंगिन छाताहरुबाट प्रकाशित भइरहेको जस्तो भान पर्ने चित्रकला प्रदर्शनीमा राखेकी छन् ।

अर्का भारतीय चित्रकार उशारञ्जन मण्डल डटपेनका थोप्लाहरुबाट चित्र कोर्न माहिर छन् । उनका चित्रकलामा डट पेनबाट बनेको थोप्लाहरुबाट पनि कसरी सुन्दर र मनमोहक आकृतीहरु बन्न सक्दो रहेछ भन्ने देखिन्छ । “सिरिज अफ एम्बरफोर्ट” नाम दिइएको उनको चित्रकलामा राजस्थानका सिंगारिएका हात्तीहरुले मानिसहरुलाई बोकेर गन्तव्यमा लम्किरहेको चित्र देख्न सकिन्छ ।

भारतीय कलाकार सञ्जोइ घोशका लागि भने चित्रकलाले दर्शकलाई प्रकृती र प्रेमसँग अझ नजिक पु¥याउँछ जस्तो लाग्छ । प्रकृतीलाई नारीपरक मान्दै करुणा तथा सद्भाव देखाउन उनले नारीको चित्र क्यानभासमा उतारेको बताउँछन् ।

अर्का भारतीय कलाकार केया सेटले भने वाटरकलर गरिएको दुर्गाको चित्र प्रदर्शनीमा राखेकी छन् । उनका अनुसार विस्तारै प्रकृतीको विनाश भइरहेको परिप्रेक्ष्यमा मानव तथा दानवले अब कुनै वरदान माग्दा पृथ्वीको हरियालीलाई बचाउन विरुवा माग्नु पर्ने र सो बाट  पृथ्वीमा प्रकृती जोगिने र झन् हराभरा हुने कल्पना गर्दै उक्त चित्र बनाएको बताउँछिन् ।

अर्का भारतीय चित्रकार सुनिल बर्मन विश्वलाई शान्तिको सन्देश दिने बुद्धको तस्वीर लिएर प्रदर्शनीमा प्रस्तुत भएका छन् ।

भारतीय चित्रकार सुबोध घोस भने जीवन कुनै सत्रञ्ज (चेस) खेल्दा जत्तिकै चुनौतिपूर्ण रहेको र यहि चुनौतीमा होमिएका मानिसहरुले प्राकृतिक चिजहरुलाई प्रयोग गर्दै आफु जत्तिकै कुरुप बनाउँदै लगेको कुरा एउटा जोकरलाई पात्र बनाई चित्रकलामा देखाएका छन् ।

भारतीय चित्रकार कञ्चन दाशले भने दसवटा स–साना फ्रेमलाई प्रदर्शनीमा राखेका छन् । मानवलाई कुनै अदृश्य शक्तिहरुले सदैव बन्देजमा राखेका हुन्छन् र आफुमा भएको इच्छाशक्ति अभिप्रेरित भइरहेको जस्तो देखिए पनि मानवका लिमिटेसनहरुलाई चित्रमा उतारेको उनी बताउँछन् ।

‘कोशिस’ शीर्षक दिइएको भारतीय कलाकार नरेन्द्र कुमारका चित्रमा जसरी एउटा रुख ढलेपनि त्यसमा विस्तारै पालुवा पलाएर फेरि पुर्नजीवन तर्पm लम्किन्छ, त्यसरी नै जीवनमा चुनौतीहरुको सामना गर्दै अघि बढ्नुमा नै जीत रहेको कुरा सुझाउँछन् ।

अर्का भारतीय चित्रकार मोनिता सहाय भने शिव–शतीको विवाहको र दक्ष यज्ञविनाश भएको स्वस्थानीको कथालाई चित्रमा उतारेकी छन् । एम.डि.एफ बोर्डमा इनामेलले गरिएको उनको काम पनि आकर्षक देखिन्छ ।

मंसीर १५ गते देखि १९ गते सम्म चल्ने प्रदर्शनीमा ४७ जना चित्रकारहरुको करिब ७० चित्रकला प्रदर्शनीमा राखिएका छन् ।

 

Back to top button