जहाँ बस्तुको आकारले महत्व राख्दैन

“जहाँ पुग्दैन रवी, त्यहाँ पुग्दछ कवी”

“जहाँ पुग्दैन रवी

त्यहाँ पुग्दछ कवी”

रवी जुन कुना कन्दरामा छिर्न सक्दैन त्यही अन्तरकुन्तरका दुरदराजमा संग्रहित कल्पनाशिलताको वायुपंखी घोडामा चढि कवी÷कलाकार पुग्न सक्दछन् । कलाका विभिन्न आयामहरु मध्येका एक, चित्रकलाका प्रखर हस्ती चित्रकार जीवन राजोपाध्यायको कला र जीवनको विभिन्न आयामहरुलाई खोतल्दै यो लेख तयार पारिएको छ ।

आएर कहिल्यै ऋतु सकिँदैन

लाएर प्रिती मुटु रित्तिँदैन

स्वीकार मात्रै गर एक बार

जीवन तिम्रै अनि बारबार ।

–    राष्ट्रकवि माधव घिमिरे

सानैदेखि प्रकृतिका ‘पलहरुलाई’ क्यानभासमा उतार्न सफल जीवनका लागि प्रेरणाका श्रोतहरु हिमाल, पहाड, झरना र नदीनालाहरु नै थिए । यी श्रोतहरु अमुल्य रङहरुको खानी नै हुन् । यी ठाउँहरुका बस्तु र विभिन्न समयमा परिवर्तन हुने रङ्गहरुसँग कुन बेलामा उनको प्रेम बस्यो, त्यो उनलाई नै थाहा भएन । विस्तारै त्यो प्रेम अभिव्यक्त गर्न बस्तुहरुले पनि बाधा दिन थाले, कारणः बस्तुमा रङ्गहरु निहित हुँदा हुँदै पनि कल्पनाका आकाशमा स्वतन्त्र उड्न खोज्ने जीवनका रङ र कुची समाइ उड्ने हातहरुलाई बस्तुले समेट्ने चेष्ठा गर्न थाल्यो । अनि विस्तारै सुरु भयो अभिव्यञ्जनाको नौलो आयामः ‘अमूर्त चित्रकला’ जहाँ बस्तुलाई भन्दा बढी जोड रङहरु र रङहरुलाई भन्दा बढी जोड भावनालाई दिने गरिन्छ ।

जो आफैंमा मूर्त छैन, जुन कल्पनाशिलताको उच्चतम विन्दुको जब महसुस हुन्छ, त्यतिबेला बनेका यस्ता चित्रकलालाई शाब्दिकतामा अभिव्यक्त गर्नु मूर्खता सिवाय अरु केही हुँदैन । तर, त्यति हुँदाहँुदै पनि अमूर्त चित्रकला बनेका क्यानभासका प्रत्येक रङका थोपाहरुले उत्तिकै अर्थ राख्दछन् किनकी ती प्रत्येक रङका थोपाहरु चित्रकारका हृदयका अन्तस्करणबाट निस्किरहेका हुन्छन् । त्यसैले पनि अमूर्त चित्रकलामा अझ बढी मिहिनेत, लगाव, अनि साधनाको जरुरत पर्ने कुरामा चित्रकार जीवनको जोड रहेको छ  । प्रत्येक चित्रकारले प्रकृतिका विभिन्न छटाहरुका क्यानभासमा कुची र रङहरुले खेल्दै जाँदा कुनै न कुनै विन्दुमा पुग्दा प्रकृतीको चित्रहरु जति बनाएपनि पूर्ण नहुने महसुस गर्दै अमूर्त चित्रकला तर्पm आकर्षित हुने कुरा उनी जनाउँछन् ।

त्यसो त अमूर्त चित्रकला नेपालमा भन्दा अगाडि विभिन्न पाश्चात्य देशहरुमा विकसित भएको हो । १९ औं शताब्दीमा अझ व्यापक प्रयोगमा आएको यस चित्रकलामा मूर्त चित्रकला, जसमा आकार देखाइन्छ, त्यहाँ रङहरुको माध्यमबाट चित्रका विभिन्न आकृति बनाइ बस्तुपरक चित्रहरुको घेरा (परिधि) बाट आफुलाई केवल बैयक्तिक स्वतन्त्रताको त्यो विन्दुमा पु¥याउँछ ।

‘प्रत्येक कलाकारहरु लामो समयसम्म प्रकृतिका अनुपम छटामा रमाउँछ, अनि विस्तारै विस्तारै प्रकृतिको त्यस बेजोडतालाई क्यानभासमा उतार्दै जाँदा आफ्नो कलाले कहिल्यै अन्त्य नपाउने कुराको आभास पाउँछन् । अनि विस्तारै अमूर्त चित्रकलामा नलागी विकल्प नै हुँदैन’, – चित्रकार बताउँछन् ।

पाश्चात्य जगतमा अझ बढी खोज र अनुसन्धान भइरहेको अमूर्त चित्रकलाको क्षेत्रमा नेपालमा भने अझै धेरै कामहरु गर्न बाँकी नै रहेको परिप्रेक्ष्यमा नयाँ नयाँ प्रविधिसँगै नयाँ प्रयोग र विकास भइरहेको छ । पछिल्लो समयमा विभिन्न कलेजहरु खुल्दै नयाँ नयाँ कलाकारहरुको जन्म भइरहेको छ । त्यही सन्दर्भमा उनी विभिन्न कलाकारहरुको काममा पनि घण्टौ घोत्लिन्छन् । उनका अनुसार चित्रकला पनि एउटा साधना हो जहाँ कसले कति समय र शीप यो विधामा लगायो भन्ने कुराले ज्यादै नै महत्व राख्दछ । आजभोली प्रविधिको प्रयोगले आफ्ना समकक्षी र अग्रज कलाकारहरुका कलालाई नियाल्न त पक्कै सहज भएको छ तर रातारात सफलता चुमेको सपना देख्ने नव कलाकारहरुका लागि भने केही समय धैर्य धारण गर्दै बरु राम्रोसँग कुनै कुशल कलाकारसँग सिकेर अगाडि बढ्दा सफलताको त्यो काल्पनिक शिखर धेरै टाढा नरहेको कुरा उनी बताउँछन् ।

त्यसो त उनी धेरै लामो समयसम्म वरिष्ठ चित्रकार लैनसिंह वाङ्देलसँग कला सिक्ने अवसर पाएका भाग्यमानी कलाकार हुन् । विदेशबाट चित्रकलाका विभिन्न आयामहरु पढेर आएका वाङ्देलका चित्रकलाहरु कालजयी छन् । तिनै व्यक्तित्वसँग कला र रङहरुको बारेमा अध्ययन गर्न पाउनु उनको जीवन ‘टर्निङ प्वाइन्ट’को रुपमा सावित भयो । दुई दशक भन्दा लामो समयसम्मको सिकाइ र अन्र्तक्रियाबाट उनको कलामा अझ बढी निखारता आएको कुरा बताउँछन् उनी । ‘त्यतिबेला युरोपमा गएर कला अध्ययन गर्ने मौका जो कोहीले कहाँ पाउँथे र ? विभिन्न आर्थिक देखि अन्य व्यवधानहरुले गर्दा विदेशमा कला सिक्न जाने कल्पना नै गर्न सकिँदैन थियो’– उनी थप्छन् ।

‘त्यही सिकाइको परिपक्वता अचेल मेरा काममा देख्न सकिन्छ,’– जीवन थप्छन् । त्यसो त उनको चित्रकलाका पहिलो गुरु श्यामलाल श्रेष्ठ थिए ।

शास्त्रीय संगीतमा पाराङ्गत उनका बुबा धर्मानन्द राजोपाध्याय घरमा विभिन्न साङ्गीतिक जमघटहरु गरि नै रहन्थे । घरमा कलाको माहोल पहिले देखि नै भएकाले पनि उनलाई चित्रकार बन्छु भनी घरमा भन्दा सबैले हाइ हाइ नै गर्दथे तर पढिसकेपछि के गर्ने भन्ने अन्यौलता थियो । ‘त्यतिबेला पढ्दै गर्दा एक जना साथीले जागिरको लागि भन्दा हुन्छ भनी ग्राफिक्स डिजाइनिङ गर्न थालेँ र एउटै अफिसमा काम गर्दै जाँदा १० वर्ष विताइदिएँ । त्यस पछि अहिलेसम्म जागिर खाएको छैन’– उनी बताउँछन् ।

चित्रकलामा अभ्यस्त उनका हातहरु क्यानभासमा जब पर्दछन्, कुनै कुनै बेलामा चित्र बनाउने क्रममा ती क्यानभासहरुसंग लामो संवाद पनि गर्छन् उनी र कतिपय समयमा ती क्यानभासमा बनेका आकृतीहरु सजीव बन्दै यहाँ यो रंग लगाउ भनेको जस्तो भान पनि पर्दछ उनलाई । यो कलाको उच्चतम विन्दु हो जहाँ कलाकार केवल एउटा कामदार जस्तो मात्र हुन्छ र क्यानभास र तिनमा बनेका आकृतीहरु नै मार्गनिर्देशक बन्दछन् ।

कलाका विभिन्न आयामहरुलाई खोतल्दै गर्दा यदाकदा भेटिने पात्र मध्येका एक जीवन राजोपाध्ययको कलाको यात्रा अझ सफल बनुन् र अझ बढी सफलताका शिखरहरु चुमुन् !!!

Back to top button