साधनाबाट बन्दछ सजीव चित्रकला

खोज पत्र
खोज पत्र २२ बैशाख २०७८, बुधबार ०६:००
7 Min Read
Aa

समय र कालखण्डले परिवेशलाई छुट्टै रुप र आकार दिन्छ । जब त्यो कालखण्ड भनौं या समयले मानिसहरुका लागि महत्व राख्न थाल्दछन् । तब त्यस काल खण्ड ऐतिहासिक बन्दछ । घटनाक्रमको फेहरिस्ता कालान्तरमा गएर इतिहास बन्ने हो । यस्ता विषय विभिन्न युग, कालखण्डसँग पैठाजोरी खेल्दै जुनसुकै राष्ट्रमा बन्ने गरेका छन् । सायद मानव सभ्यता विकासक्रम सँगै इतिहास लेखिने, बदलिने हुँदै आएको परिप्रेक्ष्यमा हामी २१ औं शताब्दीमा प्रवेश गरेका छौं । कुनै पनि देशको इतिहासलाई परिभाषित गर्न त्यहाँका संस्कृति, सम्पदा, सांस्कृतिक धरोहर तथा कलालाई मापदण्डको रुपमा प्रयोग गर्न सकिन्छ । इतिहासको यस्तै पाटो संस्कृतिसँग जोडिएका कलाहरुको विषयमा अन्तरंग कुराकानीका लागि आजको पात्र हुन्– समुन्द्रमान सिंह श्रेष्ठ ।

नेपाल भूपरिवेष्ठित देश भएको कुरा सर्वविदितै छ । जुन देशमा समुन्द्र नै छैन त्यहाँ जन्म लिएका कलाकार समुन्द्रमान समुन्द्र जतिकै अगम्य छन् । सानो उमेरदेखि नै चित्रकारिता बनाउन भन्दा ‘लेख्न’ रुचाउने उनि त्यति बेलाका चित्रे कथाहरु ‘नागराज, सुपर कमाण्डो ध्रुव, स्वस्थानी’जस्ता चित्रकथाहरु हेर्दा उनलाई लाग्थ्यो कि –‘यस्तो चित्रहरु म पनि लेख्न सक्छु ।’ यही चित्रहरु लेख्ने हुटहुटीले गर्दा नै उनले चित्रकलासँग सम्बन्धित ज्ञानका लागि उनी गुरु प्रेममान चित्रकारसँग सँगत गर्न पुगे । वि.सं. २०४९ सालमा करिब ६ महिना उनकै सामिप्यमा रहेर औपचारिक रुपमा पौभा चित्रकला सिक्न पुगे । जहाँ भगवान बुद्धका विभिन्न आयामहरुको कथाहरुलाई चित्रमार्फत लेख्न अनि ती चित्रहरुसँग घण्टौं मनोवाद गर्नुमा उनि रमाउँथे ।

खोजपत्रको सम्वाददाताहरु उनको घरमा पुग्दा उनि मिठो मुस्कानकासाथ स्वागत गर्न बाटैमा आइपुगेका थिए । घरभित्र छिर्दा त पुरै संग्राहालयमा छिरेको जस्तो आभास भयो नि ! भन्दा उनि मुस्कुराउँदै भन्छन्–‘म प्राय घरबाट बाहिर निस्किन्न, मलाई मनोरञ्जन दिने साधनहरु त घरमै हुनुप¥यो नि, जसले मलाई भरपुर आनन्द देवोस् ।’

कुराकानीका क्रमलाई जोड्दै इतिहास र भविष्यलाई एकाकार गर्नका लागि उनका चित्रहरुको योगदानबाट कुराको पोयो फुक्यो । ऐतिहासिक कलाकृतिलाई आधुनिकतासँग मिसाएको आरोप लाग्ने गरेको कुरालाई खण्डन गर्दै उनि बताउँछन् कि–‘ऐतिहासिक कलाकृतिहरु एकै दिनमा बनेका होइनन्, हामीसँग अहिले भएका केही चित्रहरु १३ औं शताब्दीकासम्मका पाइन्छन् । यसको मतलव त्यो भन्दा अगाडिका शताब्दीहरुमा त्यस्ता चित्रहरु नबन्ने गरेका हुन् त ?’ उनि प्रश्न गर्छन् ?

चित्रकलाहरु एकै दिनमा बन्ने होइनन् । त्यसकालागि निरन्तर अभ्यास र साधना जरुरी हुन्छ । अझ देवी देवताहरुको गाथा तथा कथाहरुलाई समावेश गर्ने पौभा चित्रकलामा अझ विशिष्ट किसिमका साधना तथा नियमहरु लागु हुन्छन् । कैयौं दिन अनि कयौं रात जसको बारेमा चित्रहरु कोरिँदै हुन्छ तिनका मर्महरु नमरुन् भनी आध्यात्मिक गुरुहरुको साथ र विभिन्न धार्मिक पुस्तकहरुमा लेखिएको श्लोकहरुलाई मनन र हृदयङ्गम गर्नु आवश्यक छ । जस्तो कि, सनातन धर्मका पुजित देवताहरु शिव, विष्णु, देवी लगायतका गाथाहरुमा बर्णित श्लोकहरुलाई अर्थपुर्ण ढङ्गबाट मनन गर्दै तिनका विशेषताहरु सँग खेल्दै अनेकौं घण्टाहरु विताइसकेपछि एउटा चित्रको आकृति मानसपटलमा चित्रित हुन्छ । ती आकृतिहरु जब मानसपटलमा आउँछन्, तिनलाई स्केचमा मूर्त रुप दिइन्छ । त्यसका लागि धेरै समय कल्पना लोकमा नै विताउनुपर्दछ । जब ती कल्पनालोकबाट मानसपटलमा अनि मानसपटलबाट स्केचमा आइसक्छन्, तिनलाई अझ खार्दै कस्तो किसिमका रङ्ग, आकृति, आभामण्डल दिने भन्ने कुरा एक दुई बसाइमा सम्भव हुँदैन । त्यसका लागि त वर्षौंको साधना, दृष्यावलोकनको आवश्यकता पर्दछ । तव बल्ल बन्दछ एउटा सजिव चित्रकला ।

त्यस्ता चित्रहरु कुनै साधकका लागि महत्वूर्ण दस्तावेज वा भनौं साधना सामग्री नै सावित हुन्छन् । कतिपय चित्रहरु साधकहरुले आफ्नो साधना स्थलमा राखि जब साधनारत हुन्छन्, उनिहरुले मैत्रीभाव व्यक्त गर्दछन् । कुनै पनि कलाकार अमर हुने त्यही मैत्रीभावले नै हो जस्तो लाग्दछ समुन्द्रलाई ।

संघर्षको क्रममा कुनै दिन यस्ता पनि थिए जुनबेला चित्रकलाहरु विक्रि नभएर उनि हैरान हुन्थे । त्यस्तो बेलामा उनलाई लाग्दथ्यो कि उनको कलाकृतिहरु उत्कृष्ट नै छन् र पनि किन मानिसहरुले उनको चित्रकलाहरु किन्दैनन् ? समयक्रमसँगै आजको दिनसम्म आइपुग्दा ‘समुन्द्रको नयाँ चित्रकला आयो रे’ भनि मानिसहरु खोजी खोजी हेर्न लालायित हुन्छन् । त्यस्तो समाचार जब उनले सुन्छन् तब उनि आफ्नो कलाप्रतिको समर्पणलाई सम्झेर भावविभोर हुन्छन् ।

कतिपय कलाहरु विभिन्न सिकारु कलाकाहरुले सन्दर्भ सामग्रीको रुपमा समेत प्रयोग गर्दा उनि खुसी नै हुन्छन् । ‘मेरो कला जीवन्त भएर नै त कसैले सन्दर्भ सामग्री बनाउँदै छन् । यसमा म सदैव खुसी नै रहन्छु ।’ कतिपय अवस्थामा चित्र कोर्दै जाँदा विभिन्न साधनाहरुको आवश्यकता पर्दोरहेछ । कहिले एकथरी गर्नुपछै त कहिले अर्कोथरी । देवीदेवताहरुको भाग भंगीमा दुरुस्त उतार्नको लागि कठिन मिहिनेत आवश्यक पर्दछ । तर, यो म अन्र्तमुखि भइ निजि निवासमा नवसी सम्भव हुँदैन भने कहिलेकाहीं गुरुको आशिर्वाद विना पनि सम्भव हुँदैन । यी दुवैको समिश्रणले नै मैले बनाउने गरेका चित्रहरु सदैव जिवन्त हुन्छन् जस्तो लाग्छ, मलाई ।

सँधै पौभामा मात्रै उनको मन रमेन । बाल्यअवस्थामा देखिएका ती कार्टुनजस्ता चित्रकथाहरुले पनि उनको कला सिर्जनामा छाप छोडेको देख्न पाइन्छ । सनातन धर्मका देवी देवताहरुलाई समेत विभिन्न कथाको आधारमा बनाउने बाहेक उनि अमूर्त चित्रकला, सरियल चित्रकलामा पनि नयाँ नयाँ प्रयोगहरु गरिरहेका हुन्छन् ।

‘आफुसँग भएका सीपहरुलाई प्रस्फुटन गर्नका लागि यी माध्यमहरुले पनि हर सम्भव सहयोग नै गर्ने गर्दछ । चित्रकलाको उच्चतम विन्दु अमूर्त चित्रकला हो जस्तो लाग्छ, त्यसमा साधारण पन हुँदा हुँदै पनि त्यो असाधारण पनको अवस्था हो । जहाँ अव्यक्त चिजहरु, आकृतिहरुलाई व्यक्त गरिन्छ। कुनै मानिसको लागि यो के बनाएको होला? यस्तो चित्रहरु त बच्चाहरुले समेत बनाउन सक्दछन् भन्ने जस्तो लागेता पनि कलाको उच्चतम प्रस्फुटन जुन अव्यक्त हुन्छन् ती अमूर्त चित्रकलाबाट व्यक्त गर्न सम्भव हुन्छन् ।’

उनी कुनै धार्मिक वा आध्यात्मिक विषयमा चित्र कोर्नु अगाडि सम्बन्धीत विषयलाई बढो सुक्ष्म तरिकाले अवलोकन गरेर मात्र चित्र लेख्न सुरु गर्दछन् । कुनै पनि कुराहरुमा लामो समयको साधनापछि मात्र निखारता आउँछ । आफ्नो मनमा लागेका कुराहरुलाई एकोहोरो ढंगमा निरन्तर साधनारत रहँदामात्र त्यसको अन्तिम विन्दुमा पुग्न सफल भइन्छ । आधुनिक विज्ञानका विभिन्न प्रविधिहरुले मानिसलाई दास बनाइरहेको परिप्रेक्ष्यमा जसलाई आफ्नो भविष्य थाहा छ, उ नभुली आफ्नै साधनामानै रहिरनु पर्दछ भन्ने विश्वास लिने समुन्द्रमान आधुनिक विज्ञानको आविष्कार सामाजिक सञ्जालले भुलाउने भएकाले उनि त्यसबाट टाढा रहेर आफ्नो साधनामा मात्र लीन रहन्छन् ।

पौभा, आधुनिक, अमूर्त, सरियल लगायतका चित्रकलामा लाग्नको लागि मानिसहरुले निरन्तर साधना गर्नु जरुरी छ । निरन्तर साधनाले मात्र आफ्नो काम प्रतिको मोह अन्तिम विन्दुमा पुग्दा दर्शाउन सफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्