लोक लयमा मृणशिल्पः सामा–चकेवा

उदाउँदो सूर्यलाई अर्घ दिई लोक पर्व छैठ सकिन्छ । यसैसँग शरद ऋतुको आगमनले हिमालयमा चिसो बढ्दै गएपछि रङ्गी–बिरङ्गी चराचुरुङ्गी मिथलाञ्चलतिर प्रस्थान गर्छन् जसलाई लोक पर्व सामा–चकेवामा पनि उल्लेख गरिएको छ । यिनै हुन् सामा र चकेवाका प्रतिनिधि पात्र । कार्तिक मासको शुक्लपक्ष आउँदा दिनदिनै बढ्दै गएको जूनसँगै म मेरो बाल्यकालमा फर्कन्छु । सिरहा जिल्लाको लहानमा बितेको मेरो वाल्यकाल । सोमबार र शुक्रबार लाग्ने साप्ताहिक हाटमा मृणशिल्पले ओगटेको ठूलो भाग आज पनि रोमान्चित गर्छ । लोक पर्वका सामा–चकेवाको प्रयोजनका लागि चाहिने रङ्गीचङ्गी माटोको मूर्तिले भरिभराउ हाट बजार । माटो मेरो बाल्यकालदेखि नै प्रिय वस्तु रहेको छ । हुन पनि हो, भनिन्छ पहिलो पटक बच्चा बामे सर्न थालेपछि बालकले आफ्नो हातले टिपेर मुखमा हाल्ने वस्तु माटो नै हो । मेरो चालीस वर्षको कलायात्राको श्रीगणेश मृणशिल्पबाट भएको हो भनी भन्न सकिन्छ । मेरो कलायात्राको पहिलो गुरु मेरो हजुरआमा हुनुहुन्थ्यो भने दोस्रो गुरु स्वर्गीय श्याम पण्डित हुनुहुन्थ्यो । वाल्यकाल र मेरो लहानको सम्झना आज पनि ताजै छ । छैठ सकिने बित्तिकै सामा खेल्ने शुरु भैहाल्थ्यो ।

सामा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घ जीवन र समृद्धिको कामना गरी मनाइने पर्व भए पनि यसलाई  सामा खेल्नु भनिन्छ जसमा मृणशिल्प तथा लोकगीत गायनको विशेष समागम हुने गर्दछ । मिथिलाको मृणशिल्प उसको  शैलीगत आकार, अलङ्कारिक सतह सज्जा चहकिलो हुने गर्दछ, आकर्षक हुने गर्दछ । यहाँ अधिकांशः हात्ती, घोड़ा, गोरु, बाघ, चराचुरुङ्गीजस्ता आकृति बनाइन्छ । विशेषतः पशु–पन्छी आकृतिका, खिलौना मात्र  होइन कुनै अलौकिक ऊर्जाले परिपूर्ण मिथकीय जीव प्रतीत हुने गर्छ्न् । भाइ–बहिनीको प्रेमको प्रतीक पर्व ‘सामा–चकेवा’ मा बनाइने मूर्ति घरघरमा दिदीबहिनीहरूले बनाउने गर्छन् । यी मूर्तिहरू काँचो माटोले बनाइन्छन् । भूमि चित्र र भित्ती चित्रको बारेमा प्रत्येक चेलीबेटीले जान्नुपर्ने अनिवार्यता रहेझैँ गायन र मूर्तिकलाको पनि जानकारी हुनु जरुरी मानिन्छ । मिथिला कला पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आज जीवन्त परम्पराको रूपमा रहेको छ । यहाँ नवपुस्तालाई पहिलोपल्ट वसन्त पञ्चमी यानी सरस्वती पूजाको दिनदेखि अक्षर ज्ञानको प्रारम्भ गराइन्छ भने चित्रकला शिक्षाको ज्ञान तुसारी पूजा यानी माघे सक्रान्तीको दिनदेखि सिकाइन्छ । यसरी नै मूर्तिकला तथा गायनकलाको ज्ञान सामा–चकेवा पर्वदेखि दिन थालिन्छ । यसप्रकार, नवपुस्ताले कलाभित्रको शिल्प र सौन्दर्य आफ्नो जेठो पुस्ताबाट सिक्ने गर्दछ्न् । तसर्थ मिथिला कला–संस्कृतिको वैभवभूमि  रहेको छ ।

फोटोः अनलाइन

कार्तिक महिनाको शुक्ल पक्ष पञ्चमी तिथिदेखि पूर्णिमासम्म सामा–चकेवा पर्व मनाइने भएता पनि यसको प्रारम्भ द्वितीया तिथिदेखि नै मान्न सकिन्छ । द्वितीया तिथिमा महिलाहरूले एकाबिहानै समूहमा भेला भई गोवर्धन पूजा गरी हस्त निर्मित एक किसिमको गोबरको भाँडोमा केराउको दाना (बजरी) राखी गोधन कुट्ने गर्दछन् र भाइलाई खुवाउन बजरी सङ्ग्रह गर्ने समेत गर्दछन् । उनीहरू गोधन कुटेपछि सामा र छठको गीत गाउँदै बाँसको टोकरी र खुर्पा लिई पवित्र ठाउँको माटो लिएर घर फर्कन्छन् । सो माटोले छठ–खरनाको लागि चोखो पानी मिसाएर चुल्हो र सामा बनाउने गर्छन् । विधिवत रूपले सामा–चकेवाको मुर्तिहरू खरनाकै दिन बनाउन शुरु गरिन्छ । मूर्तिहरू बनाउन माटो, बाँसको कप्टेरो, सन (जूट), जौ, कौडी, सिक्की र  करजन्नी चाहिन्छ । करजन्नी एक प्रकारको लहराबाट प्राप्त हुने फल हो जसको माथिको भाग कालो र बाँकी भाग रातो हुन्छ । यसमा विभिन्न नामका पात्रहरूको प्रतीकात्मक मूर्तिहरू हुन्छन् । जस्तैः सामा, चकेवा, बृन्दावन, चुगिला, सतभैया, भैया बटतकनी, मयुर, वनतितिर, खरलिच, झाँझी कुकूर, मलिनिया, ढोलकीया, बजनीयाँ लड्डु बेचनी, कहरिया, भरिया, चुगिलाको स्वास्नी आदि ।

आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवं लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको सामा–चकेवा पर्व प्राचीन आर्यावर्तको मिथिला, मगध, बैशाली र पाटलीपुत्र आदि राज्यहरु अर्थात आधुनिक कालमा नेपालको तराई–मधेश, भारतको विहार, झारखणड र उत्तर प्रदेशको केही भूभागमा संस्कृतीको रुपमा मनाइने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ’सामा–चकेवा’ हर्सोल्लास र लोकाचारका साथमा मनाईने एउटा विशेष लोक पर्व हो । यो पर्व पूर्वी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन् । यो पर्व कार्तिक महिनामा केवल हिन्दू समुदायका महिलाहरुद्वारा मनाइने गरिन्छ ।

कलाकार विजय दत्त मणी सामा- चकेवा को मूर्ति बनाउदै ।

कलाकार विजयदत्त मणिका अनुसार दाजुभाइ–दिदीबहिनीको प्रेमको प्रतीक यो पर्व पद्म पुराण, साम्ब पुराणजस्ता आदि ग्रन्थहरूमा सामा–चकेवाको सम्बन्धमा धेरैजसो कुरा वर्णन गरिएको भए तापनि यहाँ स्कन्द पुराणमा उल्लेख भए अनुसार संक्षिप्त कथा उल्लेख गरिएको छ । कथा यसप्रकार छ– द्वापर युगमा भगवान कृष्णको दुइटा सन्तान छोरा साम्ब र छोरी सामा (श्यामा) हुन्छन् । सामा तरुनी भइसकेपछि ऋषिको रूपमा रहेका चकेवा (चारुवक्य) सँग प्रेम गर्ने गर्छिन् र उनीसँग भेट्न बृन्दावनमा जाने गर्छिन् । यो कुरा थाहा पाएपछि चुगिला (चुडक) भन्ने एक खलपात्रले सामाको बुबा कृष्णसङ्ग कुरा लगाउँछ र कृष्णले छोरीलाई बोलाई रिसको झोँकमा तिमी आजदेखि चरा होऊ भन्ने श्राप दिन्छन् । त्यही दिनदेखि सामा चराको योनीमा प्रवेश गर्छिन् र वनजङ्गल भौँतारिन थाल्छिन् । यो कुरा चकेवाले थाहा पाएपछि सामाको प्रेममा व्याकुल हुन जान्छ । सामासँग भेट्न ऊ पनि आफ्नो शक्तिद्वारा चराको रुप धारण गर्छ र सामाको खोजिमा वनजङ्गल चहार्न थाल्छ । बहिनी सामालाई यस्तो कठोर सजाय नदिनु भनी भाइ शाम्बले बुबासँग लाख याचना गरे पनि केही सिप नलागेपछि शाम्ब प्रतिज्ञा गर्छन् जबसम्म बहिनी सामालाई चरा योनीबाट उद्धार हुँदैन तबसम्म म पनि घर फर्किन्नँ । यसपछि शाम्ब कठोर तपस्या गर्न थाल्छन् । उनको तपस्याबाट प्रसन्न भई भगवान कृष्ण सामालाई श्राप मुक्त गरिदिन्छन् । यसरी भाइको अथक प्रयास र साधनाको प्रभावले बहिनी सामा मानव योनीमा फर्किन्छे । त्यसपछि सामा पुनः पति रूपमा स्वीकार गरिसकेका प्रेमी चकेवासँग बृन्दावनमा भेट्न जाँदा बृन्दावन जानुअघि नै इष््र्यालु चुगिलाले बृन्दावनमा आगो लगाइदिन्छ । भाइ शाम्बले यो कुरा थाहा पाएर बृन्दावनको आगो निभाउँछन् र चुगिलालाई समातेर सामा कहाँ ल्याउँछन् । यसपछि सामाले कुरा लगाउने चुगिलालाई गाली बेइज्जती गरी अगुल्टोले मुख, जुँगा पोलिदिन्छिन् । त्यसपछि सामासँग चकेवाको विहे हुन्छ र विदाइ गरिन्छ ।

यसरी खरनाको दिन सम्पूर्ण मूर्ति बनाउन सम्भव नभए तापनि खासगरी सामा, चकेवा, बृन्दावन र चुगिला बनाउन अनिवार्य हुन्छ । एघार दिनसम्म मनाउँदै गरिरहने क्रममा सम्पूर्ण मूर्ति पात्र र यससँग सम्बन्धित सामग्रीहरू जस्तैः घरायसी सामान, भाँडाकुँडा, पौती–पेटारी इत्यादि माटाकै बनाउनुपर्छ । यी सबै मुर्तिहरूलाई लहरै सजाएर एउटा टुकी बाली बाँसको डालामा राखिन्छ । विहे भएका चेलीबेटीहरू प्रायः माइतमा आएर नै सामा पर्व खेल्ने गर्छन् । यो रातको समयमा खुल्ला आँगन, खलिहान, चोक एवम् चौतारीमा खेलिन्छ । सामालाई घरभित्र राख्न वर्जित हुन्छ । सामालाई देउताको रूपमा मानिने चलन भएकोले आँनको पवित्र ठाउँमा राखिन्छ । राति खाना खाइसकेपछि दिदी–बहिनीहरू आ–आफ्नो घरबाट टाउकोमा डाला राखी गीत गाउँदै बाहिर निस्कने गर्छन् । गीत बिनाको सामा खेल्न असम्भव भएकोले एक ठाउँमा भेला भई सामूहिक स्वरमा दाजुभाइको आरोग्य, ऐश्वर्य र प्रशंसाभाव मिश्रित भएका अनेक मौलिक गीतहरू गाइन्छ । यसमा गाइने गीतहरूको क्रम विधिगत तरिकाले हुन्छ । सबभन्दा पहिले घर–देउताको अराधना, वन्दना गीत, त्यसपछि दाजुभाइको दीर्घायु कामनाको गीत, त्यसपछि बृन्दावन डढाउने र निभाउने गीत र त्यसपछि चुगिलाको जुँगा पोली कालो मोसो दल्ने, गाली गर्ने गीत एवम् हाँसपरिहासका गीतहरू गाइन्छ । खेलको अन्त्यमा बहिनीहरू वृत्ताकार बसेर आफ्नो डाला अर्कोलाई र अर्काको डाला आपूmले गीत गाउँदै घुमाउने गर्छन् जसलाई डालाफेर भनिन्छ ।

खेलिसकेपछि सामालाई नयाँ धान र दूबो खाना खुवाई शीत पान गर्न आँनमा राखिन्छ । दाजुभाइ नभएका दिदीबहिनीहरू सामाको बेला उदास हुन्छन् र भाइको लागि देउताहरूसँग प्रार्थना गर्ने गर्छन् । सामालाई छोरीको रूपमा हेरिने भएकोले विसर्जन (भसान) हुनुभन्दा पाँच दिन पहिलेदेखि विदाइ गीत गाइन्छ । विसर्जनको दिन आँनमा अरिपन बनाई सजाएर राखिन्छ । दहीचिउरा (नवान्न), सक्खरको भोग लगाइन्छ र सामाका जुठो प्रसादको रूपमा खाने गरिन्छ । अनि दिदीबहिनीले दाजुभाइको गमछामा पाँच मुट्ठी चिउरा र भुसवा राखिदिन्छन् जसलाई फाँर भर्नु भनिन्छ ।

दाजुभाइलाई अरिपनले सजिएको पिर्कामा बसाई मुख्य मूर्ति सामालाई खोइँछ भरिन्छ र मुख्य सामा बाहेक अन्य सबै मूर्तिलाई घुँडामा राखेर फोड्न लगाइन्छ । त्यस बापत दाजुभाइले इनाम बख्सिसको रूपमा दिदीबहिनीलाई यथाशक्य लुगा, गहना र नगद दिने गर्दछन् । अनि दिदीबहिनीले गोवद्र्धन पूजाको दिन सङ्ग्रह गरेको केराउको दाना (बजरी) आफ्नो हातले खुवाई तिम्रो काया (जिउ) बज्रजस्तो होस्, निरोगी होस् भनी आशीर्वाद दिने गर्छन् । यो कार्य सम्पन्न भएपछि चुँडिएका सम्पूर्ण सामाकृतिलाई सजिएको डालामा राखी भसान गर्न अर्थात् सेलाउनका लागि लगिन्छ । भसान गर्ने दृश्य आनन्द र रमिताले भरिएको हुन्छ । पूर्णिमाको उज्यालो रातमा अगाडि–पछाडि भाइहरूको जमात रक्षकका रूपमा र दिदीबहिनीहरू समूहको बीचमा ठूलो स्वरमा बाजागाजाका साथ वियोगान्त र बटगमनी गीत गाउँदै बाटो हिँड्दै जान्छन । यो साल कुन दिशामा भसान गर्ने भनी मुहूर्त पात्रोले निर्धारण गरेको हुन्छ । त्यही दिशामा गई भसान गर्ने ठाउँको चारैतिर सबैले चार–चारवटा मशाल गाडिदिने गर्छन् । जोतेको (कुँड) खेत वा खोलाको किनारमा सेलाइन्छ र हे सामा ! अगामी साल फेरि फर्की आउनू भन्दै सबै ललनाहरू उदास मन लिएर आ–आफ्नो घर फर्कन्छन् ।

सामाका समस्त पात्रहरू सामाजिक परिवेशसँग गाँसिएका हुन्छन् । गीत गाउँदा बहिनीको ठाउँमा आफ्नी बहिनीको, भाइको ठाउँमा आफ्नो भाइको र चुगिलाको ठाउँमा सोल्टाको नाउँ लिई गीत गाइन्छ । बहिनीलाई  अप्ठ्यारो समय परेको बेला विपदबाट मुक्ति दिलाउन भाइ जेसुकै गर्न पनि तयार हुन्छन् भनी सन्देश दिने गरिन्छ । भाइको वीरता, उदारता र बहिनीप्रतिको निःस्वार्थ प्रेम एवम् सम्बन्धमा प्रगाढता देखाइएको छ । अर्को अर्थमा हेर्ने हो भने परम्परागत संकीर्ण भावनालाई परिवर्तन गरी स्वतन्त्रता दिनेतर्फ उन्न्मुख गराइएको देखिन्छ । सामाजिक परिबन्धका कारण महिलाले स्वतन्त्र रूपमा खुलेर आफ्नो विचार राख्न नपाउने, आफ्नो स्वेच्छाले आफ्नो जीवनप्रतिको निर्णय गर्न नपाउनेजस्ता महिला हिंसाका कुराहरूलाई यसमा प्रतिकार गरिएको हुन्छ । समाजमा असल विचार भएको मानिसलाई आदर, प्रशंसा र कुविचार भएकोलाई गाली र घृणा गर्ने गरिन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ । सामालाई छोरीको रूपमा हेरिने भएकोले उनलाई अत्यन्त कोमल र आदरका शब्द भावहरू गीतहरूमा व्यक्त गरिएको हुन्छ । एकदिन पनि नबिराइकन एघार दिनसम्म अखण्ड रूपमा प्रत्येक रात सामा खेलिने गरिन्छ । एकदिन पनि बिराउनुको अर्थ सामा उपवास (भोकै) बस्नु हो भनिन्छ । त्यसकारण प्रत्येक दिन सामा खेली सकेपछि मूर्तिहरूलाई धान र शीतको थोपा खुवाइन्छ । सामा विदाइ हुँदा छोरीको विदाइमा ससुराली जाँदा माइतीबाट दिइने आवश्यक घरायसी सामग्री खाट, ओछ्यान, बिछ्यौना, लत्ताकपडा, गरगहना, भाँडाकुँडा, दराज, बाकस, पौती, पेटारी लागायत सबै वस्तु माटाकै बनाई त्यसमा खाद्यान्न वस्तु (चामल, दाल, पिठो, चिउरा, गेडागुडी तथा तरकारी) समेत दिई इज्जतसाथ विदाइ गरिन्छ । सामा चकेवा खेलभित्र एउटा वृहत् सामाजिक परिवेश रहेको हुन्छ । यसमा भाइबहिनी लगायत सालो, भेनाजु, पति, पत्नी सखी–सहेली, भरिया कहरिया, ढोलिया, बजनीया, मलिनिया लड्डु बेच्ने आदि पात्रहरू हुन्छन् ।

फोटोः अनलाइन

सामा चकेवामा कला पक्षको अद्भुत र विलक्षण सङ्गम रहेको पाइन्छ । यो मौलिक रूपमा मनाइँदै आइरहेको सामा चकेवा पर्वलाई आधुनिकताले कुनै असर गरेको पाइँदैन । यसमा गाइने गीत र मूर्तिकला सीप सिक्न प्रशिक्षणको आवश्यकता हुँदैन । यो एक पुस्ताबाट अर्को पुस्तामा सहजै हस्तान्तरण हुँदै जान्छ । सामा गीतहरूको लय, धुन आफ्नै कसिमको हुन्छ । यो गीत अन्य समयमा नगाइकन केवल सामा पर्वकै बेलामा गाइन्छ । यसमा प्रयोग हुने सम्पूर्ण कला सामग्री प्राकृतिक र कम खर्चिलो हुन्छ, जुन आफ्नो वरिपरिका वातावरणबाट सहजै उपलब्ध गर्न सकिन्छ । सामाका मूर्तिहरूको स्वरूप संरचना अनौठो किसिमको प्राचीन कला हो । माटो मुछिमुछि बनाइने यी मूर्तिहरूको जिउ हुँदैन । पिर्का बनाई मूर्तिका घाँटी टाँसिएर अनुहार बनाइएको हुन्छ । आँखा, नाक, मुख र कानको बनावट आफ्नै किसिमका हुन्छन् ।मूुर्तिहरूलाई मुकुट पनि लगाइएको हुन्छ । मुकुट सिँगार्न जौका दानाहरू टाँसिंएको हुन्छ । मुख्य मूर्तिहरूको कपाल जुटले, मुख र ओठ कौडीले, आँखाको नानी करजन्नीले बनेको हुन्छ । सबै मूर्ति एकैनासको देखिएकोले लिङ्ग भेद छुट्याउन पुरुष पात्रलाई जुँगा र पगडी बनाइदिने गरिन्छ । भाइ प्रतीक भएका मूर्तिहरूलाई माटाकै छाता बनाएर ओढाइन्छ । बृन्दावन भनेको एक किसिमको जङ्गल हो तर यसलाई मानवीयकरण गरिएको हुन्छ र यसको टाउकोमा एक मुठ्ठो सिक्की ( एक किसिमको घाँस) घुसारेको हुन्छ । स्मरणीय के रहेछ भने सामाका प्रायः पात्रहरूको आकृति चराको स्वरूपको हुन्छ । पात्र र शैली एउटै भए तापनि गाउँ, ठाउँ, जात र व्यक्तिपिच्छे यसको आकारप्रकार फरक हुन जान्छ । सामाका मूर्तिलाई रङरोगन गर्न र अरिपन बनाउन पिठारको प्रयोग गरिन्छ । प्रायः रातो रङको लागि गेउर रङ्ग (एक किसिमको माटो) को प्रयोग गरिन्छ । यी सबै मूर्तिहरू हस्तकलाद्वारा निर्मित बाँसको डालामा राखिन्छ । यसरी दिउँसो मृणशिल्पको अभ्यास तथा मध्यरातसम्म गुन्जायमान हुन्छन् गाउँ, टोल र बस्ती ।

वृन्दावन में आगि लागलै,

किओने मिझाबए हे,

हमरो से फलाँ भइया,

अगिया मिझाबए हे ।

(एस.सी.सुमन, लोक चित्रकलामा परिचित नाम हो । विशेषतः उहाँको मिथिला चित्रकलामा विशेष नाम छ ।[email protected])

Back to top button