घेरा बाहिर

खोज पत्र
खोज पत्र २८ मंसिर २०७८, मंगलवार २२:१६
7 Min Read
Aa

एउटा सिमा वा परिधिभित्र कलालाई समेटिनु अन्याय हुन्छ । कलाको दायरालाई कुनै सिमाले बाँधिनु हुँदैन भन्ने अवधारणा अनुसार तारागाउँ म्युजियममा एक कला प्रदर्शनी भइरहेको छ । उक्त कला प्रदर्शनी डिसेम्बर ९ देखि १७ तारिख सम्म चल्नेछ । कलालाई फरक तरिकाले प्रस्तुत गरिएको प्रदर्शमा १० जना कलाकारहरुको प्रस्तुती रहेको छ । जसमध्ये एक कलाकार सुजन चित्रकारले भने आफुले ९ तारिखकै दिन प्रर्दशनी गरेका थिए । त्यसलाई भने भिडियो मार्फत अवलोकन गर्न सकिएला तर प्रत्यक्ष अवलोकन भने छुटाइसक्नुभएको छ ।

अमृत कार्की, विधाता के.सी., जुपिटर प्रधान, कपिलमनी दिक्षित, मनिषलाल श्रेष्ठ, नवेन्द्र लिम्बु, प्रतिमा थकाली, रविन्द्र श्रेष्ठ, रोशन मिश्र र सुजन चित्रकारको प्रस्तुतीहरु समेटिएको प्रदर्शनलाई चित्रकलामा एउटा फरक आयामको नामले पनि चिनिन्छ । कुनै विषयलाई क्षणिक समयमा त्यसको प्रभाव परोस् तथा मानिसलाई विषयप्रति चाख जगाउन मदत गरोस् भन्ने उदेश्य पनि यसले बोकेको हुन्छ ।

इन्स्टलेसन आर्ट सन् १९७० को दशकमामार्सेल डुचाम्प जस्ता पहिलेका कलाकारहरुले यसलाई सुरु गरेको मानिन्छ । विभिन्न सामग्री जो साधारणतय मानिसहरुले आफ्नो दैनिक जीवनमा उपयोग गरिरहेका हुन्छन्, तिनीहरुलाई नै विभिन्न उपमालाई कलाको रुपमा प्रस्तुतीकरण गर्ने यो शैली युरोपका विभिन्न देशहरुमा विकसित भइ नेपालमा पनि देखिन थालेको छ ।

यस्ता कलाहरुलाई क्षणिक समयमा धेरै कुरा बताउन सकिने हुँदापनि कलाकारहरु यसलाई आफ्नो विचार प्रस्फुटनको शक्तिशाली माध्यमको रुपमा मान्दछन् ।

तारागाउँ म्युजियममा भइरहेको उक्त कलाप्रदर्शनीमा मनिषलाल श्रेष्ठले ठेलागाडा नाम दिइएको एउटा इन्टस्टलेसन प्रदर्शनीमा राखेका छन् जसमा ठेलागालाई उल्टो बनाइ झुण्ड्याइएको छ । सामान्यतया ठेलागाडा श्रमजीवि मानिसहरुको प्रतिनिधित्व गर्दछ भने कुनै समयमा वीलियम कार्लोस् वीलिएम्सले ‘द रेड ह्वील व्यारो’ नामक एउटा छोटो तर शक्तिशाली कविता कारेका थिए । जसमा हुनेखाने वर्ग र हुँदाखाने वर्गको विचको संघर्षलाई केही शब्दमा व्यक्त गरेका छन् । सोही अनुरुप मनिषलाल श्रेष्ठले पनि नेपालमा विकसित श्रमजीविहरु बाहिर जाने क्रम र नेपाल भित्रै त्यस्ता श्रमजीवीहरु नपाइएकाले बाहिरबाट झिकाउनुपर्ने स्थितिलाई कटाक्ष गर्दै आफ्नो प्रस्तुती व्यक्त गरेका छन् ।

अर्का कलाकार रोशन मिश्रले ‘डिसइन्टिग्रेसन अफ स्पेस एण्ड इनर्जी’ नामदिइएको इन्स्टलेसन आर्ट राखेका छन्, जसमा बाहिरबाट हेर्दा टुटे फुटेका माटाका भाँडाहरुलाई संयोजन गरी आफ्नो कला प्रदर्शनीमा राखेका छन् । जसमा पृथ्वीमा पाइने माटोमाथि माटाका भाँडाहरु नै राखिएको छ । उनका अनुसार सबै मानिस तथा वस्तुहरुले केही न केही आकार लिएका हुन्छन् र ती आकारहरु दृष्य तथा अदृष्य दुवै हुनसक्छन् ।  माटोसँगको साइनो मानिसहरुको धेरै पुरानो हो किनकी माटोलाई विभिन्न आयामहरुमा प्रयोग गरिएको पाइन्छ । पूर्ण रुपमा यो संसार अनित्य छ र परिवर्तन स्वभाविक प्रक्रिया हो । समयसँगसँगै यी परिवर्तनहरुले गर्दा हाम्रो अस्तित्व विलाएर जान सक्छ जसरी ती माटाका भाँडाहरु कुनै बेला पानी राख्न नै वा केही राम्रो कामका लागि प्रयोग गरिन्थे तर अहिले ती फुटिसकेका छन् । चिजहरु विस्तारै माटोमा विलिन वा परिवर्तन हुँदै जाने प्रक्रियालाई स्वभाविक रुपमा देखाउन खोजेका छन् ।

कलाकार जुफिटर प्रधानले छरिएका टुक्राहरु शीर्षक दिई आफ्नो कला प्रस्तुत गरेका छन् । उनले माटोमा विभिन्न आकृतिका मुखौटाहरु र एउटा सावेल पनि राखेका छन् र कवितात्मक रुपमा उनले भनेका छन् कि –हामी सबै सभ्यताका लागि एक मुखौटा मात्र हौं । मानव सभ्यतालाई दोहन गर्ने हिटल र स्टालिनहरु हामी माझ नै छन् । किनकी यी त दिमागकै एउटा रुप मात्र हो । ती सभ्यताहरुले कति मानिसहरुलाई सकाएको छ । कति थिचोमिचोमा परेका छन्, ती सबैको लेखाजोखा गरेर साध्यनै छैन र अन्त्यमा हामी जति सुकै ठूलो भएतापनि इतिहासको गर्भमा हामी एउटा मुखौटामात्र हौं जो माटोमा नै गइ विलिन हुनेछन् ।

कलाकार अमृत कार्कीले हामी कहाँबाट आएका हौं, हामी को हौ ? र हामी कहाँ जाँदै छौ भन्ने शीर्षकमा एउटा ठूलो चट्टानलाई केही चिजले घोटेर धुलो बनाएको कला प्रदर्शनीमा राखेका छन् । हाम्रा प्रत्येक अनुभव, सोचाइ र भोगाइहरु विगतदेखि वर्तमानसम्म आउँद तिनीहरुबाट निर्देशित हुन्छन् । बाहिरबाट देखिने चिजहरुको वास्तविकता त्यस्तै नहुन पनि सक्छ किनकी जसरी प्रत्येक चट्टानहरुमा खिइने क्रममा विभिन्न ठाउँबाट धुलोखसीरहेका हुन्छन् त्यसरी नै हामी पनि बन्ने प्रक्रियामा छौं ।

कपिमणि दिक्षितले ब्रेकथ्रु शीर्षक दिई आफ्नो कला प्रदर्शनीमा राखेका छन् । जसमा एउटा ड्रमलाई हातले च्यातेको विम्व प्रयोग गरेका छन् । उनका अनुसार कोरोना महामारीका विचमा भएका सकसहरुलाई चिर्दै प्रेरणादायी रुपमा बाहिर निस्कने प्रयासलाई देखाउन खोजेका छन् । यसले हरेक मानिसको मनमा रहेका विभिन्न समस्याहरुलाई चिरेर बाहिर निस्कनुपर्दछ भन्ने सन्देश समेत दिन्छ ।

रविन्द्र श्रेष्ठले आफ्नो कलामा मानवताको दृष्टिकोणले हामी सबै अन्तरसम्बन्धित छौं भन्ने शीर्षकमा आफ्नो कला प्रस्तुत गरेका छन् । यस संसारमा जन्म लिने हरेक मानिसहरु मानवकै रुपमा प्रतिविम्बित हुन्छन् । उसले पाउने नाम, धर्म, संस्कार उसमा पछि आएर जोडिने विषय हुन् । त्यसैले हरेक मानिसले आफु र अरुका समस्याहरुलाई मानवताकै हिसावले हेर्नुपर्छ भनी अहिले म्यानमारमा भइरहेको अवस्थालाई आफ्नो कलामार्फत दर्शाउन खोजेका छन् ।

प्रदर्शनीमा अर्का कलाकार प्रतिमा थकालीले समानान्तर सामिप्यता शीर्षक अन्तर्गत बालुवाको घरहरु बनाइ इन्टलेसन आर्ट गरेकी छिन् । उनका अनुसार हाम्रा भौतिक आयामहरु हरेक दिन हाम्रो सोचाइ र धारणाजस्तै बदलिइरहेका हुन्छन् । तर हाम्रो शरीरले यी भौतिक आयामहरुलाई बाँकी रहेको चिजहरुजस्तै सम्झिरहेको हुन्छ । जुन कुनै हावाले र यत्तिकै पनि ढल्न सक्छ र अर्को रुपमा परिवर्तन हुन सक्दछन् । काव्यात्मक दृष्यहरुले यसलाई दिमागमा संग्रहित गरेको हुन्छ ।

विधाता केशीले भने शक्तिहीन शक्ति शीर्षक दिएर आफ्नो कला प्रस्तुत गरेकी छिन् । उनले पत्रपत्रिकाले मानिसहरुमा दिने सन्देश तथा त्यसको शक्ति सँधै रहिरहँदैन त्यसले समय अनुसार आफ्नो रुप फेर्दछ भन्ने सन्देश दिँदै भित्तामा पत्रिकाका रोलहरु बनाएर आफ्नो आर्ट प्रस्तुत गरेकी छिन् । उनका अनुसार आफ्नो असी वर्षीय पिताले सँधै पत्रपत्रिकाका समाचार पढ्ने तर कोरोना महामारीको समयमा पत्रिका ल्याउने मानिसमा कोरोना रहेको अवस्थामा त्यो पत्रिका हेर्दा सर्छ वा सर्दैन भन्ने सूचना नहुँदा ती पत्रिकाहरु बार्दलीमा खात लागेर बसेको अवस्था देखेपछि उनले ती पत्रिकामा आउने समाचारको प्रभाव शून्य रहेको विषयलाई प्रस्तुती गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Array