हामीले बेचेको चित्र काहाँ पुग्यो भनेर हामीलाई नै पत्तो हुँदैन

खोज पत्र
खोज पत्र ७ माघ २०७८, शुक्रबार ०६:००
6 Min Read
Aa
शिव ताण्डव/ तस्विर सौजन्यः उदयचरण श्रेष्ठ

परम्परागत चित्रकलामा कलाकार उदय चरण श्रेष्ठको नाम नौलो भने होइन । अनवरत रुपमा विगत चार दशक देखि चित्रकलामा नै तल्लिन चित्रकार उदय चरणको जन्म काठमाडौँको नरदेवीमा भएको थियो । सानो उमेरदेखि विद्यालयको होस्टेलमा बसी पढेका उदय चरणले कक्षा ५ सम्मको अध्ययन त्यसरी नै पूरा गरेका थिए । त्यसपछि बल्ल उनी आफ्नो घर नरदेवीमा बसी अध्ययन गर्ने सौभाग्य पाए । बाल्यकाललाई सम्झदा उनको स्मरणमा गुच्चा खेल्ने, चङ्गा उडाउने जस्ता क्रियाकलापहरुको त्यति सम्झना छैन, सम्झना छ त बस् होस्टेलको कडा नियम अनि होस्टेलको भित्तामा कोरिएका अष्टमात्रिका, भैरव आदिका चित्रहरुको । उनलाई पहिलेदेखि नै त्यस्ता चित्रहरुले तान्ने गर्दथे र उनी फुर्सदको समयमा ती चित्रहरु बनाउँदै आफ्नो समय व्यतित गर्दथे ।

विद्यालयमा पढ्दा नै उनलाई थाहा थियो कि उनी चित्र कोर्नकै लागि जन्मेका हुन् । सिक्ने क्रममा उनले पनि विभिन्न चित्रहरुलाई आधार मानेर आफ्ना चित्रहरु बनाउने गर्दथे । समयको मागसँगै स्टिल लाइफ, प्रकृतीका चित्रहरु, मुहार चित्र, अमूर्त चित्रकला आदिमा रम्दै बनाउँदै जाने क्रम शुरु भइसकेको थियो, थाहै नपाइकन । त्यसो त कलाको चेत उनको परिवारमा पुस्तौँदेखि नै भएको अनुमान लगाउँदछन् कलाकार श्रेष्ठ । उनकी हजुर आमाले पुतलीहरु निर्माण गर्नुहुन्थ्यो जसमा मानिसको नाक, मुखमण्डलका आकृतीहरु प्रष्टसँग देखिन्थे । उनका पिताजीले पनि धागोको माध्यमबाट त्यसबेलाका चर्चित कलाकारहरु नलिनी जयवन्ती, बैजन्तीमाला आदिको चित्र बनाएको उनले देखेका थिए र ती चित्रहरु आजसम्म पनि उनीसंग सुरक्षित रहेको बताउँछन् कलाकार श्रेष्ठ ।

एसएलसी पछि ललितकला क्याम्पसमा अध्ययन गरेका श्रेष्ठले आफ्नो कलाको यात्रालाई अगाडि बढाउने क्रममा त्यहाँ पढाइ हुने प्रत्येक पाठहरुलाई त्यति नै महत्वका साथ अध्ययन गरी लामो समयको दत्तचित्तता अहिलेको प्रारुपमा विकसित भएको बताउँछन् । उनका अनुसार ‘एउटा पूर्ण कलाकार हुनका लागि कलाको यो पक्षलाई मात्रै लिएर अगाडि बढ्छु भनेर सोच्नु नै गलत हो । त्यसैले जस्तो सुकै चित्रकलाहरु बनाउनको लागि पनि सधैँ तयार हुनु आवश्यक हुन्छ ।’

तस्विर सौजन्यः उदयचरण श्रेष्ठ

विस्तारै कलालाई अगाडि बढाउँदै जाँदा र आफुलाई मन पर्ने विषय परम्परागत शैलीका चित्रहरु भएको र यी चित्रहरुलाई बनाउनका लागि विभिन्न ग्रन्थहरुमा उल्लेख भएअनुसार बनाउँदै लैजानुपर्ने समयको माग भएका कारण ग्रन्थहरु अध्ययनमा समय व्यतित गर्न थाल्नुभयो चित्रकार श्रेष्ठ । ती चित्रहरु बनाउँदा त्यसको भाव–भङ्गिमाहरुमा यति तल्लिन हुनु जरुरी थियो कि कतिपल्ट त काम गर्दै जाने क्रममा चियाको गिलाँसमा समेत ब्रस चोबेका रमाइला अनुभवहरु प्नि छन् श्रेष्ठसँग । कामको प्रकृती मिहिन भएकाले आँखालाइ तनाव नदिने हिसाबले दिउँसो काम गर्न रुचाउने श्रेष्ठले आजसम्म कसैलाई गुरु थापेर दिक्षा लिएको अनुभव भने सँगालेका छैनन् ।

पुस्तकमा वर्णित भाव भङ्गिमामा डुबेर चित्रकला बनाउन रुचाउने उनी पहिले पहिलेको समयमा वसन्तपुर क्षेत्रका चित्रकला बेच्ने पसलमा रु.१५ मा आफ्नो पहिलो चित्र बिक्रि भएको अनुभव सुनाउँछन् भने समय क्रमसँगै अहिले उनको चित्र लाखौँमा विक्रि भएको समेत खुलाउँदछन् । अनवरत रुपमा त्यहि क्षेत्रमा लागिसकेपछि ख्यातीका साथसाथै मूल्यमा समेत स्तरोन्नती हुँदै जाने अनुभव छ उनको । अचेल प्रायः आफ्नै काममा तल्लिन रहिरहने श्रेष्ठ पहिले पहिले अरुका रुचि अनुसार चित्रहरु पनि बनाउने गर्दथे । तर पनि स्वतन्त्र रुपमा बनाउने चित्रहरु नै प्रिय लाग्छन् उनलाई । देवताहरुको सन्दर्भ ग्रन्थमा वर्णित चित्रहरुको संस्कृत श्लोकहरु सहित वर्णन गर्न सक्ने श्रेष्ठ कहिले काहिँ त्यहाँ वर्णित आकृतीहरुमा घोत्लिँदै जाँदा कहिले काहिँ कुनै देव/देवीको विकराल रुप बनाउँदा विवादमा मुछिने भएकाले कुनै कुनै चित्रहरु आफ्ना दर्शकहरुले रुचाउने र विवादमा पनि नपर्ने ढङ्गले समेत बनाउनु पर्ने बाध्यता रहेको समेत उनि बताउँछन् ।

तस्विर सौजन्यः उदयचरण श्रेष्ठ

पौराणिक ग्रन्थहरुलाई नै आधार बनाएर विभिन्न देव तथा देवीहरुको चित्रकला बनाउने क्रममा कयौँ यस्ता चित्रहरु बनाउन उनलाई धेरै समय लागेको अनुभव समेत रहेको छ । करिब १७ वर्ष अगाडि शुरु गरेको गायत्री देवीको चित्र जुन म्युजियम अफ नेपाली आर्ट मोनाले खरिद गरेको छ, त्यसमा अझै पनि केही काम गरिरहेका छन् । भाव भङ्गिमाहरु जुन शास्त्रमा वर्णित छन्, तिनलाई मनको आँखाले गमेर जस्तो वर्णित गरिएको छ, सोहि अनुरुपको चित्रमा उतार्न कहिले काहिँ कठिन पनि हुने भएकाले पनि उनलाई ती चित्रहरु बनाउन समय लागेको हुन सक्तछ ।

तस्विर सौजन्यः उदयचरण श्रेष्ठ

एक फरक प्रसङ्गमा नेपालमा चित्रकलाको सर्वाधिकार चित्रकारमा नै निहित हुनु पर्ने भएता पनि उनका कयौँ चित्रहरु पोस्टकार्डको स्वरुपमा तथा विभिन्न माध्यमबाट ग्राहकले उपयोग गरेको देख्दा मन अमिलो भएर आउँछ उनलाई । किनकी उनका कयाँै चित्रहरु विदेशमा पनि गएका छन् । जापानको फुकोओका म्युजियमले उनको काम किनेर लगेको र त्यसलाई कुनै पनि माध्यमबाट पुनः देखाउन प¥यो भने उहाँसँग अनुमति लिने गरेको र छिमेकी देश चिनले समेत उनको चित्रको प्रतिलिपि बेच्नु प-यो भने अनुमति लिइ केही रोयल्टि समेत दिने गरेको अनुभव भएका श्रेष्ठ नेपालमा भने त्यो चलन नरहेको र यस्तो चलन चलाउनु पर्ने कुरामा कलाकार स्वयं तथा सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता महशुस गर्दछन् ।

तस्विर सौजन्यः उदयचरण श्रेष्ठ
तस्विर सौजन्यः उदयचरण श्रेष्ठ
तस्विर सौजन्यः उदयचरण श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्