मोनामा समुन्द्रको चित्रकला प्रदर्शनी

खोज पत्र
खोज पत्र २४ माघ २०७८, सोमबार ०६:००
8 Min Read
Aa

लामो समयको साधनापछि बन्ने चित्रहरुमा निरन्तर अभ्यास र साधनाको जरुरत हुन्छ । कुनै पनि देवी देवताका गाथा तथा कथाहरुलाई नबुझी वा त्यसलाई अनुकरण नगरी परम्परागत चित्रहरु बन्न कठिन हुन्छन् । अझ भनौं त्यस्ता चित्रहरुलाई आधुनिकपन दिन र त्यसको स्वरुप नबिग्रने गरी प्रस्तुत गर्न केही नियममा बसेर काम गर्नुपर्छ ।

त्यस्तै साधना र निरन्तर अभ्यास गर्दै आजको दिनसम्म आइपुगेका परम्परागत चित्रकलामा आधुनिक शैलीको प्रयोग गर्न रुचाउने चित्रकार समुन्द्रमान सिंह श्रेष्ठको एकल चित्रकलाहरु काठमाडौं गेष्ट हाउस परिसरको म्युजियम अफ नेपाली  आर्टसमा यही माघ २३ गतेबाट प्रदर्शनी भइरहेको छ । यस चित्रकला प्रदर्शनी करिब दुई हप्ता सम्म चल्ने म्युजियम अफ नेपाली आर्टसका सञ्चालक राजन शाक्यले बताए ।

परम्परागत शैलीलाई आधुनिक शैलीसँग मिसाउँदै चित्रकला बनाउन रुचाउने समुन्द्रमान सिंह श्रेष्ठका करिब पचास वटा चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् । चित्रकारले आफुले आठ बर्षको कलिलो उमेरमा बनाएका चित्र देखि हालसम्म आइपुग्दासम्म तयार पारेका चित्रहरु प्रदर्शनीमा समावेश छन् ।

बाल्यकालको समयमा प्रत्येक शुक्रबारका दिन उनका पिताले कमिक्सहरु उनका लागि किनेर ल्याउने गरेका थिए र त्यही शुरुआती दिनहरुका चित्रकलाहरुलाई उनले सम्हालेर राखेको र त्यही चित्रलाई प्रर्दशनीमा समेत समावेश गरेका छन् । उहाँका अनुसार ‘मैले सानो उमेरमा छँदा बनाएको चित्र र अहिलेसम्म आउँदा बनाएका चित्रहरु नयाँ पुस्ताका लागि मार्गनिर्देशन प्रदान गर्न मदत गरुन् भनेर राखेको हुँ ।’

एउटै विषयवस्तुलाई फरक तरिका र फरक शैलीमा प्रस्तुत गर्नु उनको विशेषता हो र उनलाई एउटै विषयमा फरक फरक ढंगले बारम्बार काम गरिरहन मन पर्छ । तर उनलाई एउटै विषय र उस्तै चित्र बनाइराख्न खासै मन पर्दैन ।

बाल्यकालमा बनाएका कमिक्सका झलकहरु देखि युवावस्था सम्म आइपुग्दा बनाएका धर्मको निकट रही तयार पारिएका चित्रकलाहरु विशिष्ट छन् । म्युजियम अफ नेपाली आर्टको ग्यालरीमा पुग्दा पुग्दै भर्‍याङ्ङ्को छेउमा राखिएका उनका बाल्यावस्थामा बनाएका चित्रकहरु सँगै जलरंग लगायत तथागतले बज्रपाणी भैरवलाई ज्ञान दिएको ठूलो चित्र हेर्न सकिन्छ ।

अर्को एक चित्रमा बसन्तपुर दरवार क्षेत्रमा लाखे नाच गरिने बेला तिरको एक चित्र राखिएको छ । जुन जलरंगमा छ, जसमा एक हात्ती, रथतान्दै गरेका मानिसहरु, बाजा बजाउँदै गरेका मानिसहरुको अगाडि एक लाखे नाच्दै गरेको दृष्य देख्न सकिन्छ ।

त्यसपछि अझ अगाडी बढ्दै जाँदा भुइँचालो शीर्षक दिइएको एक चित्र पुरानो भित्तामा बनाइएको चित्र जस्तो देखिने गरी क्यानभासमा उतारिएको छ । जुन चित्र पुरा गर्न उनलाई करिब ४ वर्ष लागेको समुन्द्रमानसिंह बताउँछन् । उक्त चित्र मध्ये पहिलो चित्रमा मञ्जुश्री बिचमा लाकेश्वर र छेउमा बज्रपाणीकोे चित्र समावेश भएको छ भने उक्त चित्र मानिसहरुको लागि आकर्षणको केन्द्र बन्न सक्छ ।

त्यसपछि तीन वटा ताराको चित्रलाई समावेश गरिएको छ । जसमध्ये सन् २०१७ मा बनाइएको श्वेत ताराको सम्पूर्ण लक्षणहरुयुक्त परम्परागत शैलीमा बनाइएको चित्र अवलोकन गर्न सकिन्छ । जसमा सम्पूर्ण भागभंगीमा र गहनाको प्रयोग अति विशिष्ट शैलीमा प्रयोग गरिएको छ । त्यस्तै अर्को चित्रमा उहि तारालाई थोरै गहना र फुलहरुको लहरा दिइ सामान्य र सरलीकृत गरि बनाएको चित्र देख्न सकिन्छ । त्यस्तै अर्को चित्रमा भुँइचालोको समयमा चित्रहरु विग्रँदा कस्तो स्वरुपमा आउँछ भन्ने कुरालाई जीवन्त रुपमा प्रस्तुत गर्ने प्रयास उनले गरेका छन् । श्वेत तारालाई करुणाको प्रतिकको रुपमा पुजिन्छ । शितलतालाई देखाउनको लागि यस चित्रले मद्दत गर्ने कलाकारको भनाइ रहेको छ ।

चित्रहरुको अवलोकन गर्दै अगाडि बढ्दै गर्दा चित्रमा भैरवको रौद्र रुपलाई शान्त गर्नको लागि कुमारीले भर्खरै बध गरिएको महिषको रक्त एउटा पात्रमा राखि भैरवलाई रक्त पान गराउँदै रिस शान्त पार्न खोजिएको प्रयासलाई देखाउन खोजिएको छ । उक्त चित्रको पाश्र्व भागमा हनुमान ढोकाको मूलचोकलाई प्रतिकात्मक रुपमा देखाइएको छ । समयक्रमसँगै आफुलाई मन परेको चित्रमा बारम्बार खेलीराख्न रुचाउने समुन्द्रले अलंकारको कम प्रयोग गरी मुहारको भङ्गिमालाई मात्र केन्द्रित गरि अर्को चित्र बनाएका छन् ।

मूलतः क्रोधित् मुद्रामा चित्रण गरिने गुरु रिन्पोचे–पद्मसम्भवलाई पनि उनले एउटा क्यानभासमा उतारेका छन् । जसमा तीब्बतीले प्रयोग गर्ने गहना, हातमा लिने आयुधहरुलाई बढो कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । मूलतः प्रेत योनीमा परेका आत्माहरुलाई ज्ञान दिन तथा डमरुको नादमा मुक्त गर्ने गर्छन् र सोही अवस्थालाई यस चित्रमा प्रदर्शित गरिएको छ । समुन्द्र बताउँछन्, “गुरु रिन्पोचेको चित्रहरु धेरै ठाउँमा भेट्न सकिन्छ तर उनका चित्रलाई सामान्य रुपमा बनाइएको भन्दा भिन्न रुपमा बनाउन उनले गरेका कार्यहरुलाई प्रतिविम्बित हुने गरी कसरी बनाउन सकिन्छ भनेर सोच्दै गर्दा यो चित्र तयार भएको हो ।” गुरु रिन्पोचेलाई तन्त्रको ठूलो गुरुको रुपमा पुजिन्छ । तन्त्रको चर्याहरु पढ्ने क्रममा उनलाई उक्त चित्र बनाउने प्रेरणा मिलेको चित्रकार बताउँछन्।

त्यसैगरि अर्काे एक चित्रमा गरुढको पूर्ण कदको चित्र राखिएको छ । गरुढलाई संरक्षणकर्ताको रुपमा मानिन्छ । सामान्यतयाः गरुढलाई देखाउँदा बसेको मुद्रामा बनाइन्छ तर कतै कतै पूर्ण कदमा पनि मूर्तिहरु पाइन्छ । गरुढलाई भगवान विष्णुको बाहन तथा चराहरुको राजाको रुपमा पनि पुजिन्छ । मूलतः पाहुनाहरु आफ्नो घरमा आउँदा स्वागत गर्नको लागि गरुढ बनाइएको र यस चित्रलाई पनि प्रदर्शनीमा समावेश गरेको उनी बताउँछन् ।

अर्काे चित्रमा बज्रयोगिनीको अर्ध क्रोध मुद्रामा रहेको चित्र प्रदर्शनीमा राखिएको छ । काठमाडौँ उपत्यका ४ वटा योगिनीहरुले घेरिएको छ जसमध्ये काठमाडौँको पूर्व दिशाको साँखुमा अवस्थित रहेको बज्रयोगिनीको चित्र रहेको छ । शंकराचार्यले काठमाडौँमा आएपछि बौद्ध धर्म नष्ट गर्छु भन्दै विभिन्न बौद्ध मन्दिरहरु नष्ट गरेको कुरालाई यस चित्रको पाश्र्व भागमा देखाइएको छ । बज्रयोगिनीलाई हरित ताराको अर्ध क्रोधित रुपको रुपमा पुजिन्छ र यस चित्र सन् २०११ मा तयार पारिएको हो ।

बुद्ध धर्म मान्दै गर्दा विभिन्न मुद्राको पनि प्रयोग गरिन्छ । मूलतः पञ्च बुद्धका मुद्राहरुलाई उनले चित्रमा प्रदर्शित गरेकाछन् । प्रायः कलाकारहरुले पञ्च बुद्धका नै चित्रहरु बनाई त्यसमा विभिन्न मुद्राहरुको प्रयोग गर्ने चलन रहेको छ । तर त्यसरी चित्रहरु बनाउँदा पञ्च बुद्धका मुहारहरुले मात्र मानिसहरुको ध्यान आकृष्ट गर्ने गरेको र मानिसहरुले मुद्रा विर्सने गरेकोले मुद्रालाई नै केन्द्रित गरी पाँचबटा मुद्राहरुलाई देखाइएको छ । सामान्यतयाः मञ्जुश्री मुद्रामा हातमा खड्ग लिइएको देखाइएको छ । यस खड्गलाई मञ्जुश्रीले समातेको भनेर देखाइएको छ । खड्गलाई मूलतः मार्ने, सिद्याउने शंकेतको रुपमा मानिन्छ तर यस चित्रमा भने आफु भित्र रहेको अज्ञान, अहंकारलाई सक्काउने प्रतिकको रुपमा चित्र प्रस्तुत गरेको कलारकार बताउँछन्।

बैरोचन बुद्धको धर्मचक्र मुद्रा– भगवान बुद्धले पहिलो पटक धर्म देशना दिँदा प्रयोग गरेको मुद्राको रुपमा मानिन्छ । रत्नसम्भवको पीत वर्णको मुद्रा वरद मुद्रा हो । यो कसैलाई दिनुको रुपमा लिइन्छ । यो मुद्राले केहि चिज लिन मात्र होइन दिनुपर्छ भन्ने संकेत गर्छ । भूमिस्पर्श मुद्रा अक्षोभ्य बुद्धको निलो वर्णमा रहेको मुद्रा । भगवान बुद्धले जब ज्ञान प्राप्त गरे, भूमिलाई साक्षी राख्नको लागि छुनुभएको मुद्राको रुपमा लिइन्छ । अभय मुद्रा । भयबाट मुक्त भएको र अरु कसैलाई भयबाट मुक्त गर्नको लागि यस मुद्राको प्रयोग गरिन्छ । कोही मान्छेलाई अन्न दिनु मात्र दान होइन, कोही मानिसलाई डरबाट मुक्त गराउनु पनि दान हो । अमिताभ बुद्धको रक्त वर्णको ध्यान मुद्रा । ध्यान गर्नको लागि तप चाहिन्छ र कुनै पनि चिजलाई निखार्न अग्निको आवश्यकता पर्दछ र त्यसैलाई देखाउनको लागि यस मुद्राको प्रयोग गरिन्छ ।

मुद्रासँगसँगै मुद्राले पार्ने आभामण्डलहरुलाई समेत स्पट र कलात्मक रुपमा प्रस्तुत गर्न समुन्द्रमान चुकेका छैनन् । यी चित्रहरु क्यानभासमा उतार्नु अघि बनाइएको खेस्राहरु समेत राखिएकाले कला मन पराउने तथा कला सिक्दै गरेका सिकारुहरुलाई पनि यो प्रदर्शनी मार्गनिर्देशन प्रदान गर्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

Array