चित्रमा प्राण प्रतिष्ठा

एक सेन्टिमिटरको सानो मण्डला

मध्यकालिन समयमा नेपाल भूमिमा चित्रहरु बनाउनका लागि विभिन्न कलाकारहरुलाई एक छुट्टै किसिमको साधनाबाट गुज्रनु पर्दथ्यो । उनिहरु चित्र नसकिएसम्म बाहिरि दुनिया, जगत सँग टाढा रहि खान पानमा समेत बार्दै चित्रकला सिर्जना गर्दथे । त्यस्ता चित्रहरुलाई प्राण प्रतिष्ठा गर्नको लागि कुनै गुरुहरुले मन्त्र पढ्दै एक छुट्टै विधिबाट साधना गर्दै जहाँ राख्नुपर्ने हो त्यहाँ राख्दथे । त्यस्ता चित्रलाई एक पवित्र चित्रको रुपमा प्रत्यक पटक पुजा गरिन्थ्यो, कुनै जीवित देवताको रुपमा ।

यस्तो चलन कुनै समयमा विस्तारै आधुनिकताले गाँज्दै गएको नेपालमा लोप प्राय भएर गइसकेको छ । त्यस बेलामा के कसरी गर्नुपर्दथ्यो, एउटा कलाकारको भूमिका के हुन्थ्यो, प्राण प्रतिष्ठा कसरी गरिन्थ्यो जस्ता कुराहरु लिखित दस्तावेजमा मात्र सिमित हुन थालेका थिए । कारणः मानिसहरुको इच्छा आकांक्षा, नयाँ नयाँ प्रविधिले गर्दा त्यस्ता किसिमका साधनाहरु गुह्य अति गुह्य हुँदै सामान्य मानिसको पहुँच भन्दा बाहिर गइसकेको थियो ।

यस्तै समयमा ललितपुरको ग्वार्को नजिकै निवासी कलाकार उजय बज्राचार्यलाई तत्कालिन समयको नियमिमा बसेर चित्र बनाउने तथा प्राण प्रतिष्ठा गर्ने चलनलाई नजनमानस समक्ष उजागर गर्ने हेतुले सदाक्षरी लोकेश्वर पौभा चित्र बनाउनका लागि फेरी सोही विधि अपनाएका छन् ।

खोजपत्र यही चित्रकार उजय बज्राचार्यसँगको रोमाञ्चक कुराकानीलाई यस लेखमा लिपिबद्ध गर्ने कोसिस गर्दछ ।

कलाकार उजय बज्राचार्य बाल्यकालमा आफ्ना बुबाले बनाउने धातु मूर्तिकला हेर्दै हुर्केका हुन् । ती मूर्तिहरु बनाउँदा लाग्ने समय, एकाग्रता, आवाजहरुले सँधै उत्प्रेरित गरिरहन्थ्यो । मूर्ति बनाउनको लागि चाहिने पहिलो चित्रहरु आफ्ना बुबाका लागि उनी आफैं खुसी खुसी कोरिदिन्थे । र, थाहै नपाइ बुबाको पेशाभन्दा अलिक फरक चित्र बनाउने कलाले नै उनलाई अभिप्रेरित गर्दथ्यो । उनकी आमा भन्ने गर्थिन् ‘कान र आँखा दुवैका लागि चित्र राम्रा हुन् ।’

विद्यालयको पढाइ सकाइसकेपछि उनि अक्षयस्वर महाविहारमा करिव २ वर्षको समय चित्रकला नै सिक्नका लागि समर्पित भए । त्यसपछि ललितकला क्याम्पसबाट आफ्ना पढाइ सकाएपछि विस्तारै पौभा चित्रकलाका विभिन्न पक्षहरु तथा आयामहरुको अध्ययन गर्न थाले । लामो समय चित्रकलामा नै खर्चेका उजय पौभा चित्रकलासँगसँगै त्यसका विभिन्न पक्षहरु, रङ्गहरु जस्ता विषयमा पनि विस्तारै आफ्नो रुचिले डोर्याएर अध्ययन गर्न थाले । अध्ययन सँगसँगै आफुले सिकेका कुराहरु भावि पुस्तालाई पनि दिनुपर्दछ भन्ने चेतका साथ अक्षयस्वर महाविहारमा नै आउने पुस्ताका लागि अध्यापन समेत सुरु गरे। र, त्यो क्रम नेपाल हस्तकला महासंघमा पनि चलिनै रहेको छ ।

सदाक्षरी लोकेश्वर पौभा

एक सय आठ लोकेश्वर मध्येका सदाक्षरी लोकेश्वरलाई पुजागर्दा ६ अक्षरको ॐमणिपद्मे हुँम मन्त्रको प्रयोग गरिन्छ भने त्यसको विजाक्षरी ‘ह्रीं’ यस मन्त्र करिव चौथो शताब्दीतिर लेखिएको करन्द भुह सुत्र र गुण करण दव्यूहः सुत्रमा उल्लेखित छ । उक्त सुत्रहरुलाई बोधि सत्व अलोकितेश्वरको मुटु मानिन्छ । यस मन्त्रको विविध मानेहरु छन् र यसको केवल जव मात्र गर्नाले पनि मन शुद्ध पार्दै समृद्धि ल्याउँदछ भन्ने विश्वास गरिन्छ ।

साधना विधि

यस्ता किसिमका कुनै पनि चित्र बनाउनुभन्दा अगाडि ‘काय–वाक–चित्त’शुद्धिकरणको आवश्यकता पर्दछ । सामान्यतया कायवाकचित्तले शरीर, बोली तथा चित्तलाई बुझाउँदछ । यी चित्रहरुको प्रयोजन कुनै पवित्र ठाउँमा स्थापना गरी भगवानकै स्वरुपमा पुजाआजा गरिने भएकाले पहिलेको प्रचलन अनुसार यस्ता किसिमका चित्र बनाउनु अगाडि कलाकारले हात खुट्टाको नङ काटि, कपाल काटि नुहाएर शुद्ध भएर बस्नुपर्ने हुन्छ । चित्र बनाउने दिनमा पुरोहितलाई डाकी विधि पूर्वक मन्त्र जप गर्दै पुरोहितकै हातबाट क्यानभासमा विजाक्षर मन्त्र लेख्न लगाइ चित्र बनाउँदा प्रयोग हुने रङ, बस्र आदिको समेत पुजा गरिन्छ। त्यसदिनदेखि चित्र बनाउने कलाकारले आफ्नै घरका सदस्यहरुसँग पनि एउटै टेवलमा बसी खानेकुरा खान मिल्दैन । खानेकुराहरु पनि कुन खाने वा नखाने भन्ने विषयमा निर्दिष्ट भए अनुसार बार्नुपर्ने हुन्छ ।

चित्र बनाउँदा लसुन, छ्यापी, माछा, मासु, मदिरा खान मिल्दैन । चित्र बनाउने समयावधि विहान नित्य कर्म गरी शरीर शुद्ध पारेर कुनै पनि खानेकुरा नखाइ बनाउनु पर्दछ । खाने खाइसकेपछि उक्त चित्र छुनु हुँदैन र त्यसमा काम पनि गर्न मिल्दैन। हरेक दिन सोहि नियममा बसी विहानको समयमा चित्र बनाउनु पर्दछ । चित्र बनाएर नसकिँदा सम्म चित्र बनाउने चित्रकार  पुरै नियममा बसेको हुनुपर्दछ ।जब चित्र सकिन्छ तव पुनः पुरोहितलाई बोलाइ उक्त चित्र राख्नुपर्ने स्थानमा राखेर प्राण प्रतिष्ठा गर्नुपर्ने प्रचलन रहेको छु ।

कलाकार बज्राचार्यले आफ्नो घरमा रहेको ग्यालरीमा एक सेन्टिमिटरको सानो मण्डला बनाएका छन् भने उनले पैतीस बुद्धको चित्र बनाएका छन् ।

एक प्रसङ्गमा कलाकार बज्राचार्य नेपालमा कपिराइटको खासै कानुनी व्यवस्था नभएको बताउँछन् । उनले आफ्ना चित्रहरुलाई बौद्धिक सम्पत्ति मान्दछन् । चित्रहरु जसले किनेर लगेको हुन्छ तिनीहरुले चित्रलाई कुनै प्रयोजनमा प्रयोग गर्नको लागि जस्तै, क्यालेन्डर, पोष्टकार्ड, किताव लगायतमा समावेश गर्नको लागि उनिसँग सोध्ने गरेकोबाट नेपालमा पनि बौद्धिक सम्पत्ति माथि खरिदकर्ताको मात्र हक नलाग्ने विषयमा मानिसहरु जानकार हुँदै गइरहेको बताउँछन् । चित्रहरु कुन ठाउँमा कसरी राख्नुपर्दछ जसले चित्रहरु लामो समयसम्म विग्रदैन भनेर समेत जानकारी दिने गरेको बताउँछन् ।

वर्तमानमा आएर धेरैजसो क्रेताहरुले आफुले लग्ने चित्रहरु लग्दा कागजी रुपमा प्रमाणित गराएर लैजाने चलन पनि विस्तारै विकास हुँदै गएको उनको अनुभव छ । उनका कतिपय चित्रहरु क्रेताले लिएर जाँदा सामान्य सम्झौता गरेर समेत लगेको उनि बताउँछन् । उनका चित्रहरु विभिन्न प्रयोजनको लागि प्रयोग गर्न मिलोस् भन्नका लागि पनि क्रेताले त्यस्तै खाले सम्झौता गर्दछन् र त्यसमा राखिएको मुल्यमा केही रकम थप गरेर उनले दिने गरेको बज्राचार्य बताउँछन् ।

सामान्यतया उनका विद्यार्थीहरु आफ्नै रुचिका कारण उनीसँग पौभा चित्रकला सिक्न आउँछन् तर धेरै कम विद्यार्थीहरुले मात्र यसलाई पेशाको रुपमा अपनाएको उनको अनुभव छ ।

लामो समयको अध्ययन, हातमा कौसलको विकास भएमा यस्ता किसिमका चित्रकलाहरुले जीविकोपार्जनमा राम्रो टेवा दिनेमा उनि विश्वस्त छन् ।

Back to top button