रक्षक नै भक्षक भएपछि पुरातात्विक महत्वको क्षेत्रमा व्यापारीक भवन

खोज पत्र
खोज पत्र २७ फाल्गुन २०७८, शुक्रबार १७:२५
6 Min Read
Aa

मौलिक परम्परा, कला, संस्कृतिमा धनी काठमाडौं उपत्यका भित्र अनगिन्ति पुरातात्विक महत्वका सम्पदाहरु रहेका छन् । काठमाडौंको जमलबाट केही उत्तर दिशामा अगाडि बढेपछि तपाई पश्चिम लाग्नुभयो र त्यहाँबाट केही समयको पैदलमा पुग्नुहुन्छ छुस्याबहा: । जुन ठाउँलाई ज्याठा भनिन्छ । त्यहाँ गुणाकर महाविहार अवस्थित छ । यो बहा: १७ औं शताब्दीमा बनेको हो ।

बौद्ध सम्प्रदायका चैत्यहरु नेपाल मण्डल वरिपरि फैलिएका छन् । त्यस्तै चैत्यहरुमध्ये रम्यकुतगर चैत्य पनि एक हो । संस्कृतमा रम्य भनेको हेर्दामा आनन्दित बनाउने र कुतगर भनेको शिखर शैलीमा चुच्चो छानो भएको भवनलाई बुझिन्छ ।

१२ वटा पिलरहरुले ठड्याइएको शिखर शैलीमा बनेको उक्त चैत्यको माथिल्लो तलामा चार दिशामा फैलिएको चार ध्यानस्त बुद्धहरुलाई राखिएको छ । यी चैत्यहरुलाई स्वयम्भूनाथ चैत्यको प्रतिमूर्तिको रुपमा लिइन्छ ।

यो चैत्य दुई तह भएको ढुङ्गगामा अवस्थित छ जसको मुनिपट्टिको तहमा दुई वटा ढुङ्गाका सिंहहरु राखिएका छन् र यिनीहरुले पालेगारको काम गर्दछन् । यो चैत्य पूर्ण रुपमा ढुङ्गाले बनाइएको छन् र करिब ८ फिट उचाइको छ । यहाँ बोधिसत्व, महामञ्जुश्री जसलाई धर्मधातु वागेश्वर र महावैरोचनको रुपमा जानिन्छ, उहाँहरुलाई अवस्थित गराइएको छ । यस चैत्यमा बज्रयान (तान्त्रिक बुद्धिज्म)मा ज्ञानको इष्टदेवको रुपमा पुजिन्छ । यो चैत्य गुणाकर महाविहारको उत्तरी भागमा निर्माण गरिएको थियो र यसलाई सामान्यतया छुस्याबहा: को रुपमा चिनिन्छ । हाल यो चैत्य ज्याठामा रहेको छ । यो काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । यो बहा: १७ औं शताब्दीमा राजा प्रताप मल्लको पालामा बनेको हो ।

करिब ५० वर्ष अगाडि बढ्दो शहरीकरणसँगै यो बहा:को क्षेत्रलाई अतिक्रमण गर्ने क्रम सुरु भयो र जसले गर्दा यस्तो भव्य चैत्यमा भौतिक क्षति हुने देखिएकोले बाहिरको सम्पदालाई चोरी तथा अतिक्रमणबाट बचाउन बहा: भित्रको क्षेत्रमा सारिएको थियो । भित्र लगिएका त्यस सम्पदामा उल्लेखित मितिलाई हेर्दा नेपाल सम्वत् १०९० मा लगिएको देखिन्छ ।

अतिक्रमणको क्रम विस्तारै बढ्दै गयो बहा:को विचबाट मोटरबाटो खोलियो । त्यसपछि उक्त बहा: दुई भागमा विभाजित भयोः अगाडि र पछाडिको भाग । हालै काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यले ज्याठा स्थिति पुरातात्विक महत्वको उक्त छुस्याः महाविहारको जग्गामा वडा कार्यालय भवन बनाउनको लागि शिलान्यास गरिएको छ । महानगरको वडा नं. २७ को भवन बनाउन शिलान्यास गरिएको स्थानमा महाविहार अन्तर्गतको बयलाछी फाल्चा थियो । स्थानीइ बासिहरुले भत्किएको फाल्चालाई पुर्ननिर्माण गर्नुपर्ने भन्दै आइरहेकोमा महानगरले भने व्यापारिक हिसावले कार्यालय भवन बनाउन लगेको छ । छुस्याबहा: सर्वसङ्घका महासचिव त्रिरत्न बज्राचार्यका अनुसार उनीहरुलाई वडा कार्यालय बनाउन लागेको जानकारी थिएन र शिलान्यास गर्न आएपछि मात्र थाहा भएको बताउँछन् ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, वडा अध्यक्ष चिनियामान बज्राचार्यले संयुक्त रुपमा माघ २३ गते भवन शिलान्यास गरेका थिए । महानगरकै अनुदानमा बन्न लागेको उक्त भवन पाँच तले बनाउन लागिएको हो । वडाअध्यक्षका अनुसार पाँच तल्ला मध्ये २ तला वडा कार्यालयको लागि, तीन तला पसल, सभाहल तथा एक तला ज्याठा सामुदायिक क्लबलाई दिइने बताए ।

तर स्थानिय बासिन्दाहरु भने पुरातात्विक महत्वको क्षेत्रमा त्यस्ता व्यापारिक भवन बनाउन नहुने र यसलाई पुरानै अवस्थामा लैजानुपर्ने बताउँछन् । पुरातात्विक स्थलमा भवन लगायत अन्य संरचना बनाउन पुरातत्व विभागको अनुमति लिनुपर्ने व्यवस्था प्राचिन स्मारक संरक्षण ऐनले गरेको छ । तर महानगरले विभागको स्वीकृति नलिएको विभागका प्रवक्ता रामबहादुर थापाले जानकारी दिए ।

पुरातात्विक महत्व बोकेको विष्णु, गणेश, शिवलिङ्ग लगायत पौराणिक महत्व रहेको छुस्याबहा: र सँगैको खाली क्षेत्रलाई संरक्षण गर्न स्थानीय बासिले पुरातत्वमा दर्ता गरेको पत्रमा उल्लेख छ ।

महाविहारको जग्गा काठमाडौं उपत्यकामा कुनैको पनि दर्ता नगरिएको र यहाँको पनि दर्ता नभएको सर्वसंघका सचिव बज्राचार्यले बताए ।

महाविहारसँगै रहेको एक शिलालेखमा पनि यो स्थानमा फल्चाः रहेको उल्लेख छ । नेपाल सम्वत् ७८८को शिलालेखमा लोकहितका लागि धर्मशाला बनाएको र लोकेश्वरदेवताको प्राणप्रतिष्ठा गरी यो स्थान गुणाकर महाविहार (छुस्यावहा:)लाई संकल्प गरेर दिइएको उल्लेखित छ । उक्त शिलालेख ढ्वाका वहाः बस्ने गुणज्योति बज्राचार्य र श्रीमतीहरु पद्मनिल, लक्ष्मी, हेरमति, जेठो छोरा धनसिंह, बुहारी मनाहरी, नाती पारिख देव, नातीनि बुहारी धनवती, पनाती रत्नवती, बहिनी शिलावतीहरुले प्रताप मल्लको पालामा बनाएको उल्लेख गरिएको छ । जहाँ फल्चाको महत्व समेत दर्शाइएको लेख अझै हेर्न सकिन्छ ।

सामयक्रमसँगै फल्चा भत्किएपछि उक्त स्थान खाली रह्यो र अहिले अतिक्रमणले गर्दा त्यहाँ त्यस्ता पुरातात्विक महत्वको विषय मास्न काठमाडौंका मेयर उद्त रहेको संघका सचिवको भनाइ छ । सम्पदा संरक्षक अभियानकर्मी आलोकसिद्धि तुलाधरका अनुसार छुस्या महाविहार छेउको चैत्य शिखर शैलीको छ । यस्ता शैलीको चैत्य काठमाडौं तीनवटामात्र छन् । यस्तो पुरातात्विक महत्वको सम्पदामा व्यापारिक भवन बनाउन रोक्नुपर्नेमा रक्षक नै भक्षक भएपछि पुरातात्विक सम्पदा कसरी संरक्षण गर्ने ? यसमा राज्यले ध्यान दिनु जरुरी छ ।

मल्लकालमा बनेको यस विहार वि.संं १७०६ मा भएको लिखत पाइन्छ । यसलाई अहिलेसम्म दुईपटक जिर्णोद्वार गरिएको लेखोटमा प्रष्ट छ ।

काठमाडौंको मुख्य जात्रा मानिने इन्द्र जात्रामा समेत यहाँको खुल्ला ठाउँ प्रयोग हुँदै आएको छ । परिवारको दिवंगत सदस्यको सम्झनामा प्राचिन शहरको बाहिरी क्षेत्रलाई पैदल परिक्रम गरिन्छ र सोही क्रममा त्यस वडा कार्यालय बनाउन लागिएको क्षेत्र विश्रामको लागि प्रयोग हुने भएकोले पनि यो ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थान हो । यो स्थान जाडोमा घाम ताप्न, मानिस मर्दा भेला हुन तथा सुत्केरी यही घाम तापेर तेल लगाउने गर्दथे । ज्यठाका अच्युत रत्न बज्राचार्यका अनुसार यस्तो स्थानमा भवन बन्न लागेको समेत जानकारी नदिइ ऐतिहासिक धरोहर मास्न खोजिएकोे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array