गुम्बामा चित्र कोर्ने हातहरु

थान्का चित्रकलामा प्रयोग

सामान्यतया बौद्ध सम्प्रदायमा चारवटा अलग अलग परम्पराहरु प्रचलनमा रहेका छन् । निङ्मा, गेलुक, काग्यू र शाक्य हुन् । यी परम्परा मध्येको निङ्मा परम्परामा विश्वास राख्ने कलाकार पेम्पा शेर्पासँग खोजपत्रको भेट ।

निङ्मा सम्प्रदायलाई प्रचिनतम सम्प्रदायको रुपमा मानिन्छ र यी सम्प्रदायका मानिसहरुले गुरु रिम्पोचे र पद्मसम्भवलाई विशेष मान्छन् । विशष गरी बज्रयान पम्परा अन्तर्गत पर्ने निङ्मा समुदाय बौद्ध धर्मअन्तर्गत पनि तान्त्रिक बुद्धिज्म अन्तर्गत पर्दछन् ।

करिब १७ वर्षको उमेरमा आफ्ना हजुरबुबाले गुम्बामा चित्र कोरिरहने देख्दै आएका पेम्पा शेर्पालाई र उनका चारजना साथीहरुलाई एकै चोटि थान्का चित्रकला सिक्न प्रेरित गरे र सिकाए पनि । लामो साधना र सुक्ष्मतम् विवरणहरु समेत समेटेर काम गर्नुपर्ने थान्कामा पेम्पाले गरेका कामहरुलाई उनका हजुरबुबाले प्रोत्साहन दिँदै स्याबासीका केही शब्द पनि खर्चेका थिए । जसको प्रेरणा स्वरुप उनी यही थान्का र गुम्बामा गरिने चित्रमा विगत २५ वर्षदेखि अनवरत रुपमा लागिपरेका छन् ।

सिन्धुपाल्चोकको ओख्रेनीमा जन्मेका उनी आफ्नो साँधुरो क्षेत्रफललाई छोडि अझ बृहद रुपमा थान्का सिक्नका लागि आफ्ना पखेंटाले काठमाडौं आइपुगे । काठमाडौंको बौद्धमा उनको पैत्रिक घरमा बसेर यहाँका थान्का सिकाउने राम्रा गुरुसँग करिब १ वर्ष जति उनले प्रशिक्षण लिने मौका पाए । त्यस प्रशिक्षणले उनको काममा अझ निखारता प्रदान गर्यो । प्रायजसो उनका कामहरु चीन र नेपालका प्रसिद्ध गुम्बाहरुमा सजिन थाले । उनको उडान त्यतिबेला झन् फलिभूत भयो, जतिबेला उनलाई सिन्धुपाल्चोककै एउटा गुम्बाका भित्ताहरु भर्ने आग्रह मिल्यो ।

थाङ्का चित्रकलामा राम्रा सिद्धहस्त भएका उनका केही साथीहरुलाई समूहको रुपमा लिइ उनी सिन्धुपाल्चोककै गुम्बातिर भित्तामा आकृतिहरु कोर्न हिँडे । करिब एक वर्षको अथक मिहिनेतले जब त्यहाँको काम सकियो, उनलाई विभिन्न गुम्बाहरुमा रहेका गुरुहरुले उनिहरुको गुम्बामा पनि त्यस्तैचित्र बनाउनकोलागि अनुरोधहरुको ताँती लाग्न थाल्यो । उनको कपनको फुलहरी गुम्मा, फर्किङको गुम्बा, सेतोगुम्बा जस्ता गुम्बाहरुमा उनका हातले भित्तामा चित्र बनाउन थाले । विस्तारै उनको नाम देशमा मात्र नभई विदेशतिर पनि फैलन थाल्यो । भारत, म्यानमार, सिंगापुर, चीन, भियतनाम, भुटान जस्ता देशहरुमा गई नेपालको नाम राख्दै उनले त्यहाँका गुम्बाहरुमा आफ्नो कला प्रदर्शन गर्दै मौलिक तरिकासँगै ग्रन्थमा लेखिए अनुसारका चित्रहरु बनाउन थाले ।

थान्का चित्रकलामा प्रयोग

मूलतः नेपाली थान्काहरुलाई विदेशीहरुले मनपराउनुको कारण यसको मौलिकताले गर्दा पनि हो । सुतीको कपडामा चौरीको छालालाई पकाएर एउटा ढिका बनाइ त्यसले कपडामा घोटेर एक दिन सुकाएर बनाइने क्यानभासमा बनाएका थान्काहरु लामो समयसम्म टिक्ने र यसलाई विदेशीहरुले छयाँकपी उतार्न धेरै कोसिसहरु गरेका थिए तर सफल हुन सकेनन् । किनकी यसमा प्रयोग हुने मात्राको ज्ञान नेपालीहरुलाई मात्र थियो ।

प्राय जसो तीब्बतबाट ढुङ्गामा घोटिएका रङ्ग ल्याउने प्रचलन हालसम्म पनि कायमै छ । त्यसमा चौवीस क्यारेट सुनका लेपहरु प्रयोग गरी बनाइने यी थान्का चित्रहरु  लामो समयसम्म टिकिरहन्छन् तर यसलाई जोगाउन भने पानी र ओस पार्नु नहुने पेम्बा बताउँछन् । स्वदेश तथा विदेशमा रहेका करिब २५ जति गुम्बाहरुमा काम गरिसकेका पेम्बा थान्का चित्रकलामा एउटा सुनौलो मणि सावित भइसकेका छन् ।

नेपाली युवाहरुलाई रोजगारीको अवसर

थान्काका कामहरु प्राय विदेशीहरुले मनपराउने र धेरै धेरै माग गरिने भएकाले पेम्बालाई एक ताका कामको भ्याइ नभ्याइ थियो । आफुले मात्र गरेर सम्भव नहुने देखेपछि आफ्नो थान्काको लागि उद्योग दर्ता गरी करिब २० जना मानिसहरुलाई रोजगारीको अवसर समेत सिर्जना गरेका थिए । मूलतः थान्का राम्रो हुन अनुहारको भाग भंगीमा र रेखाहरुले विशेष महत्व राख्दछ । त्यसैले ती चित्रहरु जब बनिसक्थे त्यसलाई अन्तिम स्वरुप उनी आफैंले दिन्थे किनकी थान्काको क्षेत्रमा उनको नाम प्रचलित भइसकेको थियो ।

पेम्बाले थान्का चित्रकलाको लागि जब उद्योग नै खोलेर व्यवसाय सुरु गरे त्यसपछि उनले गुम्बामा हात हाले । जब गुम्बाका गुरुहरुबाट उनको काम मन पराउन थालियो तब उनले आफ्नो उद्योगमा हुने काम साथीलाई जिम्मा लगाएर गुम्बामा चित्रकोर्न तल्लिन रहे । जब देशमा माओवादी द्वन्द चर्कियो त्यति बेला उनले कपनको फुलहरी गुम्बामा काम गर्ने क्रममा धेरै दुःख र कष्ट पनि पाएको उनी बताउँछन् । पछि गुम्बाबाट नै उनको नाममा एउटा पत्र बनेपछि भने उनलाई हिँडडुल गर्दै काममा जान सेना तथा प्रहरीबाट सहजता प्राप्त भएको उनको अनुभव छ ।

पोताला दरबार नजिकैको सानो गुम्बामा आगो लाग्दा

पेम्बाले करिब ७/८ जना नेपाली कलाकारहरु लिएर तीब्बतको पोताला गुम्बामा गएका थिए । निङमा परम्परालाई मान्ने त्यहाँका मानिसहरुले पुजा गर्ने त्यस्तो गुम्बामा काम गर्नपाउनु पेम्बाका लागि सौभाग्यको विषय थियो । तर त्यहाँ रहँदा बस्दा त्यस गुम्बाको तल पट्टि रहेको अर्को गुम्बामा आगलागी भएको थियो र त्यसैको फल स्वरुप त्यहाँको सरकारले विदेशी नागरिकहरुलाई त्यस प्रदेशमा प्रवेश निषेश गर्दा उनी पनि मारमा परे ।

गुम्बामा चित्र बनाउँदाका विशेषता

सामान्यतया गुम्बामा काम गर्दा पनि गुम्बाको दलितमा अष्ठमङ्गलका चित्रहरु बनाइने गरिन्छ । ती अष्टमङ्गलहरु यता हिन्दु धर्मका अष्टमङ्ल नै हुन् । विमहरुमा भने बुद्ध धर्म ग्रन्थका पाली तथा रञ्जना लिपिमा लेखिएका मन्त्रहरुलाई लिपिबद्ध गरिने गरिन्छ ।त्यो काम गुम्बा र गुम्बाका गुरुहरु अनुसार निर्धारित गरिएको हुन्छ ।

गुम्बामा धेरै भित्ताहरु हुन्छन् । त्यसमा विशेषत ध्यान गर्ने कक्षमा कोरिने चित्रहरु विशेष हुन्छन् । त्यहाँ जीवनचक्र (ह्वील अफ लाइफ), बुद्धको जीवनीसँग सम्बन्धीत चित्रहरु, त्यस गुम्बामा जुन लोकेश्वरको साधना हुन्छ त्यसैको चित्रहरु कोरिने प्रचलन छ । तीन चित्रहरुमा पनि शरीरको भावभंगीमा कुनै एक चित्रकारले कोर्छ भने, त्यसमा मुहारको रेखाहरु र स्वरुपलाई अन्तिम रुप दिने काम भने दक्ष कलाकारको मात्र हुन्छ र तिनीहरुको पारिश्रमिक पनि अन्यको भन्दा फरक रहन्छ ।

Back to top button