‘अक्सन’मा चित्रकला

आर्ट वेयरहाउसमा चित्रकला प्रदर्शनी

ललितपुरको जावलाखेल चोकबाट एकान्तकुना जाने बाटोतिर अगाडि बढेपछि एकान्तकुना नपुग्दै एउटा चोक आउँछ र त्यहाँबाट दायाँ लागेर करिब २ सय मिटर जति अगाडि बढेपछि दाहिने पट्टि देखिने दृश्यले तपाइको ध्यान तान्छ । जहाँ भित्र छिरेपछि खुला ठाउँ त्यसको वरिपरि ठूला ठूला रुखहरु र हरियालीपूर्ण वातावरणले तपाइ हामी सबैको मन तान्न सक्छ । यही स्थलमा चैत्र ११ गते देखि चैत्रको २० गते सम्मका लागि चित्रकला प्रदर्शनी भइरहेको छ ।

नेपालका करिब ५० भन्दा बढी कलाकारहरुको सिर्जना समावेश भएको यस प्रदर्शनीको प्रमुख आकर्षण भने कलाकार विरेन्द्र प्रताप सिंहले सन् ७० को दशकमा बनाउनुभएको चित्रकला रहेको छ । उहाँको चित्रकला आयोजकले अक्सनमा राखेको छ र उक्त चित्र मूल्य बोल बढाबढको आधारमा विक्रि गर्ने र उक्त चित्रबाट आएको रकम डा. भगवान कोइराको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पतालको सहयोगार्थ दान दिने आयोजकका तर्फबाट प्रतिष्ठा भण्डारीले बताइन् ।

बाहिरबाट हेर्दा भव्य भवन नदेखिए पनि यहाँ भित्र राखिएका कलाकृतिहरु कलाप्रेमीहरुका लागि भव्य लाग्न सक्छन् । प्रमुख गेटबाट भित्र छिर्ने वित्तिकै तपाइको अगाडि एउटा ढुङ्गा नै ढुङ्गा झुण्ड्याएको जस्तो लाग्ने एउटा इन्टलेसन कला देख्नुहुन्छ जसका सर्जक कलाकार भुवन थापा हुन् । मानिसहरुको जीवनको पुनरावृत्तिलाई बगरका ढुङ्गाहरुको माध्यमबाट एउटा साङ्लामा उनेर कलात्मक तरिकाले प्रस्तुत गरेका छन् । यसको बारेमा अझ बढी विस्तृत कुरा भने तपाइले अवलोकन स्थलमा गएर मजा लिँदै थप जानकारी संकलन गर्न पनि सक्नुहुन्छ ।

त्यसपछि सिधा अगाडि बढेपछि भवनको भुइँ तलाको दाहिने पट्टि मोडिएर भित्र छिर्दा मानिसहरुले वरिष्ठ कलाकार वीरेन्द्र प्रताप सिंहका चित्रकला र समसामयिक विषयमा बनाइएका अन्य कलाकारहरुको मूर्ति कलाको अवलोकन गर्न सक्नुहुन्छ । कलाकार सुदर्शन राणाको दुईवटा मूर्तिकलाहरु राखिएका छन् जसमा एउटामा महिलाको आवरणलाई देखाइएको छ भने अर्को मूर्तिमा प्रेमको प्रतिकको एउटा मूर्ति देख्न सकिन्छ । सोही स्थानमा लय मैनालीको आठ वटा, प्रकाश पुन मगरको दुईवटा मूर्तिकला अवलोकन गर्न सकिन्छ । अर्को भित्तामा मिलाएर राखिएका गोपाल कलाप्रेमीका सेरामिक्सका भाँडाहरु बढो कलात्मक तरिकाले राखिएका छन् । कलाको अवलोकन गर्न आउने अनामिकाको भनाइमा नेपालमा पनि सेरामिक्सका यस्ता भाँडा बढो कलात्मक तरिकाले बन्ने रहेछन्, यहाँको चित्रहरु उनलाई असाध्यै मन परेको र यस क्षेत्रको बाहिरि वातावरणले भने उनलाई प्रफुल्लित तुल्याएको बताइन् ।

यस हलबाट बाहिर निस्केर दाहिने पट्टि केही अगाडि बढ्दै फेरी दाहिने मोडिनुहुन्छ भने तपाइको अगाडि माटाका कपहरुलाई कलात्मक तरिकाले दराजमा सजाएर राखिएको जस्तो अर्को नेपाली पन दिने कला देख्न सक्नुहुन्छ । जुन कलाकार सुसिला सिंहद्वारा सिर्जित कला हुन् । जसलाई गोल्डेन बन्ड नाम दिइएको छ ।

त्यहाँबाट तपाइ भ-याङ उक्लेर जब माथि पुग्नुहुन्छ, तब तपाइलाई कता जाने हो भनेर झुक्किन पनि सक्नुहुन्छ । तर तपाइ जता गएपनि कलाकारहरुको कला नै कला देख्न पाउनुहुनेछ । दाहिनेपट्टि लाग्नुभयो भने त्यहाँ छेउमै भुवन थापाको आशा शिर्षक दिइएको इन्सटलेसन आर्ट देख्नुहुन्छ ।

अब तपाई त्यहाँबाट भित्र दाहिने तिरबाट भित्र छिर्दा तपाइले जसमिन राजभण्डारीको टेम्पो र महिलाहरुको बोझलाई देखाइएको छ चित्रकला अवलोकन गर्न सक्नुहुन्छ । उनले दिनानुदिन महिलाहरुले गर्ने विभिन्न संघर्षहरुलाई प्रतिकात्मक रुपमा क्यानभासमा उतारेकी छन् । अर्का कलाकार राजन काफ्लेको रेस्पेक्ट शीर्षकको एक चित्र देख्न सकिन्छ । त्यसैगरी अर्का कलाकार भरत राईको चुकुललाई देखाइएको छ भने चन्दा श्रेष्ठले प्रकृतिसँग सम्बन्धित रहेर आफ्ना दुईवटा कला प्रस्तुत गरेकी छन्। उनका अनुसार ‘प्रकृतिका हरेक आयामहरुले मलाई छोइरहेका हुन्छन् र म माटोसँग पनि बढी खेल्न रुचाउँछु । मेरा पहिलेका कामहरुमा हाम्रो प्रत्येक दिन पुजा गरिने धार्मिक परम्पराहरु जस्तै पिपलको रुखमा मानिसहरुले पुजा गरेको, अविर चढाएको जस्तो कामहरु गर्ने गरेकी थिए तर यसपाली अलिक फरक किसिमको कामहरु देखाउन खोजेकी छु । यस प्रदर्शनीमा झरनाहरुको निश्छलतालाई क्यानभासमा उतार्न कोशिस गरेकीे छु ।’

त्यसपछि बाहिर निस्केर सिधा नगई फेरी देव्रे नै भ-याङ उक्लेर माथि जाँदा पहिलो कोठामा तपाइले कपिमणि दिक्षितको दुईवटा चित्रहरु राखिएको देख्न सक्नु हुनेछ । यी चित्रहरुमा उनले कोरोनाको समयमा मानिसहरु बाहिर निस्कन नपाई एकै ठाउँमा खुम्चिनु परेको अवस्थालाई प्रतिकात्मक रुपमा प्रस्तुत गरेका छन् । त्यहाँ अरु  कलाकारहरु जुपिटर प्रधान, कैलास के. श्रेष्ठको कलालाई पनि अवलोकन गर्न सकिन्छ ।

त्यसपछि अगाडि बढेर हेर्दै जानुभयो भने पृथ्वी श्रेष्ठ, सुजन ढंगोल, सौरगंगा दर्शनधारीका चित्रहरु देख्न सक्नुहुन्छ । त्यहाँबाट बाहिर निस्केर अर्को कोठामा सुन्दर लामा, रोशन भण्डारी, सविता ढंगोल र अनिशा महर्जनका बढो कलात्मक चित्रकारिता हेर्ने अवसर प्राप्त हुन्छ । उहाँहरुको चित्रमा महिला तथा धर्मका विषयवस्तुलाई मूख्य विषयको रुपमा लिई तयार पारिएका चित्रहरु देख्न सकिन्छ ।

त्यस ढोकाबाट बाहिर निस्केर दाहिने मोडिनु भयो भने तपाईले ढोकाको छेउमै प्रमिला बज्राचार्यको महिलासँग सम्बन्धित चित्रहरु देख्न सक्नुहुन्छ भने ढोका भित्र दाहिने भित्तामा आशा ढंगोलका १० वटा साना साना चित्रकला हेर्न सकिन्छ । आशा ढंगोलका अनुसार ‘मेरा कामहरु धेरै जसो ठूला हुने गर्दछन् । यसपालि भने मैले सानो कामहरुलाई सिरिजको रुपमा प्रदर्शनी गरेको छु । यी चित्रहरुमा शहरीकरणले बढ्दै गएको प्रदूषणबाट बच्न मास्कको समेत प्रयोग गरिएको र मानिसहरुसँग जनावरको अन्र्तसम्बन्धलाई देखाउने प्रयास गरेकोछु ।’ त्यस सँगै अर्को चित्रकला कोशल हमालको रहेको छ । उनका चित्रकलामा कोरोनाको समयमा मानिसहरुको ध्यान शरीरका कुन कुन अंगहरुमा केन्द्रित भएका थिए भन्ने दर्शाउन उक्त अंगहरुलाई नै क्यानभासमा उतारेका छन ।

तपाइले यस सेक्सनमा कलाकारिता हेरि फर्किएर पहिलो भ¥याङ झरेर वायाँ लागेर सिधा अगाडि बढ्नुभयो भने ढोकैको छेउको भित्तामा सुश्मा शाक्यको ‘रेभरेन्स फर नेवारी आर्किटेक्चर’ शीर्षक दिइएको कला देख्न सक्नुहुन्छ । यहाँ तपाइलाई हल जस्तै भान दिने कक्ष छ र यो कोठा केही ठूलो पनि छ । यस हलको विचमा कलाकार रविन्द्र श्रेष्ठले तयार पार्नु भएको कलाकारिता देख्न सक्नुहुन्छ । जसमा एउटा आर्ट लेखिएको कितावलाई धारिलो चुप्पी जसमा नेपालका विभिन्न कला संस्कृति झल्किने आकृतिहरु राखि आधि काटिएको अवस्थामा देख्न सकिन्छ । यसलाई साइलेन्ट प्रोटेस्ट भनेर शीर्षक दिइएको छ । विदेशीले निकालेको विश्व भरिको कला समावेश गरिएको किताबमा नेपाली कलाको नाम निशाना नदेखिएकाले त्यसलाई मौन आक्रोशको रुपमा देखाउन यस कला बनाएको कलाकार बताउँछन् ।

यस हलमा कलाकार एरिना ताम्राकार, विनोद प्रधान, राजन पन्त इशान परियार, चिराग वाङ्देल,मनिष लाल श्रेष्ठ, सागर मानन्धर, मुकेश श्रेष्ठका चित्रकलाहरुले भित्ताहरु सजिएका छन् ।

आफ्ना चित्रका विषयमा कलाकार चिराग अगाडि थप्छन् ‘मेरो यो चित्र गीत गोविन्द शीर्षकमा रहेको छ । यसमा विशेषत मैले यो संसार प्रेम विना अधुरो छ र त्यसलाई प्रतिकात्मक रुपमा भगवान श्रीकृष्ण, राधा र हाँसहरुलाई विम्वको रुपमा प्रस्तुत गरेको छु । भगवान कृण्णलाई जहिले पनि मयुरको प्वाँख लगाइ आकर्षक रुपमा चित्रण गरिन्छ भने मैले चाहिँ मेरो कलाको मार्पmतबाट कृष्णलाई पनि सामान्य मानिस र प्रेमको प्रतिकको रुपमा चित्रण गर्दछु ।’

यस हलबाट फेरि केही खुड्किला चढेर अलिक माथि उक्लिनुभयो भने तपाइको देव्रे भित्तामा कलाकार भाइराजा महर्जनको न्युड आर्ट देख्न सक्नुहुन्छ । जसलाई बढो कलात्मक तरिकाले कलाकारले क्यानभासमा प्रस्तुत गरेका छन् । ठिक त्यसको छेउबाट दाहिने पट्टि मोडिनु भयो भने कलाकार कुन्ति श्री थापाको तीनवटा मेकिङ आइडेन्टिटि शीर्षका कला देख्न सकिन्छ भने त्यसको छेउमा राखिएको एल.बज्र लामाको दुईवटा चित्रहरु छन् जसमा नीलो रंगाको विशेष प्रयोग देख्न सकिन्छ । उनको एक चित्रमा एउटा गाइलाई गिद्धले समातेर उडाई लगेको देख्न सकिन्छ जसलाई उनले जोक शीर्षक दिएका छन् । यस चित्रको छेउमा रोशन प्रधानका दुई चित्र समावेश छन् भने रिता मानन्धरको ध्यानको अवस्थामा मानिसहरु कसरी अगाडि बढ्छन् र उनीहरुले कस्तो कस्तो अनुभूतिहरु देख्न सक्छन् भन्ने खालको आभाष दिने चित्रहरु अवलोकन गर्न सकिन्छ ।

त्यसपछि दाहिने मोडिएर अर्को कोठामा तपाइले प्रदिप बज्राचार्य, संगी श्रेष्ठ, सम्झना राजभण्डारीको चित्रहरु हेर्न सक्नुहुन्छ । जसमध्ये सम्झना राजभण्डारीको चित्रमा भने एउटा मण्डाला जस्तो देखाइएको छ र त्यसको विचमा एउटा रुखलाई प्रतिकात्मक तरिकाले प्रस्तुत गरिएको छ । उनका अनुसार ‘मानिस र प्रकृति एक अर्काका परिपुरक हुन् । जसरी प्रकृतिमा रहेका रुखहरु हुर्कंदै त्यसले आफ्नो निमयको पालना गरिरहेको हुन्छ र अन्त्यमा त्यो रुख पनि प्रकृतिमा नै विलय हुन्छ भने मानिस पनि त्यसरी नै नियममा बसेर आफ्नो जीवनलाई सार्थक बनाउनु पर्छ भन्ने सन्देश दिन खोजेको छु ।’

त्यसबाट बाहिर निस्केर दाहिने माडिनु भयो भने त्यहाँ विधाता के.सी, मुना भडेल, छिरिङ फुङछोक, सरिता ढंगोल र सम्झना राजभण्डारीको चित्रहरु  अवलोकन गर्न सक्नुहुन्छ । त्यहाँ मध्येका एक कलाकार छिरिङ फुङछोकका चित्रमा मुस्ताङको हिमाली क्षेत्रमा भइरहेको विकास र त्यहाँ मेसिन पुगिसकेपछिको प्रकृति माथिको दोहनलाई क्यानभासमा देखाएकोे कलाकार फुङ्चोक बताउँछन् ।

Back to top button