सिरहा: जहि धरती पर प्रेम फूलै छै ..

खोज पत्र
खोज पत्र १ बैशाख २०७९, बिहीबार ०६:००
12 Min Read
Aa

नव वर्ष प्रारम्भ सँगै चर्चा चुलिन्छ सिरहा, लहान र सलहेशको । मिथिलाञ्चलमा ग्राम देवतालाई माटोको घोडा चढाउने लोक परम्परा रहेको छ । ग्रामीण संस्कृतिमा आफ्नो  ग्राम देवतालाई  खुशी  पार्न माटोको घोडा र घोड सवार उपहार स्वरूप चढाउने चलन छ । सामान्यतया ग्राम देवताको कुनै नाउँ र स्वरूप  हुँदैन, उनलाई डीहबार बाबा, काली माई, बरहम बाबाको नामले सम्बोधन  गरिने गरिन्छ । गाउँ बाहिर बर वा पीपलको रुख मुनि यिनको निवास  हुने गर्दछ । माटोले लिपिएको, माटोको पिण्ड(थुप्रो)लाई देव प्रतीक मानेर यिनको पूजा गरिन्छ । चाड, पर्व तथा संस्कारको वेला यहाँ विशेष रूपले ‘झाप’ र माटोको घोडा चढाई सुख–समृद्धिको मंगल कामना गरिन्छ ।

यसरी नै मिथिलाको गाउँमा ग्राम देवताको स्थान हुन्छ । जसको जिम्मा गाउँको समृद्धि र रक्षा गर्ने हुन्छ । उक्त देवतालाई ग्राम देवता सलहेशको रुपमा पूजा गरिन्छ अनि उहाँलाई लोक नायक राजा सलहेश भन्ने गरिन्छ । खासगर र सलहेश दुसाध जातिका देवता हुन । उनको मन्दिरलाई ‘गहबर’ भनिन्छ ।

ऐतिहासिक पृष्ठभूमि अनुसार छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमि गढको रुपमा रहेको थियो । त्यसबेला त्यहाँका सेनापति भैरब भूपाल सोमदेव र मन्दोदरीको कोखबाट वीर बालक जयवद्र्धन (सलहेस)को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर अनि बुद्धिमान् थिए । त्यो बेलामा उत्तरको किराँत प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लानका लागि पोखरियागढ, गोविन्दपुरगढ तरेगना, र महिसोथामा बारम्बार आक्रमण हुने गर्दथ्यो । भोट र किराँतको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ (हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ) का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए ।

भुटानी भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस तरेगना गोविन्दपुरगढीका सेनापति नियुक्त भए । सहलेस गणपति भए पनि कोशीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पद्म प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पार्दै गइरहेका थिए ।

पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिए पछि चोहरमललाई दोषी करार गरी रिहा भएका थिए । सहलेशसँग बालक कालमै तरेगना गोविन्दपुरकी सात बहिनी मालिनीसँग प्रेम बसेको थियो । यो सँगै पोखरीयागढकी राजकुमारी चन्द्रवतीसँग पनि बालककालमै प्रेम सम्बन्ध रहँदै आएको थियो । चन्द्रवतीसँग प्रगाढ प्रेम भए पनि सलहेशलाई त्यहाँका राजाले स्वीकार गरेका थिएनन् ।

सिराहा जिल्लामा पूर्व कर्णाटक कालीन अवशेष रहेको छ । अत्यधिक सम्मान पाएका राजा सलहेस देवता भन्दा पनि लोकनायक थिए । आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्लामा धेरै ऐतिहासिक स्थलहरू रहेका छन् । सलहेस कुनै काल्पनिक पात्र नभएर आफ्नो समयको लोकनायक थिए । सलहेस गाथामा वर्णन गरिए अनुसार राजा सलहेसले एकैदिनमा माणिक दहमा नुहाउने, फूलबारीबाट फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पुगी जनताहरुको पीरमर्का सुन्ने गर्दथे । सलहेसको गाथासँग जोडिएका ऐतिहासिक ठाउँहरू सिराहा जिल्लाको जनजीवनसँग गहिरो सम्बन्ध राख्दछ । पुरातात्विक महत्व बोकेका अवशेषको उत्खनन् गरी राज्यले यसको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको छ ।

सहलेस फुलबारी सिराहा जिल्लाको सिस्वानी गाउँ विकास समितिमा रहेको छ । करिब नौ बिघामा फैलिएको सो फुलबारी दुसाध र दनुवार जातिका इष्ट देवता सहलेसको फुलबारीको रूपमा प्रसिद्ध छ । फूलको बोटमा फूल फूल्नु कुनै अनौठो विषय होइन तर एकै रुखमा प्रत्येक वर्ष एक दिन मात्र माला आकारको फूल फूल्ने गरेको देख्दा अनौठो लाग्नु स्वाभाविक हो । फूलबारीको मध्यभागमा रहेको हाराम नाउँको रुखको हाँगामा प्रत्येक वर्ष नयाँ वर्षको पहिलो दिन एका बिहानै माला आकारको सेतो फूल फूल्ने र साँझपख फूल ओइलाएर जाने गरेको छ । सातौँ–आठौँ शताब्दीदेखि फूल्दै आएको विश्वास गरिएको त्यो फूल हेर्न विदेशी समेत त्यहाँ आइपुग्छन् । हारामको रुख नजीकै सहलेस महाराजा तथा मालिनीको मन्दिर (गहबर) छ । त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास रहिआएको छ । युवायुवतीले उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन । गहबरमा सहलेस र मालिनीको भव्य मूर्ति रहेको छ । पूजारीका अनुसार मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको र इनार कहिलेकाँही अपर्झट रूपमा मात्र देखिने गरेको छ ।

सात बहिनी रेशमा, कुशमा, हिरिया, जिरिया, पनमा, फुलवा र दौना लगायतका सुन्दरीहरुले सहयोग गर्दा सहलेस र चन्द्रवतीबीच प्रेम भएको भन्ने किंबदन्ती छ र सातै वहिनी सलहेससँग प्रेम गर्दै आएका थिए । तर, सलहेशको विवाह बलाठका राजाकी छोरी सत्यावतीसँग भएको थियो । सलहेश तीन राजाका छोरीहरु ९ जनासँग प्रेम बन्धनमा थिए । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । मधेशमा अहिले पनि गाउँ गाउँमा गीत,नाच र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवित नै छ ।

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ को तेस्रो संस्करण चैत २३ गते सुरु भै २५ गते सम्म चलेको थियो ।  जसमा मैथिली भाषा, साहित्य, कला, संस्कृतिको विषयसँग सम्बन्धित १० विषयमाथि गम्भीर विचार मन्थन र विमर्श भएको थियोे । त्यस मध्ये एउटा विषय थियोे ‘पर्यटन विकासक सांस्कृतिक आधार’ माथिको विमर्श पनि रहेको थियो । उक्त कार्यक्रम हाम्रो पर्यटन बिकासमा पनि केन्द्रित थियो । कुनै पनि देशको विकासमा कलाको महत्वपूर्ण योगदान रहेको हुन्छ । यसले साझा दृष्टिकोण, मूल्य, प्रथा एवं एउटा निश्चित लक्ष्यलाई देखाउँछ र यसले सबै आर्थिक, सामाजिक सँगै अन्य गतिविधिमा संस्कृति तथा रचनात्मकताको समावेश गरेको हुन्छ । बहुभाषिक, बहुसांस्कृतिक विविधताको हाम्रो देश, आफ्नो विभिन्न संस्कृतिको लागि विश्व माझ चिनिन्छ । जहाँ गीत–संगीत, नृत्य, नाटक–कला, लोक परम्परा, कला–प्रदर्शन, धार्मिक–संस्कार एवं अनुष्ठान, चित्रकारी, हस्तकला एवं लेखनको क्षेत्रमा ठूलो भण्डार बिध्यमान छ । हाम्रो मानवताको ‘अमूर्त सांस्कृतिक धरोहर’को रूपमा पनि चिनिन्छ । यसको संरक्षणको लागि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न कार्यक्रममा आफ्नो योजनालाई कार्यान्वित गर्दै आइरहेको छ । यो खण्डमा मिथिलाको सांस्कृतिक धरोहर, प्राचीन स्मारक, साहित्य, दर्शन, विभिन्न योजना, कार्यक्रम, कला–प्रदर्शन, भेला –मेला, पावैन –तिहार तथा हस्तकलाको बारेमा विस्तृत जानकारी प्रदान गरिएको छ ।

‘पर्यटन विकासक सांस्कृतिक आधार’ माथीको विमर्शमा मधेस सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुघन महतो, नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, योजना आयोगका सदस्य प्रा.डा.सुरेन्द्र लाभ, प्रदेश सांसद मञ्जु यादव, युवा राजनीतिकर्मी श्रीप्रसाद साह, एससी सुमन स्वयम् पंक्तिकार वरिष्ठ मिथिला चित्रकारको रुपमा सहभागी भए तथा कार्यक्रमको संचालन पत्रकार मोनिका झाले गर्नु भएको थियो । छलफलको क्रममा सलहेस फूलवारी हाम्रो आकर्षक गन्तव्य हुनसक्ने निष्कर्ष  निस्केको थियोे।

तीव्र विकास र विस्तारको प्रसव वेदनाको पर्खाईको क्रममा रहेको मिथिला महत्वपूर्ण पर्यटकीय क्षेत्रको मौलिता मैथिली हस्तकला, सांगीतिक जीवन शैली, विभिन्न देशबाट आउने पर्यटकको आवातजावतको लागी योजना बनाउन लागी परेको छ । इतिहासमा कलाको हाम्रो आफ्नै इतिहास भएपनि, हाम्रो पर्यटन खोलानाला, पहाड, हिमाल, वनजंगल, जस्ता पक्षलाई मात्र जोडिँदै आएको छ, मैथिली संस्कृति किन हाम्रो कला पर्यटनसँग जोडिन सकेको छैन भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा यो महोत्सव आयोजना हुने गर्दछ । जहाँ कला, संस्कृतिको विविध बिधालाई समेटेर चिन्तन, मनन, मन्थन गरि निष्कर्षमा पुग्न प्रयास गरिन्छ । “यो हाम्रो  प्रयास हो, देश विकासमा तीन तहको सरकार र लोक जनसँगको बिच पूलको निर्माण गरि अघि बढनु पर्ने भएकोले हामीले थप जिम्मेवारी महसुस गरे रहेका छौँ,” मैथिली विकास कोषका अध्यक्ष जीव नाथ चौधरीले भन्नुभयो ।

पहिले खरको छानो भएको गहबर अचेल पक्की छत भएको गहबरमा परिणत भएको छ । गहबरको बदलिदो स्वरूपले ग्रामीण समृद्धिलाई दर्शाउँछ । लहान बजारदेखि ४ कि.मि. पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा राजा सहलेसको फूलवारी छ । उक्त फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ । सलहेश गहवरमा राजा  सलहेश सग विभिन्न सहायक  मुर्तिहरुको निर्माण तथा रङ्गरोगन गरिन्छ ।

कुनै समयमा देवी  देवतालाई चढाउने मूर्ति  बाजार बाट खरिद गरिँदैनथ्यो । आवश्यकता अनुसार चाहिएको मुर्ती कुमालेसँग अनुरोध गरि बनाउन लगाइ, मूल्य स्वरुप धोती, साडी तथा आनाज दिने चलन थियो । प्रत्येक घर परिबारको लागि आ–आफ्नो कुमाले हुन्थे, जसलाई  वार्षिक रुपमा अन्न दिने गरिन्थ्यो ।

केही वर्ष पहिलेसम्म मिथिलाका कुमाले प्राकृतिक रङ्गको प्रयोग  गर्ने गर्दर्थे । ऊनीहरु वनस्पति र खनिजबाट रङ्ग बनाउँथे । सुन्तुला रङ्ग सयपत्री र पारिजातको फूलबाट, नीलबाट नीलो, वेसारबाट पहेलो रङ्ग बनाउँथे भने गेरु माटोबाट रातो रङ्ग बनाई रङ्गाउँथे ।  साथै  चूनाबाट सेतो र मोसोबाट  कालो रङ्ग बनाउने चलन थियोे । तर आज आएर आधुनिक रङ्गले प्राकृतिक रङ्गलाई पुर्णतया बिस्थापित गरिदिएको छ ।

सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिक स्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सकिन्थ्यो । पुरातात्विक महत्व बोकेको अवशेषको उत्खनन् गरी राज्यले यसको विकास गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको छ ।

मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको सम्वद्र्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनै पर्छ । राष्ट्रिय गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारी स्तरबाट प्रचार–प्रसार मात्र होईन वनस्पति वैज्ञानिकको सहयोगमा यो क्षेत्रमा यो फूलको बिस्तार हुनु जरुरी छ । यस्तो कार्यमा स्थानिय सरकारको ठोस नीति र दुरगामी  सोच र पहल आवश्यक हुन आउँछ । सानो आकारमा भए पनि कला र हस्तकलाको मेला लगाउन सकिन्छ । काठमाडौमा सिमित हस्तकला महासंघ र हस्तकला मेला आफूलाई फराकिलो र विस्तारित गर्न यस स्थानमा पनि जुट्नु आजको आवश्यकता भइसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सक्ने सम्भावना पनि यसले बढाउने देखिन्छ ।

भनिन्छ प्रेम अमर हुन्छ । प्रेम युग–युगान्तर सम्म रहिरहन्छ र त्यसलाई न समाजले रोक्न सक्छ न त कुनै पहाडले छेक्न सक्छ ।  त्यो एक दिन अमर बनेर सबैको मनमुटुमा बस्छ । यस्तै प्रेमसँग यतिबेला सिरहाको ऐतिहासिक सलहेस फूलबारीमा वैशाख १ गते फुल्ने फूल हेर्न आउने जोकोहीले पनि आपसमा भलाकुसारी गरिरहेका छन् ।

“जहि धरती पर प्रेम फूलै छै कुशमा आ सलहेस के ।

गीत गबै छी हे हौ बगडि़या सएह तिरहुतिया देशके ।।”

कुनै समयमा लेखिएको यो पाती (पंक्ति) संगीत तथा नाट्य प्रज्ञा प्रष्ठिानका प्राज्ञ धिरेन्द्र प्रेमर्षीको निजी थियो भने, यो आज मिथिला, मैथिली, सलहेस, सिरहा, लहानको लोक गीत भएको छ, आज यतिमात्र होइन यहाँ मेला भर्न आउनेहरु अधिकांश प्रेम जोडी वा निसन्तानहरुले सन्तानको आशमा भाकल गरेर राजा सलहेशको फुलबारी अवलोकन गर्न हजारौको संख्यामा भक्तालुहरु आउने गरेका छन् । अनि यो पूmलबारी हाम्रोबाट हामी सबैको भएको छ । यसै लेखका साथ नव वर्ष २०७९ को शुभकामना पनि यहाँहरु सबैमा टक्र्याउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

Array