लामादेखि थान्कासम्म

‘मलाई विद्यालयको पढाइ पढ्न मन छैन,म त लामा पढ्न जान्छु।’

उपल्लो मुस्ताङमा छोेसेर गाउँमा जन्मेका खावा छिरिङ बाल्यकालमा मुस्ताङकै कुनै एउटा विद्यालयमा जाने गर्दथे । विद्यालयमा पढ्नु भन्दा पनि चित्रकलामा विशेष रुची भएका उनलाई आठ कक्षामा पढ्ने बेलामा विद्यालय जानै मन लागेन । उनि विद्यालय जाने बेलामा जङ्गल तथा चउरमा चौरीहरु निर्धक्क चरिरहेका हुन्थे भने चराहरु चारो टिप्दै उडिरहेका हुन्थे त्यो हेर्नमानै मस्त हुन थाले । करिब दुई हप्ता जति विद्यालय नगइसकेपछि विद्यालयका शिक्षकहरुले खावा विरामी परेकोहो कि भनी उनकोघरमा बुबा आमालाई सोध्न आए । बुबा आमाले जब खावा विद्यालय नगएको थाहा पाए, उनलाई बोलाइ सोधपुछ गर्न थाले । ‘विद्यालय किन नगएको ?’उत्तर थियो, ‘मन नलागेर’ । यो कुरा उनले बुबालाई बुझाउन खोज्दा बुबाले बुझेनन् । कल्पनाशिल खावा बुबाको निर्घात कुटाइमा परे । तर त्यो कुटाइले उनको मन बदल्न सकेन ।

त्यसपछि आमाले खावा छिरिङलाई सम्झाइ बुझाइ गरेर फेरी सोधिन्–‘तिमी विद्यालय पनि जाँदैनौं, के गर्न सोच्दै छौ ।’ उनको जवाफ थियो–‘मलाई विद्यालयको पढाइ पढ्न मन छैन,म त लामा पढ्न जान्छु ।’ परिवारमा कोही कसैले पनि लामा विद्या पढेको थिएन । तर गाउँका धेरै जना लामा विद्या पढ्न तिब्बत र भारत गएका थिए । गाउँका २५/३० जना लाई लामाहरुले आएर जाँच गरी काठमाडौंको स्वयम्भू ल्याउने गर्दथे । अनि त्यहाँबाट छनौट गरी कसैलाई तीव्वत त कसैलाई भारत लैजाने गर्दथे । त्यही क्रममा खावा पनि भारतको कर्नाटक जानेमा परे ।

आफुले चाहेको विषय भएकाले उनको रुची लामाको पढाइमा निकै थियो । पढ्दै जाने क्रममा अनुशासित जीवन, पञ्चशिलको पालना गर्दै शाक्य परम्परा अन्र्तगत उनले दिक्षा लिए । गुम्बामा बस्दा विहान ४ः३० मा उठ्नु पर्दथ्यो र बेलुका नौ बजेसम्म त्यही गुम्बाको पढाइ र गुरुहरुको सेवामा नै वित्ने गर्दथ्यो ।

रात्रिकालिन समयमा उनी गुम्बामा रहेका विभिन्न मण्डलाहरुको चित्र हुवहु उतार्दथे र आफ्ना गुरुहरुलाई ती चित्रहरु देखाउँथे । देखाउँदा जहिले पनि गुरुहरु उनका मण्डलाका चित्रहरुलाई लिएर प्रसंशाका शब्दहरु नै बर्षाउँथे । यसले उनमा थप त्यस्तै चित्रहरु बनाउँदै जाने उर्जा सञ्चारण गर्दै गयो । मण्डलाका चित्रहरु विस्तारै अझ कठिन अझ कठिन गर्दै थान्का तिर प्रवेश गर्दै थिए । आफ्नो रुचि त्यसैमा भएका कारण उनी टिवेटिएन भाषामा लेखिएको धर्मग्रन्थहरुलाई पढ्दै, लेख्दै, कल्पना गर्दै ती ग्रन्थहरुमा लेखिएजसरी नै तीनका चित्रहरु थान्कामा उतार्न खावा छिरिङलाई  त्यस समयमा बनाएका धेरै जसो चित्रहरु भारत, तिब्बत र युरोप, अमेरिका जस्ता देशहरुका भित्ता तथा गुम्बामा सजिइसकेको छ ।

भारतमा रहँदा बस्दा उनलाई उनको घरबाट खबर आयो कि– उनको भाइलाई घोडाले हिर्काएर घाइते बनाएको छ । अनि बुढी आमालाई स्याहार गर्ने कोही पनि छैन । मन नहुँदा नहुँदै पनि बाध्यताले डोहोर्याएर उनले आफु गरिरहेको लामाको काम चटक्कै छोडेर आफ्नो गाउँ फर्के । केही समय त्यहाँ बसिसकेपछि उनी काठमाडौंतिर हानिए । एक लामाको कसम छोडि उनि विहेवारी गरी गृहस्थ जीवनमा फर्किए । काठमाडौमा आएपछि लामो समयसम्म तिब्बतकै कुनै गुरुको सानिध्यमा रहि सुन प्रयोग गरी थान्का चित्रहरु बनाउन र सिक्नमा तल्लिन रहे । आफ्नो चित्रहरु देश विदेश धेरैतिर गइसकेको बताउने खावा बेला बेलामा गुम्बा अनि गुम्बाको जीवन सम्झेर अझै पनि भावुक हुन्छन् । गुम्बामा रहँदा बस्दा आफुले पाएका सुविधाको ऋण तिर्नका लागि पनि गुम्बामा नै दिनको लागि विभिन्न आकर्षक थान्काहरु बनाइ गुरु चरण कमलमा चढाइनै रहेका हुन्छन् ।

उनले गुम्बामा बस्दा आफ्नो गुम्बा भित्र चित्रहरु कोर्ने, सिमेन्ट कार्भिङ गरी गुम्बालाई आकर्षक बनाउने लगायत धेरै कलासम्बन्धी काम समेत गर्ने मौका पाए । उनले बनाउने थान्काहरु विशेषगरी ग्रन्थहरुमा लेखिएको मन्त्र तथा व्याख्या गरिए अनुसार हुने गर्दछ । उनी बताउँछन्–‘थान्क बुझ्ने र ग्रन्थको नियम अनुसार बनाउने मानिसहरुको कमी छ ।’ गुरुको सानिध्यमा बसी थान्का लेख्न उनलाई बढी मन पर्ने र त्यस थान्का जसको घरमा वा गुम्बामा पुग्छ त्यसमा धेरै शक्ति हुने र बरदान दिन सक्ने कुरामा उनि धेरै नै विश्वास गर्दछन् ।

उनीसँगै गुम्बामा थान्का लेख्ने तथा काठमाडौं फर्किएपछि उनीसँगै थान्कामा काम गर्नेहरु अहिले विदेश पलाएन भएको बताउँछन् । यहाँ थान्काहरु व्यापारिक हिसावले विक्रि वितरण हुन थाले, थान्काको नियम र त्यसले बताउने धार्मिक कथाहरु बुझ्ने जमातको पनि कमी रहेको कारणले पारिश्रमिक नउठ्दा थान्का लेख्नेहरु पलायन भएको उनको कथन छ । अर्को एक प्रसङ्गमा नेपालमा थान्का चित्रहरु विशेषगरी गुम्बा तथा बौद्ध धर्मका अनुयायीले मात्र किनेर लग्ने गर्दछन् भने नेपाल घुम्न आउने पर्यटकको लागि पनि त्यो थान्काहरु आकर्षणको केन्द्र बन्दछ ।

तर, यहाँ व्यापारीक प्रयोजनका लागि सस्तो मूल्यमा नियममा नबसी थान्काहरु बनाउने प्रचलन पनि मौलाउँदै गएको छ र यसले वास्तवमा नै नियममा बसेर धर्मग्रन्थअनुसार थान्का बनाउनेहरुले मूल्य नपाएर यो पेशाबाट पालयन भइरहेका छन् । बौद्ध धर्म परम्परा र धर्म ग्रन्थमा उल्लेखित विषय अनुसार चित्र छ कि छैन भनेर सबैले नबुझिदिँदा यसको बजार खस्कँदै गएको हुनसक्ने र त्यसको लागि कुनै पनि क्रेताले गुरुहरुको सुझाव र सल्लाहमा थान्का किन्ने गरिदिने हो भने थान्काको बजार राम्रो हुनेमा उनि विश्वस्त छन् ।

Back to top button