नेपाली कला संस्कृतिलाई चिनाउने प्रयासमा उन्नति सांस्कृतिक गाउँ

सुनिल राज ढकाल
सुनिल राज ढकाल १४ बैशाख २०७९, बुधबार ०६:००
18 Min Read
Aa

नेपालको राजधानी काठमाडौंबाट करिब १६१ किलोमिटरको दूरीमा एउटा यस्तो स्थान अवस्थित छ जहाँ कलाकारहरुले एउटा छुट्टै वातावरणमा बसेर चित्र कोर्न पाउँछन् । कुनै बाधा, व्यवधानको सामना गर्नुपर्दैन, आफ्नो दिमागलाई चुस्त दुरुस्त राख्दै प्रकृतिको मनोरम वातावरणमा रङ्गहरुसँग रमाउन र खेल्न, क्यानभाससँग कुरा गर्न उक्त स्थान फलिभूत हुनसक्छ । हवाइ मार्ग तय गर्ने हो भने काठमाडौंबाट भरतपुर १५ मिनेट र त्यहाँबाट करिब १८ किलोमिटर मोटरको यात्रा गर्नुपर्ने हुन्छ ।

आफ्नो क्षेत्रकोभन्दा फरक संस्कृति, फरक स्थान, नयाँ नयाँ प्रयोग गर्न यस्तो स्थानले चित्रकारहरुलाई मदत गर्दछ भन्ने मान्यता समेत रहेको छ ।

नवलपुरको हर्कपुरमा अवस्थित उक्त स्थानलाई चौधरी फाउन्डेसनले उन्नती कल्चरल भिलेज(युसिभी) को नाम दिएको छ । केही दिन अगाडि यस स्थानमा भारतको रजा फाउन्डेसनबाट पाँच कलाकारहरु २१ दिन बसेका थिए । रजा फाउन्डेसनसँगको सहकार्यमा चलेको उक्त अन्तर्राष्ट्रिय कलाकारहरुको बसाई (International Art Residency) सन् २०२२ को अप्रिल ४ देखि २४ सम्म चलेको थियो ।

अमृत कार्की, क्युरेटर/कलाकार

उक्त कलाकारहरुलाई त्यहाँ रहँदा बस्दा नेपालका कलाकार तथा आर्ट क्युरेटर अमृत कार्कीले सहयोग गरेका थिए । मोफसलमा बसी कला व्यवस्थापनमा सहयोग गरिरहेका संघर्षशील कलाकार तथा कला क्युरेटर कार्की पोखरा निवासी कलाकार हुन् । पाकिस्तानबाट समसामयिक चित्रकलामा स्नातकोत्तर गरेका उनी नेपालमा नै कलालाई प्रवद्र्धन गर्नुपर्छ भन्ने सोचि आफ्नो पढाइ पछि नेपाल फर्किए अनि यहिँ नै कलाको विकास अनि प्रवद्र्धनको लागि संघर्षशील छन् । उन्नती सांस्कृतिक गाउँमा रेसिडेन्सीको सुरुवातदेखि नै भारतिय कलाकारहरुले बनाएका कलाहरुलाई निश्चित गन्तव्य स्थानमा पु-याउने तथा कलाकारहरुलाई कला बनाउनको लागि सहयोग पु-याउनमा समेत उनको भूमिका रहेको थियो । आफ्नो अनुभव सुनाउँदै कलाकार कार्की बताउँछन्, “भारतका चिनिएका कलाकारहरुको अनुभव तथा उहाँहरुले बनाउँदै गरेको चित्रहरु तथा आइडियाहरुको बारेमा थाहा पाउनको लागि यो कार्यशाला मेरा लागि पनि फलीभूत भएको छ ।”

यसपाली यहाँ आएका कलाकारहरु कलामा नै आफ्नो जीवन समर्पण गरिसकेका कलाकारहरु रहेका छन् । उनिहरु आफ्नो देश भारतमा तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कला मार्फत ख्याति कमाउन सफल भइसकेका छन् । उनिहरुका सिर्जना विश्वका ठूला ग्यालरी तथा म्युजियमहरुमा देख्न सकिन्छ ।

वाहिदा अहमद, मल्टिमिडिया कलाकार, आशाम, गुवाहाटी

भारतको गुहाटी, आशामकी मल्टिमिडिया कलाकार वाहिदा अहमदका कामले आसामको झल्को दिन्छ । उनका कामहरु विशेषगरी आसामको घरबुनाको अवधारणाबाट प्रभावित छन् । त्यहाँका प्रत्येक घरमा बुन्नका लागि प्रयोग हुने ऊनी धागो वा कुनै धागोका लुमहरु हुने गरेको उनी बताउँछिन् । त्यहाँका मानिसहरु मूलतः मफलर, टोपि, स्वेटरहरु बुनि नै रहेका हुन्थे । आसाममा बुनिएका वा भरिएका सारी, गलबन्दी, मफलरहरु भारत भरि नै प्रख्यात रहेको उनी बताउँछिन् । त्यही डोरी/धागोले एक अर्कालाई गाँसेको डोरी जस्तै अन्तर्सम्बन्धहरुले एक ठाउँका मानिसहरुलाई अर्काे ठाउँको मानिसहरुसँग जोडि नै रहको हुन्छ । उनका चित्रकलाहरुमा विशेषतः थोप्लाहरुको प्रयोग हुने गरेको उनि बताउँछिन् ।

तस्विर सौजन्यः लुजला मानन्धर(उन्नती कल्चरल भिलेज)

जुन थोप्लाहरुमा कहिलेकाहिँ रंगहरु पोतिन्छन् । यी थोप्लाहरुले त्यो संस्कृतिलाई प्रतिनिधित्व गर्छ जुन आजका दिनमा आउँदा लोप हुने अवस्थामा पुगेका छन् । उनका अनुसार त्यही थोप्लाहरुमा जेक कार्ड (तासको गुलाम, रानी र बादशाह) लाई आकार दिनको लागि प्रयोग गरे जस्तै विभिन्न आकृतिका जेककार्डहरुको मद्दतले अन्तर्सम्बन्धहरु आफ्नो कला मार्फत प्रस्तुत गर्न उनलाई खुबै मन पर्छ । दृष्टान्तको रुपमा उनले एउटा कलामा नेपालमा पाइने कागहरुसँग जोडिएको किम्बदन्तीहरुलाई आसामको अनि पूरा नेपालको विश्वास पद्दतीसँग जोडेकी छन् । जस्तै काग पूर्वतिर उँड्दा घरमा पाहुना आउने विश्वास, पश्चिममा उँड्दा घरमा अशुभ समाचार सुन्नु पर्ने विश्वास, आदि मान्यता रहेका छन् । यी कुराहरु पहिले आसाममा पनि हुने गरेको तर समयक्रमसँगै यी कुराहरु मानिसले मान्न छोडिसकेको परिप्रेक्ष्यमा त्यहाँकोे विश्वास र यहाँको विश्वासको पाश्र्वदृश्यमा नेपालको चुच्चे नक्सा राखि उनले आफ्नो कला तयार पारेकी छन् । कला भावना अभिव्यक्तिको उत्कृष्ट माध्यम रहेको कुरामा विश्वास गर्ने वाहिदा कलाको माग अनुसार कहिले धागो, कहिले प्रिन्टमेकिंग त कहिले पटरीको माध्यमबाट आफ्नो कलाहरु बनाउने गरेको बताउँछिन् ।

आरएम पलानीअप्पन, वरिष्ठ प्रिन्टमेकर तथा कलाकार, चेन्नइ

आफ्नो जन्मस्थानबाट आर्किटेक्चर पढ्नका लागि चेन्नइ आएका आरएम पलानीअप्पन एकाएक आर्किटेक्चर नपढी फाइन आर्ट कलेजमा भर्नाको लागि दरखास्त दिन पुगे । उनी वैज्ञानिक अथवा खगोलविद् बन्न चाहन्थे । किन तपाइ कलातिर आउनुभयो त ? भन्ने प्रश्नमा पलानीअप्पन भन्छन्– मलाई बाल्यकालदेखि नै कला र संगीतमा रुची थियो । सायद त्यसैले होला मेरो इच्छाहरु त्यतैतिर तानिए । कला भित्र पनि के कुरामा बढी रुची छ भनेर पत्ता लगाउन उनलाई केही वर्ष लाग्यो । आफुभित्र रहेको वास्तविक इच्छाशक्तिलाई विश्लेषण गर्दै आफ्नो क्षेत्र पहिल्याउन बहुत कठिन भएको उनी बताउँछन् । तर एक समय यस्तो आयो, जब उनले उडिरहेको प्लेनहरुले बनाएको रेखा देखे । अनि उनी विश्व युद्धका चलचित्रहरुमा उँडिरहेका प्लेनहरुबाट पनि प्रभावित हुन थाले ।

कलाकार आरएम पेलानीअप्पन जहिले पनि आफ्नो काम अनि आफुले कोरेका रेखाहरुमा उत्सव मनाउन रुचाउँछन् । सदा एकाग्र अनि दत्तचित्त भई काम गर्न रुचाउने उनी बाहिरी आँखाले हेर्दा अर्थ नदिने खालका चित्रहरु कोर्न रुचाउँछन् । आफुले बनाएका प्रत्येक कलाहरुमा अनि खिचिएका प्रत्येक रेखाहरु तथा प्रयोग गरिने रंगहरुमा समेत उत्सवको भावना अभिव्यक्त गरिरहेका हुन्छन् । उनका अनुसार अंक अनि आकृतीहरुले दिमागमा छापहरु पार्ने गर्दछन् । यी छापहरु अंक वा अक्षर विना पनि अभिव्यक्त गर्न सकिन्छन् अनि ती अभिव्यक्तिको चरम आनन्द नै उत्सव हो भन्ने कुरामा विश्वास गर्ने उनी आकृतीको विचमा पनि दिमागले केही न केही अर्थको कल्पना गरिसक्ने बताउँछन् । यो नम्बरले दिमागमा पार्ने मनोविज्ञानको भूमिका कस्तो हुन्छ भन्ने विषयमा उनि क्यानभास र रङ्गहरुसँग खेल्दै अन्तरलाप गरिरहेका हुन्छन् । यो क्रम उनले करिब सन् १९८३/८४ बाट सुरुवात गरेको बताउँछन् ।

उनलाई हजाइजहाजले आकाशमा उड्दा बनाउने बक्ररेखाचित्र बनाउन मन पर्छ । उनका अनुसार प्लेनले थ्री डाइमेन्सनल रेखाचित्र बनाइरहेको हुन्छ आकाशमा । त्यही विषयलाई उनले अपनाएका हुन् । उनका यस्ता कामहरु सन् १९८२ बाट आएको हो र आजका दिनमा उनका त्यस्ता कलाकृतिहरु भारतमा प्रख्यात भइसकेका छन् । क्यानभाससँग कुरा गर्दै उत्सव मनाउँदै काम गर्न रुचाउने उनी कयौँ रातसम्म एउटै क्यानभासमा रात बितेको समेत पत्तो पाउँदैनन् । यहि उत्सव मनाउने क्रममा उनी कहिले क्यानभासमा माटो त कहिले विभिन्न घरायसी चिजहरुको समेत प्रयोग गर्न रुचाउँछन् ।

तस्विर सौजन्यः लुजला मानन्धर(उन्नती कल्चरल भिलेज)

नेपालमा आर्ट रेसिडेन्सिमा बसिरहँदा उनले यहीको वस्तुस्थिति र आफुले पाटन, भक्तपुर, काठमाडौं घुम्दा देखेका रेखाहरुलाई क्यानभासमा प्रयोग गरेको बताउँछन् । “जुनकुनै ठाउँको पनि टोपोग्राफिकल नक्शा हुन्छ । त्यसलाई सामान्य तरिकाले बुझ्दा एष्ट्रोनोमि र टोपोग्राफिकल जमिन जहाँ हामी बसिरहेका छौं त्यसलाई नै मैले रेखाचित्रमा उतार्ने गर्दछु । मानिसहरुले एउटाको पछाडि अर्को मन्दिर, त्यसको छेउमा अर्को मन्दिर देख्छन् । म भने त्यहाँ रेखा नै रेखा देख्दछु । त्यस्ता रेखाहरु स्केच गर्दछु । त्यहाँका मुभमेन्टलाई आफ्नो क्यानभासमा कसरी उतार्न सकिन्छ भनेर प्रयासरत रहन्छु । अहिलेको मेरो तीन वटा चित्रमा मैले देखेका र घुमेका स्थानहरुलाई लिएर नै तयार पारेको हुँ,” कुराकानीको क्रममा उनले भने ।

मनिस पुसकले, सामसामयिक भारतीय कलाकार तथा रजा फाउन्डेसनका ट्रष्टी, दिल्ली

भारतको मध्यप्रदेशको भोपालमा जन्मेका मनिष पुशकले रजा फाउन्डेशनका ट्रस्टि समेत हुन् । कला शुरु गर्नु अघि उनी भूगोल शास्त्रमा विद्यावारिधि गर्दै थिए । तर उनलाई त्यो पढाई भन्दा कलाले तानिरहेको थियो । आफुलाई शिक्षित कलाकार भन्दा पनि दिक्षित कलाकार भन्न रुचाउने पुशकले आफुलाई अमूर्त चित्रकलाले बढी तान्ने गरेको बताउँछन् । भावनाहरु अभिव्यक्त गर्न कति पय अवस्थामा जे हो त्यो ठ्याक्कै भन्नु भन्दा त्यसलाई मनको आँखा अनि दृष्टिले हेरि बनाउन रुचाउने उनी नेपालले पहिलो पटक भेनिस विएनालेमा सहभागिता जनाउन पाएको र अब आउने दिनमा नेपालका कलाकारहरु पनि विश्व सामु चिनिन पाउने एक सुनौलो अवसर जुटेकोमा खुशी व्यक्त गर्दछन् ।

सन् १९८२ मा भारत भवनले धेरै कलाका विधालाई प्रोत्साहित गर्न स्थापित भयो । धेरै कलाकारहरुको जमघट गर्ने थलो पनि बन्यो । यो एउटा म्युजियम पनि हो भने यसले संस्थागत रुपमा उनलाई दिक्षित बन्न मदत गरेको उनि बताउँछन् । आफ्नो पारिवारिक पृष्ठभूमी र कामभन्दा विल्कुलै फरक काम गर्नाले उनले आफुलाई एउटा फरक बाटो रोजेको भन्न रुचाउँछन् । उनी जहाँ हुर्के त्यस ठाउँको पूर्वी भागमा हिन्दुहरुको बाहुल्यता थियो भने पश्चिमतिर मुस्लिमहरुको बाहुल्यता । अनि त्यही बाहुल्यता र संस्कृतिको अन्र्तसम्बन्धले गर्दा नै उनको काम गर्ने शैली बनेको उनी बताउँछन् ।

“अमूर्तता आफैंमा अमूर्तता होइन तर यो काम गर्ने एउटा शैली हो,” भन्न रुचाउने मनिस अझ थप्दछन्, “राम्रो चित्र राम्रो चित्र हो, चाहे त्यो वास्तविक होस्, एब्स्ट्रयाक होस् वा फिगरेटिभ ।”

“विश्वलाई हेरेर चित्र बनाउनु र विश्वमा देखिएका विषयहरुलाई अनुभव गरेर कुनै पनि चित्रको सिर्जना गरिनु भनेको त्यसलाई परिभाषित गर्ने तरिका मात्र फरक हुन् तर ती सिर्जना त सिर्जना नै हुन् । जीन्दगीका आरोह अवरोहहरुमा दुईवटा बाटाहरु हुन्छन् त्यस्तो बेलामा एउटा बाटो छान्नु पर्ने हुन्छ । त्यस्तो बेलामा बाटो छान्न सकिएन भने कतै पुगिँदैन । त्यसैले मैले कलालाई छानेँ र यहाँसम्म आइपुगें अझै यस मार्गको गन्तव्यमा पुग्न भने बाँकी नै छ । आफ्नो काम सिद्धताका साथ गर्दछु र अरुको भावनाहरु पनि त्यसमा समाहित होस् भन्नेमा जहिल्यै चनाखो रहन्छु,” भन्दै मनिस आफ्नो कामको बारेमा बताउँछन् ।

तस्विर सौजन्यः लुजला मानन्धर(उन्नती कल्चरल भिलेज)

१९९६ मा उनी भोपालबाट दिल्ली बसाइ सराई गरेका रहेछन् । आफ्नो कमफर्ट जोनबाट फरक ठाउँमा पुगेका उनलाई त्यहाँ धेरै चुनौतीहरु थिए कारण, त्यो उनको घर अनि समुदाय थिएन । “एउटा पौडि सिक्न चाहनेले पानीमा छलाङ नमारी पौडि सिक्न सक्दैन त्यसैगरी म पनि सिक्नका लागि छलाङ मार्न त्यता दौडिएँ । मेरो कुनै गन्तव्य छैन तर निरन्तर लागिरहेको छु । निरन्तरताले मानिसलाई गर्न नसकिने कामबाट गर्न सकिने काम तिर डोर्याउँछ । आफ्नो कलाकोे विषयमा सामान्य मानिसलाई बुझाउन उनि जहिल्यै दत्त चित्त रहन्छन् । कला पारखीहरुको चाखको क्षेत्रलाई अनुभूति गरेर उनिहरुलाई त्यसमा चाख जगाउन पनि उनले मदत गरिरहेका कुरा उनी कुराकानीको क्रममा बताउँछन् ।

वर्तमान भारतमा कुनै पनि कलाकारहरुका कामहरु ग्यालरी तथा अक्सन हाउसहरुले सन्चिति गरेर राखेका हुन्छन् । आफ्ना कामहरु कहाँ पुगे भन्ने समेतको जानकारी दिन सक्ने हिसावले काम भइरहेको छ । नेपालमा उन्नति कल्चरल भिलेजमा आएर बस्दै काम गर्नुको पछाडिको कारणबारे उनी बताउँछन् कि फाउन्डेसनकी सुरभी चौधरी उनकोे साथी पनि हुन् जसले मलाई यस उन्नति कल्चरल भिलेजको विषयमा जानकारी गराएकी थिइन् ।

त्यसपछि म नेपाल आएँ, यस स्थानमा बसेर यहाँको बातावरण अनुभूतिगर्न पाएँ त्यसैको उपज अहिलेको रेसिडेन्सि हो । यहाँको यस वसाइ सुरुवात मात्र हो । आगामी दिनमा चौधरी फाउन्डेसन र रजा फाउन्डेसन मिलेर म्युचल कल्चरल कोरिडोर बनाउन प्रयास गर्नेछौं । यहाँको अनुभव एकदमै रमाइलो रह्यो, नयाँ विषय सिक्ने अवसर प्राप्त भयो । नेपालको लागि कलामा केही गर्ने अवसर हो तर सँगसँगै चुनौतीहरु पनि छन् । तर चुनौतीलाई दिमागमा राखेर काम गर्नुपर्छ । हामी सबै कलाकाहरु यहाँ बसेर निकै नै सन्तुष्ट छौं ।

नेपालली कलाकारहरुले आफ्नो देशलाई चिनाउने नयाँ समसायिक सिर्जनाहरुका मार्फत विश्व बजारमा चिनिन कोसिस गर्नुपर्छ । १८ र १९ औं शताब्दीमा कलाको केन्द्र युरोप थियो, १९ र २० औं शताब्दीमा कलाको केन्द्र अमेरिका थियो । अबको समय एसियाको हो ।

अमिताभ दास, वरिष्ठ कलाकार, दिल्ली

भारतको नयाँ दिल्लीका अमिताभ दास समय क्रमसँगै अभिव्यक्तिमा अमूर्त चित्रकला तिर आकर्षित हुन थाले । लामो समयको अनुभवबाट निखारिएको उनका हातहरु ज्यामितिय आकृतिहरु जस्ता चित्रकलाहरु बनाउनमा तल्लिन रहन्छन् । विश्वमा चलिरहेको विभिन राजनैतिक आन्दोलन, पिकासोका कामहरुबाट प्रभावित उनी कहिले ब्लाक एण्ड ह्वाइटमा काम गर्न रुचाउँछन् त कहिले रंगिन कामहरुमा । आफ्नो शुरुआती दिनका बारेमा कुरा गर्दै उनि बताउँछन्, “मेरो बुबा सिमलामा काम गर्नुहुन्थ्यो । त्यसैले मेरो बाल्यकालका केही समय त्यतातिर विते । म सानो छँदा ठूलो प्रभाव त्यहाँको पहाड, वातावरणले पारेको थियो । त्यस ताकाका मेरा कामहरुमा सकारात्मकता हुने गर्दथे । समय क्रमसंगै बाहिरि संसारको राजनैतिक अवस्था मेरो आर्ट वर्कमा घुस्दै गए ।” उनले थप्दै गए, “मेरो कलेजका दिनमा राजनीतिक अशान्तिहरु थिए, चे गेभाराको क्रान्ति पनि त्यही ताका भएको थियो । मानिसहरु राजनीतिक हिसावले जागरुक बन्दै गइरहेका थिए । त्यसको प्रभाव पनि विस्तारै मेरो काममा देखिन थाल्यो ।”

आफ्नो कामको विषयमा अझ गम्भिर हुँदै उनी भन्दै गए, “म कुनै समय भित्री संसारको विषय, कोठा भित्रका विषय, वा भनौँ आफ्नै कम्पाउन्डभित्रका कथाहरुलाई प्रस्तुत गर्ने गर्दथेँ । किनकी बाहिरी संसार आवेगपूर्ण अनि नकारात्मक थियोे । त्यसको रिफ्लेक्सन मेरो काममा आउन थाल्यो । मलाई रंगिन कामहरु भन्दा कालो र सेतोमा रंगमा गरिने कामहरु प्रिय लाग्छन् जुन कलम र मसीको सहाराले गरिन्छ । आफ्नो चित्रलाई पूर्णता दिन म पहिले नै धेरै स्केचहरु गर्ने गर्दछु ।

तस्विर सौजन्यः उन्नती कल्चरल भिलेज

सानो छँदा देखि नै चित्रकलामा झुकाव भएका अमिताभ आफ्नो कामको बारेमा कुरा गर्दा थप्दछ्न्, “ बाल्यकालमा नै मैले १५ औं शताब्दीको कामहरु हेर्ने मौका पाएको । ब्राक, पिकासो, सगाल लगायतका चित्र हेर्दा म एकदम स्तब्ध भएको थिएँ । उनिहरुको चित्रका अगाडि उभिँदा त्यस चित्रलाई छोएर आनन्दित भइरहेको थिएँ । त्यसपछि मैले हरेक चित्र छोएँ अनि त्यसले मलाई अनौठो उर्जा प्रदान ग¥यो । त्यसैले पनि मेरा कामहरु विछोड अनि अन्तर्मनको संवादसंग जोडिएका छन् जस्तो लाग्छ ।

कलेजको पढाइ पूरा गरेपछि उनले कलेजमा नै पढाउने काम पनि गरे । आफुले काम गर्ने क्याम्पस जाँदा उनी दिल्ली कै बाहिरि रिङ्रोडको बाटोबाट जाने गर्दथे । त्यसरी जाँदा उनलाई बाहिरी वातावरण अनि रोडमा भइरहेका गतिविधिहरुले प्रभावित पार्यो र बाहिरी संसारको विषयमा पनि क्यानभासमा चित्र बनाउन थालेका थिए ।

आफ्नो काम गर्ने शैलीको बारेमा उनी थप्दछन्, “मेरो कलाहरु जुनसुकै बाकसमा पनि अटाउन सक्छन् । चाहे त्यो समसामयिक हुन्, एब्स्ट्रयाक हुन् वा अन्य कुनै । यी विषयहरु कलामा कलम चलाउने लेखक वा क्रिटिक्सहरुले कलालाई प्रस्तुत गर्न सहज होस् भनी बनाएका बाकस मात्र हुन् अनि समग्रमा म एउटा कलाकार हुँ र यो नै मेरो लागि ठूलो कुरा हो । किनकी म जस्तोसुकै काम पनि गर्दछु । फिगरेटिभ र नन फिगरेटिभ, तर नोसन अफ अब्स्ट्रयाक्सन जहिले पनि फिगरेटिभमा हुन्छ । अहिलेको संसार त्यति सुखद देखिरहेको छैन । त्यसैले मैले अहिलेका दिनमा प्रयोग गर्ने रङ्ग कालो हुने गरेको छ । रातो र निलो रंगको प्रयोगले म कालोलाई प्रतिनिधित्व गर्न प्रयोग गर्ने गर्छु ।”

अहिले उन्नति सांस्कृतिक गाउँ (उन्नती कल्चरल भिजेल) मा मैले बनाएको चित्रमा मानवको अस्तित्वलाई प्रस्तुत गरेको हुँ । तर त्यो प्राकृतिक भने होइन र त्यसलाई विभिन्न तरिकाले प्रस्तुत गरेको छु ।

तनमोय समन्ता, समसामयिक कलाकार, शान्तिनिकेतन, दिल्ली

सन् २००४ बाट आफुलाइ पूर्णकालिक चित्रकार बनाएका तनमोयले शान्ति निकेतनबाट स्नातक गरेका थिए । मूलतः दिल्लीमा बस्ने कलाकार तनमोय नेपाली कागज तथा राइस पेपरमा काम गर्न रुचाउँछन् ।

आफ्नो जीवन अनि वातावरणमा पाइने विभिन्न चिजहरुलाई चित्रमा प्रयोग गर्न रुचाउने उनी सबै चिजको इतिहास हुन्छ र त्यहि चिजहरु मनिसको जीवनसंग जोडिएका हुन्छन् भन्ने कुरामा विश्वास राख्दछन् । सानोभन्दा सानो चिजहरुलाई प्रयोग गर्न रुचाउने उनी उनका काममा धेरै रंगहरु तथा तह तह बनाउँदै काम गर्न रुचाउँछन् ।

उनका चित्रकलाहरुमा ज्यामितिय याब्स्ट्राकहरुको प्रयोग हुन्छ भने उनको काममा नसोचिएका विषयहरु आफ्नो काममा रहने गरेको कुरा पनि बताउँछन् । आफ्नो काममा सकारात्मक तथा नकरात्मक समयहरुलाई पनि दर्शाउने उनको कोशिष रहेको हुन्छ ।

उन्नती सांस्कृतीक गाउँमा रेसिडेन्सिका लागि आएका यी सबै कलाकारहरुका लागि आर्ट रेसिडेन्सि नौलो कन्सेप्ट भने होइन । तर नेपालको यति सुन्दर स्थानमा रेसिडेन्सीको लागि आउन पाएकोमा भने सबै कलाकारहरु आयोजक तथा उन्नती सांस्कृतिक गाउँलाई धन्यवाद दिन्छन् ।

तस्विर सौजन्यः लुजला मानन्धर(उन्नती कल्चरल भिलेज)

नेपाली कलाकारहरुसँग अन्तरसांस्कृतिक सम्वाद गर्न पाउनु र आफ्ना विचारहरुलाई कलाकारहरुसँग साट्न पाउने अवसर जुटाइदिएकोमा रजा फाउन्डेसनका मनिस पुकसले उन्नति कल्चरल भिलेजलाई धन्यवाद दिन्छन् । जसको माध्यमबाट आपसी सम्बन्ध र कलाको विकासमा टेवा पुराउने केही पाटाहरुको समेत छलफल गर्ने अवसर जुरेको उनले बताए ।

तस्विर सौजन्यः लुजला मानन्धर(उन्नती कल्चरल भिलेज)

प्रतिक्रिया दिनुहोस्