रिभिजिटिङ्ग द रुट्स इन अ मोडर्न नुआन्स

सुनिल राज ढकाल
सुनिल राज ढकाल १३ बैशाख २०७९, मंगलवार ०६:००
8 Min Read
Aa

विकल्प कला केन्द्रले यहि अप्रिल २७ तारिख देखि मे २४ तारिख २०२२ सम्म काठमाडौँ उपत्यकाको चार छुट्टाछुट्टै ठाउँमा चित्रकला प्रदर्शनी गर्न लागेको छ । जुन कला प्रदर्शनीमा लैनसिंह वाङ्देल, आरएन जोशी, मनोजबाबु मिश्र, मदन चित्रकार जस्ता दिग्गज कलाकारहरुको कलाकृतिसँगै अहिलेसम्म नेपाली कला क्षेत्रमा आफ्ना सिर्जनामा निरन्तर काम गरिरहनु भएका कलाकारहरुको विभिन्न कलाकृतिहरुलाई पहिले देखि अहिलेसम्मको विकासक्रमका हिसावले पनि हेर्न सकिनेछ ।

उक्त कार्यक्रमको उद्घाटन भने अप्रिल २७ तारिखको दिनमा विकल्प कला केन्द्रबाट बेलुकीको ५ बजे नेपालका लागि स्विजरल्याण्डकी राजदुत माननिय एलिजावेथ भोन चेपेल्लरले उद्घाटन गर्नेछिन् भने तेस्रो दिनको उद्घाटन पार्क ग्यालरीको प्रदर्शनीलाई नेपालका लागि जर्मनका राजदुत माननिय डा। थोमस प्रिन्जले कार्यक्रमको उद्घाटन गर्नेछन् । त्यसपछि अरु ठाउँहरुमा पनि क्रमबद्ध रुपमा हुँदै जाने आयोजक तथा बिकल्प कला केन्द्रका तर्फबाट कलाकार तथा क्युरेटर सरोज महतोले जानकारी दिए ।

यस प्रदर्शनीमा नेपालका ४५ समसामयिक कलाकारहरु जो परम्परागत तथा ऐतिहासिक जरासँग गाँसिएका वा भिजेका छन्, उनीहरुका कामलाई यस प्रदर्शनीमा देख्न सकिन्छ । यस प्रदर्शनीले आधुनिक कला भनेर चिनिने परम्परागत शैलीका कामहरु अनि समसामयिक कलाकृतिहरुलाई सूक्ष्मतम ढंगबाट विभिन्न स्थानमा घुम्दै, रमाउँदै अवलोकन गर्न सकिन्छ ।

उक्त प्रदर्शनीमा नेपालका ख्यातीप्राप्त नयाँ तथा पूराना कलाकारहरुको कामलाई मात्र समावेश गरिएका छैनन्, विश्वमा चलिरहेको नयाँ नयाँ प्रयोगहरुलाई देखाउने प्रतिस्थापन कला, ग्राफिटि, मुरल, डिजिटल कला, पर्फर्मेन्स आर्ट तथा पप आर्टलाई पनि समावेश गरिएको छ । जसले गर्दा विश्वका कलाकारहरुले गर्दै आइरहेका अभ्यासहरुलाई पनि नेपाली मूलमा अवलोकन गर्न सकिने भएको छ । पश्चिमा कलाले १९५० देखि हालसम्म नेपाललाई हेर्ने गरेको दृष्टिकोणलाई पनि यस कला प्रदर्शनीले चिर्ने उद्देश्य बोकेको महतो बताउँछु ।

यस प्रदर्शनीको सार्थकता र औचित्यको विषयमा कुराकानी गर्दै आयोजकका तर्फबाट महतो बताउँछन्, “नेपाली कला र संस्कृतिको विषयमा प्रत्येक नेपालीले जुन गर्वका साथ सोच्दछन्, यहाँका विभिन्न संस्कृति, नेपाली शहरहरु, भाषिक भिन्नताहरु तथा सांस्कृतिक सम्पदाहरुले गर्दा नेपाल एक धनी देशको रुपमा परिचित गराउने माध्यमहरु हुन् । यसै साँस्कृतिक धरातलको जगमा उभिएर नेपाली कलाको उत्थानमा यस प्रदर्शनीले अझ टेवा दिने विश्वास लिएको छु ।”

प्रदर्शनी कहाँ कहाँ हुन्छन् त ?

उक्त कला प्रदर्शनी नेपालका ४ सार्वजनिक स्थानहरुमा ४ वेग्ला वेग्लै दिनमा हुनेछन् । र, प्रत्येक प्रदर्शनी स्थलहरु विहान १० बजेदेखि बेलुकिको ६ बजेसम्म खुल्नेछन् । प्रत्येक प्रदर्शनीको पहिलो दिनमा पर्फर्मेन्स आर्ट र साङ्गितिक कार्यक्रमहरुको आयोजना गरिनेछ ।

पहिलो दिन २७ अप्रिलमा विकल्प कला केन्द्र, पुल्चोक ललितपुरमा ५ बजेबाट शुरु हुनेछ । जहाँ लैनसिंह वाङ्देल, मनोज बाबु मिश्र, इन्द्र प्रधान, बिरेन्द्र प्रताप सिंह,  सरोज महतो, महिमा सिंह, हरेन्द्र कुशवाहा र हरिओम मेहताका कला रहनेछन् । दोश्रो दिन ग्यालरी अफ क्रिएटिभ, ठमेलमा २८ अप्रिलको दिनमा हुनेछ । जहाँ नम्रता सिंह, संगी श्रेष्ठ, सुश्मा शाक्य, जुपिटर प्रधान, प्रमोद श्रेष्ठ र उन्नति कल्चर भिलेजमा बनाइएका कला प्रदर्शनी हुनेछन् । तेश्रो दिन पार्क ग्यालरी पुलचोक, ललितपुरमा हुनेछ । जहाँ आरएन जोशी, शशि विक्रम शाह, भुवन थापा, सुन्दर लामा, बत्श गोपाल वैद्य, दवा शेर्पा, उमेश शाह, राम महर्जन, चिराग बाङ्गदेल, सोफिया महर्जन, मनिश लाल श्रेष्ठ, प्रकाश रञ्जितका कलाको अवलोकन गर्न पाइनेछ । चौथो दिन आर्ट ल्याब विद्रोह ठमेल, काठमाडौँमा हुनेछ । जहाँ रोमेल भट्टराई, किरण महर्जन, दिवेश्वर गुरुङ, सिर्जन उलक र अनिश गुरुङको कलाको भरपुर आनन्द लिन सकिने छ । यसै कार्यक्रमसँगसँगै प्यानल डिस्कसनको पनि आयोजना गरिनेछ ।

४ मे का दिन बेलुकीको ४.३० बजेदेखि कलाले सन्चो पार्छ (आर्ट एज हिलिङ्ग) नाम दिइएको छलफल कार्यक्रम विकल्प कला केन्द्रमा आयोजना हुनेछ । यस कार्यक्रममा वक्ताहरु वत्स गोपाल वैद्य तथा लोक चित्रकार रहनेछन् । जसमा कलाका माध्यमबाट कसरी मानिसका समस्याहरुलाई समाधान गरिने चलन थियो र अझै छ भन्ने विषय प्रमुख रुपमा उजागर हुनेछ ।

७ मेका दिन बेलुकिको ४.३० बजेदेखि शुन्यतामा पनि हुनु – प्रेजेन्स इन एब्सेन्स नाम दिइएको छलफल कार्यक्रम होटल भिभान्तमा आयोजना गरिनेछ । जसमा कलाकारहरु लोक बहादुर चित्रकार, लैन सिंह बाङ्गदेल, मनुज बाबु मिश्र, आरएन जोशी को विषयमा मदन चित्रकार, विभाकर शाक्य, रोशन मिश्र तथा नविन जोशीले वक्ताको रुपमा छलफलमा भाग लिनेछन् । जुन छलफल सामसामयिक कलालाई बुझ्नका लागि कोशेढुङ्गा सावित हुने आयोजक बताउँछन् ।

११ मे का दिनमा बेलुकिको ४.३० बजेदेखि आर्ट फ्रम इन्डिजिनस कम्युनिटि नाम दिइएको छलफल कार्यक्रम होटल भिभान्तमा अयोजना गरिनेछ । यसमा वक्ताहरु राम दयाल राकेश र शुरभी चौधरी रहनेछन् । जसमा विभिन्न आदिवासीहरुको रहनसहन, कला संस्कृतिका विषयमा चर्चा हुनेछ । उनिहरुले परापूर्व कालदेखि गर्दै आइरहेको कला संस्कृतिलाई अपनाएर आफ्नो जीविकोपार्जन कसरी गरिरहेका छन् र त्यसलाई जगेर्ना गर्न के कस्ता अयामहरु आवश्यक हुन्छन् भन्ने विषयले पक्कै पनि कला संस्कृतिलाई जगेर्ना गर्ने नयाँ बाटाहरुको विषयमा बुझ्न मदत गर्नेछ ।

१८ मे का दिनमा अन्डर्सट्यान्डिङ्ग अर्बन कल्चर एन्ड मोर्डन नुआन्सेस इन आर्ट नामक छलफल कार्यक्रममा विकल्प कला केन्द्रमा ४.३० बजेदेखि आयोजना गरिनेछ । उक्त कार्यक्रममा वक्ताहरु अस्मिना रञ्जित, सरोज बज्राचार्य तथा रोमेल भट्टराई रहनेछन् । मे महिनाको ७ र ८ तारिखका दिनमा विकल्प कला केन्द्रमा विहानको १०.३० देखि ३.३० बजेसम्म भूवन थापाको कलामा प्रयोग हुने सामाग्री सम्बन्धी कार्यशाला आयोजना गरिनेछ । लर्निङ्ग ओल्ड टेक्निक फोटोग्राम विथ फिल्म फाउन्ड्री नामक कार्यशाला फिल्म फाउन्ड्रीमा मे १५ का दिनमा १०.३० देखि ३.३० सम्म आयोजना गरिनेछ । पेन एन्ड इन्क इलस्ट्रेसन नामक कार्यशाला विकल्प कला केन्द्रमा प्रकाश रञ्जितद्वारा हुनेछ । जुन मे ८ का दिनमा विहान १०.३० देखि ३.३० सम्म आयोजना गरिनेछ ।

यस प्रदर्शनीमा मे १४ का दिनमा पाटन दरबार स्क्वाएरमा १ बजे देखि ६ बजेसम्म पर्फर्मेन्स आर्ट पनि देखाइनेछ । यसमा सहभागी कलाकारहरु महिमा सिंह, सुन्दर लामा, राम महर्जन र दावा शेर्पा रहनेछन् । त्यस प्रदर्शनीले पहिलेदेखि अहिलेसम्म कसरी नेपाली समसामयिक कला आयो भन्ने विषयवस्तुलाई प्रमुख रुपमा देखाइने क्युरेटर सरोज महतो बताउँछन् ।

छलफल कार्यशालाले नेपाली कला कसरी बनाइन्छ । त्यसको विकास कसरी हुँदै आयो ? समसामयिक कला कतातिर जाँदैछ भन्ने मार्गदर्शन गर्न फलिभूत हुने आयोजक बताउँछन् । हाम्रा कला संस्कृतिका विषयमा जान्न, अध्ययन गर्न एउटा थलो आवश्यक भएको र त्यस्ता स्थानहरुको निर्माण गर्नु किन आवश्यक छ भन्ने विषयमा समेत छलफल केन्द्रित हुनेछ ।

अर्को महत्वपूर्ण विषय के कारणले गर्दा राम्रा कलाकारहरु पनि सबैका सामुन्ने पुग्न सक्दैनन् ? आदिवासीहरुले परापूर्व कालदेखि गरिरहेको कामहरु निकै आकर्षक र मनमोहक देखिन्छन् तर के उनीहरुलाई किन कलाकारको दर्जा दिइदैन ? शायद उनीहरुलाई आफुले गरेको काम कला हो भन्ने कुरा नै थाहा नभएको पनि हुन सक्तछ । किनकी उनीहरु न कुनै विश्वविद्यालयमा गएर पढेका छन् न त उनीहरुका कुनै पिढीले नै त्यस्ता किसिमका मानिसहरुसंग भेटेका हुन्छन् जो आफ्नै कला नै पढेका हुन् । त्यस्ता विषयलाई उजागर गर्नको लागि कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने सरोज बताउँछन् ।

कलालाई मायाँ गर्नेहरुले स्व.कलाकार आर.एन जोशीको काम करिब १५ वर्षपछि यस प्रदर्शनीमा अवलोकन गर्न पाउने पार्क ग्यालरीका नविन जोशी बताउँछन् । आर्ट ल्याबका संस्थापक रोमेल भट्टराइका अनुसार नेपालमा भित्तेचित्रहरुको निर्माणका लागि उनी दत्तचित्त भइ लागिरहेको सन् २००९ देखि हो । परम्परागत मुरलहरुमा भन्दा वैकल्पिक कलाहरु तथा समसामयिक कलामा केन्द्रित रहने गरेका उनी आर्ट ल्याबको माध्यमबाट विभिन्न सार्वजनिक तथा निजि भित्ताहरुमा काम गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्