‘कल्प’ थान्का कला पाटन र तारागाउँ म्युजियममा

काठमाडौँको बौद्ध, टुसालमा अवस्थित तारागाउँ म्युजियममा एक वृहद थान्का प्रदर्शनी भइरहेको छ । परम्परागत थान्का जसलाई ‘कल्प’ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालका २८ चित्रकारहरुको करिब ५० वटा थान्का चित्रकलालाई समावेश गरिएको छ ।

परापूर्व कालदेखि नेपालमा हिन्दु र बुद्ध धर्म एक आपसमा अन्र्तसम्बन्धित हुँदै आइरहेका छन् । करिब १६औँ शताब्दीताका जब भारतको नालन्दा विश्वविद्यालयमा आगो लगाइयो, अनि त्यहाँका बौद्ध भिक्षुहरुलाई त्यहाँबाट लखेटियो, उनीहरु आफ्नो स्थाइ बसोबासको लागि विभिन्न ठाउँमा भौतारिन थाले । त्यही भौँतरिने क्रममा कोही नेपालमा स्थाइ रुपमा बसोबास गर्न थाले भने कोही यही मार्ग हुँदै तिब्बतसम्म पुगे ।

आफुमा भएको बौद्धिक पन र शिल्प पनि उनीहरुले आफु सँगसँगै लिएर जाने कुरा त पक्कै भयो नै । उनीहरुले जानेको बौद्ध दर्शन तथा बुद्धसँग सम्बन्धित चित्रहरु कोर्ने कला पनि सँगसँगै लिएर गए अनि जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ मानिसहरुलाई आफ्नो धर्म तथा शीप पनि सिकाउँदै लगे । यहाँको नेवारी समुदायमा मानिसहरुले जब बुद्ध धर्मलाई आत्मसाथ गरे, उनीहरुले आफुले परापूर्व कालदेखि मान्दै आएको शिव, विष्णु तथा देवी देवताहरुलाई मान्ने काम सँगसँगै बुद्ध धर्मका उपदेशहरु तथा उनीहरुले पुजा गर्ने चित्रहरु जसलाई “पौभा” नाम दिई बनाउन थाले । आवरण हेर्दा आकर्षक लाग्ने यी पौभाहरु मूलतः धार्मिक प्रयोजनमा ध्यान गर्न तथा घरमा कुनै वितिसकेको मानिसको सम्झनामा बनाउने चलन चल्न थाल्यो ।

त्यसैगरी हिमाली भेगतिर यहि कामलाई नितान्त बुद्ध धर्मसँग जोडेर बनाउन थालियो । बौद्ध धर्मका ग्रन्थहरु, जसलाई प्रतिमा लक्षण शास्त्र भनेर उनिहरु चिन्छन् त्यस अनुसार कुन देव/देवीको कस्तो चित्र बनाउनु पर्छ भन्ने प्रतिमालक्षण विधान समेत बन्यो, त्यही विधिअनुसार थान्का चित्रहरु बनाउन थालियो । बुद्ध धर्मसँग सम्बन्धित बुद्धको जीवन कथा, लोकेश्वरहरु, ताराहरु, ८४ महासिद्धका कथाहरुलाई पनि चित्रको माध्यमबाट बनाउन थालियो ।

यस्ता किसिमका बुद्ध धर्मसँग सम्बन्धित थान्का चित्रहरुको लामो इतिहास भएको जेचुन सांगे खान्द्रो रिन्पोचे बताउँछिन् । यसको इतिहास पल्टाउँदै जाँदा गौतम बुद्धको पालामा राजा बिम्भिसारले कुनै अर्काे राजालाई भेट स्वरुप पहिलो पटक कुनै कलाकारलाई चित्र बनाउन दिई त्यसमा अझ आकर्षक बनाउनको लागि सुन जडित गरी दिएको इतिहास बताउँछिन् । आकर्षक ढंगबाट बुद्धको जीवन कहानीलाई चित्रको माध्यमबाट व्यक्त गर्न शुरु भएको यो चित्रकला अहिले सम्म पनि जस्ताको तस्तै प्रयोगमा आइरहेको उनी बताउँछिन् ।

अझ रमाइलो पक्ष भने, बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि, उनको मुहारलाई चित्र हेरेर जस्ताको तस्तै बनाउन गाह्रो थियो किनकी बुद्धको वरिपरि छुट्टै किसिमको आभामण्डल हुने गर्दथ्यो । त्यस्तो आभामण्डललाई हेरि हुबहु उतार्न त्यस बेलाका चित्रकारहरुलाई समेत निकै गाह्रो थियो, त्यसैले ती कलाकारले बुद्धको छाँयालाई पानीमा हेर्दै पहिलो थान्का बनाएको पनि जनविश्वास रहेको छ । इतिहास अनुसार अहिलेसम्म भेटिएको मध्ये पूरानो थान्का १०औँ शताब्दी मानिन्छ ।

समयक्रमसँगै थान्का चित्रकलाहरुमा पनि विभिन्न किसिमका स्वभााविक परिवर्तनहरु आइरहेका छन् । यो चित्रकला सिक्नका लागि जुनसुकै गुम्बामा पनि कम्तिमा ५ वर्षको समयावधि खर्चिनु पर्ने हुन्छ भने त्यसलाई कुनै बाहिरी गुरुहरुबाट सिक्दा करिब १ वर्षको समय विताएपछि व्यवसायिक चित्रकारको रुपमा काम गर्न सकिने यसै क्षेत्रमा लामो समय विताएका कलाकारहरु बताउँछन् ।

बुद्ध धर्ममा यस्ता किसिमका चित्रहरु बनाउनका लागि प्रतिमा लक्षण शुत्र बनाइएका छन् । यी शुत्रहरुमा कुन कुन देवी देवताहरुको प्रतिमा वा चित्र कोर्दा कत्रो आकारको बनाउनु पर्छ भन्ने कुराहरु समेत लेखिएका छन् । प्रतिमा लक्षण शास्त्रमा सबै बुद्ध धर्मसँग सम्बन्धित देवी देवताहरुको आकार प्रकार बारे खुलाएको तीब्बती भाषाको पुस्तकलाई ‘पेजा’ भनिन्छ । धार्मिक शास्त्रका यी किताबहरुलाई तिब्बती लामाहरु तथा धर्म शास्त्रको अध्ययनको गर्ने अध्यताहरुले यी तिब्बती भाषामा लेखिएका प्रतिमा लक्षणका कुराहरुलाई हेर्दै बनाउनु पर्ने हुन्छ । यस्तो किसिमको कामहरु गर्दा प्रतिमा लक्षण विधिहरु बनाउँदा तिब्बती भाषाको ज्ञान आवश्यक हुुन्छ ।

परम्परागत थान्का चित्रकलाबाट जीविकोपार्जन सम्भव छ ?

२०१५ पछिको भूकम्प पछि धेरै थान्का व्यवसायीहरु यहाँ जीविकोपार्जनको सम्भावना नभएकोले विदेश पलायन समेत भएका थिए । एक किसिमले हेर्दा थान्का नै बनाउने शिप भएका मानिसहरु पनि यहाँको कमाइले जीविकोपार्जनको लागि समस्या भएको बताउँछन् ।

यहि प्रदर्शनीमा भाग लिएका कलाकार मध्येका एक कलाकार तेन्जिङ्ग भूटियाका अनुसार “हातमा राम्रो शीप भएको खण्डमा थान्का कलाकारहरुलाइ विदेश गइराख्न पर्दैन । तर यहाँ समस्या भनेको कुनै कलाकारले बनाएको चित्रकला चोर्नुले समस्या ल्याएको हो । प्रतिमा लक्षण अनुसार पढेर बनाइएको चित्रकलाको आकार र प्रकार उस्तै हुने भएपछि पाश्र्वदृश्यमा देखिने अरु चित्रहरु तथा दृष्यहरु कलाकारका विलकुल निजि कल्पना र शीपबाट उत्पन्न हुन्छन् । यी कुराहरु कलाकारको नितान्त निजि अनुभवबाट हुने भएकाले यस्त किसिमका कार्यहरुमा चोरी हुँदा कलाकारहरु मारमा पर्ने र यसलाई रोक्नु जरुरी छ । यही कारणले गर्दा पनि नाम चलेका कलाकारहरुले आफुनो काम अरु कलाकारहरुलाई देखाउन चाहँदैनन्, देखायो कि चोरी भइहाल्छन् ।”

त्यसै गरी कलाको मूल्य त्यसमा लागेको समय, प्रयोग भएको रंग, प्रतिमालक्षण शास्त्रलाई मूल मानेर गरिएको हो कि होइन जस्ता कुराहरुले समेत असर गरिरहेका हुन्छन् भनि थान्का चित्रकला संकलक डिल्ली प्रसाद ओली बताउँछन् । लामो समय यस्तै किसिमका थान्का चित्रकलाहरुलाई हेर्दै संकलन गर्दै आएका उनी काममा गरिएको मिहिनेत, सिद्धता जस्ता कुरारुलाई हेर्दै यसले नै मूल्य निर्धारण गरिने कुरामा जोड दिन्छन् ।

यस प्रदर्शनीमा चित्रकला क्युरेट गर्ने मिना लामा आफ्नो अनुभव बताउँदै भन्छिन्, “यस्तो एकै छाना मुनि यति धेरै थान्का प्रदर्शनी भएको यो पहिलो पटक हो । यहाँ प्रदर्शनीमा राखिएका धेरै कलाकारहरुले प्रतिमालक्षण शास्त्रको राम्रोसँग अध्ययन गर्दै बनाएका हुन् र यसले कालान्तरमा थान्का सम्बन्धी अध्ययनकर्ता तथा सँकलकहरुलाई नै फाइदा पुर्याउनेछ ।”

यस्ता कला प्रदर्शनीहरुमा ठूला ठूला उद्योगी, व्यापारीहरु आउनुपर्दछ, नेपाली कलामा लगानी गर्नु आवश्यक छ । यसले भविष्यमा त्यस कलाको मूल्यलाई बढाउँछ र राम्रो मुनाफा पनि दिन्छ भन्दै संकलन ओली बताउँछन्– ‘नेपालमा समसामयिक कलाको संकलन गर्ने जमात ठूलो छ । तर उनिहरुले यस्ता थान्कामा हात हाल्ने हो भने पक्कै पनि नेपाली थान्का कलाको विकासमा महत्वपूर्ण टेवा पुग्दछ भने कलाकारहरुलाई समेत यस पेशाबाट पलायन हुन बाट रोक्न मदत गर्दछ ।’ तारागाउँ म्युजियममा कला प्रदर्शनी वैशाख १२ गते देखि २१ गते सम्म चल्नेछ भने सोही वैशाख २४ देखि जेठ २ गते सम्म पाटन म्युजियममा चल्नेछ ।

Back to top button