समानान्तर इतिहास कोर्नेहरु

ग्यालरी एमक्युबमा नेपालका उहि उमेर समूहका १० कलाकारहरुले एकै पटक आफ्ना कामहरुलाई प्रदर्शनीमा समावेश गरेका छन् । बैशाख १६(अप्रिल २९) तारिखका दिनदेखि जेष्ठ १५ (मे २९)गते सम्म एक महिनाको लागि प्रदर्शनी भइरहेको छ । कलाकार तथा एम क्युबका सञ्चालक मनिष लाल श्रेष्ठका अनुसार यो कला प्रदर्शनी विश्वमा चल्दै आएको प्रतिस्थापन कलाको दुनियाँमा नेपालको मौलिकतालाई समावेश गर्दै युग सुहाउँदो हिसाबले नेपालका कलाकारहरुद्वारा गरिएको कला प्रदर्शनी हो । उनका अनुसार, “हामी यस्तो युगमा छौँ, जहाँ हामी मच्छिन्द्रनाथको जात्रा पनि उत्तिकै उत्साहका साथ मनाउँछौँ, जत्तिको उत्साहका साथ हामी विश्वमा चलिरहेको नयाँ नयाँ प्रविधिको सामानहरुको उपभोग गर्दछौँ । त्यसैले पनि यस कला प्रदर्शनीमा समावेश कलाकृतिहरुमा हामी १० जना कलाकारहरुको जीवन भोगाइका क्रममा भोगेको उतारचढाव तथा रिफ्लेक्सनलाई देखाउन खोजेका हौँ ।”

यस प्रदर्शनीको विषयमा औँल्याउँदै श्रेष्ठ थप्दछन्, “हामी सबैको जीवन समानान्तर रुपमा गइरहेको छ । आफ्नो जीवन पृथक पृथक रुपमा गएतापनि सबैको आफ्नै तरिकाले गइरहेको र यो पनि आफ्नै ढंगको, आफ्नै शैली र आफ्नै तौरतरिका पनि विकसित भइसकेको छ । विश्वमा चलिरहेको शैलीलाई हेर्दा अब कलाकारहरु क्यानभासमा मात्रै सिमित भई कलाकृतिहरु बनाइराख्नु पर्ने आवश्यकता विस्तारै हराउँदै गएको छ । विचार अभिव्यक्तिको शसक्त माध्यम कला भइसकेको र यसमा कलाकारहरु स्वतन्त्र र स्वच्छन्द रुपमा आफुलाई मनपर्ने माध्यमबाट अभिव्यक्त गर्दा अझ धेरै मानिसहरुले बुझ्न सक्छन् भन्ने कुरालाई दृष्टिगत गर्दै चाहेको अनुसार माध्यमहरुमा खेल्ने गर्दछन् । यस कला प्रदर्शनीमा पनि त्यही भएको छ । कलाकारहरु कुनै क्यानभासको बन्धनबाट बाहिर निस्कि आफ्नो जीवन भागाइ तथा प्रभावहरुलाई केलाइरहेका छन् ।”

प्रदर्शनीमा राखिएको उनको चित्र दिपंकर बुद्धलाई पप कलाको नामले चिनिन्छ भने इतिहास पल्टाउँदा पप कला एउटा यस्तो धार हो जुन सन् १९६० मा एन्डी वारहोलले शुरु गरेको हुन् । शुरु गर्दा पपुलर कल्चर फिल्म,म्यारलिन मोन्रो को मुहारचित्र तथा समाजमा नाम चलेका व्यक्तिहरु तथा धार्मिक आस्थाका चिजहरुलार्ई विषय वस्तुको रुपमा प्रयोग गरिन्थ्यो ।

नेपालको हकमा गणेश, ग्रीन तारा, दिपंकर बुद्ध, रातो मच्छिन्द्रनाथ जस्ता देवी देवताहरुलाई श्रद्धाका साथ हेरिन्छ र यी पप आर्टका लागि विषयवस्तु हुन सक्तछ । अहिलेको युगमा हामी त्यही पूराना जात्रा तथा धार्मिक विश्वासहरुलाई दिँदै आइरहेको महत्व र नयाँ प्रविधि पनि विकसित भइसकेकोले यो चित्रकला बनाएको मनिष बताउँछन् ।

अगाडिबाट हेर्दा थोप्ला थोप्ला मिलेर बनेको, तर जति टाढाबाट हेर्यो त्यति राम्रो देखिने । आफुले बनाएको चित्रको बारेमा घोर्रिदै मनिष बताउँछन्, “चिज आकार प्रकार अनि सम्बन्धहरु जति टाढाबाट हेरिन्छ त्यति नै सुन्दर अनि आकर्षक देखिन्छन् ।”

यसै प्रदर्शनीमा अर्को आकर्षण जुपिटर प्रधानको कला रहेको छ । उनी आफ्नो कलाको माध्यमबाट सुपरिचित छन् । पहिले भौतिक विज्ञानको विद्यार्थी भएकाले पनि उनी आफ्ना हरेक कामहरुमा विज्ञानका विभिन्न पक्षलाई घुसाउन चुक्दैनन् । कलाकार भइसके पनि आफ्ना कला अभिव्यक्तिको लागि कुनै पनि बन्धन वा मिडियममा बाँधिनु हुँदैन भन्ने कुरामा विश्वास राख्ने उनका लागि मिडियम आफ्ना विचार अभिव्यक्तिको एउटा माध्यम मात्र हो ।

यस प्रदर्शनीमा राखिएको कलाको बारेमा अझ थप कुरा उनी यसरी बताउँछन्, “आँखा खोल्नासाथ घरको वातावरण अनि हामी बसिरहेको समाजले हामीलाई दौडन सिकाउँछ । उदाहरणको रुपमा,  आजको बच्चालाई किन दुइ वर्षको उमेरदेखि नै पढाइन्छन्? तर के जीन्दगी दौड मात्र हो त ? सँधै प्रतिष्पर्धा आखिर कहिले सम्म ? के जीवनमा हार्नेहरु पनि ८० वर्ष बाँच्दैननन् र ? त्यही दौडमा म आफैं पनि केही समय दौडेँ , अनि दौडकै क्रममा मैले देखेँ कि म त एक्लै दौडिरहेको रहेछु, फर्केर पछाडि हेर्दा सबै लडिरहेको , लडेका सबैमा आफ्नै प्रतिविम्ब देखेँ तर पाश्र्व बाट कसैले अझै दौडिरहेका । हामी त्यही विन्दु खोज्दै छौँ । कसैलाई पराजित गर्नु ठूलो कुरा होइन ।”

यस मूर्ति बनाउन लोप भइसकेको छ्याङ/जाँडको तरिका गोपाल कलाप्रेमीले खोजेर त्यसको विधि पत्ता लगाएर यसलाई जोगाउन तथा यसको महत्व दर्शाउने हिसावले काम गरिरहनु भएको छ। त्यसैमा मैले गोपाल दाईको सहयोगमा मेरो कामलाई प्रयोग मात्र गरेको हो भन्दै जुपिटर अगाडि थप्छन् – यसमा राकु सेरामिकमा छ्याङ्ग/जाँड मिसाइ नेपालबाट लोप भइसकेको प्रविधि र यस विधिलाई पुनःजिवित गर्न प्रयास मात्र गरेको हुँ । आफुले बनाएको भेडामा किन आफ्नै अनुहार बनाउनुभएको भन्ने प्रश्नमा उनी गम्भिर हुँदै बताउँछन्, कलामा आफैंले आफैंलाई चिन्न खोज्नु र अभिव्यक्त गर्नु मेरो लागि महत्वपूर्ण लाग्छ ।

न्युड आर्ट बनाउने कलाकारका नामले परिचित कपिल मणि दिक्षितले भने यस प्रदर्शनीमा फरक विषयवस्तुलाई समावेश गरेका छन् । उनले जीवनको विभिन्न भोगाइहरुको इतिहासलाई केलाउन यो पटक झोलाले साथ दिएको छ । शुरुआती दिनहरुमा उनका बुबा सधैँ विदेशबाट फर्कदा पहेँलो रंगको सुटकेश बोकेर आउनुहुन्थ्यो । उनी जब आफ्ना दाजुभाइलाई लिई विमानस्थलमा बुबालाई लिन पुग्थे, उनको नजर बुवामा भन्दा, बुवाले बोकेको झोलामा आफ्ना लागि के ल्याइदिनुभएको होला भन्ने कौतुहलतामा नै अल्झिरहेको हुन्थ्यो । त्यही क्रम अहिले पुस्तान्तरण हुँदै उनका छोरीहरुमा लागु हुन थालेको अनुभव सुनाउँछन् कपिल ।

त्यसैले पनि यस प्रदर्शनीमा आफ्नो व्यक्तिगत भोगाइलाई टिनको पहेँलो झोला जससंग जीवनको कुनै समयको याद जोडिएको छ, त्यसलाई सबैका सामु उजागर गर्दै छन् कपिल ।

प्रायजसो अमूर्त चित्रकलाको माध्यमबाट आफुलाई प्रस्तुत गर्ने कलाकार सागर मानन्धरले भने यस पटक ‘अद्वैत म’ शीर्षक दिएको प्रतिस्थापन कला राखेका छन् । समयका तहहरुमा आफैंलाई खोज्ने क्रममा, विहानीको सूर्योदय अनि भालेको डाकमा उठी चढ्दै गरेको सूर्यको लालिलाई अनुभव गर्दै प्रत्येक दिनहरु बढ्दै गइरहेका हुन्छन् । समयसँगसँगै जीवनका तिता अनि मिठा सम्झनाहरुलाई अनि त्यसका रङ्गहरुलाई भित्रसम्म गई केलाउन अनि त्यसका कथाहरु बुन्न अनि आफु अनि आफ्नोअनुभवहरुलाई पस्किन यो कला बनाएको बताउँछन् । यसमा ‘म’ शब्दले आफुले भाग्दै आएको समय अनि जोडिएका यादहरुलाई सँकेत गर्दछ । हामी सबै जना आफैंमा नौला छौँ अनि हाम्रो सोचाइ पनि फरक हुने गर्दछन् भन्ने कुरालाई देखाउन यो प्रतिष्थापन कला बनाएको उनी बताउँछन् ।

यस प्रतिष्थापन कलामा उनले पाश्र्वमा एउटा रंगिन अनि बुट्टादार ऐना राखेका छन् भने ऐनासंगै एउटा गिलास राखेका छन् । यी चिजहरु सामान्य देखिएता पनि आफ्ना यादहरुसँग जोडिएकाले यी उनका लागि विशेष लाग्ने कलाकारको कथन छ ।

‘र अहिले म तयार छु २०२१’ शीर्षक रहेको मुना भँडेलको भिडियो पर्फमेन्स अर्को प्रदर्शनीको आकर्षण हो । उनको कलामा नेपाली समाजको पुरानो व्यवस्थालाई प्रतिस्थापन गरिएको छ । हाम्रो समाजमा कुनै समयमा बालक कालमा श्रीमान्को मृत्यु हुँदा श्रीमतीको केश मुण्डन तथा दाँतहरु ढुङ्गाले हानेर फुकाल्ने चलन थियो । त्यही विषयहरुलाई कलाकार मुनाले आफ्नो कलामा पस्केकी छिन् । उनका अनुसार उनको काम नेपालको एक ग्रामिण भूभागको महिलाको जीवन कथामा आधारित छ, जो जसको श्रीमान वितिसकेपछि उनी बसेको समाजले उनको शीर मुण्डन गरेको थियो । आफ्नो शरिरमा त आफ्नो अधिकार हुँदैन भने आफ्नो जीवनलाई अझ कसरी अगाडि लैजादै अरु महिलाहरुको लागि पनि कसरी उदाहरणीय बन्ने भन्ने कुरामा उनी घोत्लिन थालिन् र उनको संघर्ष अनि त्यो हिन भावबाट माथि उठ्नको लागि यो भिडियो बनाएको मुना बताउँछिन् ।

‘मेड इन नेपाल’ शीर्षक दिइएको अर्को कलामा रविन्द्र श्रेष्ठ प्रतिष्थापनको माध्यमबाट आफ्ना अनुभवलाई देखाउन खोजेका छन् । आफुले गर्ने गरेको नौलो प्रयोगहरुको माध्यमबाट जहिले पनि परिचित छन् रविन्द्र । चाहे जनयुद्धको समयमा तत्कालिन विद्रोही पक्ष तथा सरकार पक्षको रगतबाट बनाएको चित्रबाट होस् या चाहे म्यानमारमा भइरहेको आन्तरिक द्वन्द्वको समयमा डुंगा बनाई म्यानमारी जनताको आँशुलाई कलाको माध्यबाट पुछ्नलाई होस् । उनका अभिव्यक्तिहरु अनि गर्ने गरेको कलाहरु सामान्य मानिसहरुको सोचाइ भन्दा माथि नै हुने गर्दछन् ।

यस पटक उनले मित्र राष्ट्र चीन,जहाँबाट उनका बुबाले उनी सानो हुँदा व्यापारका लागि विभिन्न वस्तुहरु ल्याउने गर्दथे अनि चीनबाट नै अहिले पनि प्रविधिका धेरै सामानहरु सस्तो अनि आकर्षक मूल्यमा आइरहेको परिप्रेक्षमा त्यही बेलाका यादहरुलाई संगाल्दै चिनको झण्डामा बाहिरको प्याकमा भने मेड इन नेपाल, कन्सेप्चुअल आर्ट भनी लेखेका छन् । कुनै समयमा उनलाई लाग्थ्यो कि कला देशभन्दा माथि हुन्छ अनि कलाकारहरु निश्छन्द रुपमा अभिव्यक्तिहरु दिन्छन् तर यो पाली भने उनलाइ भूगोलले समेत कलालाई असर पार्ने रहेछ भन्ने कुरा थाहा भयो, कारणः यदि उनी अरु कुनै देशमा बसेको भए, उनले यहि कामलाई मेड इन नेपाल भन्न नपाउने थिए ।

तारागाउँ म्युजियमका संचालक तथा कलाकार रोशन मिश्र यस पटक ‘एक्स्काभेसन अफ मेमोरी’ शीर्षकको प्रतिस्थापन कलामा मार्फत अफ्ना भोगाइहरु देखाउन खोजेका छन् ।

हामी सबै हाम्रा स्मृती अनि डाटाहरुले बनेका हुन्छौँ । आफ्नो कामको बारेमा रोशन बताउँछन् कि विगत २५ वर्षमा उनका जीवन अनि भोगाइहरु विभिन्न संग्रह गर्न सकिने चिजहरु, जस्तै मेमोरी कार्ड, भिसिडि, सिडि, पूराना हाते घडीहरुमा रहन गएका थिए । यही भोगाइहरुलाई सम्हाली राख्न उनले ठूलो परिमाणका डाटा संकलन गर्ने डिभाइसहरुलाई प्रयोग गरेका थिए । तर हालको समयमा प्रविधिले फेरी अर्काे फड्को मारिसकेको छ । अनि पहिले महत्वपूर्ण लाग्ने ती चिजहरुले विस्तारै आफ्नो महत्व मेटाइसकेका छन् । प्रतिस्थापन गरिएको यस कलामा एउटा माटोको मिल्काइएको घैँटो छ, जसलाई भित्रबाट सुनौलो रंगले रंगाइएको छ । उनका अनुसार यो उनको व्यक्तिगत जीवनयात्राको एउटा ट्रेजर बक्स हो तर पनि यसमा उनका केही यस्ता यादहरु जोडिएका छन्, जुन उनका लागि अत्यन्त प्यारा थिए कुनै समयमा । अनि वर्तमान समयमा उनलाई यस्ता अहिले प्रयोगमा नआइरहेका चिजहरुले साउती मारिरहेका जस्तो लाग्छ किः “यदि तिम्रो इतिहासलाई जगर्ना नगरी वा रेकर्ड नै नराख्दा, कुनै समयमा तिमी यस ग्रहमा थियौ भन्ने कुराको अस्तित्व तिमी कसरी देखाउन सक्छौ ?”

कालाकार विधाता के.सी.को ‘मेरो देब्रे तिम्रो दाहिने हो’ शीर्षकको प्रतिस्थापनमा आफ्नो जीवनका भोगाइलाई प्रस्तुत गरेकी छन् । नेपालमा दाहिने र देब्रे हातको प्रयोगलाई शुद्धतासँग दाँजिन्छ । दाहिने हातलाई सफाको सँकेतको रुपमा लिइन्छ भने देब्रे हातलाई फोहोरको रुपमा । यस्ता किसिमको संस्कृतिक परम्पराहरुले उनलाई जहिले पनि असमञ्जस्यमा पार्ने गरेको भएर उनी जहिले पनि प्रश्न गर्ने गर्दछिन् कि एउटा मात्र हात हुनेहरुको हकमा के होला ? के उनीहरुले गरेको धार्मिक कार्यहरु सधैँ अपुरा अनि अपवित्र होलान् त ? यहि विषयवस्तुलाई लिएर उनले यो प्रतिष्थापन कला बनाएकी छन् जसमा उनले देब्रे हातमा कुशको टुक्रा लिई धार्मिक कार्यभइरहेको १४ वटा हातहरु श्रृजना गरेकी छन् ।

प्रमिला बज्राचार्य जहिले पनि नारीहरुलाई क्यानभासमा उतार्ने गर्दछिन् । यस पटक पनि उनको चित्रकला मदर नेचर नामको शीर्षकमा प्रदर्शित छ । प्रकृति अनि प्रकृतिमा देखिएका विभिन्न आयामहरुलाई क्यानभासमा उतारेकि छन् उनले । सधैँ प्रकृतिबाट धेरै कुराहरु सिक्न सकिने तथा यसबाट नै अगाडि बढ्न सकिने कुरामा विश्वास राख्ने प्रमिला आफ्नो काममा प्रकृतीमा देखिने रंग तथा दृष्यहरुलाई उतार्ने प्रयास गरेको प्रमिला बताउँछिन् ।

कलामा नौला नौला प्रयोग गर्ने र आफ्नो जीवन र भोगाइहरुलाई प्राय प्रतिस्थापन कलामार्फत प्रस्तुत गर्ने अर्का कलाकार भूवन थापा यस पटक मौनावाज शीर्षकको प्रतिस्थापन कलामा आफ्नो प्रस्तुती राखेका छन् ।

आफ्ना जीवन अनि भोगाइहरुलाई थोरै शब्दमा पनि अनौठो अभिव्यक्ति दिन सक्ने कलाकार भुवन थापाले यो पटक उनले माथि एउटा खण्डहर कालो हृदयलाई झुण्ड्याएका छन् । जसको मुनी ढुंगाहरुमा विभिन्न नामहरु लेखिएका छन् भने विचबाट एउटा नयाँ विरुवा आशाको रुपमा उम्रिरहेको देखाउन खोजेका छन् । अनि यस प्रतिष्थापन कलालाई उनले मौनावाज शिर्षक दिएका छन् । यस कलालाई चर्को स्वरमा व्यक्त गरिनु भन्दा पनि मौन आवाजमा व्यक्त गरिएको कारण यसको नाम पनि मौनावाज राखिएको र यसले जीवन भोगाइका परिदृष्यलाई व्याख्या गर्न मदत गर्ने कलाकार थापा बताउँछन् । 

Back to top button