कला सिर्जनाको नमूना थलोको रुपमा विकास गरिँदै उन्नती

गैँडाकोट नवलपुरमा अवस्थित यु सि भि चौधरी फाउन्डेसनको कलाकारहरुमा समर्पित एक रेसिडेन्सीको रुपमा विकसित गर्न खोजिएको स्थान हो । करिब ६ विघाको क्षेत्रफलमा फैलिएको यस स्थानमा कलाको संग्रहालय तथा स्वदेशी तथा विदेशी कलाकारहरुलाई केही समय बसी भरपूर एकान्तको अनुभव गर्दै आफ्नो अन्तस्करणबाट प्रस्फुटित भावनालाई कलाको माध्यमबाट प्रस्तुत गर्नको लागि उपयुक्त स्थानको रुपमा विकसित गर्दै लगिएको छ ।

हालै केही समय अगाडि भारतको रजा फाउन्डेसनबाट पाँचजना कलाकारहरु उक्त स्थानमा बसेर आफ्ना कला सिर्जना गरेका थिए । उनिहरुले थारु संस्कृति तथा यहाँको वातावरणीय आनन्द लिने अवसर प्राप्त गरेका थिए । रजा फाउन्डेसनका तर्फबाट मनिस पुस्कलेले अहिलेको आर्ट रेसिडेन्सिले कलाकारहरुलाई यहाँको समाज र यस क्षेत्रमा बसेर कला सिर्जना गर्न पाउँदा आफू आनन्दित रहेको बताए ।

उन्नती कल्चरल भिलेज (युसिभि) की निर्देशक शुरभी चौधरीका अनुसार “कलाकारहरुलाई कला श्रृजना गर्दै एकान्त भोग तथा आफुमा नै रमाउनको लागि यो एउटा शुरुआत मात्र हो । कलाकारहरुका लागि यस्ता स्थान कला सिर्जनाका लागि चाहिने र यस्ता स्थानमा केही समय बसेर आफ्नो कला सिजना गर्न मद्दत गर्ने यस्ता किसिमको स्थानहरु भविष्यमा नेपालका ७ वटै प्रदेशमा विस्तारित गर्दै लैजाने योजना रहेको छ ।”

गैँडाकोटको युसिभिमा भित्र प्रवेश गर्दा गेट नजिकै चौधरी फाउन्डेसनको लोगो सहितको एक फोटो खिच्ने तथा बस्नको लागि निर्माण गरिएको एक स्थान छ भने त्यसको दायाँपट्टि काठबाट बनाइएको कलात्मक तथा आकर्षक ढंगबाट कुँदिएको प्रवेशद्वार छन् । प्रवेशद्वारबाट अगाडि बढ्दै जाँदा दाहिने पट्टि पोखरी तथा आँप र लिचिको बोटहरुले बढो आकर्षक ढंगबाट सजाइएको बगैँचा देख्न सकिन्छ । देब्रे पट्टि भने थारु समुदायमा प्रचलित भित्ते चित्रहरुलाई बडो आकर्षक तरिकाले सजाइएको छ । यसरी भित्तामा बनाइने चित्रलाई मुरल भनिन्छ र यी मुरल कलाकार इमरानले बनाएका हुन् ।

कलाकारहरु पौराणिक ग्रन्थहरुमा लेखिएको कथालाई चित्रमा अभिव्यक्त गर्ने गर्छन् किनकि श्रृजना गरिएका चिजहरुमा शब्द र आकृतिहरु कै खेल रहने गर्छन् । आकृति र शब्द एक अर्काका परिपूरक हुन् ।

कलाकार इमरानद्वारा बनाइएको पहिलो भित्ताको चित्रमा युग परिवर्तनको एक कथालाई देखाइएको छ जसमा शीर्ष स्थानको दायाँ पट्टिको भागमा सूर्य अनि बायाँ पट्टिको भागमा चन्द्रमा राखिएको छ भने पृथ्वीको विनाश हुनु अघि भगवान विष्णुले मत्स्य अवतार लिई प्रलयबाट सप्तऋिषिहरुलाई बचाएको कहानीलाई कलाको माध्यमले भित्तामा सजाइएको छ । यसमा माछाले डुङ्गा तान्दा ठ्याक्कै डोरी जस्तो भान हुने कता कता थ्रिडिको झझल्को दिने जस्तो मूरल बनाइएको छ ।

त्यसै गरी अगाडि बढ्ने क्रममा अर्काे भित्तामा भने कामधेनु गाई, कल्पवृक्ष तथा पञ्चकन्याहरुलाई राखिएको छ । थारु समुदायमा पूराना यो कथालाई खुबै मानिने स्थानियहरु बताउँछन् । रुखको हाँगाबाट दुई मयुरहरुले झुकेर स्वागत गरीरहे जस्तो लाग्ने यो स्थानमा अझ भित्र के के होला भन्ने कौतुहलता जागृत हुँदै जान्छ ।

अझ भित्र जाँदा एक डबलीमा पुग्नु हुन्छ जसको छेउमा थारुहरु बस्ने जस्तै घर रहेका छन् । डबली त्यहाँ आउने पाहुनाहरुलाई नाचगान, थारु संस्कृति प्रदर्शन गर्ने एक थलो पनि हो भन्छन् त्यहाँका व्यवस्थापक बद्री कोइराला । डबलीको छेउमा एउटा सानो घर छ । जहाँ भान्सामा पाकेको परिकारहरुलाई पस्कने र खाने काम हुन्छ जसलाई आधुनिक भाषामा डाइनिङ्ग हल भनिन्छ । त्यस हलमा भने थारुहरुको संयुक्त परिवार हुने र उनिहरु खाना खाने ठूलो टेवल सहितको स्थान छ । जसलाई बडाघर भनिन्छ । त्यस हलका भित्ताहरुमा आकर्षक तरिकाले थारु संस्कृतिको झल्को दिने भित्ते चित्रकलाहरु देख्न सकिन्छ ।

डबलीको पश्चिम भूभागका भित्ताहरुमा थारु संस्कृति झल्कने चित्रहरु छन् । जसलाइ वरिपरिबाट फ्रेम गरेर राखिएको छ । हरेक मानिसले त्यसलाई हेर्दा फ्रेम गरेर चित्र झुण्ड्याइएको होला भन्ने भान दिन्छ । त्यसको छेउमा गदला मोद देख्न पाइन्छ । जसलाई थारु भाषामा जाँड खाने ठाउँ भनेर बुझिन्छ ।

त्यसै डबलीको दाहिने पट्टि थारुहरुले प्रयोग गर्ने भाँडाकुँडा तथा चुलो र थारु समुदायमा प्रयोग हुने गरगहना लगायत उनिहरुको दैनिक जीवनमा प्रयोग गरिने विभिन्न सामग्रीहरु मौलिक रुपमा सजाइएको छ । विस्तारै त्यसको छेउमा आँखा घुमाउँदा नारायणी नदीमा प्रयोग भएको डुङ्गा राखिएको छ । जसलाई खुला भट्टीको तरिकाले सजाइएको छ ।

डबलीको बिच भागमा उभिएर पश्चिमतिर हेर्दा भने एक अर्को घर बनेको छ जसको भित्तामा थारु समुदायको समग्र जीवनशैलीलाई जीवन्त रुपमा उतारिएको छ । जसमा परम्परागत खेती प्रणाली, बाख्रापालन तथा थारु समुदायको जीवन पद्दतीलाई चित्रण गरिएको छ  । यस कलाको निर्माण कलाकार दुर्गा चौधरीले गरेका हुन् जुन हेर्दा एउटा पुरै थारु गाउँ नै त्यहाँ बसेकोे झल्को दिन्छ । यस स्थानका पछाडि पट्टिको भागमा रहेको छाप्रोको भित्ताहरुमा समेत विभिन्न थारु संस्कृती झल्कने चित्रहरुलाई राखिएको छ ।

डबलीको अग्र भागबाट दक्षिण पट्टि भने कला संग्रहालयको निर्माण गरिएको छ । यस संग्रहालयमा थारु समुदायमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, मानदेवको मानांक(मुद्रा), कलाकारहरुका कलाकृती तथा काठमाडौँ पहिले तालको रुपमा हुँदा तिब्बतबाट मञ्जुश्री आप्mनो बहान सिंहमा चढी आइ पहाडलाई पाँच ठाउँबाट काटी काठमाडौं उपत्यकालाई बस्न योग्य बनाएको कुरालाई देखाउने एक चित्र राखिएको छ । जनकथन अनुसार मञ्जुश्रीले पहाड काटेको पाँच स्थानहरुः काठामाडौँको चोभार, गोकर्णको वागमती गल्छी, मकवानपुरको कटुवाल दह, बनेपाको नाला, रहेका छन् ।

पूर्वी दिशामा भने बस्नका लागि प्रत्येक छाप्राहरु रहेका छन् जुन बाहिरबाट हेर्दा थारुहरु नै बस्ने गरेको खरले छाएको घर जस्तो देखिन्छ । बाहिरबाट हेर्दा सामान्य छाप्रो जस्तो लागे तापनि भित्र पट्टि भने आधुनिक सुविधाहरुको उपभोग गर्न पाइन्छ । जस्तै टि.भि, एसि र पंखाहरु । थारुहरु बस्ने कोठाहरु साँघुरा हुने भएकोले यहाँको कोठा पनि त्यस्तै गरी बनाइएको छ । ठ्याक्कै यसरी नै यी छाप्रो जस्तो देखिने घरहरु किन बनाइयो त भन्ने जिज्ञासामा उन्नती सांस्कृतिक गाउँको आर्ट एण्ड क्राफ्ट व्यवस्थापक हरी अधिकारीले भने, “प्रायः जसो थारुहरु बस्ने घर यस्तै प्रकारको हुने गर्दछन् र यहि स्थानमा पनि पहिले थारुहरुकै बसोबास रहेकोे हुँदा, आउने पाहुनाहरुलाई पनि नौलो अनुभूति होस् भनी यसरी यी छाप्राहरु निमार्ण गरिएको हो ।”

पहिलो कोठाको नाम अनत, दोस्रोको नाम जितिया, तेस्रोका नाम अमोसा आदि राखिएको छन् । यी नामहरु थारुहरुको विशेष चाडको नामबाट राखिएको छ भने हरेक कोठाका भित्ताहरुमा उक्त संस्कृतिसँग जोडिएका वा उक्त संस्कृतिको झल्को दिने चित्रहरु कोरिएका छन् । यहाँ हरेक स्थानमा कलाको भरपूर प्रयोग भएको पाइन्छ ।

अझ रमाइलो पक्ष भने कोठामा पछाडिको भागमा खुल्ने एक ढोका राखिएको छ । जहाँ कौतुहलतावश ढोका खोल्दा बाहिर खुला आकाश देखिन्छ । छत नभएको तर वरिपरिबाट बारिएको उक्त स्थानमा स्नान गर्ने, शौच गर्ने सुविधा छ । जहाँ ढुंगेधारा राखिएको छ, पित्तलको बेसन सहितको हात, मुख धुने धारा राखिएको छ भने शौच गर्नको लागि छेउमा कमोट राखिएको छ । यहाँ जाने जो कोहीलाई पनि यो अनौठो लाग्न सक्छ । खुल्ला स्थानमा शौचालय तथा खुल्ला आकाश हेर्दै स्नान गर्दा समय चक्र नै रोकिई पछाडिको कुनै युगमा गएको जस्तो भान भएको प्रतिकृया त्यहाँ आउने पाहुनाहरुले दिने गरेको यहाँका व्यवस्थापक बद्री कोइरालाई  बताउँछन् ।

कोठाबाट बाहिर निस्कि अगाडि बढ्ने क्रममा एक खाली स्थानमा पोखरीको निर्माण गरि हाँस, परेवा, खरायो जस्ता जनावर/पंक्षीहरुलाई राखिएको छ भने अझ पहिलेका दिनहरुमा मृग समेत राख्ने गरेको र पुनः वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र आउने दिनमा फेरी पनि मृग राखिने युसिभिका आर्ट एण्ड क्राफ्ट व्यवस्थापक हरि अधिकारी बताउँछन् ।

थारु समुदायको जीविकोपार्जन र महिलाहरुलाई स्वरोजगार बनाई महिलाहरुलाई आत्मनिर्भर बन्न मदत पुगोस् भन्न उदेश्यले माटाका भाँडाहरु बनाउन सिकाउने पनि गरिएको छ । यसको अवधारणा कसरी सुरु भयो त भन्ने प्रश्नमा हरि अधिकारी थप्छन्– ‘माटाका भाँडाहरु बनाउन निपूण र उक्त काममा छुट्टै उचाइ बनाएका सिर्जना आर्ट कलेजका पूर्व प्राध्यापक कलाकार गोपाल कलाप्रेमी श्रेष्ठको मद्दतले यहाँका महिलाहरुलाई तालिम दिइ उनिहरुलाई यस कामबाट आत्मनिर्भर बन्न सघाउ पुगोस् भन्ने उदेश्यले यो सुरुवात गरिएको हो । साथै, माटाको भाँडा बनाउने र त्यसको प्रयोग हाम्रा पुर्खाहरुले गर्दै आएका हुन् । त्यसलाई उचित बजारीकरणमा ध्यान नदिँदा यस्ता संस्कार लोप हुन नपाउनु भनेर यसलाई उचित बजारीकरणको साथै जीवन्त राख्न मदत पुगोस् भन्ने उद्देश्य समेत रहेको छ ।’

यस्ता शीपमूलक तालिमले हाम्रो जीवन यापन र पछिका दिनमा यस्ता काम हामीले आफ्नै स्थानमा गई सानो व्यवसाय सञ्चालन गर्न यो शीपले मद्दत गर्ने यसै स्थानमा काम सिक्दै गरेकी सुमित्रा बरालले बताइन् । ‘एक महिना गोपाल सरबाट तालिम पाएर हामी अहिले यो काम गरिरहेका छौं । काम सिक्ने क्रममा कत्ति काम विग्रिएका पनि छन् । तर विग्रँदै सुधार्दै लैजान पाउनुले हाम्रो निपूणतालाई तिखार्न समेत मद्दत पुगेको बराल बताउँछिन् ।

निकै ठूलो क्षेत्रफलमा फैलिएको यस युसिभिमा अझ अगाडि बढ्दा कलाकारहरु तथा पाहुनाहरुलाई बस्नको लागि निर्माण गरिएका खरका छाना भएको घरहरु देख्न सकिन्छ । प्रत्येक घरमा एउटा कोठा रहेका छन् जुन भित्रपट्टिबाट भने सुविधा सम्पन्न छन् ।

यहाँ रहेका प्रत्येक छाप्रोको अगाडिका भागमा भने पोखरीहरु अनि रुखहरु छन् जसले प्रकृती प्रेमी जो कोहीलाई पनि आकर्षित गर्दछ । ठाउँ ठाउँमा जंगल छन् र जंगलभित्र जेन गार्डेन बनाइएको छ, त्यसको छेउमा स्तुपा राखिएको छ जहाँ कलाकारहरु तथा आगन्तुकहरुलाई ध्यान गर्ने इच्छा हुँदा त्यहाँको शान्ति र प्रकृतिको अनुभूति गर्न सक्ने कलाकारहरु बताउँछन् । त्यस क्षेत्रबाट अगाड बढ्दै गर्दा भूइँमा केही प्रतिस्थापन गरिएका कलाहरु हेर्न सकिन्छ । कछुवा, ड्रयागन, सर्पका आकृति, पञ्चमहाभूतको प्रतिस्थापन कला पृथ्वी, जल, आकाश, वायु, तेजलाई प्रतिनिधिको रुपमा लिएर पाँचवटा पोलको टुप्पामा अमूर्त कलाहरु प्रतिस्थापन गरिएको छ । विहानको समयमा ध्यान गर्ने बेलामा मात्र खोलामा पानी बगेको जस्तो आवाज र अनुभूति दिने हिसाबले यहाँ पानीको सप्लाई गर्ने गरिएको यहाँका व्यवस्थापक बद्री बताउँछन् ।

यही स्थानमा केही क्षेत्र भने खेती गर्नका लागि छुट्याइएको छ । जहाँ मौसम अनुसारको तरकारी उत्पादन हुन्छन् । अर्गानिक तरिकाले उत्पादित तरकारीको स्वाद तपाइले भान्सामा अनुभूति गर्न समेत पाउनुहुन्छ ।

त्यहाँबाट थोरै अगाडि बढ्दा फेरी त्यस्तै किसिमको खरले छाएको एक तले घर देख्न सकिन्छ जसको अगाडि आँगनको भागमा पानीले भरिएको छ । ठाउँ ठाउँमा वृक्षहरु लगाइएको र काठको हिँड्ने बाटो बनाइ “कला दिर्घा” को नमले उक्त स्थान परिचित गराइएको छ । स्वदेशी तथा विदेशी कलाकारहरु आउँदा काम गर्ने र आप्mनो कलाको प्रदर्शनी गर्ने यस स्थानमा शान्ती र मनोरमताले कलाकार तथा शान्ती प्रिय मानिसहरुलाई एक विलकुल पृथक र अल्हादित भएको अनुभूति गराउन मद्दत गर्दछ ।

समग्रमा कला विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ खोलिएको यस स्थानले यहाँ आउने प्रत्येक कलाकार, लेखकहरुका लागि एक विशेष अनुभव प्रदान गर्ने कुरामा दुइमत छैन ।

 

Back to top button