पिताप्रति समर्पित एक चित्रकला प्रदर्शनी

सुनिल राज ढकाल
सुनिल राज ढकाल २९ बैशाख २०७९, बिहीबार १४:३७
4 Min Read
Aa

नेपाल कला परिषद, बबरमहलमा एक प्रिन्ट सम्बन्धी कला प्रदर्शनी यहि वैशाख २५ देखि जेठ २ गते सम्मका लागि चलिरहेको छ । नेपाली कलाको क्षेत्रमा लामो समयदेखि कुचि अनि रंगमा खेलिरहेकी सम्झना राजभण्डारीले गरेको यो एकल प्रिन्ट कला प्रदर्शनी हो । आफ्ना वुवा स्व.विद्याधिश राजभण्डारीको केही सौख मध्ये त्यसताका नेपालमा पाइने हुलाक टिकटहरु संकलन गर्नु पनि थियो । ती संकलित हुलाक टिकटहरुलाई अझ धेरै मानिसहरुको माझमा कसरी लैजाने ? अनि यसबाट नयाँ श्रृजनाहरु गर्न सकिएला कि नसकिएला ? भनेर घोत्लिने क्रममा सम्झनाले प्रिन्टमेकिङ्ग अन्तर्गत पर्ने उडकटको विधि प्रयोग गरेर चित्रहरु उतारिन् । उनले त्यसरी बनाएको चित्रहरु यहाँ प्रदर्शित छन् । जहाँ विशेषतः हुलाक टिकटहरु देख्न पाउनुहुन्छ । जुन उनकोे दुई वर्षको मेहेनतको प्रतिफल रहेको राजभण्डारी बताउँछिन् ।

मानिसहरुले आफ्नो विगतलाई कहिले पनि विर्सन सक्दैनन् अनि त्यहि विगत अनि विगतका सम्झनाहरुलाई अझ ताजा राख्ने कोशिसमा नै कला तथा साहित्यमा नयाँ नयाँ श्रृजनाहरु हुने गरेको इतिहास छ । लामो समयदेखि विभिन्न क्याम्पसहरुमा अध्यापन गराइरहेकी सम्झना हाल पनि श्रृजना फाइन आर्ट्स क्याम्पसमा प्रिन्टमेकिङ्गकै अध्यापिका रहेकी छन् ।

हुलाक टिकटहरुलाई नै किन प्रदर्शनीमा राख्नुभयो भन्ने प्रश्नमा सम्झना बताउँछिन्, “समय विस्तारै परिवर्तन भइरहेको छ, अनि अहिलेको नयाँ नयाँ प्रविधिहरु जस्तै फेसबुक, इमेल, भाइवर, ह्वाट्सएपहरुले गर्दा अचेल हुलाक टिकटहरुको प्रयोग कम हुँदै गएको छ, तर हुलाक टिकटहरुले पनि पहिले सिंगो देश अनि संस्कृतिलाई जोगाउन मद्दत गर्ने गर्दथ्यो, त्यसैलाई जगेर्ना गर्दै आउने पुस्ताले पनि केही सिक्ने मौका पाउन् भन्ने उद्देश्यले यो प्रदर्शनी गरेकी हुँ ।” यस प्रदर्शनीमा वि.सं. १९६५ सालदेखि नेपाल सरकारले चलन चल्तिमा ल्याएका हुलाक टिकहरुलाई प्रिन्ट मेकिङ्गको माध्यमबाट ठुलो आकारमा बनाइ प्रदर्शनी गरिएको कलाकार बताउँछिन् ।

यस प्रदर्शनीमा समावेश गरिएका सबै हुलाक टिकटहरु उडकटको माध्यमबाट बनाइएका हुन् । छपाइमा उडकट पूरानो अनि कम लागतमा पनि गर्न/बनाउन सकिने माध्यमको रुपमा रहेको कुरा उनि बताउँछिन् । सामान्यताः लेटर प्रेसमा मसीको नै प्रयोग हुने उडकटमा विभिन्न किसिमको काठ प्रयोग हुने गर्दछ । जस्तै प्लाइ उड, हलो उड, न्यु उड आदि तर उनले भने यहाँ प्रदर्शित सबै टिकटहरु ‘न्यु उड’मा बनाएकी हुन् । त्यस काठमा कोट्याउनको लागि पनि उनले चम्चाको पछाडिको भागले दलेर बनाएकोे बताउँछिन् ।

भारतले सहयोग स्वरुप दिएको प्रेसर मेशिनहरु जम्मा दुइ ठाउँमा रहेको छ । जसमध्ये एक ललितकला प्रज्ञा प्रतिष्ठानमा र अर्काे श्रृजना फाइन आर्ट क्याम्पसमा रहेको छ । त्यही मेशिनको सहायताबाट प्रेस गरिएका यि प्रिन्टहरु आफैंमा आकर्षक रहेका छन् । उनले निकालेको प्रत्येक प्रिन्टहरु चार प्रति मात्र बनाउने योजना बनाएकी उनले सबै चित्रहरु २० ग्रामको नेपाली कागजमा बनाएको बताउँछिन् ।

पहिलेको समयमा नेपाली कागजहरुको प्रयोग अझ व्यापक रुपमा थियो । काठमाडौँमा मानिने चाडपर्वहरुः गाइजात्रामा बनाइने मुकुटको माथिपट्टि पनि यही कागज प्रयोग हुने गर्दथ्यो । नागपञ्चमी तथा लक्ष्मी पुजामा नाग तथा लक्ष्मीको चित्रहरु बनाउन चित्रकारहरु तथा सामान्य मानिसहरुले पनि नेपाली कागजहरु प्रयोग गर्ने गर्दथे । त्यसैले पनि यो प्रदर्शनीमा उनले नेपाली कागज नै प्रयोग गरेको बताउँछिन् । किन नेपाली कागज नै प्रयोग गनुभयो भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘नेपालको पहिलो हुलाक टिकट पनि नेपाली कागजमा नै बनाइएको थियो । त्यसैको सम्झनामा नेपाली कागज प्रयोग गरेको हुँ ।’

कलाकार, क्युरेटर तथा तारागाउँ म्युजियमका निर्देशक रोशन मिश्रका अनुसार, उनले कलाकार सम्झनाका धेरै प्रदर्शनीहरु हेर्ने मौका पाएको भएता पनि यस प्रदर्शनी उनका लागि विशेष लागेको छ किनकी उनले सम्झनाको काममा हुलाकमा प्रयोग भएको अष्टमङ्गल, गुहेश्वरी, कालभैरव, राजा महेन्द्रको राज्यारोहण जस्ता विभिन्न सांस्कृतिक तथा ऐतिहासिक पृष्ठभूमिहरुलाई समेटेकी छन् र यी कामहरु आफ्ना बुवाको सम्झना तथा आउने पुस्तालाई पनि हाम्रा इतिहासका विर्सिएका पाटाहरु खोतल्न मद्दत गर्ने रोशन बताउँछन् ।

इतिहासका विर्सिएका पाटाहरु अनि त्यस बेलाका यादहरुलाई जोड्न तथा अहिलेको पुस्ताले त्यो बेला प्रयोग भएका हुलाक टिकटहरु हेर्न अनि धेरै कुराहरु बुझ्न यस प्रदर्शनीले सहयोग गर्ने कलाकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array