जीवन्त ज्योर्तिलिङ्ग

सुनिल पौडेल
सुनिल पौडेल May 16, 2022
11 Min Read
Aa

ललितपुर जिल्लाको दक्षिणी भूभाग, सुनाकोठीमा अवस्थित भृङ्गारेश्वर महादेवको मन्दिर परिसर र वरिपरिको वस्तीमा आजभोली पनि रातको समयमा नन्दी डुलिरहेको आवाज मानिसहरुका कानमा गुञ्जन्छन् । स्थानियहरु शक्तिले भरिपूर्ण नन्दी नै घुमेको आवाज हो भनेर भन्ने गर्दछन् । मानिसहरु युगको कुरामा आधुनिक र उत्तरआधुनिक युगमा प्रवेश गरिसकेको विश्वास गर्दछन् र अहिलेको युगमा विज्ञानले सारा विश्वलाई आफ्नो अधिनमा पारिसकेको विश्वास गर्दछन् । तर यस नविनतम युगमा आएर पनि सुनाकोठीका स्थानियहरुले विश्वास गर्ने ती नन्दी आजभोली पनि हिँड्दछन्, डुल्दछन् भन्ने जनवोलीलाई कसरी नकार्ने ?

ज्योर्तिलिङ्ग महादेवको रुपमा परिचित यस मन्दिर पशुपतिनाथ भन्दा पुरानो हो भन्ने अभिलेखहरुले देखाएको छन् । श्री धनबज्र बज्राचार्यले लेख्नु भएको मध्यकालका अभिलेखमा उल्लेखित गोपालराजवंशावली अनुसार नेपाल उपत्यकामा भृङ्गारेश्वर महादेवको प्रादूर्भाव पशुपतिनाथ भन्दा अगाडि भएको हो भन्ने उल्लेख छ । भृङ्गारेश्वर शिवलिङ्ग चौंसठ्ठीः स्वयम्भू सिद्धज्योर्तिलिङ्ग मध्ये एक स्वयम्भू सिद्धज्योतिर्लिङ्गको रुपमा लिइन्छ र यस शिवलिङ्गलाई नेपालमा पाइएका शिवलिङ्गमध्ये प्राचिनतम मानिन्छ ।

यस मन्दिरमा गई पुजा अर्चना गर्नाले भक्तजनहरुले कुनै कुरा इच्छाएमा त्यसको फलदिने र मोक्षप्रदान गर्ने तथा पूर्व जन्मको पापबाट समेत मुक्ति मिल्ने जनश्रुती रहेको छ । गुम्बज शैलीमा निर्मित यस मन्दिर वि.सं. १९९० को भूकम्पमा भत्किएको र पछि यसलाई बनाइएको बुझिन्छ । तर, त्यहाँ अवस्थित टुँडाल, खम्बाहरु, अड्याउन प्रयोग भएका सामग्रीहरुको आकार हेर्ने हो भने यस मन्दिर अझै ठूलो भव्य थियो भन्ने अनुमान लगाउन सकिन्छ । त्यसको खोजविन गरी मन्दिरलाई पुरानो संरचनामा लैजान पहल भइरहेको तर त्यसको विषयमा अझै प्रमाणहरु जुट्न नसकेकोले पुरातत्व  विभागले त्यसलाई अगाडि बढ्न नदिएको समेत स्थानीयहरु बताउँछन् ।

टुँडालहरुको आकार हेर्ने हो भने यो मन्दिर कम्तिमा पनि तीन तलाको पेगोडा शैलीको हुनुपर्छ भन्ने अनुमान गरिएको छ ।

भृङ्गारेश्वरको शिवलिङ्ग र जलहरीलाई हेर्दा यो ब्राह्म सम्प्रदायको शिवलिङ्ग हो भन्ने स्पष्ट देखिन्छ । अहिलेसम्मको खोज र अनुसन्धानमा शिवलिङ्ग र जलहरी दुबै ब्राह्म सम्प्रदायको भएको यही नै हो । जलहरी चारपाटे शैलीमा छ ।  जलहरीको आकार करीव ५×५ फुटको छ । शिवलिङ्ग कमलको फूलमाथि रहेको छ । कमलको फूलको बनावट निकै सुन्दर हुनुको साथै कलात्मक तथा प्राचीन देखिन्छ र  भक्तजनहरुले जति दर्शन गरेपनि दर्शन गरुँ गरुँ लाग्ने यो सिद्ध शिवलिङ्ग हो । प्राचीन शिवपूजक सम्प्रदायहरुमा सबै भन्दा पहिले ब्रह्माले पूजन गरेको ब्राह्म सम्प्रदायको शिवलिङ्ग हो भनी डा. स्वामी प्रपन्नाचार्यले लेख्नु भएको चौसठ्ठी शिविलिङ्गको विश्लेषाणात्मक अनुसन्धान पुस्तकमा उल्लेख छ ।

सुनाकोठी एक प्राचिन गाउँ र प्राचिन सभ्यताको स्थान भनेर पनि चिनिन्छ । मर्दापर्दा चाँजो मिलाउने मान्छेहरुको गुठी भएको ठाउँलाई ‘सानथ्य गोष्ठी’ भनिन्छ भनेर इतिहासकार तथा पुरातत्वविद् मोहन प्रसाद खनालले बताएका छन् । साना साना गुठीहरुको समूह भएको ठाउँलाई समय र कालक्रमले विस्तारै परिवर्तित गर्दै लग्यो र साना गुथिबाट सुनागुथि, सुनागुठी हुँदै अहिले धेरैले सोनाकोठी तथा सुनाकोठी भन्ने गर्दछन् ।

लिच्छविकालिन शिलालेखहरुमा यस ठाउँको नाम ‘भृङ्गार ग्रामपाञ्चालीका’ भनेर उल्लेख छ । त्यतिबेला शासन गर्ने व्यक्तिले यही महादेवको मन्दिर अनुसार उक्त नाम राखेको हुनसक्ने अनुमान गरिएको छ । भृंगारेश्वरमा रहेको एउटा शिलालेख लिच्छवि राजा भीमार्जुन देव र उनलाई कजाएर राजपाठको कमान सम्हालेका विष्णुगुप्तको पालाको हो । विक्रम सम्बत् ६९८ को यो अभिलेखमा यहाँका बासिन्दाको परिश्रमबाट प्रसन्न भई स्वायत्त शासनको अधिकार दिइएको उल्लेख छ ।

उक्त समयमा बुढानिलकण्ठमा जलमा सुतिरहेका नारायणको मूर्ति बनाउन बढेमानको ढुङ्गा खोजेर ल्याइदिने काम पनि यहाँका बासिन्दाले गरेको समेत इतिहासकार धनबज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ मा उल्लेख छ । विक्रम सम्बत् ७५४ को अर्को शिलालेख भृँगारेश्वरमा अवस्थित छ । त्यतिबेला लिच्छवि राजा शिवदेवको राजकाज चल्दथ्यो । भृङ्गारेश्वर तथा सुनाकोठीको विषयका अन्य प्राचीनता झल्काउने दस्तावेजहरु नभएका भने होइनन् ।

पशुपतिनाथ भन्दा पुरानो भनेर भृङगारेश्वर महादेवलाई मानिएको तथ्य ‘गोपाल राजवंशावलीमा’ उल्लेख छ । तर यस मन्दिर करिब २०० वर्ष जति मानिसहरुको स्मरणमा रहेन । करिब सात सय वर्षअगाडि चौधौं शताब्दीदेखि पन्ध्रौ शताब्दीको सुरुसम्म काठमाडौंका राजपरिवारहरु सत्ता कलहले गर्दा अत्यन्तै कमजोर भएको थियो र सोही मौका उठाउँदै कहिले खसहरुले त कहिले तिरहुते सेनाले हमला गरेका तथ्य पाइन्छ । बंगालका सुल्तान समसुद्दीनले विक्रम सम्वत् १४०६ मा गरेको आक्रमण सबैभन्दा ठूलो थियो । तत्कालिन समयमा उनले कयौं मठ मन्दिर, चैत्य र घरहरुमा आगो लगाइदिए र लुटपाट मच्चाए । त्यतिले नपुगेर उनले पशुपतिनाथलाई तीन टुक्रा पारे र स्वयम्भू चैत्य भत्काएर गर्भगृहमा रहेका बहुमुल्य सुन, चाँदी तथा अन्य सामग्री लुटेर लगेको समेत गोपाल राजवंशावलीमा वर्णन पाइन्छ । यहि आक्रमणबाट भृङगारेश्वरको मन्दिर पनि अछुतो रहन सकेन । त्यसपछिको कैयौं समय उपत्यका आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा माथि उठ्न सकेन । शिक्षाको स्तर पनि तल झर्यो । त्यसपछि जति पनि भत्काइएका वा नास गरिएका संरचनाहरुलाई पुर्नजीवन दिन सकिएन । त्यसैको चपेटामा भृङ्गारेश्वर पनि पर्यो ।

विक्रम सम्वत् १६१० मा ललितपुरका राजा विष्णु सिंहले मन्दिरको छेउमा कुवा खनाए । त्यहाँ खन्दै जाँदा एउटा तामाको घडा भेटियो र त्यसमा ‘श्री भृंगारेश्वर महादेव’ लेखिएको पाएपछि उनले भृंगारेश्वर महादेवको भव्य मन्दिर बनाउन लगाए ।

यस ठाउँको ज्योर्तिलिङ्ग मानिसहरुले कसरी  थाहा पाए भन्ने विषयमा अर्को कथन पनि छ । एउटा गाईले दिनहुँ एकै ठाउँमा आएर दूध दिएको देखेर गाउँका मानिसहरुले अचम्म माने र उनिहरुले त्यहाँ खनेर हेर्दा असंख्य भ्रमण (भमरा) हरु भुईभुई गरेर बाहिर निस्कन थाले । उक्त भमराले घेरेर राखेको महादेवको लिङ्गम भेटिए पछि त्यसलाई भृंगारेश्वर भनिन थालियो भन्ने जनश्रुति पनि पाइन्छ ।

इतिहासकार तथा पुरातत्वविद् मोहन प्रसाद खनालका अनुसार, ‘यस भृंगारेश्वर गाउँलाई जोगाउन पर्छ र यो एउटा प्राचीन सभ्यताको जीवन्त संग्रहालय हो । यहाँ बन्ने बाटोहरुले बस्तीलाई हानी नोक्सानी पु-याउनु हुँदैन ।’

सुनाकोठीको विचमा अवस्थित यस भृङ्गारेश्वर महादेव मन्दिरको पूर्व पट्टि गणेश, दक्षिणमा पुजारी घर र छेउमा कीर्तिमुख भैरव, नैऋत्य कोणमा जगन्नाथ मन्दिर, पश्चिममा सिंहहरु त्यसपछि विशाल तथा अति कलापूर्ण नन्दी, ठूलो त्रिशूल र धर्मशाला छ । उत्तर तर्फ ईशान कोणमा ३२ हात गहिरो इनार छ । यस इनारलाई ज्ञानवापीकुण्ड वा ज्ञानकुण्ठ भन्दछन् । श्री भृङ्गारेश्वर महादेवलाई यही ज्ञानवापीकुण्डको पानीले स्नान गराइन्छ । सो स्नानबाट जम्मा हुने पानीको कुण्डललाई जलकुण्ड भन्दछन् । यसको साथै उत्तरतर्फ कुमारीको सुन्दर मन्दिर छ । यस विशाल परिसर भित्र शिलाका अनेकौं मूर्तिहरु तथा शिला अभिलेखहरु यत्रतत्र रहेका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार लिच्छवी राजा मानदेवको नामबाट निर्मित मानगृह र शिवदेवको शिलालेखमा कैलाशकुट भवनको वर्णन भएबाट यहाँ रहेको यी शिलालेखले यो महादेव मन्दिर र परिसरको निकै महत्व रहेको प्रष्ट छ ।

नेपाल सरकारले वि.सं. २०७३ साल पौष १३ गते भृङ्गारेश्वर महादेवको मन्दिर अंकित हुलाक टिकट पनि प्रकाशित गरेको छ । यस्ता हुलाक टिकटहरुले विश्वमा नेपाली सम्पदा चिनाउन र देशको इतिहासलाई जीवन्त राख्नमा मद्दत गर्ने विज्ञहरु बताउँछन् ।

कुनै पनि विषयको प्राचीनतम इतिहास खोतल्दै जाँदा पुराना शिलालेख र अवशेषबाट नै मुख्य कडिमा पुग्न सकिने हो । सुनाकोठीमा पाइने शिलालेखले यहाँको सभ्यता र संस्कृतिको लहरो थोरैमा पनि पन्ध्रसय वर्षदेखि तानिँदै आएको प्रमाण दिन्छ ।

तर, भृङ्गारेश्वर महादेव शिवलिङ्ग र यसका अन्य प्राचीनतम स्वरुपहरुलाई दृष्टिगत गर्दा करिब ५०९६ वर्ष अघि रचिएको महाभारत ग्रन्थमा पशुपतिनाथको उल्लेख पाइनाले, पशुपतिनाथ भन्दा अगाडि प्रादुर्भाव भएको हुनाले र किरातेश्वर शिवलिङ्ग समेतलाई मनन गर्दा श्री  भृङ्गारेश्वर महादेव ५ हजार वर्ष भन्दा अगाडि नै भएको तथ्य स्पष्ट हुन आउँछ ।

अर्को एक प्रसङ्ग अनुसार यहाँको शिवलिङ्ग पारसमणि/स्पर्शमणि ( शिवलिङ्गमा जे कुरा छुवाउँदा पनि सुनमा परिणत हुने) जस्तो थियो । जसको कारण पुजारीको कुशको औंठी सुनको औंठीमा परिणत हुने, घाँसीको हँसिया सुनको हँसियामा परिणत हुने जस्ता अलौकिक घटनाहरु घट्ने गर्दथे । तर त्यहाँ पुजा गर्ने पुजारीको लोभको कारणले गर्दा उक्त शिवलिङ्गको सत् (उर्जा) छिन्न भिन्न भएको स्थानीयहरुको भनाइ रहेको छ । सुनिएको कथा अनुसार के भएको रहेछ भने भृङ्गारेश्वर महादेवको पुजारीले दैनिक नित्य पुजा गर्न जाँदा एउटा कुशको औठी लगाएर विधि पूर्वक पूजा पाठ गरेर घर फर्किँदा हातमा लगाएको कुशको औंठी सुनको औंठीमा परिणत हुन्थ्यो । तर एक दिन पुजारी लोभी भएर भालिपल्ट पुजा गर्न जाँदा दशवटा कुशको औंठी लगाएर पुजा गर्न गयो तर फर्किँदा सुनमा परिणत भएन । पुजारीको लोभले महादेवले सुनको औंठी बन्ने प्रक्रिया नै रोकिदिए त्यसपछि पुजारी रिसले भृङ्गारेश्वर शिवलिङ्गमा बन्चरोले प्रहार गरे । त्यसको एक टुक्रा पूर्व दिशातर्फ र अर्को टुक्रा पश्चिमदिशातर्फ मेघ गर्जे जस्तै गर्जी उडि गए र पुजारी पनि त्यहींमुच्र्छा पर्यो र सुन बन्ने प्रक्रिया रोकियो भन्ने पनि जनश्रुती रहेको छ । त्यस्तै अर्को भनाइ अनुसार नेपालमा मुस्लिमको हमलाको बेलामा शिवलिङ्गमा पनि हमला भएर टुक्रा निस्किएको भन्ने पनि छ ।

यस मन्दिरमा रहेको बसाहा(नन्दी)को विषयमा माथि उल्लेख गरिसकिएको छ । बसाहाको छेउमा एउटा विशाल ढुङ्गाको खड्ग पनि रहेको छ । उक्त बसाहा(नन्दी) लाई पशुपतिनाथमा स्थापित गराउनको लागि कुनै समयमा स्थानियहरु तथा पशुपतिनाथका मानिसहरुले ढोलाहिटीसम्म खटमा राखेर लगेको थिए । तर जब सुनाकोठीको सिमाना सकियो त्यसपछि उक्त नन्दी बोकेको खट अगाडि बढ्दै बढेन र त्यसलाई अगाडि लग्न सकिएन । त्यसपछि उक्त नन्दीमा अलौकिक शक्ति भएको तथा यहाँबाट अन्यत्र जान नमानेको बुझेर पुनः यथास्थानमा नै स्थापित गरिएको भन्ने यहाँका बुढापाकाहरुको भनाइ रहेको छ ।

काठमाडौँबाट करिव ६ कि.मि टाढा रहेको ललितपुरमा अवस्थित शक्तिले भरिपूर्ण यो मन्दिरमा खोज र अन्वेषणको अझै पनि टड्कारो आवश्यकता छ । पूरानै शैलीमा मन्दिर बनाउन सकिने वा अहिले भइरहेको मन्दिरलाई नै अझ जिर्णेद्दार र मर्मतसम्भार गर्दै यसलाई पर्यटकिय शहरको रुपमा विकसित गराउन सकिए नेपालको धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास हुनको लागि प्रतिक्षामा छ भृङ्गारेश्वर महादेवको मन्दिर ।

प्रतिक्रिया दिनुहोस्