‘मैले आफ्नो समय भरपुर उपयोग गरें’

सुनिल पौडेल
सुनिल पौडेल १४ जेष्ठ २०७९, शनिबार ०६:००
16 Min Read
Aa

फुलहरुको सजिसजावट, हरियाली वातावरण, बैठक कोठाका छेउमा रहेको मनिप्लान्टको हरियो विरुवा सँगै राखिएको सोफामा बसिरहेकी उनको साँगितिक यात्रा धेरै लामो नभए पनि आफ्नो समयमा उनि खरो उत्रिएकी गायिका हुन् । उनका पिता ब्रिटिस लाहुरे भएका कारण उनको जन्म हङकङमा भयो । बाल्यवस्था उतै वित्यो । उनका पिताको पनि संगीतप्रतिको लगावले गर्दा उनलाई सानैदेखि गीतसंगीतमा रुचि बढेको हुनसक्छ भन्छिन् गायिका पवित्रा सुब्बा ।

सानैदेखि गीतसंगीतप्रति उनको चाख थियो । र पनि उनी टेलिभिजनबाट प्रसारित हुने कार्टुनहरु हेर्दै त्यसको सिको गर्दै पेन्सिलले कपिमा स्केच बनाउने गर्थिन् । विद्यालयमा हुने अतिरिक्त कृयाकलापमा उनले जहिले पनि पुरस्कार पाउँथिन् । अभिभावक दिवस होस् या विद्यालयको बार्षिकोत्सव उनी गाउने विधामा जहिले पनि प्राथमिकतामा पर्थिन् । उनको स्वर राम्रो भएकै कारण त्यस्तो अवसर दिएका होलान् भन्ने उनलाई लाग्छ । ‘त्यतिबेला धेरै एक्टिभ थिएँ, बरु अहिले पो अल्छि भएको छु त’– उनि मन्द मुस्कानमा आफ्नो अवस्था बताउँदै थिइन् । तर उनको वरिपरि भएका हरिया र झाँगिएका बोट विरुवाहरुले उनले बोलेको अल्छिपनमा हाँसिरहेका थिए, खुसी थिए, हरिया थिए र व्यङ्ग्य गरेर हामीप्रति नियाँलीरहेका थिए ।

गायिका पवित्रा सुब्बा लाहुरेको छोरी भएको हुनाले उनि पनि बाबासँगै बस्थिन् र पल्टनमा हुने धेरै जसो कार्यक्रममा उनलाई गाउनको लागि बाबाले प्रोत्साहन पनि गर्नुहुन्थ्यो । ‘मेरी छोरीले गाउँछे भनेर त्यस्ता कार्यक्रममा जाँदा मेरो बाबाले हौसला प्रदान गर्नुहुन्थ्यो र मैले पनि दङ्ग पर्दै गाउँथे’– आफ्नो बाल्यवस्थाको क्षण सम्झिन्छिन् उनि । ‘मेरो बाबा पनि म्युजिकमा रुचि राख्नुहुन्थ्यो, रेडियोमा गीत सुनिरहनुहुन्थ्यो । गीत गुनगुनानुहुन्थ्यो, आफैंले क्यासेट ल्याएर रेकर्ड गर्न लगाउनुहुन्थ्यो’ – उनको यो अतित ताजा बनेर प्रस्फुटित भइरहेका थिए । त्यसरी विस्तारै गायनमा उनको रुचि बढ्दै गयो, प्रसंसा गर्नेहरु थपिँदै गए । जब बाबाको पेन्सन भयो त्यसपछि पवित्रा सुब्बा बाबासँगै नेपाल फर्किइन् । करिव सन् ८० को दशकतिर, त्यतिबेलाको नेपाल त्यसमा पनि उनको बसोबास रहेको धरान विदेशभन्दा धेरै फरक लाग्यो उनलाई । यहाँको परिवेशमा अभ्यस्त हुन केही समय पनि लाग्यो । परिवेश छुट्टै थियो ।

‘नेपालमा आएपछि गायनमा रुचि झन् बढ्दै गयो । स्थानीय स्तरमा हुने कार्यक्रमहरु, विद्यालयमा हुने कार्यक्रमहरुमा गीत गाउन थालें । साथीभाइको प्रसंसाले म मख्ख पर्थें’– उनले आफ्नो कथा अगाडि बढाउँदै गइन् । सन् असीको दशकमा नेपाल अहिले जस्तो थिएन, मानिसहरु चाडबाडमा नाचगान गर्ने चलन थियो, प्रत्यक्ष रुपमा गीत गाउने, बाजा बजाउने प्रचलन थियो । तिहारमा देउसी– भैलो खेलेर रमाउने गरिन्थ्यो । ‘करिब चाडबाड आउनु एक महिना अगाडिदेखि गीत गाउनको लागि तयारी गर्नुपथ्र्यो, नाच्नेले नाच्ने तयारी, गाउनेले गाउने तयारी हुन्थ्यो, तर अहिले त त्यस्तो हुन्छ जस्तो लाग्दैन ।’

मनोरञ्जनका धेरै माध्यमहरु नभएको त्यस समयमा मानिसहरु टेलिभिजन र रेडियो मात्र सुन्ने गर्दथे । त्यसैले मनोरञ्जनको माध्यम भनेको नै ‘लाइभ शो’ हरु हुन्थे । जसको कारण पवित्रा सुब्बा विस्तारै सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुन थालिन् । उनको ख्याति बढ्दै गयो । टोलटोलमा उनलाई बोलाउनेको भीड नै लाग्न थाल्यो । धरानको एउटा टोलबाट सुरु भएको गायन यात्राले झाँगिदै गयो । लिम्बु संस्कृतिलाई सबै सामु पु-याउनको लागि केही दाजु, दिदी र साथीहरुको मिलेमतोमा चुम्लुङ नामक संस्था पनि खोल्न भ्याएकी सुब्बाले उक्त संस्थामार्फत गरेको साँगीतिक कार्यक्रममा उठेको पैसा सामाजिक सेवाको काममा लगाइन् । त्यसमा उनी मात्र सहभागि भने थिइनन् सबैको सहयोग र सद्भावले आजसम्म उक्त संस्था टिकिरेको छ र अहिले साथीहरुले उक्त संस्था चलाइरहेका छन् ।

‘अहिलेजस्तो इन्टरनेट, टेलिभिजन र एफ.एम रेडियोहरु यथेष्ट मात्रामा नहुँदा त्यतिबेला धेरै लाइभ प्रोग्रामहरु हुन्थे । मानिसहरु पैसा तिरेर टिकट किनेर सांगितिक कार्यक्रम हेर्न आउँथे । मनोरञ्जनकोएउटा माध्यम थियो लाइभ शोहरु । टाढा टाढाबाट कार्यक्रम हेर्न आउने मानिसहरुको भीड लाग्थ्यो । त्यो समय नै छुट्टै थियो, बढो आनन्द दायक ।’– उनि सम्झिन्छन् । सन् ९० को दशकमा चुम्लुङ संस्था मार्फत राष्ट्रिय सभागृहमा पहिलो शो गर्दाको अनुभुति सझिन्छिन् उनि –‘सुनिता सुब्बा, दिनेश सुब्बा म लगायतका कलाकार साथीहरु मिलेर कार्यक्रम ग¥यौं । पैसा पनि राम्रो उठ्यो र हामीले त्यतिखेर जन्माएको चुम्लुङ संस्थालाई उठेको सबै रकम हस्तान्तरण ग¥यौं, एकदमै आनन्द लागेको थियो त्यतिबेला ।’ संस्थाले लिम्बुहरुका लागि पुस्तक, क्यालेन्डर, कलाकारहरुलाई बार्षिक सम्मान, प्रोत्साहन गर्ने कार्य गर्दै आइरहेको छ ।

आफ्नो नामको चर्चाले बजार घन्काउँदासम्म उनको कुनै गीत रेकर्ड भएको थिएन । कारण थियो, अहिले जस्तो जमाना थिएन, धेरै कार्यक्रमहरु हुन्थे, जमघटहरुमा गीत गाउने चलन थियो । कहिले राष्ट्रिय नाचघर, कहिले सभागृह त कहिले प्रज्ञामा कार्यक्रम भइरहन्थ्यो । त्यहाँ गाउने पवित्रा सुब्बा हुन्थिन् । उनले गाएका गीतहरु नेपाल टेलिभिजनबाट प्रशारित हुनथाल्यो । धेरैले उनलाई चिनिसकेका थिए ।

पवित्रा सुब्बा सम्झिन्छिन्–‘म पद्मकन्या क्याम्पस, बागबजार पढ्ने बेला एक दिन जब धर्मेन्द्र सुब्बाले एल्बम निकाल्छु त्यसमा तपाइले पनि गाउन पर्छ । तपाइको स्वर एकदमै राम्रो छ, सुम्निमा भन्ने एल्बम निकाल्न खोज्दै छु भन्नुभयो । त्यसपछि सुनिता सुब्बा, धर्मेन्द्र सुब्बा र मैले मिलेर गीत गायौं । हाम्रो विद्यार्थी जीवन थियो, हामीसँग एल्बम निकाल्ने पैसा थिएन । त्यति बेला सबै पैसा धर्मेन्द्रले नै खर्च गर्नुभयो । तर त्यो मेरो लागि राम्रो अफर थियो ।’

वि.सं. २०४५/४६ सालतिर पवित्रा सुब्बाको भेट गीतकार शक्ति बल्लभसँग भयो । जुन भेटको अवसर उनलाई धर्मेन्द्रले जुटाइदिएका थिए । त्यस दिनको भेट सुब्बा अहिले पनि सम्झिन्छिन् । शक्ति बल्लभको लागि म नयाँ मान्छे थिएँ, मेरो स्वर उहाँलाई सायद थाहा थिएन । मेरो स्वर सुनेपछि उहाँले मनपराउनुभयो र भन्नुभयो –‘तपाइ नयाँ हुनुहुन्छ, तपाइको लागि यो सामान्य खालको गीत छ, यो गाउनुहोला ।’ त्यो गीत थियो– ‘चन्द्रमा र चखेवाको मिलन कहिले होला……’ मेरो स्वर सँग म्याच गर्ने खालको गीत त्यतिबेला रेकर्ड गराएर क्यासेटमा आयो ।

त्यति बेला गीतहरु रेकर्ड गर्ने एउटा मात्र निजी कम्पनी थियो– म्युजिक नेपाल । त्यतिबेला कहाँ सिडि हुनु, क्यासेटमा गीत आयो । एल्बम निस्कियो । धेरै मानिसहरुले त्यो मन पराए । बजारमा आएको करिब ८/९ महिनापछि सुब्बालाई नेपाल टेलिभिजनमा बेलाइयो । मलाई बोलाउनुको कारण के रहेछ भनेर त्यहाँ पुगेपछि उनले थाहा पाइन् । उनको गीत धेरै मन पराइएको कारणले नेपाल टेलिभिजनले भिडियो बनाउन अफर गर्यो । त्यो अफर पवित्राका लागि ठूलो उपलब्धी पनि थियो । उनले त्यसलाई सहर्ष स्वीकार गरिन् । त्यतिबेला नेपाल टेलिभिजनले राम्रा राम्रा गीतहरुको भिडियो बनाइदिने गर्दथ्यो । अर्को रमाइलो पक्ष के थियो भने त्यति बेला नेपाल टेलिभिजनले भिडियो पनि बनाइदिन्थ्यो र कलाकारहरुलाई उल्टै पैसा पनि दिइन्थ्यो ।

आजको जस्तो समय त्यो कहाँ थियो र ? त्यति बेला पहिलो गीत टेलिभिजनमा प्रशारण हुँदा र त्यसलाई सबैले मनपराउँदा एकदमै खुसीभएकी पवित्राको लागि त्यो पल एउटा कोसे ढुङ्गा सावित भयो । उनलाई लाग्यो मैले मानिसहरुको मनमा बस्न सक्ने काम गरेकी रहिछु ।  उनको अनुभव थियो ‘मैले गाएको पहिलो गीत, कस्तो गाएँ त्यो पनि थाहा छैन, मान्छेले मन पराउँछ पराउँदैन त्यो पनि थाहा छैन । तर पछि अडियो तथा भिडियो सुनेर र हेरेर दर्शक तथा श्रोताहरुले प्रसंसा गर्नुभयो त्यसपछि आफुमा आत्मविश्वास पनि बढ्यो ।’

कमर्सियल गीत गाउन त्यति नरुचाउने पवित्रा सुब्बा संगीत विषय लिएर पढ्दै थिइन् तर उनी पढ्दै गर्दा एकाएक उनका गीतहरु मानिसहरुको मनमा बस्न सफल भइदिए । जसको कारण उनका बारेमा छापिन थाल्यो । त्यतिबेला युवामञ्चमा उनको कभर पेज नै बन्यो । त्यतिबेला धेरै पत्रपत्रिकाले उनको बारेमा लेखे । जसको कारण उनलाई मानिसहरुको अफर आउन थाल्यो । शम्भु राई, दिनेश सुब्बा, शम्भुजित बास्कोटा लगायत थुप्रैले बोलाएको अनुभव पवित्रा सुनाउँछिन् ।

आफुलाई मन परेको गीत मात्र गाउन रुचाउने पवित्राले ५/६ वटा सिनेमाका लागि पनि गीत गाइन् । तर त्यसमा उनले निरन्तरता भने दिन चाहिनन् । उनि बताउँछिन् –‘मलाई कमर्सियल गीत गाउन मन लागेन ।’ उनको चर्चा संगीत जगतमा बढ्दै गयो । वि.सं. २०५० सालमा पहिलो एल्बम ‘शैली’ निकाल्न सफल भइन् । जुन उनका फ्यानहरु तथा अग्रजहरुको अनुरोधले गर्दा निकालिएको थियो । ‘त्यतिबेला मेरो स्वर मनपराउनेहरुले धेरै अनुरोध गरेर निकालेको शैली हिट भयो । एल्बमका सबै गीतहरु मानिसहरुले श्रोताहरुले मनपराइदिनुभयो ।’

कुनै पनि कलाकारले एल्बम निकाल्नु भनेको फलामको चिउरा चपाउनु सरह थियो । लगानी महँगो हुन्थ्यो । एल्बम बेचेर पैसा उठ्ने भन्ने कुरा गाह्रो थियो । तर कलाकारहरुका लागि अर्को फाइदा थियो – विदेशमा हुने कार्यक्रमहरुमा सहभागिता र त्यहाँबाट आउने केही पैसा । एल्बमका कारण देश विदेशका मानिसले चिन्दथे तर देश विदेशमा गाउन जानको लागि त्यहि एल्बम प्रमाणको रुपमा प्रस्तुत भइदिन्थ्यो, पवित्रा सुब्बाको पनि त्यस्तै कथा रह्यो । उनि सम्झिन्छिन्–‘एल्बमको गीत हिट भएपछि विदेशबाट अफर आउँथ्यो । विदेश भ्रमण गर्न पाइथ्यो । त्यो हामी कलाकारहरुलाई एक ठाउँमा मात्र सिमित हुन पर्ने थिएन । नेपाली संगीतले समुद्रपार यात्रा गर्दथ्यो ।’

‘शैली’ निकाल्दाको अनुभव पवित्रा यसरी सुनाउँछिन्–‘आफुले सोलो एल्बम निकाल्नु पूर्व त अन्य संगीतकार, गीतकारहरुको अनुरोधमा गाउनुपथ्र्यो, उनिहरुले जुन गीत दियो त्यही गाउनुपथ्र्यो । तर आफ्नो एल्बममा गीत आफ्नो, आफुलाई मन परेको संगीत, आफ्नो मर्जीको मालिक आफैं । आफुलाई मन परेको शब्द छान्ने छुट । त्यो भन्दा बढी आनन्द के चाहियो र ?’ मन्द मुस्कानका साथ उनको यी शब्दहरु निस्किरहेका थिए । पवित्रा सुब्बालाई आफ्ना गीत गाइदिन धेरै गीतकारहरुको अनुरोध आइरहन्थ्यो । तर उनले सबैका गीत गाइनन् र उनले गीतकार नाम हेरेर पनि गाइनन् । उनले आफुलाई सुहाउने शब्द हेरेर गीत गाइन् । जसले उनलाई थोरै गीतमा ठूलो उचाइ दिन सफल भयो ।

रमाइलो सन्दर्भ जोडौं, एउटा समय थियो । जतिबेला गीतकारहरुका शब्दहरु समेटिएका गीतहरु एउटा पुस्तकमा प्रकाशित हुन्थे । पवित्रा त्यो किताव किनेर कस्ता गीतहरु रहेछन् भनेर हेर्थिन् । उनलाई मन परेको गीत कुनै लागेको खण्डमा गीतकारकोमा आफैं गएर उक्त गीत गाउन अनुमति माग्ने गर्थिन् । तर उनको अनुभवमा धेरै गीतहरु उनले त्यसरी खोजिरहनु परेन । गीतहरु उनी बस्ने कोठासम्मै आइपुथ्यो । ‘तिमी तारे भीर…’ बोलको गीत संगीतकार शान्तिराम र श्रवण मुकारुङले पर्पोज गरेर दिनुभएको उनी सम्झिन्छिन् । आज पनि त्यो गीत कालजयी छन् । उनी उदाउँदै थिइन्, सँगीतको जमात सानो थियो । कसले के गरिरहेको छ सबै कुरा सबैलाई थाहा हुन्थ्यो । धेरै मिडियामा इन्गेज हुने ठाउँ थिएन । सिमित सञ्चार माध्यमहरु थिए । त्यो समय कलाकारहरु गीत संगीतलाई आफ्नो ‘हवी’को रुपमा लिन्थे । पैसा कमाउनको लागि अरु नै काम गर्थे । तर समय अहिले फरक भइसकेको हुनसक्छ ।

करिब ७ वटा एल्बम निकालेकी पवित्रा सुब्बाका शैली, राजै, मायी, दर्पण कलेक्सन,निस्सीम, लोक गीत, मेचि देखि महाकालीसम्मको गीतहरुको संकलन, हाम्रो गीत, राजे चर्चित छन् । केही समय उनले पप गीतको संकलन गरेर एउटा अडियो भिडियो कलेक्सन जस्तो पनि गरिन् । सांगीतिक यात्रामा उनले निकालेको अन्तिम एल्बम राजे थियो । जुन उनले सन् २००४ मा निकालेकी थिइन् । जब उनको विवाह भयो त्यसपछि उनको गायन क्षेत्रमा ब्रेक लाग्यो । विवाह पश्चात घरपरिवारमा बढी ध्यान गयो भने विशेषत पवित्रा सुब्बाको आफ्नै सोच थियो । विवाह पछि थोरै गीत गाउँछु भन्ने । आफ्नो समय उनले गायनका लागि पूर्ण रुपमा सदुपयोग गर्न पाएको उनि बताउँछिन् । ‘मैले गाउन छाडें, अहिले धेरै श्रोता, दर्शकले मन पराइरहनु हुन्छ । अहिले त सामाजिक सञ्जालले झनै मानिसहरुसँग नजिकिन सजिलो छ । अझै पनि गीत गाइदिन अनुरोधहरु आउँछन् । तर मेरो सोचाइ फरक छ । मेरो समयमा मैले गाएँ । मेरो समयलाई मैले पुरा सदुपयोग गरें । अब म त्यसमा पहिले जस्तै लाग्न भने मन छैन ।’

तर पनि पवित्रालाई आफुले सोचेको जस्तो, उनलाई सुहाउने खालको कुनै गीतको अनुरोध आएको खण्डमा एक पटक सोच विचार गरेर दर्शक, श्रोता तथा गीतकारहरुलाई निराश नबनाउने बताउँछिन् । उनको समयमा कति राम्रा राम्रा गीतहरु बजारमा देखापर्दथे तर त्यसको तुलनामा अहिले कम रहेको उनले पाएकी छिन् । कहिले काहीं उनलाई लाग्छ यो गीत संगीत भन्ने विषय चटक्कै विर्सन चाहिँ नसकिने रहेछ । गाउने फिल्डमा नभए पनि उनले धेरै समय गीत संगीत सुनेर नै विताउने बताउँछिन् ।

उनलाई कमर्सियल गीत गाउन बहुतै गाह्रो लाग्छ, उनि आफ्नो अनुवभ सुनाउँछिन्–मेरोमनले स्वीकार नगरेको गीत सँगीतलाई मैले कसरी आत्मसाथ गरेर गाउन सक्छु ? त्यसैले मैले त्यस्ता गीतहरु गाउन इन्कार पनि गर्नुपरेको थियो । आफ्नो स्वभाव अनुसार गीत गाउन उनलाई मनपर्छ । जुन गीतका शब्दहरु सन्देशमूलक हुन् र त्यसको संगीत पनि मिलेको तथा मानिसको मनलाई छुने खालको भएमा उनलाई गीत गाउन कुनै समस्या हुँदैन । तर उनले गीत गाउने विषयमा आफ्नो मनसँग कहिले पनि सम्झौता गरिनन् । अफरहरुलाई सहजै स्वीकार पनि गरिनन् । सायद त्यसैले होला उनका गीतहरु नम्बरमा बढी भने छैनन् । तर, थोरै छन्, गुणस्तरीय छन् ।

मेरा साथीहरु छन्, जो गीत नगाई बस्न सक्दैनन् । उनिहरुलाई गीत गाउन नपाउँदा छटपटि हुन्छ । तर मैले आफ्नो समय भरपुर उपयोग गरें भन्ने लाग्छ । – पवित्रा बताउँछिन् । अरुले लेखेको गीतको शब्द छनौटमा दख्खल भए पनि उनी लेखनमा भने आफुलाई दख्खल नभएको बताउँछिन् । कविता, गीत, उपन्यास पढ्ने । कवि गोष्ठीहरुमा सहभागि हुने । साहित्यकारहरुसँग सँगत पनि गर्न मन पराउने उनको स्वभाव भएर पनि लेखनमा भने उनी आफुलाई कमजोर ठान्छिन् ।

समयको गतिलाई हेर्दा सुब्बाले गीत गाउँदाको समय अहिलेको समयमा आकाश जमिनको फरक आइसकेको छ । टेक्नोलोजीले सारा संसारलाई एउटा हत्केलामा सिमित गरिदिइसकेको छ । तर पनि अहिले गुणस्तरीय गीतहरु भने कमै पाएको उनको अनुभव छ । लेख्ने मानिसहरुको कमीका कारण गुणस्तरीयता नआएको हो कि भन्ने उनलाई लाग्छ । आफ्नो समय सम्झिँदै पवित्र थप्छिन्– हाम्रो पालामा गीत पढेपछि त्यो गीतको भीजन आउँथ्यो । क्रियसन आफैं आउँथ्यो, कल्पना आउँथ्यो । त्यतिबेला गायक/गायिकाले ठूलो मिहिनेत गर्नुपथ्र्यो । तर अहिले त्यतिबेलाको जस्तो मिहिनेत गर्दैनन् भन्ने सुनेको छु । आजकाल त स्वर पनि मिलाउन मिल्छ रे भन्ने सुनेको छु । अनि कहाँबाट संगीत क्षेत्र अगाडि बढ्छ ? उनि प्रश्न गर्छिन् ।

अहिलेको गीतमा स्वर र संगीत राम्रो छ तर शब्द चयनमा मौलिकता नभएको कारण नेपाली गीतसँगीत नेपाली जस्तो लाग्न छाडिसक्यो उनलाई । उनले त्यहाँ नेपाली देख्दिनन् । उनि आफ्नो समय सम्झिन्छिन्, पहिले पो मानिसहरु गाउँमा बस्थे, गाउँका पाखा पखेरुमा डुल्थे, गाउँका भाका टिपेर लेख्थे र गाउने गायक/गायिकालाई पनि कल्पना गरेर गाउन मज्जा आउँथ्यो । तर अहिले परिवेश फरक छ । शहरीकरणले नेपाली मौलिकता खाइदिएको छ । नयाँ पुस्तालाई उनको सन्देश छ– गाउँको परिवेश र शहरको परिवेशले सोचाइ नै फरक हुन्छ । अहिलेको कलाकारहरुले गीत छान्न सक्नुपर्छ , आफ्नो स्वर राम्रो छ भने स्वरको इज्जत गरेर शब्द छानेर गाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्