‘मौलिक’ कला प्रदर्शनी

नेपाल आर्ट काउन्सिल बबरमहलमा जुन ३ बाट जुन ७ सम्मको लागि मौलिक शीर्षकको कला प्रदर्शनी आयोजना भइरहेको छ । उक्त कला प्रदर्शनी नेपाली चित्रकलामा लामो समयदेखि सक्रिय केही आत्मिय साथीहरुको समूहसँगको सहकार्यमा भइरहेको हो जुन समूहलाई आइसल्याण्डको नामले चिन्न सकिने कलाकार सविता ढङ्गोल बताउँछिन् । यस कला प्रदर्शनीमा इशान परियार, अनिशा महर्जन, लक्ष्मण बज्र लामा, नम्रता सिंह, दिपमाला महर्जन, सविता डङ्गोल, निलेश शाक्य तथा दिपक थामीका चित्रकलाहरुलाई समावेश गरिएको छ ।

नेपाली चित्रकला अन्तर्गत आधुनिक चित्रकलामा आधारित यो कला प्रदर्शनी ५ दिनसम्म चल्नेछ । यस कला प्रदर्शनीमा कलाकार इशान परियारले आफुले पहिलेदेखि नै गर्दै आइरहेको डुङ्गाको सिरिजमा काम गरेका छन् । गणेशको मूर्तिलाई डुङ्गामा राखि अन्यत्र कतै चोरी निकासी भइरहेको सन्दर्भमा उक्त चित्रकला बनाएको कलाकार परियार बताउँछन् । त्यसै गरी उनको अर्काे चित्रकलामा मोनालिसाले डुङ्गा खियाई लक्ष्मिनाराणको मूर्ति ल्याइरहेको देखिन्छ । उनका अनुसार समय क्रमसँगै जसरी मोनालिसाको चित्र चोरी पछि प्रख्यात भयो त्यसरी नै नेपाली मूर्तिहरु पनि चोरीपछि त्यसको चर्चा बढी हुने गर्दछ । उनका चित्रले विदेशी भूमिलाई प्रतिनिधित्व गर्न मोनालिसा बनाएको बताउँछन् । त्यसै गरी उनको अर्काे एक चित्रमा भने लकडाउनको समयमा सबै मानिसदेखि जीवहरुको हालत उस्तै उस्तै भएको र सबै जना पृथ्वीमा एकापसमा सँगै एउटै डुङ्गामा सवार भएको प्रतिकात्मक चित्रकलालाई समावेश गरेका छन् ।

त्यसैगरी अर्की कलाकार अनिशा महर्जनले भने क्यानभासलाई रातो रङ्गले रङ्गाई त्यसमा एक सानी किशोरी खेलिरहेको चित्रहरु बनाएकी छन् । उनका अनुसार उनको चित्रकलाहरुले किशोरीहरुको भावभङ्गिमालाई प्रतिनिधित्व गर्दछन् । कुनै खेलमा मस्त हुँदा उनको रुप, अनि भङ्गिमामा देखिने परिवर्तनलाई उनको चित्रकलामा नियाल्न सकिन्छ ।

त्यसैगरी अर्का कलाकार लक्ष्मण बज्र लामा भने आफ्नो चित्रकलामा मानिसहरुको लोभलाई देखाउन खोजेका छन् । उनका अनुसार मानिसहरुको चाहना असिमित हुन्छन् र एक पछि अर्काे गर्दै बढ्दै गइरहेका हुन्छन् । निलो क्यानभास जसलाई उनी आकाशको संज्ञा दिन्छन्, त्यहाँबाट तीनवटा डुङ्गाहरु एकापसमा डलरको बल्छी थापीरहेको जस्तो देखिन्छ तर उनीहरु एक अर्कालाई थाहा छैन कि उनीहरु माछाको होइन, पैसाको पछि कुदिरहेका छन् र त्यो कुदाइ अन्त्यहिन छ भन्ने दर्शनलाई चित्रकलामा देखाउन खोजेको बताउँछन् ।

अर्काे एक चित्र जसलाई उनले एम.सि.सि शीर्षक दिएका छन् जहाँ निलो आकाशमा एक गिद्दले गाईलाई उडाएर लगिरहेको छ । उनका अनुसार गिद्दले अमेरिकालाई जनाउँछ भने गाइले नेपाललाई । प्रलोभनमा पर्नाले गाइलाई कसरी चिलले उँडाउन सफल भयो भन्ने कुरालाई दर्शाउन उनले त्यो चित्रकला बनाएको बताउँछन् ।

त्यसै गरी अर्की कलाकार नम्रता सिंह आफ्ना चित्रकलामा तराइका विम्बहरुलाई दर्शाउँछिन् । तराईको मिथिला चित्रकलामा पारम्परागत उनका हातहरु युगल जोडीको प्रेमालापलाई देखाएका छन् ती युगल जोडीको लुगाको बुट्टामा भने कछुवा र हात्तीलाई राखेको बताउँछिन् । उनका अनुसार कछुवा र हात्तीलाई प्रजनन र समुहमा रहने शिक्षा दिने प्राणीको रुपमा पुजिन्छ । जसरी कमलको फूल सँधैं शुद्ध मानिन्छ जबकी त्यसको जरा सधैं माटोमुनि हुन्छ, त्यसरी नै मानिसहरुसँग जहिले पनि दुःखको अनुभूतिभित्रै सुख खोज्ने विकल्प पनि रहेको हुन्छ भन्ने कथालाई चित्रमार्फत दर्शाउन खोजेको नम्रता बताउँछिन् ।

अर्की कलाकार दिपमाला महर्जनले भने आफ्नी आमाले ऊनीले बनेको बुनेको धागोमा आफ्नो चित्रकलालाई राखेर बनाएको बताउँछिन् । गर्भवती हुनु आफैंमा राम्रो भाव भएको बताउने दिपमाला एक महिला गर्भवती भएदेखिको बच्चा जन्माइ बच्चा हुर्कंदासम्मका भावनाहरुलाई चित्रकलामा देखाएको बताउँछिन् । उनको ‘मातृत्वः प्रेम, शक्ति र मित्रता’ शीर्षकको कला यस प्रदर्शनीमा रहेको छ ।

अर्की कलाकार सविता डङ्गोल केहि वर्षअघि देखि मुख्यतया युगलजोडीको विषयवस्तुमा काम गरिरहेकी छिन् । जसमा हाम्रा संस्कृति र परम्परा बोकेका ढुङ्गेधारा, मन्दिरहरु, परम्परागत झ्यालहरु, झण्डाहरु, पौभा तथा टुँडालहरुमा प्रयोग भएका आकृतिहरुलाई आफ्नो चित्रकलामा प्रयोग गर्दै आइरहेकी छिन् । यस प्रदर्शनीमा उनले आफ्नो चित्रकलामा प्रेमिल जोडिहरुको प्रेम प्रसङ्गलाई काइँयोले जोडेको कुरालाई दर्शाएकी छन् । उनको चित्रकलाहरुमा प्रयोग हुने विभिन्न बिम्बहरु अनि प्राणीहरुले उनको चित्रकलाको निखारतालाई दर्शाउँदछ भने काठबाट बनेका ठूला ठूला विभिन्न रङ्गका काइँयोहरुलाई पनि आफ्नो चित्रकलाहरुसँगसँगै झुण्ड्याएकी छन् । यी काइँयोहरु आकर्षक अनि भिन्न देखिन्छन् । विशेषतः उनका चित्रकलामा दोहोरिएर आइरहने आकृति काईंयो सहजता र सद्भावको रुपक हो भन्न रुचाउने सविताले काईंयोले जसरी हाम्रो कपालको लट्टा सुल्झाएर हामीलाई सहज बनाउँछ । ठिक त्यसैगरी विकृति तथा विसंगतिलाई पनि सुधार्न एउटा काईंयोको आवश्यता रहेको बताउँछिन् ।

अर्का कलाकार निलेश शाक्यले यस पटकको प्रदर्शनीमा मूर्तिहरु समावेश गरेका छन् । उनको करिब १५ देखि मूर्ति कलामा काम गर्दै आएका र उनका परिवारका व्यक्तिले पनि त्यस्तै काम गर्ने भएकाले त्यसैको प्रेरणाको कारणले होला सायद यस विधामा काम गर्न मन लागेको निलेश बताउँछन् । उनको कला अभ्यास प्रविधिमा मात्र होइन अवधारणा निर्माणमा पनि परम्परागत र आधुनिक विचार दुवैको महत्वपूर्ण अंश छ । उनले पाँच इन्द्रियलाई लिएर आफनो काम प्रस्तुत गरेका छन् । जसमा बौद्ध दर्शनबाट प्रभावित हुँदै उनले बुद्धका औंला र मानिसका औंलाको छुवाइलाई देखाउने प्रयास गरेका छन् भने त्यसैगरी अन्य इन्द्रियहरुलाई पनि मूर्तिकलामार्फत प्रस्तुत गरेका छन् । बीज अन्तरगतको उनको अर्को मूर्तिलाई रातो माटो माथि राखेका छन् । गर्भभित्र हुर्कने भ्रुणको रुपमा उक्त कलालाई उनले चित्रण गरेको निलेश बताउँछन् ।

अर्का कलाकार दिपक थामी भने आफ्नो चित्रकलामा मानव र प्रकृतीको अन्तर्सम्बन्धलाई देखाउँछन् । मूलतः यस प्रदर्शनीमा उनले जल रङ्गमा खेलेका छन् । ‘स्पेस २’ नाम दिइएका उनका चित्रकलाहरुमा मानव, रुख अनि जीवहरुको एकापसमा अन्तर्सम्बन्ध रहेको र एक विना अर्काको जीवन नचल्ने तथ्यलाई चित्रकलाको माध्यमबाट प्रस्तुत गरेको बताउँछन् । विभिन्न आकार, साइज र रङ्गका पातलो पानीका फोकाले आफ्नो तृष्णासँग आफ्नो पहिचान जोड्ने मानिसको प्रतिनिधित्व गर्दछ भन्न रुचाउन कलाकार प्रत्येक मानिस पानीको फोका जस्तै हो जुन सजिलै फुट्ने गर्दछ भन्ने विषयवस्तुलाई दर्शाउन उनले आफ्नो कलामार्फत आफ्नो अस्तित्व माथि प्रश्न गरिरहेको बताउँछन् ।

Back to top button