अरुपण शैली र चित्रकारिता यात्रा

नेपाली चित्रकला जगतमा अरुपण नाम मार्फत अमूर्त चित्रकला शैलीका साधक रमेश नाथ खनाल चित्रकलाको क्षेत्रमा एक अलग्गै पहिचान बनाउन सफल भइसकेका छन् । स्थायी घर धरान भएका उनी सानै उमेरदेखि चित्रकलामा रुचि राख्दथे । विद्यालय जीवनमा विभिन्न किसिमका चित्रकलाहरु कोर्ने उनको भेट आर.एन. जोशी धरान गएको बेलामा भएको थियो । त्यहाँ आर.एन. जोशीका चित्रकलासँग प्रभावित भएका उनि जोशीले तपाइ काठमाडौं आइसकेपछि मलाई भेट्नु भनि भनिएका वाक्यले प्रेरित भएका थिए ।

स्नातक सम्मको अध्ययन धरानबाटै सकाएका उनि वि.सं. २०२८ सालमा काठमाडौं आए । काठमाडौं आइसकेपछि उनी आर.एन. जोशीसँग कला सिक्न थाले । करिब तीन वर्षको समय उनले चित्रकला सिक्नमानै व्यतित गरे ।

चित्रकलामा गहिरो अभिरुचि भएतापनि जागिरको शिलसिलामा उनि लामो समयसम्म खेलकुद परिषद्मा आवद्ध भए । नेपालमा खेलकुदसम्बन्धी समाचारहरु त्यसबेला निक्लिसक्ने अवस्था थिएन र आफ्नै पहलमा विभिन्न पत्रकारहरुलाई आफ्नो पहलमा खेल देखाउँदै र लेख्नको लागि अभिप्रेरित गर्दै उनि लामो समयसम्म त्यही विधामा रहे ।

आफ्नो खेलकुदको जागिरे जीवनबाट अवकास प्राप्त भइसकेपछि भने उनले स्वदेश तथा विदेशमा रहेका कलासम्बन्धी प्रदर्शनी हेर्ने मौका पाए। आफ्नो अभिरुचिको विषय भएकाले अमेरिका तथा जर्मनीमा उनले एकल कलाप्रदर्शनी पनि गरे ।

कलालाई अभिव्यक्तिको माध्यम ठान्ने रमेशनाथ आफ्नो चित्रकलालाई अरुपण नाम दिइ चित्रकलाको छुट्टै भाषा हुने तथा जब चित्रकला बनिसक्छ त्यसको मर्म अनि भाव बुझ्नको लागि दर्शकलाई नै छोडिनुपर्नेमा विश्वास राख्दछन् । चित्रकलामा भइरहेको विभिन्न प्रयोगलाई आत्मसाथ गर्दै उनले एक सेन्टिमिटर वाइ एक सेन्टिमिटरको चित्रहरु पनि धेरै बनाएका छन् । सबै कलाकारहरुको भिन्नाभिन्दै अभिव्यक्ति र प्रस्तुती हुने कुरामा विश्वास गर्ने उनी छोटो समयमा नै धेरै चित्रकला बनाउन सक्ने कलाकारका रुपमा परिचित छन् ।

सुरुवाती दिनहरुमा क्यानभासमा रङ्गहरु खनाउँदै चित्रकला बनाउने उनी पछिल्लो समयमा भने विस्तारै रङ्गहरु मात्र चित्रकला होइन त्यसमा केही आकृतिहरु राख्दा अझै सुनमा सुगन्ध हुन्छ भन्ने निष्कर्षमा पुगेका छन् ।

अवकास पछि पनि सक्रिय रुपमा कला जगतमा नै सेवा गरौं भन्ने भावना भएका उनी हाल पनि ललितकला प्रज्ञाप्रतिष्ठानमा प्राज्ञको रुपमा कार्यरत छन् । व्यक्तिगत जीवनमा समेत कला र कलाको विकासका लागि आफ्नो समय खर्चिरहेका उनी लाजिम्पाटको आफ्नै निवासमा कलालाई प्रोत्साहन मिलोस् भनी कला ग्यालरी अरुपणलाई पनि सञ्चालनमा ल्याएका छन् । सन् २०१२ देखि सुरु भएको यो ग्यालरीमा विभिन्न किसिमका कामहरुलाई स्वदेशी तथा विदेशी कलाकारहरुले प्रदर्शनीका लागि प्रयोग गरिरहेको उनी बताउँछन् ।

ललितकला प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रुपमा काम गर्ने क्रममा उनले विभिन्न कलाकारहरु, कला समिक्षकहरुलाई टेवा पुर्याउनका लागि समय समयमा लेख रचना सिर्जना गर्ने माहौल पनि बनाइरहेका छन् ।

कला आफैंमा अभिव्यक्त भएतापनि यसलाई कोही लेखक वा समिक्षकले कलाकारको भावनासँग एकाकार भइ लेखिदिँदा त्यसबाट कलाकार तथा लेखक दुवैलाई फाइदा पुग्ने कुरा सोच्ने उनी आफु प्राज्ञ भइरहँदा समेत विभिन्न लेखक तथा समिक्षकहरुलाई कलाको विविध पाटाहरुलाई केलाउन मदत गरिरहेका हुन्छन् । नेपाली कलाकारहरुमा अध्ययनशिलताको कमी परिपूर्ति गर्नका लागि आफुले समेत विभिन्न लेखरचनाहरु कलाकारहरुको ज्ञानको आँखा खोल्नका लागि लेखिनै रहेका हुन्छन् । आफ्नै निवासमा रहेको ग्यालरीमा विद्यार्थीहरुलाई निशुल्क रुपमा कला कक्षा समेत सञ्चालनमा ल्याइरहेका छन् । विपन्न वर्गका विद्यार्थीहरुलाई समेत उनले स्थान दिने गरेको उनी बताउँछन्। आफ्नो विद्यार्थीहरुलाई टेवा पुर्याउन समयसमयमा विद्यार्थीका कलाहरुलाई पनि प्रदर्शनीमा राख्ने गरेको बताउँछन् । त्यस्ता चित्रहरु विक्रि हुँदा विद्यार्थी त खुसी हुन्छन् नै आफुलाई समेत खुसी लाग्ने उनको अभिव्यक्ति छ ।

चित्रकारिता सिक्ने दौरानमा करिब ७० को दशकमा इश्वर बल्लभका मुखबाट सुनेका अरुपण शैलीले उनलाई प्रभावित पार्दै गयो । अरुपण भनेको नबुझेका खनालले त्यस विषयमा अध्ययन गर्दै गए । उनले त्यसको अर्थ पनि पत्ता लगाए । रुप नभएको चित्रकारितालाई अरुपण भनिन्छ भन्ने पनि जाने । रुप नभएको चित्रकारिता कसरी हुन्छ भन्ने प्रश्न पनि गरे तर त्यस विषयमा इश्वर बल्लभबाट स्पष्ट जवाफ पाइसकेपछि उनलाई त्यसमा भिज्न र त्यसको गहिराइमा जान मन लाग्यो । १९८२–८३ बाट बल्ल अरुपण शैलीका आफ्ना चित्रकारिता लिएर बाहिर निस्कन सफल भए चित्रकार रमेशनाथ खनाल ।

अरुपण कला प्रदर्शनीबाट उनले शीर्षक अनुसारकै अरुपण कलाकृतिलाई हाल प्रदर्शनीमा राखेका छन् । यो प्रदर्शनी जेठ १२ गतेदेखि २८ (मे २६ देखि जुन ११)सम्म चल्नेछ । कागजमा बनाइएका चित्रकलाहरुलाई आकर्षक फ्रेमिङ गरेर क्यानभासमा मिलाएर राखिएका अरुपण चित्रकलाहरु रङ तथा रेखाहरुका समिश्रण हुन् । करिब ३२ कलाकृतिहरुलाई समावेश गरिएको यस प्रदर्शनी कोरोनाका समयमा लकडाउन हुँदा तयार पारिएका कलाकृतिहरु रहेको खनाल बताउँछन्। पूर्ण रुपमा कला विकसित भइसकेपछि कला आफैं बोल्छ र यसमा ‘मेरो कला तपाइले जे देख्नु भयो त्यही हो । तपाइले त्यसमा सुन्दर आकृति पनि देख्नुहुन्छ, खुसीयाली, दुःख जे पनि अनुभव गर्नुहुन्छ । त्यो तपाईको स्वतन्त्रता हो ।’

सुन्तला रङ्गका भित्तामा सेता क्यानभासहरुमा राता फ्रेम भित्र रहेको चित्रकलाहरु दर्शकका आँखाबाट हेर्दा अनौठा लाग्छन् । गहिरिएर हेर्दा रेखाहरु एक आपसमा मिल्दा जुल्दा देखिन्छन् र यही कुरामा उनी भन्छन्–‘चित्रकलामा आफ्नै किसिमको हार्मोनि आवश्यक पर्छ, त्यो हार्मोनी तपाइले मेरो कलामा पनि देख्न सक्नुहुन्छ ।’ यति भन्दै उनी भित्तामा टाँगिएका चित्रकला देखाउँदै उनी थप्छन् ।

एक फरक प्रसंगमा चित्रकलामा प्रतिलिपि अधिकारीका सम्बन्धमा कुरा गर्दा उनि भन्छन्– यो ललितकला प्रज्ञा प्रतिष्ठान र कलाकार स्वयम्ले बुझ्नु पर्ने विषय भएको बताउँछन् । विभिन्न कालखण्डमा दुरस्तै चित्रकला अरुले निकाली विक्रि वितरण गरिरहेका पाइएकोमा खनाल आफ्नो चित्रकला भने कसैले नक्कल नगरेको बताउँछन् । यस सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नभएको र यसमा स्पष्टता हुनुपर्ने उनको जिकिर छ । नेपालमा कला क्षेत्रमा लागेका व्यक्ति तथा संस्थाहरुले जसरी संगीतमा प्रतिलिपि अधिकार सुनिश्चित हुने वातावरण बनेको छ त्यसैगरी चित्रकला, मूर्तिकला, पौवा, थान्का जस्ता विषयमा समेत स्पष्ट कानुनी व्यवस्था बनाउन पहल हुनुपर्ने बताउँछन् । राज्यले कला क्षेत्रमा गर्ने लगानी एकदमै कम हुनाले पनि यसको विकासमा ह्रास आइरहेको उनको भनाइ रहेको छ ।

विस्तृत कुराकानी यहाँ……

Back to top button