विन्ड हर्समा ‘आइ सुड् नट वी हियर’

सुनिल राज ढकाल
सुनिल राज ढकाल २४ जेष्ठ २०७९, मंगलवार ०६:००
7 Min Read
Aa

07कला जगत विस्तारै परिवर्तनको संघारमा रहेको छ । कला के चिजलाई भन्ने त ? भन्ने बारेमा विभिन्न किसिमका कुराकानीहरु कलाको क्षेत्रमा भइ नै रहेको हुन्छ । जुन कलाले आँखा अनि मनलाई छुन्छ, त्यही नै कला हो र यसले कुनै सन्देश दिनु नै पर्छ भन्ने छैन भन्ने अचेल कलाकारहरु कुरा गरि नै रहेका हुन्छन् । कला क्षेत्रमा लागेका कलाकारहरु विभिन्न किसिमका वादहरुसँग बेला बेलामा संवाद गरि नै रहेका हुन्छन् । कलाको क्षेत्रमा अहिले त्यस्तै नयाँ प्रयोगका साथ तीब्बती कलाकार जो भारतमा बसिरहेका छन्, र जसले करिव पन्ध्र वर्ष आफ्नो हात कलामा समर्पित गरिसकेका छन् उनै कलाकार तेन्जिङ्ग ग्युर्मे दोर्जेको कला प्रदर्शनी विन्ड हर्स ग्यालरी भनिमण्डलमा भइरहेको छ ।

तीब्बती भए पनि त्यहाँको राजनैतिक माहोलले गर्दा त्यहाँबाट उनका पिता भारतमा बसाइ सरेका रहेछन् । त्यसरी भारतमा आउँदाका पिडा अनि आफ्नो जरा वा आफु ‘को हुँ’ भन्ने कुराले देश छोडे पछि जसलाइ पनि छुने गर्दछ र त्यही कुरा तेन्जिङ्ग ग्युर्मे दोर्जेलाई पनि भएको थियो र त्यही कुरा उनको चित्रकलामा पनि झल्कन्छ । २७ मे बाट सुरु भएको यो प्रदर्शनी करिब एक महिनाको समयवधिको लागि रहनेछ ।

बोरा तथा टेपहरुलाई माध्यमको रुपमा प्रयोग गर्ने तेन्जिङ्ग ग्युर्मे दोर्जेका लागि यो मिडियमबाट काम गर्न सजिलो हुने गरेको मान्दछन् । ‘म यहाँ हुनु पर्ने थिएन’ भन्ने शीर्षकमा गरिएको यो कला प्रदर्शनी उनले बच्चा बेला देखि भोगिरहेको कुराहरुलाई बेरामा उतारेका छन् । भारतमा बस्दा रोटी, कपडा तथा घरका लागि संघर्ष गरिरहनु पर्ने कुरा र यी कलाकारहरुका लागि आउने खाद्यान्नको बोरा आउने गरेको र बोराहरुमा नै टाँसी टेपको प्रयोग गरी चित्रहरुलाई छुट्टै किसिमको आयाम दिएका छन् ।

उनको एक चित्रकलामा ‘साउती गर्नु वा ह्विस्पर’ नाम दिइएको छ जहाँ धर्म गुरु दलाई लामाले ती चित्रकारको मुहार चित्रमा कानमा केही फुस्फुसाइरहेको जस्तो देखिन्छ । यो चित्रको बारेमा कुराकानी गर्दा तेन्जिङ्ग बताउँछन्, कि उनका पिताजी तिब्बतमा छँदा रिन्पोचे थिए र प्रत्येक चोटी साउती गर्दा वा बुबा ध्यानमा बसिरहेको बेलामा उनको दिमागमा विभिन्न किसिमका बलिउडका कुराहरु खेलिरहेका विषयलाई दिमागमा आइरहेको सोचहरुलाई टोउकोबाट निस्किरहेको जसरी देखाएका छन् ।

त्यसैगरी अर्काे एक चित्रकलामा उनले आफ्नो आमा विद्यालयको शिक्षिकाको रुपमा भूमिका खेलिरहेको र बच्चाहरुले भाषा सिक्दाको समयमा लेखेका कुराहरुलाई चिप्लेटीको पाश्र्वभागमा एउटा हात्ती राखि सबै कुरामा वेथिति र केयरफ्रि किसिमको इन्डिफरेन्सलाई देखाउन खोजेका छन् ।

शरणार्थी जीवनमा खानेकुराहरु वा भनौँ चामलका बोराहरु लिई लाइन बद्ध भई खाद्यान्न लिनका लागि जानुपर्ने बाध्यता थियो । त्यस्तो पिडाको विचमा समेत मन रोए पनि अनुहारमा भने हाँसो ल्याउनै पर्ने बाध्यतालाई उनको चित्रकलामा बोरा बोकी आफैं र उनकी आमा गएको सन्दर्भलाई उनले आफ्नो अर्काे चित्रकलामा प्रस्तुत गरेका छन् ।

त्यसैगरी अर्काे एक चित्रमा विद्यालयमा बाल दिवसको दिनमा कार्यक्रमहरु हुँदा स्टेज पछाडि मानिसहरुले आफ्नो कला प्रस्तुत गर्नु अगाडि गरिने अभ्यासलाईको विषयलाई भनौ या त्यस समयको दृश्यलाई मानसपटलमा कतै रहेको सम्झनाबाट बाहिर निकालेका छन् ।

अर्काे एक चित्रकलामा भने उनले तीब्बती एक महिलाले भारतको लागि थाइल्याण्डमा भएको कराँते प्रतियोगितामा मेडल जित्दा पनि कोही खुशी नभएको समयलाई गलामा सुनको तक्मा लगाएको तर अनुहारमा भने मलिनता छाइरहेको क्षणलाई बेरामा उतारेका छन् ।

अर्काे एक चित्रकलामा भने ‘रोटी कपडा और मकान’ शीर्षक दिई यी आधारभूत आवस्यकता समेत कुनै शरणार्थीका लागि पनि कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरालाई बेरामा उतारेका छन्, जसमा माथि रोटीको चित्र छ, त्यहाँ भन्दा मुनि सिलाइ गर्ने मेशिन र त्यस भन्दा तल एक अधवैँसे मानिस बच्चाहरुले खेल्ने सानो प्लास्टिकको घोडामा मच्चिरहेका छन् । कलाकारका अनुसार यी आवश्यकता पूरा भइसके पछि मात्र मानिसहरुमा सिर्जनशिलताको विषयमा सोच्ने समय आउँने बताउँछन् ।

तेन्जिङ्गकी दिदिले एकदिन आफुले काम गरिरहेको ठाउँबाट जागिर छोडेकी थिइन् । समय यस्तो थियो कि जब कसैले आफुले खाइरहेको जागिर छोड्दछन्, उनीहरुलाई समाजमा हेयको दृष्टिले हेर्ने गरिन्थ्यो, त्यही समयमा मानिसहरु र समाजमा त्यो कुरालाई लुकाउने चलन समेत थियो ।  त्यही बेलाको कुनै एक क्षण जसमा उनकी दिदि आफ्ना साथीहरुसँग स्नान कक्षमा बसिरहेको अस्तव्यस्ततालाई उनले बेरामा उतारेका छन् । पिडाको समयमा समेत, हाँस्नु पर्ने बाध्यता र त्यो मनोदशालाई उनका चित्रकलाले दुरुस्तै उतारेको देखिन्छ ।

अर्काे चित्रकलाको नाम ‘१० मार्च’ दिइएको छ । जसमा कलाकार तेन्जिङ्ग १० मार्चका दिन प्रत्येक वर्ष भारतमा रहेका जतिपनि तीब्बती शरणार्थीहरुका साथ जनचेतना जगाउने उद्देश्यले र्यालीमा जाने गर्दथे र त्यस्तै कुनै एक दिन यसरी बाहिरबाट फर्केर आइसकेपछि आफुले लागाइरहेको कपडा खोली ओछ्यानमा पल्टिरहेको मुहारचित्रको परिदृश्यलाई देखाएका छन् । आफुले गलामा लाइरहेको विभिन्न सिक्रिहरु एकापसमा जोडिएको देखिन्छ, यसले आफ्नो जीवन कतिसम्म अल्झिरहेको छ भन्ने कुराको समेत संकेत गरेको कलाकार बताउँछन् ।

अर्काे एक चित्रमा भने उनी भारतमा बस्दा एकदिन आफ्नी आमासँग भैँसीको मासु किन्नको लागि कुनै अर्काे एक शहरमा जाँदा, मासु लिएर फर्किदा आफु बसोबास गरिरहेको ठाउँमा आउन नपाउँदै बाटोमा पुलिस प्रसासनले आफुहरुलाई समातेको घटनालाई बेरामा उतारेका छन् । पुलिस स्टेसनको चित्र, अनि मुहारमा त्यही किसिमको रिक्त मुस्कान देखिएको यस चित्रकला हेर्दा केही दुखद चित्र हेर्ने वित्तिकै दर्शकको मनमा पर्दछ ।

अर्काे एक चित्रमा भने उनले आफ्नो बुबा रिन्पोचे भएको र सबै प्राणीहरुलाई माया गर्ने गरेको कुरा बताउँछन् । कुनै विरालोले मुसालाई मार्न आँट्यो भने पनि उनी गई विरालोलाई छुट्याइ हाल्थे । तर कुनै एक पलमा जब उनी स्नान गरी रुमालले शरीर तथा टाउको पुछ्न लागेका हुन्थे, त्यही बेलामा समेत एक प्राणीले अर्काे प्राणीलाई मार्न सक्ने कुरालाई आफ्नो बाेरामा देखाएका छन् ।

चित्रकलामा केही फरकपन र संवेदनशील मनोभावहरुलाई समेत हलुका रुपमा बोरामा उतार्न सक्नु कलाकारको खुबी रहेको दर्शकले बुझ्न सक्दछन् । नेपालमा नेपाली कलाकारहरुले गरिरहेको कला प्रदर्शनी भन्दा यो चित्रकला प्रदर्शनी बेरामा प्रयोग गरिएको रंगहरु तथा मिडियमले गर्दा भिन्न छ र कलाका पारखीहरुका लागि एक पटक भ्रमण गर्नका लागि उत्कृष्ट नै रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array