छेँः यथार्थलाई बेवास्ता

सुनिल राज ढकाल
सुनिल राज ढकाल ३१ जेष्ठ २०७९, मंगलवार २०:२६
4 Min Read
Aa

कलाकार शुष्मा शाक्य प्रिन्ट मेकिङ्गको दुनियाँमा एक परिचित नामको रुपमा आफुलाई स्थापित गर्न सफल भइसकेकी कलाकार हुन् । नेपाली कलाकारिताको क्षेत्रमा प्रिन्ट मेकिङ्ग विधालाई कलाकारहरु अभिव्यक्तिको रुपमा थोरैले मात्र प्रदर्शनी गरिरहेको सन्दर्भमा पछिल्लो समयमा भने थुप्रै कलकारहरुले आफ्नो अभिव्यक्तिको माध्यम बनाइरहेको देखिन्छ । कलाकारिताको क्षेत्रमा करिव दुइ दशक जतिको समय खर्चिसकेकी कलाकार शुष्मा शाक्यले अहिले गरिरहेको प्रदर्शनी ‘छेँ’ माने घर अनि हामीले नजर अन्दाज गरिरहेको यथार्थलाई आफ्ना छापामा उतारेर गरिरहेको यो प्रदर्शनी दलाई ला होटलमा रहेको कलाको लागि छुट्याएको एउटा स्पेसमा यहि ५ जुन देखि ३० जुन सम्मको समयअवधिका लागि प्रदर्शनी भइरहेको छ ।

ललितपुरको पाटन स्थायी घर भएकी कलाकार शुष्मा शाक्य यस प्रदर्शनीको उद्देश्यको बारेमा कुरा गर्दै बताउँछिन् कि परापूर्व कालहरुमा हामी बस्ने गरेको घरहरु बनाउँदा प्रयोग हुने सबै सामाग्रीहरु घर भत्काइसकेपछि पनि पुनः अर्काे घर बनाउन प्रयोग गर्न सकिने सामाग्रीहरु नै हुने गर्दथे । त्यसैले गर्दा घरका केही पनि कुराहरु खेर नजाने वास्तविकता थियो । तर समयक्रमसँगै आएको आधुनिक सामानहरुलाई प्रयोग गरिँदै घर बनाउने प्रचलन विस्तारै व्यापक रुपमा प्रयोग हुन थालेको छ । तर त्यसको नकारात्मकता पनि सँगसँगै बढ्दै गइरहेको कुरालाई औँल्याउँदै यहि प्रदर्शनीमा राखिएका झ्यालहरुलाई इंगित गर्दै कलाकार शाक्य बताउँछिन् कि त्यो बेलामा बनाइएका झ्यालहरु समेत आफैंमा मौलिक किसिमका हुने गर्दथे । बनाउने कालिगढहरुले समेत त्यसमा आफ्नो कलाकारिता देखाउँथे र एक घरमा बनाएको जस्तो ढाँचा अर्काे घरमा प्रयोग गर्दा कालिगढको समेत इज्जत जान सक्छ भन्ने सोचका साथ नौलो नौलो प्रयोगहरु गरी  झ्यालको निर्माण गर्ने गर्दथे । त्यस्तै झ्यालहरुका बुट्टाहरुलाई उनले आफ्नो छापा(प्रिन्ट) मार्फत देखाएकी छन् ।

तीन शहरहरु काठमाडौँ, पाटन र भक्तपुरलाई मन्दिर तथा देवालयहरु धेरै भएको शहरको रुपमा हेरिन्छ । उनका अनुसार पहिलेको समयमा मानिसहरुले घरहरु बनाउँदा मन्दिर भन्दा अग्लो बनाउने चलन थिएन । कारणः मन्दिरको गजुर जहिले पनि उच्च देखिनुपर्दछ भन्ने मान्यता रहेको थियो । समयक्रमसँगै विकासका नाममा नयाँ नयाँ प्रविधिको प्रयोग गरी घरहरु बनाउँदा घरहरु अग्ला र धेरै तलाका हुन थालेका छन् । यसले गर्दा ती प्राचिन शैलीका झ्यालहरु प्रयोगमा आउन छोडिसकेको छ । विकास त ठीक हो तर हामीले हाम्रो सांस्कृतिको मूललाई पनि विर्सन नहुने कलाकारको भनाई रहेको छ ।

त्यसैगरी पाटनमा रहेको पद्मसम्भव महाविहारको प्रिन्ट पनि उनले आफ्नो प्रदर्शनीमा राखेकी छन् । उनका अनुसार बौद्ध धर्ममा पद्मसम्भवलाई हेर्ने दृष्टिकोण उच्च रहेको र उनैको सम्मानका लागि उनले यो प्रिन्ट बनाएको बताँछिन् । पूरानो समयका पाटी, पौवा, चोक, हिटिहरुलाई पनि उनले आफ्नो प्रिन्टमा समावेश गरेकी छन् । सभ्यता विकासमा यी उल्लेखित चिजहरुको पनि विशेष महत्व रहेको र यी चिजहरु विस्तारै मासिँदै गएकोमा त्यसले वातावरण तथा संस्कृतिमा पार्न सक्ने असरको विषयमा सचेत शाक्य आफ्ना प्रिन्टको माध्यबाट जागरणको चेत ल्याउने प्रयासमा छिन् ।

हिन्दु तथा बौद्ध धर्ममा पञ्चतत्वको महत्व विशेष रहेको पाइन्छ । जल, वायु, पृथ्वी, आकाश र अग्नी पञ्चतत्व हुन् । एउटा विरुवाको जीवन पनि यही चक्रको सम्मिश्रणबाट चलिरहेको हुन्छ र यसमा कुनै एकको कमी हुँदा पनि चक्रमा केही अवरोध आउन सक्छ भनी उनले आफ्नो प्रिन्टमा देखाएकी छन् ।

पहिलेको समयमा घरहरु बनाउँदा मानिस तथा अरु प्राणीहरुको सहअस्तित्वमा विश्वास गरिन्थ्यो र घरको बाहिरपट्टिको भित्तामा प्वालहरु राखिन्थ्यो, जसमा चराहरु जस्तै भंगेरा, परेवा, डांग्रेहरु गुँड लगाई बस्दथे । अहिलेको समयमा प्रविधियुक्त घरहरु बनाउने चलनसँगै यस्ता चराहरुको बासस्थान पनि घट्दै गइरहेको छ भन्दै उनले आफ्नो प्रिन्टमा त्यस्ता पहिलेका घरहरुका प्वालहरुलाई देखाएकी छन् ।

कलाकार तथा कला प्राध्यापक उमा शंकर शाह तथा सिमा शाहले गरेको छापा प्रविधि (प्रिन्ट मेकिङ्ग)बाट प्रभावित भएको बताउने शाक्यको प्रिन्ट मेकिङ्गको रुचि पनि उनै गुरुहरुलाई प्रेरणाको श्रोतको रुपमा सम्झिन्छिन् । अझै पनि आफुलाई केही कुरामा सहयोग चाहिएमा उनी उनै गुरुहरुबाट सल्लाह सुझाव लिने गरेको समेत बताउँछिन् ।

समग्रमा यो प्रदर्शनीले नेपाली मौलिक शैलीका मन्दिर अनि विर्सिन लागिसकिएका सँस्कृतिका पाटालाई केही बेरसम्म घोरिन बाध्य पार्ने कुरामा दुइमत छैन ।

विस्तृतमा…

प्रतिक्रिया दिनुहोस्

Array