नेपाली कागजमा वनस्पतिको मण्डला

सुनिल राज ढकाल
सुनिल राज ढकाल १३ असार २०७९, सोमबार ०६:००
6 Min Read
Aa

नेपालमा ‘आर्ट रेसिन्डेन्सी’को कन्सेप्ट विस्तारै विकसित हुँदै गइरहेको छ । यहि सन्दर्भमा विदेशी कलाकारहरु नेपालमा आइ बसिरहेको सन्दर्भ पनि यदाकदा आइ नै रहेको छ । यसैविच स्पेश ए नामक आफ्नो संस्था मार्फत कलाकार जुपिटर प्रधानले कला साधकहरुलाई निरन्तर रुपमा सन् २०१९ देखि काठमाडौं इन्टरनेशनल आर्टिष्ट इन रेसिडेन्सि प्याकेज सञ्चालन गर्दै आइरहेका छन् । विभिन्न देशका कलाकारहरु यस स्थानमा आएर आफ्नो काम गर्दै यहाँको रहन सहन र सामाजिक तथा भौगोलिक परिवेशको अनुभवमा रमाइरहेको कलाकार जुपिटर बताउँछन् ।

यसरी एक देशबाट अर्को देशमा गएर आफ्ना कला तथा सीपलाई स्थानान्तरण गर्दै नयाँ अनुभवहरु साटासाट गरिरहेका हुन्छन् । उनिहरुको आफ्नो भोगाइ,सामाजिक परिवेश र आफ्नो पनलाई उनिहरु आफ्नो कला मार्फत व्यक्त गरिरहेका हुन्छन् ।

यस पटक भने ताइवानकी एक कलाकार कोको ह्योङ्ग नेपाल आएर बसेको करिब एक महिना भयो । उनको यो पहिलो आर्ट रेसिडेन्सि रहेको कोको बताउँछिन् । उनले नेपालमा आएपछि नेपालको विभिन्न ठाउँहरु तथा नेपालका विभिन्न अग्रज कलाकारहरुको कामहरुलाई पनि नियाल्ने मौका पाइन् । उनको कलाहरु आफ्नु वरिपरि रहेको व्यक्ति, समाज तथा वातावरणहरु नै प्रेरणाको श्रोत मान्दछिन् । ताइवानमा समसामयिक कला नै पढेकी कोको पूर्णकालिन कलाकार मात्र पनि होइनन् । कला बाहेक उनले केही समय अगाडि भारतमा आइ ध्यान गर्ने विधि सिकिन् । उनी ताइवानमा नै योग र ध्यान गर्ने विधि समेत सिकाउने गर्दछिन् ।

कोरोनाको समयमा ताइवानमा नै बस्दा योग र ध्यान सिकाउने विधि सबै अनलाइन हुँदै गइरहेको थियो । मानिसहरु एक अर्कासँग डराएर मास्क लगाएर बस्नु पर्ने अवस्थामा अनलाइनबाट ध्यानका विधि सिकाउँदा मानिसहरुलाई त्यति उपयुक्त हुँदैन भन्ने महशुुस हुन थाल्यो उनलाई । अब के गर्ने अनि योग र ध्यानलाई कसरी अझ विकसित गर्ने भन्ने कुरामा उनी घोत्लिन थालिन् ।

त्यसै विचमा उनले योग र ध्यान अनि कलालाई जोडेर ‘आर्ट थेरापी’ नाम दिइ उनका विद्यार्थीहरुलाई ‘जे जस्तो जान्नुभएको छ, कला बनाउनुहोस्, यसले तपाईलाई हिल गर्न मद्दत गर्नेछ’ भनी भन्न थालिन् । ‘मेरोमा आउने विद्यार्थीहरु मध्ये कोही पनि कलाकारहरु थिएनन् । शुरुमा त उनीहरु खुल्न सकेनन् तर विस्तारै विस्तारै उनीहरु खुल्न थाले । उनीहरुलाई खुल्दै आउने क्रममा उनीहरुले बनाएका कलाहरुले मेरा विद्यार्थीहरुलाई पनि आफु बारेमा बुभ्mनको लागि मद्दत गरेको पाएकी छु’– कोको बताउँछिन् ।

नेपालमा आउनको लागि उनले करिब दुइ वर्ष अगाडि नै निवेदन पेश गरेकी थिइन् । तर विचमा कोरोना महामारीले गर्दा उनी नेपालमा आउन सकेकी थिइनन् । त्यसैले गर्दा पनि जब उनी नेपालमा आइन्, नेपाल अउनु पूर्व उनलाई स्पेश ए की निर्देशक नेदा हफारीले उनलाई यहाँ तपाइले आफ्ना लागि चाहिने सम्पूर्ण सामग्रीहरु पाउनुहुन्छ भनेको कोको सम्झिन्छिन् । त्यसैले उनी नेपालमा आउँदा उनले स्केच बुक र केही कलर पेनमात्र बोकेर आएकी थिइन् ।

नेपालमा स्थानीय रुपमा उपलब्ध हुने सामग्रीहरुमा काम गर्न सकिने र प्राकृतिक विषयवस्तुलाई प्रयोग गरेर आफ्नो कला प्रस्तुत गर्न रुचाउने कोकोले नेपाली पेपर तथा अन्य स्थानीय सामग्रीबाट आफ्नो कलालाई सिर्जनात्मक रुपमा दर्शक सामु ल्याउने प्रयास गरिन् ।

तर यहाँ आइ रहँदा बस्दा, क्यानभासमा चित्र बनाउन उनलाई मन लागेन । यहीँ पाइने दाल, घाँस, फुल जस्ता सामान्य दैनिक जीवनमा उपभोग हुने सामाग्रीहरुलाई नै लिइ कला बनाउने निधो गरिन् । विशेषगरी उनलाई मण्डला बनाउन मन पर्दछ । ध्यान अनि योगमा प्रयोग हुने मण्डला तथा ध्यानसँग नै सम्बन्धित आकृतीहरुलाई कलाको मार्पmतबाट प्रदर्शन गरेकी छिन् ।

विशेषतः उनले बनाएको मण्डलाहरुले यो संसार र उनको आफ्नो परिवेश तथा भावनाहरुलाई व्यक्त गर्ने उनको बुझाइ रहेको छ । त्यसैलाई उनले नेपाली कागजमा प्राकृतिक वनस्पति तथा खाद्य सामग्रीहरुको प्रयोग गरी मण्डाला बनाएकी छिन् भने जमिनमा विभिन्न बनस्पति, रुखको बोक्रा, पुष्प लगायतका सामग्रीको प्रयोग गरी आफ्नो काम दर्शकमाझ प्रत्यक्ष देखाएकि छिन् ।

‘मलाई क्यानभास र रङ्गमा काम गर्नु पुरानो लाग्छ त्यसैले मैले केही नयाँ गरौं भन्ने हिसावले यो नयाँ तरिका अपनाएको हुँ । म प्रकृतिसँग जोडिएको छु र त्यसको प्रतिनिधित्व मेरो कला हो । यसलाई मैले ‘परिक्षण’ गरेकी हुँ । जहाँ फिलिङ्स, इमोसन एण्ड हिलिङको विषयले बढी महत्व राख्दछ ।’

जे जस्तो छ त्यसलाई त्यसैगरी स्वीकार गर भन्ने मान्यता राख्ने कोकोले ताइवानमा धेरै जसो कलाकारहरुद्वारा बढी भन्दा बढी नयाँ नयाँ प्रयोग गर्ने चलन रहेको बताउँदै त्यहाँ रहँदा उनले ‘मेडिटेटिभ मण्डला वर्कसप’ पनि सञ्चालन गरेकी थिइन् । धर्का तथा रङ्गको माध्यमबाट हिलिङ गर्ने विधि उनलाई बढी मनपर्छ ।

कलाको दायरा विस्तारै परिवर्तन हुँदै गइरहेको र अहिलेको समयमा रङ्ग अनि आकृती बुरुशले बनाइरहनु पर्ने जरुरी छैन जस्तो उनलाई विस्तारै लाग्दै आइरहेको छ । नेपालमा पनि गर्न सक्ने हो भने कलाको विविध पक्षलाई विकास गर्न सकिने अनि नेपाली कलाकारहरुले विश्वमा चलिरहेको विभिन्न विकासक्रमलाइ आत्मसाथ गर्दै नयाँ नयाँ प्रयोगहरु गर्दै आइरहेको देख्दा उनलाई पनि खुशी लागिरहेको कोको बताउँछिन् ।

अब आफ्नो देशमा फर्किसकेपछि पनि यस्तै किसिमको प्रयोगवादी कामहरु गर्दै जानुहुन्छ कि भन्ने प्रश्नमा कोको बताउँछिन्, ‘यस्तो किसिमको काम गर्दा मलाई ज्यादै खुशी लागेको छ । शायद म मेरो देशमा गइसकेपछि यस्तै किसिमका कामहरु वा यो भन्दा फरक कामहरुलाई अझ विभिन्न माध्यमबाट गर्दै लैजाने योजना रहेको छ ।’

कर्मा कफी  बौद्धमा एक दिने कला प्रदर्शनी गरेकी कोकोले नेपालमा आर्ट रेसिडेन्सिको अनुभवलेआफुलाई एकदमै आनन्दित बनाएको र यहाँको मित्रवत व्यवहारबाट आफु एकदमै खुसी रहेको बताउँदै आगामी दिनमा पनि नेपाल आउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

Array