एक फ्रान्सेली कलाकारको नेपाल प्रेम

सुनिल राज ढकाल
सुनिल राज ढकाल २५ असार २०७९, शनिबार ०६:००
7 Min Read
Aa

कला कुनै देशमा मात्र निहित हुँदैन । यो त एउटा यस्तो सुवास हो जुन् फक्रेर फुलिसकेपछि सम्पूर्ण जगतलाई नै सुवासित गर्दछ । नेपालमा पनि विभिन्न स्वदेशी तथा विदेशी कलाकारहरु निवास गर्दै आफ्ना श्रृजनाका सुवासहरुले सुवासित गर्दै आउनु कुनै नौलो कुरा भने होइन । त्यस्तै एक फ्रान्सेली कलाकार भिन्सेन्ट ग्रेवी पनि एक त्यस्तै कलाकार हुन् ।

फ्रान्समा जन्मेका भिन्सेन्ट सानै बेला देखि केही न केही नौला कार्यहरु गर्न रुचाउँथे । उनी स्कुले शिक्षाको समयमा नै रेडियोमा कला सम्बन्धि कार्यक्रमहरु चलाउँथे । त्यसै समयमा उनले चलाउने कार्यक्रमको चर्चा यत्र तत्र चल्न थालिसकेको थियो । यसै चर्चाले उनलाई स्कुले जीवनमा नै आफ्ना केही साथीहरुसँगै अफगानिस्तान जाने मौका मिल्यो । अफगानिस्तानमा त्यस बेला द्वन्द्व चलिरहेको थियो । मानिसहरु त्राहिमाम भई एक ठाउँबाट अर्काे ठाउँमा बसाइ सराइ गर्ने गरेको स्थिति थियो । सन् १९८७ मा करिब ६ हप्ताको लागि उनी पाकिस्तानमा अफगानी मानविय संकटको बारेमा काम गर्न गएका थिए ।

फर्केर फ्रान्स पुगिसकेपछि पनि उनलाई विभिन्न अवसरहरुले पछ्याइरहे । विद्यालयको पढाइमा त्यसै पनि त्यति रुची नभएका उनी पुनः रेडियोमा काम गर्ने अनि पत्रिकाहरुका लागि लेख्ने कार्यमा संलग्न भइ रहेका थिए । त्यसै बिचमा उनी चित्रकलामा पनि रुची राख्ने भइ सकेका थिए । चित्रकलामा राम्रोसँग भिजिसकेका उनी संगितमा पनि त्यतिकै रुचि राख्दथे । चित्रकलामा पनि अमूर्त चित्रकलाहरुलाई आफ्नो अभिव्यक्तिको रुपमा हेर्ने भिन्सेन्ट समयक्रमसँगै विस्तारै फ्रान्समा चर्चित कलाकार मध्येका एक भइसकेका थिए ।

करिब १६ वर्ष अघि नेपालमा पहिलो पटक आएका उनी नेपाल भन्दा पहिले एशियाका विभिन्न मूलुकहरु घुमिसकेका कलाकार हुन् । नेपालमा आइसकेपछि अनौठो आकर्षणका कारण पनि यहाँ आउने जाने क्रम निकै बाक्लो भएको बताउँछन् भिन्सेन्ट ।

नेपाली कलामा विविधता भएको र नेपालको शान्तपनबाट निकै प्रभावित भएका उनी नेपालमा नै निवास गरी चित्रकलाहरु बनाउने गर्दछन् । केही समय अगाडि उनले बालुवाटारमा रहेको शिशा मी नामको आर्ट ग्यालरी तथा रेष्टुरेन्टमा उनका चित्रकलाहरु प्रदर्शनीमा राखिएका थिए । मूलतः उनका चित्रकलाहरुमा सौन्दर्य रस तथा अमूर्तपनको प्रचुरता पाइन्छ ।  उनले क्यानभासमा प्रयोग गर्ने रङ्गहरु पनि निकै अनौठा तथा लामो समयको साधना पछि निस्केको उनको कला हेर्न आउने अरु नेपाली कलाकारहरुको मत रहेको छ ।

कलालाई नै जीवन मान्ने भिन्सेन्ट हाल पानीपोखरीमा रहेको उनको आफ्नै स्टुडियोमा कला श्रृजना गर्दछन् अनि बेला मौकामा नेपाली कलाकारहरुको कला नियाल्ने तथा कला गफमा भुलिरहेका हुन्छन् । ‘कला आफैंमा राम्रो वा नराम्रो हुँदैन । यो त साधना हो । प्रत्येक दिन विहान म कफिको चुस्किपछि आफ्नो क्यानभास अगाडि बस्दछु अनि आफ्नो कामको शुरुवात गर्ने गर्दछु । मेरा कुनै काम निकै राम्रा हुन्छन् भने कुनै मलाई सामान्य लाग्दछन् । तर यो सबै मेरा व्यक्तिगत धारणा हुन् । मलाई राम्रो लागेको कला मेरो कलाको दर्शकको लागि नराम्रो लाग्न पनि सक्तछ र उहाँहरुले मन पराउनु भएको चित्र मेरो लागि खास नलाग्न पनि सक्तछ,’ कुराकानीका क्रममा भिन्सेन्ट बताउँछन् ।

रङ्गहरुलाई अभिव्यक्तिको माध्यम मान्ने भिन्सेन्टका कलाहरुमा रहने रङ्गहरु पनि प्रयोगवादबाट गुज्रिरहेको हुने उनी बताउँछन् । कहिलेकाहिँ चित्र बनाउने क्रममा क्यानभासमा रहेको आकृतीहरुले नै रङ्गहरुको माग गर्ने कुरामा विश्वास राख्दछन् भिन्सेन्ट । करिब ४ दशक जतिको कलाको साधनाको क्रममा उनले बनाउने गरेको चित्रहरु नेपालमा भन्दा फ्रान्स तथा विभिन्न देशहरुमा रहेका घरका भित्ताहरुमा सजिइरहेको बताउने भिन्सेन्ट प्रत्येक दिन काम गर्न पाउनु नै एक कलाकारको सौभाग्य हुने कुरामा विश्वास राख्दछन् । त्यसैले पनि उनी नेपालमा बस्दाको प्रत्येक दिनहरु कला श्रृजनामा बिताउने गर्दछन् । आफ्नो फ्ल्याटका प्रत्येक कोठामा चित्रको खात नै रहेको तथा उनका नेपालमा रहेका साथीहरुका घरमा समेत उनका चित्रहरु रहने गरेको अनुभव भिन्सेन्ट सुनाउँछन् ।

प्राकृतीक बिम्बहरुलाई अनौठा रङ्ग तथा अनौठा अमूर्त आकृतीहरु मार्फत विम्बित गर्ने कलाकार भिन्सेन्टलाई करिब ४ दशक देखिको कला यात्राका क्रममा आफुले बनाएको अनि आफुलाई नै अद्वितिय लागेको त्यस्तो कुनै काम छ कि भनी सोद्धा उनी गम्भिर भइ यो कुरा त उनले भन्दा उनको कलालाई संकलन गर्ने संकलकमा भर पर्ने कुरा बताउँछन् । प्रत्येक दिन काम गर्ने क्रममा कुनै चित्रहरु वर्तमानमा सक्किएको जस्तो लागेता पनि त्यसलाई भविष्यको कुनै दिनमा हेर्दा त्यसमा अझै केही कमी भएको अनि त्यसलाई अझ निखार्न के गर्नुपर्ला भन्ने हिसावले सोच्ने मौका पाइने गरेको बताउँछन् । कलालाई कुनै समिक्षक वा संकलकको आँखाबाट हेरेर मात्र अद्वितियताका बारेमा कुरा गर्न सकिन्छ भन्ने कुरामा उनको विश्वास रहेको छ ।

आफ्ना कला आफ्ना लागि डायरी हुन् भन्न रुचाउने भिन्सेन्टले कुनै समयमा आवाजहरुसँग केही कुरालाई मिसाएर नौलो कला प्रस्तुत गर्ने गर्दथे भने अहिले उनी क्यानभासमा रङ्गको सहायताले काम गर्न रुचाउँछन् । विशेषतः उनका कामहरुमा उनले दैनिक रुपमा भागिरहेका भोगाइहरुलाई कुनै विम्बको सहायताले प्रस्तुत गर्ने बताउँछन् । उनले प्राय आफ्नो परिवेशमा रहेको प्रकृति, समाज, त्यहाँका मानिसहरु तथा समय समयमा भेटिने मानिसहरुको कुराकानीलाई कलामार्फत प्रस्तुत गर्छन् ।

भिन्सेन्टले अन्य देशका ग्यालरीहरुमा समेत आफ्ना कला प्रदर्शनी गर्दै आइरहेका छन् । केही समयपछि उनको कला कोरियामा पनि प्रदर्शन हुँदैछ भन्छन् । एक प्रसङ्गगमा भिन्सेन्ट बताउँछन् –‘कुनै साथीहरु कुराकानी गरिरहेको मैले सुनें भने त्यसलाई मैले प्राकृतिक विम्वको प्रयोग गरेर कला पस्कन्छु ।’ उनले प्रयोग गर्ने रङ्ग तथा कलाका प्रस्तुती उनको अन्र्तमनबाट आउने भावबाट सिर्जित हुने उनको बुझाइ छ ।

लामो समयको साधना पछि मात्र राम्रो चित्रकलाहरु निस्कन्छ भन्ने कुरामा विश्वास राख्ने भिन्सेन्ट हाल विश्वकै कलाकारहरु भाग्यमानी रहेको बताउँछन् किनकी ‘उनीहरु अहिलेको प्रविधिको प्रयोग गर्दै आफ्नो काममा अझ निखारता ल्याउन तथा विश्व कला जगतमा भइरहेको कलाको विकासको बारेमा अवगत हुन पाउँदछन्।’ नेपालका अग्रज कलाकारहरुबाट युवा कलाकारहरुले पाठ सिक्दै अगाडि बढ्न सके नेपाली कलाकारहरुको भविष्य उज्वल रहेको कुरा बताउने भिन्सेन्ट कलामा हुने गरेको नक्कल गर्ने प्रवित्तिलाई भने त्याग्नु पर्ने बताउँछन् । कसैबाट प्रभावित हुनु राम्रो हो तर हुबुुहु नक्कल गर्दा भने कलाकार आफु पनि कहिँ नपुग्ने तथा त्यसको श्रष्टालाई पनि न्याय नहुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array