गोपाल कलाप्रेमीको चिया, कला र प्रकृति

सुनिल राज ढकाल
सुनिल राज ढकाल २२ असार २०७९, बुधबार ०६:००
8 Min Read
Aa

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा हाल कला, चिया र प्रकृतिको अनुपम सँगमको एक कला प्रदर्शनी भइरहेको छ । कलाकार गोपाल कलाप्रेमी श्रेष्ठका सिद्धहस्त हातले बनाएको भाँडालाई चियासँग जोडेर सुइरो चियाले नौलो प्रदर्शनी गरेको हो । माटोको विभिन्न भाँडोहरु बनाउनमा सिद्धहस्त कलाकार गोपाल कलाप्रेमी श्रेष्ठ आफुले बनाउने गरेको माटोको भाँडोहरुमा विभिन्न प्रयोगहरु गरि नै रहेका हुन्छन् । उनले बनाउने हरेक भाँडाहरुमा इतिहास तथा कलात्मकता लुकेका हुन्छन् । सामान्य मानिसहरुले दिनानुदिन प्रयोगमा ल्याउने माटाका भाँडाहरु हुन् वा अनौठा आकृतीका भाँडाहरु हुन्, उनका ती प्रत्येक भाँडाहरुमा ऐतिहासिक कालखण्डका ती मौलिकता भेटिन्छन् । कलाकारिताको दुनियामा त उनको आफ्नै विशिष्ठ नाम छँदै छ, त्यो बाहेक उनी आफ्नो विद्यार्थीहरु माझ पनि त्यत्तिकै परिचित तथा लोकप्रिय छन् । नयाँ पुस्तालाई आफुले जानेको माटोको भाँडो बनाउने शीपको पनि हस्तान्तरण गर्दै आइरहेका छन् ।

यसैविचमा २०१९ को कोरोनाको समयमा धेरै मानिसहरु आफ्नो जागिरबाट निकालिएका थिए । मानिसहरु अब के गर्ने अनि जीवनलाई कसरी अगाडि बढाउने भन्दै विभिन्न सोचाइमा परेका थिए । यसै विचमा केही मानिसहरुलाई भने आफुले के गरिरहेको छु अनि जीवनलाई अझ नयाँ अनि नौलो तरिकाले कसरी अगाडि बढाउने भन्ने कुरा सोच्ने समय पाए । आफ्नो समयलाई सदुपयोग गर्नका निमित्त विभिन्न उपायहरु बारेमा पनि मानिसहरुले सोच्ने मौका पाए । कोहीेले आफुले देखेको सपनालाई मूर्तरुप दिने समय यहि हो भनी त्यसतर्पm पहलकदमी पनि उठाउन थाले । त्यस्तै एक पहलकदमीबाट जन्मेको रहेछ सुइरो चिया ।

चीनमा जन्मेकी होङ्ग मेइ लियाओ नेपाल आएको पनि ८ वर्ष भइसकेको रहेछ । उनी राम्रो नेपाली बोल्छिन् र उनले नेपाली नागरिकसँग नै विवाह गरी नेपालमा नै बस्दै आइरहेकी छन् । लकडाउनको समयमा उनी अबको समयमा आफ्नो जीवनलाई अझ सहज कसरी बनाउने भन्नेमा घोत्लिने मौका पाइन् अनि त्यहि घोत्लाईकै क्रममा उनकी साथी श्रीशा प्रधानाङ्गसँग मिलि उनीहरुले सुइरो चिया शुरु गरिन् । चीनमा र नेपालमा प्राचिन समयदेखि नै मानिसहरु चिया पिउने गर्दछन् । समयक्रमसँगै पहिले पहिले प्रयोग गरिने माटोको भाँडोहरु तथा कपहरु अहिले विस्तारै सिसाका तथा स्टिलका गिलाँसहरुले ओगटिसकेको छ । मानिसहरु सस्तो तथा लोकप्रियताका हिसाबले पनि स्टिल तथा सिसाका गिलाँसहरु तथा आधुनिक कित्लीहरुको चलन पनि विस्तारै बढाउँदै गइरहेका छन् ।

होङ्ग मेइ लियाओको भेट कलाकार गोपाल कलाप्रेमीसँग श्रीसा प्रधानाङ्गको माध्यमबाट भयो । लामो समयको अनुभव अनि क्याम्पसमा अध्यापन गर्ने अनुभव भएका गोपाललाई पनि पहिलो भेट देखि नै होङ्ग मेइले चिया सम्बन्धि काम गर्न खोजिरहेको कुरा थाहा पाए पछि आफ्नो संकलनमा रहेको पूराना माटोको कित्ली तथा कपहरु देखाइदिए । यसले गर्दा दुवैजनालाई चियासँग यो माटोका कामहरु(सेरामिक्स)को भाँडालाई किन नजोड्ने भन्ने आइडिया फुर्यो । समय क्रमसँगै माटोको त्यही प्राचिन कलालाई चियासँग नै जोडेर एक नयाँ ढङ्गबाट नेपाली हर्वल चिया र सँग माटोका भाँडालाई जोडेर नयाँ तरिकाले चिया संस्कृतिलाई अगाडि बढाउने जमर्काे गर्ने सहमति पनि भयो ।

त्यसपछि गोपाल कलाप्रेमीले चिया संस्कृतिको इतिहास र चियासँग माटोका भाँडाको सम्बन्धलाई प्राकृतिक ढङ्गबाट झल्काउन उनले प्राकृतिक फ्लेभर दिइ भाँडाहरु बनाउन थाले । यी कलाहरुले त्यस समयको काठमाडौं उपत्यकालाई सम्झाउँछ जति बेला उपत्यका वरिपरि हिउँले ढाकिएका हिमालहरु देख्न सकिन्थ्यो, पर्यटकहरु तथा यहाँका मानिसहरु हिमाल हेर्दै दंग पर्थे । त्यही बेला यहाँका स्थानियहरु हिमालको नक्कल गर्दै यस्तै किसिमका रकुलाई माटोको भाँडोमा देखाउँथे ।

कलाप्रेमी थप्छन्– चिया तथा सुप पिउने कचौरा आकारको माटाको भाँडा र कप बनाउने प्राचिन पद्धति ‘रकु’ हो । यस्ता भाँडाहरुलाई प्राकृतिक बनाउनको लागि अनि त्यसमा प्राकृतिकपन दिनको लागि भाँडालाई ठूलो आँचमा तताएपछि सेलाउनको लागि छोडिन्थ्यो जसले गर्दा भाँडाहरुमा प्राकृतिकपन देखिन्थ्यो । त्यसलाई यहाँ प्रस्तुत गरिएको हो ।

जसरी हिमाल ढल्किँदा त्यहाँ केही रेखाहरु देखिन्छ । ठिक त्यस्तै रकु बनाउँदा गोपाल कलाप्रेमी भाँडालाई तताउनु अघि नै थुप्रै पटक रङ्ग लगाई सकेका हुन्छन् र जब यसलाई तताएर सेलाउनको लागि छोडिन्छ, प्राकृतिक रुपमा हिउँ पग्लिँदा हिमालमा देखिए जस्तो दृष्य यी माटाका भाँडामा देखिन्छ ।

अर्को आकर्षण भनेको नारीवादी श्रृखंला पनि हो । जुन कला बनाउने क्रममा गोपाल कलाप्रेमीले अन्धकारमा कुनै पनि चन्द्रमालाई नदेखिने पाटाहरुको खोजी गर्ने समयसँग यस श्रृंखलालाई जोडेको बताउँछन् । ‘यो समयमा आउने सोचहरुलाई नारी सँग जोडिन्छ । यो समयमा नारीले भोगेको अनुभव, सम्झना अनि केही गर्न मन लाग्ने भावलाई जोड्छ ।’ त्यस्तै ‘नारीलाई चन्द्रमासँग तुलनागर्दा महिनावारीमा हुने पिडा तथा महिलाहरुको भोगाईलाई चन्द्रमा विकास हुँदै गर्दाको समसयसँग तुलना गरिन्छ । रकु पद्तीबाट पोलिएको भाँडाहरुलाई पनि त्यही चन्द्रमा अनि भाँडाहरुलाई त्यही चन्द्रमाको तथा त्यसको आकार परिवर्तन सँग तुलना गर्दै यस नारीवादी श्रृंखला बनाइएको कलाकार बताउँछन् ।

त्यसो त चीनमा करिब साँग डाइनेस्टी(१६०० देखि १०५० बी.सी) देखि प्रचलित कालो माटोको कित्लीको डिजाइन उनले कलाकार गोपाल कलाप्रेमीलाई देखाइन् । उनले पनि त्यस्तै किसिमको माटोको कित्लीहरु बनाइ त्यसमा चिया हाली खाने चलन पुनः ब्युँताइन् । उनका अनुसार चिया कला मात्रै होइन, यो जीउने कलासँग पनि सम्बन्धित रहेको हुन्छ भन्ने मान्यता राख्ने होङ्गले सुइरोमा अहिले ५० भन्दा बढी किसिमका चियाहरु बेच्दै आइरहेकी छन् भने उनको यस पसलको आउटलेट भने बालुवाटार र नयाँ बजारमा खुलिसकेका छन् । उक्त पसलहरुमा चियाका अलावा गोपाल कलाप्रेमी श्रेष्ठका माटाका भाँडाहरुलाई पनि पसलमा राख्ने गरेको होङ्ग बताउँछिन् ।

नेपालीहरु मूलतः दुध हालेको तथा कालो चिया रुचाउने गर्दछन् । नेपालमा नै उत्पादन हुने धेरै जसो राम्रो गुणस्तरको चियाहरु विदेश निर्यात हुने र नेपालीहरुलाई त्यस्ता किसिमको चियाबारे धेरै कम थाहा हुने गरेको कुरा महशुस गरेकी होङ्ग मेइ नेपाली चियाका पारखीहरुलाई सस्तो मूल्यमा गुणस्तरीय चिया पिलाउन प्रेरित भइरहेकी छन् । बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा एउटा टेबलमा विभिन्न किसिमका कप, कित्लीहरुका सजावटका विच उनी आँपैm त्यहाँ आउने आगन्तुकहरुलाई अनौठा स्वादका चियाहरु पिलाउँछिन् । उनका अनुसार हर्वल चियाहरुले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने होङ्ग मेइ बताउँछिन् । निद्रा नलाग्नेहरुले त्यस्तै किसिमको चिया पिउँदा निद्रा लाग्ने, मुटुको समस्या हुनेहरुले रगतराम्रो बनाउन त्यस्तै प्रकारका चिया पिउन सक्ने तथा आफ्नो दिमागलाई चुस्त दुरुस्त राख्न त्यस्तै प्रकारको चिया पिउन सक्ने र त्यस्ता चियाका ब्रान्डहरु पनि सुइरोसँग रहेको होङ्ग बताउँछिन् । त्यहाँ उनले लामा–लामा पात भएका चिया तथा ‘मचा’ नामको चिया पाउडरबाट चिया बनाउँदै थिइन् खोजपत्रको टिम त्यहाँ पुग्दा । चिया पाउडरलाई एक अनौठो किसिमको माटोको भाँडोमा केही समय ‘अण्डा’ फिटेजस्तो गरी तातो पानीमा घोलिसकेपछि उनले उक्त चिया खोजपत्रको टिमलाई दिइन् । अनौठो शैलीको चियाको चुस्की अनि चिया गफ जो हरेक दिन नेपाली जनमानसमा चलि नै रहेको हुन्छ, त्यस किसिमको सहृदयता महशुस गर्नका निमित्त पनि यो प्रदर्शनी फलदायी हुने कुरामा दुइमत छैन ।

सुइरोकी सह संस्थापक श्रीसा प्रधानाङ्गका अनुसार ‘हाम्रो लक्ष्य भने सुइरो चियालाई एक थलोको रुपमा प्रयोग गर्दै सामाजिक पविर्तन तथा हाम्रो स्वास्थ्यलाई ख्याल गर्दै हाम्रो बहुमूल्य बनस्पतिहरुलाई प्रयोगमा ल्याउनु हो । यसले गर्दा आउने भावी पुस्ताहरुले यसको फाइदा उठाउन सकुन् भन्ने हो ।’

यस प्रदर्शनीमा गोपाल कलाप्रेमीद्वारा हस्त निर्मित र कलात्मक करिब सय भन्दा बढी सेरामिक्सका भाँडाहरु प्रदर्शनीमा राखिएको छ । उनले बनाएको कप, कचौरा तथा अन्य भाँडाहरु उनले आफ्नो अनुभव र भावनाहरुलाई प्राकृतिक हिसावले चित्रण गर्नका लागि बनाएको कलाप्रेमी बताउँछन् । माटोबाट बनेको चियाको कपहरुसँगसँगै कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बनाएका फुलदानीहरु तथा घरभित्र राखिन सकिने विभिन्न विरुवाहरु पनि प्रदर्शनीको मूख्य हुन् । कला, चिया र प्रकृति नाम दिइएको प्रदर्शनी असार २६ गते अर्थात् १० जुलाई सम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array